पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

काठमाडौं:    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले  गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएको छ ।  साथै उहाँले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिनुभएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनु भएका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिनुभएको छ ।  साथै उहाँले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गर्नुभएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई बताउनुभयो ।  कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो ।  यसअघि धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको  विरोधमा उत्रिएको छ । 

काठमाडौं:    स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६२ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा  परिवर्तन भएको छैन ।  चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

पोखरा:   पोखरामा आज बिहान रोकि राखेको बसलाई टिप्परले ठक्कर दिँदा तीन जना यात्रु घाइते भएका छन् ।   पोखरा महानगरपालिका–२५ हेमजास्थित बडहरेमा पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको ग १ ख ७००२ नम्बरको बस रोकि यात्रु चढाउँदै गरेको अवस्थामा सोही दिशातर्फ तर्फ जाँदै गरेको ग १ ख ९१४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।  बसलाई टिप्परले ठक्कर दिँदा बस चढ्दै गरेका म्याग्दीको धौलागिरी गाउँपालिका–५ बस्ने ८४ वर्षीय हर्कलाल छन्त्याल, टिप्पर चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भएका ३१ वर्षीय मनोज कटुवाल र टिप्परमा सवार नुवाकोट घर भएका २८ वर्षीय बुद्ध घले घाइते भएका हुन् ।  घाइते छन्त्यालको फिस्टेल अस्पतालमा उपचारमा भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  यस्तै टिप्पर चालक र सोही टिप्परमा सवार घलेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको स्वास्थ्य अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।   

काठमाडौं:    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा  दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो ।  कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् ।  साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् ।  यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन् ।

पोखरा:    पोखरा ड्यामसाइडस्थित होटल स्याण्डी ब्लुममा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले होटलमा जुवातास खेलिरहेका ६ जनालाई १ लाख ८८ हजार ४ सय २६ रुपैयाँसहित सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पक्राउ पर्नेमा होटलका रेखदेख गर्ने जिम्मेवारी प्राप्त गर्ने स्याङ्जाको गल्याङ नगरपालिका–४ घर भई पोखरा–१७ बस्ने ३८ वर्षीय नविन थापा, स्याङ्जाको पुतलिबजार नगरपालिका–७ स्थायी घर भई पोखरा–१० बस्ने ४० वर्षीय भेष बहादुर गुरुङ छन् ।  यस्तै पोखरा महानगपालिका–१२ बस्ने ४३ वर्षीय शंकर थापा, पोखरा–१७ बस्ने ५३ वर्षीय शावित्री गुरुङ पुन, कास्कीको माछापुच्छ«े गाउँपालिका–२ घर भई पोखरा–७ बस्ने ३९ वर्षीय दुर्गा गुरुङ र पोखरा–१७ बस्ने ४९ वर्षीय आईती गुरुङलाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट जुवा सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

रामेछाप:    शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् ।  यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ तर मौसम सधैँ एकनास हुँदैन । लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ । यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल व्यवसायीलाई माग धान्न धौधौ हुने गर्छ । हाल त्यस्तै भइरहेको छ ।  सोमबार र मङ्गलबार रोकिएका केही पर्यटक बुधबार उडे पनि १८ वटा उडान हुनासाथ लुक्लाको मौसम पुनः बिग्रिदा पर्याप्त उडान हुनसकेनन् । जसले एक हजारभन्दा बढी विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् ।   विगत चार वर्षदेखि शरद् ऋतुको समयमा पर्यटकलाई मन्थलीसम्म सडक मार्गमार्फत ल्याएर मन्थलीबाट दैनिक रूपमा लुक्ला पठाउने गरिएको छ । तर बेला बेला मौसममा खराबी हुँदा विदेशी पर्यटक मन्थलीमै रोकिनुपर्दा व्यवस्थापनमा समस्या हुने गरेको होटल व्यवसायी बताउँछन् ।  क्षमताभन्दा बढी पर्यटकले आफूहरूलाई आवास व्यवस्थापन गर्न धौधौ हुने गरेको होटल तथा पर्यटन व्यवसायी सङ्घ रामेछापका निवर्तमान अध्यक्ष शेखरमान श्रेष्ठ बताउनुहुन्छ ।  यस बेला काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्यन्तै व्यस्त हुँदा नजिकको दूरीमा रहेको मान्थली एयरपोर्टबाट लुक्ला जाने पर्यटकलाई ओसारपसार गर्ने गरिएको छ । काठमाडौँका विभिन्न कम्पनीले सडकमार्ग भएर मन्थली ल्याउने र मन्थलीबाट हवाई उडानमार्फत लुक्ला पठाउने गरेका छन् ।  नागरिक उड्ययन कार्यालय रामेछापका प्रमुख हिरोणकुमार शाह खराब मौसमका कारण रोकिएको अवस्थाबाहेक अनुकूल मौसममा करिब ५५ वटासम्म उडान हुने गरेको बताउनुहुन्छ । हाल केही दिनदेखि मौसममा खराबी हुँदा धेरै पर्यटक मन्थलीमै रोकिएका उहाँले बताउनुभयो ।  पर्यटक सहयोगी चन्द्रबहादुर लामिछानेले क्षमताभन्दा बढी पर्यटक मन्थलीमै रोकिदा आवासीय सुविधाका लागि अन्यन्तै कठिनाइ भइरहेको बताउनुभयो ।  आफ्नो यात्रासूची बिग्रने भन्दै कोही हेलिकप्टरमार्फत त कोही सडक मार्गमार्फत लुक्लातर्फ लागे पनि अर्को दिन उडान तालिका भएका करिब पाँच यसभन्दा बढी पर्यटक पुनःमन्थली भित्रने गर्दा यहाँ पर्यटकको चाप अत्यधिक हुन थालेको उहाँको भनाइ छ ।  रामेछापमा भएका करिब ५० वटा होटलमा एक हजार जनासम्मलाई मात्र आवासीय सुविधा दिन सक्ने क्षमता छ तर जहाज नचलेपछि मन्थली बस्ने पर्यटकको सङ्ख्या एक हजार तीन सयभन्दा बढी रहेको पर्यटन व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो ।  मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले पटकपटक मौसममा खराबी आउँदा पर्यटक रोकिने र यहाँ पर्याप्त होटल सुविधा नपुग्ने भएकाले नगरपालिका यसतर्फ सचेत रहेको बताउनुभयो ।  “जिल्लामा भित्रिएका पर्यटक नठगिउन् र सहज ढङ्गबाट आवासीय सुविधासमेत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले विमानस्थल परिसरमा यात्रु सहायता कक्ष र होमस्टे सञ्चालनका लागि तालिम तथा आवश्यक सामान उपलब्ध गराएको छ । यसको व्यवस्थित प्रयोगको खाँचो छ”, उहाँले भन्नुभयो ।  जिल्लामा भित्रिएका पर्यटलाई बढीभन्दा बढी सुविधा दिएर एक रात मन्थली मै राख्न सक्ने वातावरण सृजना गर्न पूर्वाधार बनाउन ध्यान दिनुपर्ने र यसले मन्थलीलाई पर्यटकीय हब बनाउन योगदान पुग्ने स्थानीय समाजसेवी विपीन भट्टराई बताउनुहुन्छ ।

