दाङ: तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन पठनपाठनको सुअवसर पनि पाएका छन् । कार्यालयको काम पूरा हुनासाथ दिदीघर आउने उपप्रमुख चौधरीले ती बालबालिकाप्रति हार्दिकताका साथ ममतापूर्ण व्यवहार गर्नुहुन्छ । सन्तानविहीन उहाँ उनीहरूलाई आफ्नै छोराछोरी मानेर माया गर्नुहुन्छ । उनीहरूको पालनपोषण तथा शिक्षादीक्षामा समर्पित उहाँको दिनचर्याले उनीहरूप्रतिको उहाँको ममता छचल्किन्छ । आफ्नो फुर्सदको समय तिनै बालबालिकाको हेरचाहमा बित्ने गरेको उहाँले बताउनुभयो । “पहिले म बालबालिकासँगै धेरै रमाउँथे”, उहाँले भन्नुभयो, “उपप्रमुख भएपछि दिनभरि जनताको सेवामा लाग्नुपर्छ, साँझबिहान बालबच्चासँग बिताउने गरेकी छु ।” तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा र तुलसीपुर–१३ बखरियामा गरी हाल २१ जना बालबालिकालाई शिक्षादीक्षा दिइरहेको उपप्रमुख चौधरीले बताउनुभयो । सुरुमा आफँैले लगानी गरेर सञ्चालन गरेको उक्त संस्थामा अहिले विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । “मेरा छोराछोरी छैनन्”, उहाँले भन्नुभयो, “तर मलाई छोराछोरीको कुनै अभावको महसुस उनीहरूले गर्न दिएका छैनन्, उनीहरूलाई नै छोराछोरी जसरी पालेकी छु ।” उनीहरूलाई पढाउन दिदी घरमै शिक्षक राखेको उहाँले बताउनुभयो । गरिब विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आउनुभएकी उहाँले प्रत्येक वर्ष त्यस्ता विद्यार्थीलाई शैक्षिक सामग्री पनि प्रदान गर्दै आउनुभएको छ । उहाँकै आर्थिक सहयोगमा पढेका केही विद्यार्थीले स्नातकोत्तर गरिसके भने केही लोकसेवा पार गरेर सरकारी सेवामा छन् । स्यानीका सङ्घर्ष थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला हुनुहन्छ, स्यानी । पढाइ जीवनका उहाँका सङ्घर्ष पनि कम छैनन् । उहाँको घर पहिले तुलसीपुर–१३ फूलबारी हो । तत्कालीन अवस्थामा त्यहाँ विद्यालय थिएन । त्यसैले उहाँ पढ्नका लागि तुलसीपुर–११ उरहरी आउनुपथ्र्यो । उरहरी आउँदा वर्षात्को बबईको भेल तर्नुपथ्र्यो । कहिलेकाहीँ डुङ्गा पाइन्थ्यो । यदि डुङ्गा नभएको अवस्थामा उहाँ आफैँले पौडी खेलेर वारपार गर्नुहुन्थ्यो । त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उहाँले त्यतिबेला कक्षा लिनुभयो । “केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो, त्यसपछि म आफैँ केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे”, उहाँले भन्नुभयो । थारू समुदायमा व्याप्त कमैया, कम्लरीप्रथा थियो । ती कुसस्ंकारलाई कम गर्न स्यानीले निकै योग्दान गर्नुभएको छ । पिछडिएको थारू समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्न वञ्चित भएको थारू महिलाहरूका लागि पनि हौसला, उत्साह, जोशजाँगर दिने काम गर्दै आउनुभएको छ ।
काठमाडौं: अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही असोजको दोस्रो साता आएको बाढीपहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनःनिर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिनुभएको हो । अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसायलगायतका क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भएपनि राहत र पुन:निर्माणलाई व्यवस्थित रुपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न आवश्यक भएको बताउनुभयो । बाढीपहिरो जानु भन्दाअघि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंकलगायतले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको बताएका थिए ।
कैलाली: नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म धनगढीले जनाएको छ । त्रिनगर सीमा नाकाबाट एक सातामा छ हजार नौ सय ४७ जना नेपाली भित्रिएका सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार यही असोज १२ गते तीन सय १८, १३ गते तीन सय चार, १४ गते तीन सय ९८, १५ गते छ सय तीस, १६ गते छ सय ८०, १७ गते एक हजार ९०, १८ गते एक हजार पाँच सय ६९ र १९ गते एक हजार नौ सय ५८ जना नेपाली भारतका विभिन्न सहरबाट घर फर्किएका हुन् । यात्रुहरुको आवतजावतमा सहजताका लागि बडादसैँ, तिहार र छठपर्वसम्म सीमा नाकामा यात्रु सहायता कक्षसमेत निर्माण गरिएको छ । बाजुराका मनोज कडारा पाँचजना परिवारसहित सोही नाकाबाट घर फर्कनुभएको छ । दश वर्षदेखि भारतको मुम्बईमा सेक्युरिटी गार्डको जागिर गर्दै आउनुभएका कडाराले चाडपर्व मनाउनका लागि घर फर्केको बताउनुभयो । भन्सार सीमा नाकामा हेल्प डेक्स निर्माणसँगै घर फर्कंदा पहिला भन्दा धेरै सहज भएको उहाँको भनाइ छ । “चाडपर्वमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाइ रमाइलो गरी मनाउने गरिन्छ”, कडाराले भन्नुभयो, “जसले घर बाहिर लामो समय एक्लो भएर बस्दाको तनाब कम हुन्छ ।” भारतको राजकोटबाट रोजगारी गरी घर फर्कंदै गरेकी कैलालीको बौनियाकी शारदा साउदले बडादसँैंमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफू घर फर्केको बताउनुभयो । भारतको मुम्बईमा होटलमा रोजगारी गरी फर्कंदै गरेका कञ्चनपुरको पुनर्वास नगरपालिकाका रोशन विश्वकर्माले चाडपर्व मनाउनका लागि घर फर्केको बताउनुभयो । यस क्षेत्रका सर्वसाधारण युवा रोजगारी गर्न छिमेकी मुलुक भारत जाने गर्दछन् । खेतीपाती भएकाहरु आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन् भने खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेका पाइन्छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठूला सहरमा जाने गर्दछन् । बिना भिसा जान पाइने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेका हुन् ।
