विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द
बाग्लुङ | मंसिर ११, २०८१

गलकोट: विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् ।
नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएकोे छ । पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ ।
नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका २०८० अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी पाँचवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
शर्माले विद्यार्थी नभएका विद्यालयमा दरबन्दी रहने र विद्यार्थी धेरै भएको स्थानमा शिक्षक अभाव हुने अवस्थाको अन्त्य गर्न समायोजन गरिएको बताउनुभयो । तत्काल बन्द भएका विद्यालय प्राथमिक तहका हुन् । चारजना भन्दा थोरै विद्यार्थी भएका पाँच प्राथमिक विद्यालय बन्द गरेर ११ शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गरिएको छ ।
बन्द हुने विद्यालयमा जनज्योति प्रावि, जनभावना प्रावि दमेक, टारा ज्योति प्रावि छिस्ती, क्वाङ्गदी प्रावि, छिस्ती र सर्वोदय प्रावि सकुर्वा रहेका छन् । जसमध्ये सर्वोदय प्रावि र टारा ज्योति प्रावि छिस्तीमा विद्यार्थी सङ्ख्या शून्य थियो । अन्य तीन विद्यालयमा विद्यार्थी सङ्ख्या चारजना भन्दा कम भएपछि विद्यालय बन्द गरी समायोजन गरिएको हो ।
“विद्यालय बन्द हुँदा मारमा परेका टाढाका विद्यार्थीलाई आवासीय सुविधासहित ‘लिड’ विद्यालयको अवधारणा ल्याएका छौँ”, उपप्रमुख शर्माले भन्नुभयो, “आवासीय सुविधासहित एकै स्थानमा पढाउँदा शैक्षिक गुणस्तर वृद्धि हुन्छ र लगानी खेर जाँदैन ।”
शिक्षा समितिको सिफारिसमा पाँच प्राथमिक विद्यालयलाई आगामी वर्ष समायोजन गर्ने गरी एकजना मात्रै दरबन्दी कायम गरिएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले जानकारी दिनुभयो । एक शिक्षकको मात्रै दरबन्दी कायम गरिएको विद्यालयमा जैमिनी प्रावि कुश्मिसेरा, सिद्धिगणेश प्रावि कुश्मिशेरा, एकता प्रावि पैयुथन्थाप, दिव्यज्योति प्राथमिक विद्यालय दमेक र शङ्कर प्रावि राङ्खानी रहेका छन् ।
बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेपछि नगरपालिकाले दुई वर्ष अघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउँदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको जनाएको छ ।
विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने, आवासीय सहितको विद्यालय बनाउँदै नगरकै शैक्षिक हब बनाउन जैमिनी नगरपालिका–५ बिनामारेस्थित सर्वोदय जनक माविलाई अगुवा ९लिड० विद्यालयका रुपमा अगाडि बढाएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...