हेटौँडा:  पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा सहचालक घाइते भएका छन् । भारतको ...

पोखरा:   पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्डो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गर्ने भएको छ।   नगर प्रमुख धनराज आचार्यका अनुसार पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगद रु. २ लाख २२ हजार २२२ सहित सम्मान गर्न लागिएको हो।    आइतबार पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच पलेसालाई सो सम्मान प्रदान गरिने नगर प्रमुख आचार्यले जानकारी दिनुभयो।   ‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ, प्रमुख आचार्यले भन्नुभयो, तर अहिले सम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्‍याएकी छिन्, यो सिङ्गो मुलुकका लागि गर्वको विषय हो।’   पलेसा लगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि पोखरा महानगरपालिकाले उनलाई सम्मान गर्न लागेको प्रमुख आचार्यले बताउनुभयो।    ‘हामीले यसअघि पोखरामा सम्पन्न नवौँ संस्करणको राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जित्ने १९२ जना नगरवासी खेलाडीहरू, ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकहरूलाई समेत नगद सहित सम्मान गरेका थियौँ, आइतबार पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्डो खेलाडी पलेसालाई सम्मान गर्दै छौँ, उहाँले भन्नुभयो, पोखरा महानगरपालिका सदैव राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको साथमा रहनेछ।’   समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेल प्रतिको रुचिको प्रवर्द्धन लगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।    नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् ।   पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।   २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।

चितवन:     खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ ।  ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो ।  ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ ।  घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उहाँले बताउनुभयो ।

पोखरा:    पोखरा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्री र लमजुङे ठाडोभाका गायिका नन्दमाया दुरालाई नगदसहित सम्मान गरेको छ ।  प्रतिष्ठानको छैटौं वार्षिक साधारणका अवसरमा प्रबन्ध निर्देशक क्षेत्रीलाई स्वर्गीय तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार र दुरालाई स्वर्गीय नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट सम्मान गरेको हो ।  क्षेत्री र दुरालाई नगद ५ हजार ५ सय ५५ सहित सम्मान गरिएको प्रतिष्ठानका सचिव रामजी पौडेलले जानकारी दिए ।  उनीहरुलाई प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष प्राज्ञ प्रजापति पराजुलीले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । कार्यक्रममा वरिष्ठ गायकगायिका पुरुषोतम न्यौपाने, हरिदेवी कोइराला, शान्ति गुरुङ, जीवन दाहाल, घनश्याम रिजाल, शंकरविरही गुरुङ र कुमार पुनसहित सहभागी थिए ।  साधारण सभाबाट सांगठिक र आर्थिक प्रतिवेदन पारित भएको सचिव पौडेलले जानकारी दिए । कार्यक्रममा गण्डकीका ९ जिल्लाका प्रतिष्ठानका प्रतिनिधि सहभागी थिए ।   

पर्वत:    जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ ।  नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो ।  अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा जमिन भासिएपछि ‘इ’ ब्लकको काम पनि अधुरै छ । कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ रहेको ‘इ’ ब्लक निर्माणको काम चलिरहेका बेलामा जमिन भासिएपछि पछिल्ला चार वर्षदेखि काम अघि बढ्न नसकेको पर्वत अस्पतालले जनाएको छ ।  भवनको निर्माण चलिरहेको बेलामा भुइँतलाको भागमा ‘बीम’ रहेको ठाउँ बाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो ।   विसं २०७७ असारदेखि भासिन सुरु गरेको भवनको ‘बीम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि काम पूर्ण रूपमा ठप्प छ । यस वर्ष अरु दुई ठाउँमा जमिन भासिएको छ ।   भूगर्वविद्हरूले जमिन भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन अस्पताललाई बुझाउने भनिए पनि हालसम्म त्यो प्रतिवेदन प्राप्त नहुँदा भवनको काम अगाडि नबढेको अध्यक्ष गिरीले बताउनुभयो । चार वर्ष अगाडि निर्माणाधीन भवन भासियो, त्यसपछि कोभिडको महामारी सुरु भएकाले काम अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।  

तनहुँ:   तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।  झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताउनुभयो ।  पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उहाँले बताउनुभयो । नेपालीले भन्नुभयो, “गर्मी मौसममा यात्रा गर्नेलाई विश्रामस्थलका रूपमा यो ठाउँ विकास भइरहेको छ । अन्य दिनको तुलनामा बिदामा घुइँचो हुन्छ ।” राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ ।  गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिपरेको बताउनुभयो । चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको अध्यक्ष चुमान बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानले बताउनुभयो । ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो ।  गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।  तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ ।  यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ । 