तनहुँ:     यहाँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् ।  यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ ।  गत वर्षदेखि उहाँका महिलाहरूले संगठित रूपमा सयपत्री उत्पादन गर्न थालिएको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “सयपत्री फूलको बजारीकरणमा हामीले सघाउँदै आएका छौँ । कतारलगायत अन्य देशमा पनि पठाउन सकिन्छ कि भनेर समन्वय गरिरहेका छौँ ।” यहाँका महिलाले गत वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेकामा राम्रो प्रतिक्रिया पाएपछि यसपटक दोब्बर क्षेत्रफलमा विस्तार गरेका छन् । यहाँ विभिन्न समयमा उत्पादन दिनेगरी खेती गरिएको र यसपटक दसैँको शुभारम्भदेखि नै उत्पादन दिन थालेको छ ।  तिहार, एकादशी मेला र मङ्सिरमा हुने विवाहलाई मध्यनजर गरी फूल उत्पादनमा जोड दिइएको कृषि शाखा प्रमुख केसीले बताउनुभयो । यहाँ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती गरिएको र यसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको उहाँको भनाइ छ । लघुउद्यम महिला सङ्घका अध्यक्ष सुन्तली गुरुङले घरायसी काममा मात्रै सीमित महिलाहरू यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा रहेको बताउनुभयो । उहाँका अनुसार सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको खेती गरिरहेका छन् ।  अध्यक्ष गुरुङले भन्नुभयो, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका हौँ । घरायसी काममा मात्रै व्यस्त रहने हामीलाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती गरिएकामा हाल राम्रै भइरहेको छ ।” गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरूप गत वर्षदेखि फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।  स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले अनुदानको कार्यक्रम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।  “धेरै मात्रामा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग भएको छ । यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पुर्याइरहेको छ । त्यसैले स्थानीयस्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो”, अध्यक्ष चुमानले भन्नुभयो, “यसले स्थानीय उत्पादन प्रवर्द्धन र महिलालाई आत्मनिर्भर बनाउन पनि योगदान गरिहरहेको छ । त्यस कारणले यस खेतीलाई थप व्यवस्थित बनाउने गरी पालिका लागिरहेको छ ।”  गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको छ । अध्यक्ष चुमानले भन्नुभयो, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गरिरहेका छौँ, आफ्नै क्षेत्रमा उत्पादित फूललाई प्रयोगमा ल्याउन हामीले जोड दिएका छौँ। यसमा सबैको सहयोग जरूरी छ ।” 

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ ।  युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर आठ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।  केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ५७ पैसा र बिक्रीदर १९ रुपैयाँ ६६ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

भैरहवा:    बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ ।  दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो ।  नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ कात्तिक ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना हुने जनाइएको छ ।  एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इम्रान नाजिर, बङ्गलादेशको टिमबाट बङ्गलादेशी स्टारहरू आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपिएल खेलाडी दीपक पुनियासहित सबै टिममा प्रथम श्रेणीका खेलाडीको सहभागिता रहने बताउनुभयो । प्रतियोगितामा बाङ्गलादेशबाट गुलाज वरियर्स बाङ्गलादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलङ्का स्टेट सर्विसेज क्रिकेट एशोसिएसनको टिम सहभागी रहनेछ ।  विजयी टिमलाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही रु २० हजार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई रु पाँच हजार प्रदान गरिनेछ ।  नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभई नेपालकै क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निभाउने आयोजकको अपेक्षा रहेको छ ।  प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घले आधिकारिकता प्रदान गरेको छभने प्राविधिक सहयोग रुपन्देही क्रिकेट सङ्घले गरेको छ ।  भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा हुने प्रतियोगितामा प्रत्येक टिमले एकअर्कासँग खेल्ने र अन्तिम चारमा पुगेका बीच सेमीफाइनल हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिनुभयो ।  प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड २० लाख खर्च हुने आकलन गरिएको छ ।