सुनसरी: चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिनुभयो । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यलयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उहाँले बताउनुभयो । उपरीक्षक तिमल्सिनाले भन्नुभयो, “कुकुरको माध्ययमबाट सवारी जाँच गर्दा लागुऔषध कारोबार गर्ने व्यक्ति, लागुऔषध र शङ्कास्पद वस्तु बरामद गरिँदै आइएकाले धरान सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दै आइएको हो ।” सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, गाँजा, पटका, विष्फोटक पदार्थ, अन्य आपाराधिक गतिविधि नियन्त्रण गर्न कुकुरसहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी उपरीक्षक तिमल्सिनाले बताउनुभयो ।
म्याग्दी: म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका खेलाडीले मौरिस हर्जोग पदमार्ग र संसारको सातौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरेका छन् । घराम्दीका भलिबल खेलाडीको १९ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलाबाट त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेका फोहर व्यवस्थापन गरेका हुन् । कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर जलाइएको सरसफाइ कार्यक्रमको अगुवाई गर्नुभएका धनकुमार पाइजाले बताउनुभयो । यही असोज १७ गते आधार शिविरतर्फ गएको १९ जनाको टोली आज बिहान फर्किएको छ । “पर्यटक आगमन बढ्न थालेसँगै मौरिस हर्जोग पदमार्गमा फोहर बढ्न थालेकाले सरसफाइका लागि सन्देश दिन कार्यक्रम गरिएको हो”, पाइजाले भन्नुभयो, “यहाँको सुन्दरतालाई कायम गर्न फोहर व्यवस्थापनप्रति पर्यटकसहित सरोकार भएका सचेत हुनुपर्ने छ । अहिले गरिएको सरसफाइ कार्याक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।” घराम्दी गाउँको विकास र प्रवर्द्धनमा सहयोग गर्दै आउनुभएका हाल बेलायत निवासी पाइजा र फगामीले भ्रमण तथा सरसफाइ टोलीको सबै खर्च व्यक्तिगत रुपमा व्यवस्थापन गर्नुभएको थियो । आठ हजार मिटर अग्लो पहिलो मानव पाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं–४ मा पर्दछ । फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । मौरीस हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले बताउनुभयो । गत वसन्तयाममा २५ जनाले अन्नपूर्ण आरोहणको अनुमति लिएका पर्यटन विभागले जनाएको छ । चालु शरदयाममा भने कसैले पनि अन्नपूर्ण आरोहणको अनुमति लिएका छैनन् । मौरिस हर्जोग पदमार्गका अभियान्ता गुरुङले दैनिकजसो आन्तरिक पर्यटकहरु आधार शिविर जान थालेका बताउनुभयो । हुमखोला हुँदै गुरासेडाँडा, फुतफेते झरना, सम्धीखर्क, भुसकेत, नारच्याङ पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामाकरण गरिएको उहाँले जानकारी दिनुभयो । नारच्याङबाट ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किमी सडकको मार्ग खोलिएको छ । विसं २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सवसमेत आयोजना गरिएको थियो । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँको थप आकर्षणको रुपमा रहेको छ । होटल तथा लजको सुविधा नभएको यस पदमार्गमा पदयात्रीले आफैँ खाने सामग्री लैजानुपर्छ । पाँच ठाउँमा आश्रयस्थल निर्माण भएका छन् । अष्ट्रेलियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा आश्रयस्थल, सार्वजनिक शौचालयलगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको रु एक करोड बजेट कार्यान्वयनको तयारी भइरहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिने जानकारी दिनुभयो ।
नवलपरासी: पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ । शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६१ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु क हजार नौ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको छ ।
काठमाडौं: नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुुई करोड सहयोग गरेको छ । नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गर्नुभयो । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गर्नुभयो । यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी छ ।
काठमाडौं: काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् । काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो रु सात सय २० देखि सात सय ५५, पहाडका खसी रु छ सय ७० देखि सात सय पाँच, बोका रु छ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो रु एक हजार तीन सयमा बिक्री भइरहेका छन् । काठमाडौँ उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिनुभयो । सिङमा हरियो रङ छिटेको हेर्नुस् यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ । टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहनुभएका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले रासससँगको कुराकानीमा भन्नुभयो, “स्वस्थ खसीबोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न ।” विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न सुझाउनुभयो ।