काठमाडौं:   नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ ।   युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ १६ पैसा,  युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।   अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।   जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३४ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ९३ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।   राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:     ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।

पोखरा:     पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा ६० औँ राष्ट्रिय बालदिवस मनाइएको छ ।  ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उक्त दिवस मनाइएको हो ।  गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व विद्यालयमा क्रियाशील एसओएस बाल क्लबका अध्यक्ष अश्विन चिलवालले गरेका थिए ।  बालदिवसका उपलक्ष्यमा विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले प्राथमिक तहका विद्यार्थीहरूका बीचमा प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए ।  एसओएस गण्डकीले यस वर्ष हासिल गरेको उत्कृष्ट नतिजाका बारेमा सम्क्षिप्त प्रकाश पार्दै विद्यालयले प्राप्त गरेको यो उचाइलाई कायम राख्न आगामी दिनमा विद्यालय थप उत्साहका साथ लाग्ने पनि प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।  प्रतियोगितात्मक र अप्रतियोगितात्मक गरी कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो । कक्षा नर्सरीदेखि दुईसम्म अप्रतियोगितात्मक तथा कक्षा तीनदेखि माथि प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा विद्यालयका बालबालिकाहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, कविता–वाचन, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे ।  कार्यक्रममा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूको एउटा समूहले स्वस्तिवाचन पनि गरेका थिए । त्यसै गरी कार्यक्रममा अर्णव सापकोटाले शास्त्रीय शैलीको ताण्डव नृत्य प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध तुल्याइदिए भने कक्षा ५ का विद्यार्थीहरूले ‘ऐँचोपैँचो’ र ‘लागुपदार्थ दुव्र्यसनी’ शीर्षकका दुई नाटक प्रस्तुत गरी दर्शकको मन खिचे ।  प्रतियोगितात्मक कार्यक्रममा कक्षा ५ का प्रज्ञान बरालले प्रथम, कक्षा ४ की एन्नी शाहीले द्वितीय, अनमोलरत्न मगरले तृतीय तथा अञ्जु चेपाङले सान्त्वना स्थान हासिल गरेका थिए ।  विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि टकराज गुरुङ, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।   कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले बालबालिकाहरूको आधारभूत अधिकार संरक्षणका लागि सबै पक्ष संवेदनशील हुनुपर्ने बताए ।  आजभोलि बालबालिकाहरूमा सानैदेखि विदेश जानुपर्छ भन्ने चिन्तनको विकास हुनु दुःखद भएको बताउँदै मन्त्री गुरुङले यो देशको भविष्य उज्ज्वल पार्न सबै मिली बालबालिकामा त्यो चिन्तन हटाउनेतर्फ सोच्नुपर्ने बताए ।  अनाथ, असहायदेखि समाजका अन्य बालबालिकाहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको एसओएस गण्डकीलाई आगामी दिनमा प्रदेश सरकारले उपलब्ध गराउँदै आइरहेको आर्थिक सहयोगमा थप वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि मन्त्री गुरुङले व्यक्त गरे ।  कक्षा ९ का छात्राद्वय स्मारिका न्यौपाने र नेरिन बराल तथा कक्षा ११ का छात्राद्वय सजनी लामिछाने र स्वेच्छा पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण विद्यालयमा क्रियाशील बाल क्लब र रेडक्रसमा आबद्ध विद्यार्थीहरूले गरेका थिए ।

काठमाडौं:   प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभएको छ ।  नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा भएको ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयको राष्ट्रिय कार्यशालाको आज यहाँ उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा केही तत्व  लागेका टिप्पणी गर्नुभयो । “अहिले परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी छ । परिवर्तनका विरोधी शक्ति संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधियानकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरु उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन ।”, प्रधानमन्त्रीले भन्नुभयो, “जानी नजानी एक खालका मानिसबाट नकारात्मक माहौल खडा गर्ने कोसिस भइरहेको छ । सत्यतथ्यको बाटो नभइ झुठ, भ्रम, षड्यन्त्रको सहारा लिएका छन् । उनीहरुलाई काम र मेहनत गर्नुपर्दैन । भएको राम्रो कामको उल्टो प्रचार गरे पुग्छ ।” आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आग्रह गर्दै उहाँले नेकपा ९माओवादी केन्द्र० को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गर्नुभयो । अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनालाई गतिशील बनाउँदै समस्याको खोजी र निदान हुने बताउनुभयो । त्यस अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीका उपमहासचिव विष्णु रिमाल, जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाललगायत नेता सहभागी हुनुहुुन्छ ।