पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

पोखरा:   नेपाल प्रहरीको ‘६९ औं प्रहरी दिवस’ को अवसरमा पोखरामा प्रहरी नायब निरीक्षक सुमन निउरे पुरस्कृत भएका छन् ।   प्रदेश प्रहरी कार्यालय गण्डकीले पोखरामा आयोजना गरेको समारोहकाबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख निउरे नगद तथा प्रशंसापत्रसहित पुरस्कृत भएका हुन् ।   उनले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरिएको हो ।    यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङमा भने प्रहरी सहायक हबल्दार मनोज पौडेल पुरस्कृत भएका छन् ।

काठमाडौं:    अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुने सिलसिलामा जेनेभा रहनुभएका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच पारस्परिक सम्बन्ध, आपसी हित र साझा चासोका साथै भविष्यमा हनसक्ने सहकार्यबारे छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियकोगले जनाएको छ ।  अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबीचको कूटनीतिकसम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबीच बलियो सम्बन्धसेतुका रूपमा काम गरेको बताउनुभयो । थाई पर्यटकका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्यका बनेको बताउनुभयो ।  दुवै देशका नागरिक बर्सेनि पर्यटकका रूपमा आउने जाने गरिरहेको भन्दै उहाँले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटनलगायत माध्यमबाट नेपाल–थाइल्याण्डबीच जनस्तरको सम्बन्ध प्रगाढ बनेको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो ।  आफूहरुले नेपाल–थाइल्याण्ड संसदीय मैत्री समूह गठन गरेको बताउँदै अध्यक्ष दाहालले मैत्री समूहमार्फत् दुई देशका संसद्ले संसदीय अभ्यास, कानुन निर्माण, अनुभव आदानप्रदान गरी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । साझा सरोकार र आपसी हितका विषयमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले सहकार्य गर्दै आएका उहाँले बताउनुभयो । अध्यक्ष सुरसज्जाले बहुसङ्ख्यक थाई जनताले बौद्ध धर्म मान्ने भएकाले बुद्ध जन्मभूमि नेपाललाई उनीहरूले आफ्नो जीवनकालमा एकपटक भ्रमण गर्नुपर्ने स्थलका रूपमा राखेका भएको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रमा थाइल्याण्डबाट भएको लगानीले रोजगारीका अवसर सृजनामा योगदान पुगको विश्वास उहाँले व्यक्त गर्नुभयो । थाई पर्यटकका लागि लुम्बिनी महत्वपूर्ण पर्यटकीयस्थल भएकाले  लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन भएमा उनीहरुलाई अझ सहज अध्यक्ष सुरसज्जाले बताउनुभयो । भेटवार्तामा संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालका स्थायी प्रनिनिधि रामप्रसाद सुवेदीका साथै प्रतिनिधिमण्डलका अन्य सदस्य पनि सहभागी हुनुहुन्थ्यो ।

बागलुङ:     बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट फालेर आफ्नै बुबाले हत्या गरेका छन् ।  मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए ।  उनले मंगलबार साँझ बानपा–३ को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  मंगलबार साँझ नै प्रहरी र स्थानीयले खोजी गर्दा किस्मत घटनास्थलदेखि २ सय मिटर तल काठेखोलामा मृत्त अवस्थामा फेला परेको प्रहरी निरीक्षक शर्माले बताए ।  हत्या आरोपमा मृतक बालकका बुबा केशव पुनलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

म्याग्दी:   बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ ।  सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो ।  जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय मिटर कालोपत्र भइसकेको सडकको थप दुई किलोमिटर पनि कालोपत्र गर्न  ‘प्राइम’ र ‘फस्ट कोट’ विच्छ्याइएको जानकारी दिनुभयो ।  माझफाँटको भुरतुलादेखि लेकफाँटको गिद्धेश्वर क्षेत्रसम्मको सात दशमलब आठ किलोमिटर सडक स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्र गर्न रु ३३ करोडमा सम्झौता भएको उहाँले बताउनुभयो ।  दुई लेनको सडकमा एक किलोमिटरभन्दा ढलान भइसकेको छ । छ किलोमिटर आठ सय मिट विस्तारका साथै संरक्षण पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण पनि पूरा भएको छ । गिद्धेश्वरतर्फ एक किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ ।  यसैबीच, बेनी–भुरतुला खण्डको अप्ठ्यारो ठाउँको सडक ढलानसहित स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको योजना कार्यान्वयनको चरणमा रहेको जलजला गाउँपालिकाले जनाएको छ । 

काठमाडौं:   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो ।  मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ ।  निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

सुनसरी:    सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो ।  उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआउनुभएको छ । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआउनुभएको छ ।       उहाँले भन्नुभयो, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।”      इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दैआउनुभएको छ । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उहाँले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दैआउनुभएको छ । उहाँले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राख्नुभएको छ ।       “विदेशमा गएर दुःख गर्नुभन्दा यही पुख्र्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ”, सन्तराजले भन्नुभयो ।       सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आउनुभएको छ । “कहिले चार÷पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन”, उहाँले भन्नुभयो ।  लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गर्नुभएको छ । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।      व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिनुभयो । उहाँले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाउनुभएको छ । छोराले पनि उहाँलाई साथ दिँदै आउनुभएको छ ।  “पुख्र्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ”, उहाँले भन्नुभयो ।        सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गर्नुभएको छ । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उहाँले एउटा सिलौटो रु चार सयदेखि रु ५ सय ५० सम्ममा बिक्री गर्दैआउनुभएको छ ।  एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सय सम्ममा बिक्री गर्दैआउनुभएको छ । पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो । 

डडेल्धुरा:     डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् ।  महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् ।  दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनुभयो ।  दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।   प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते हुनुभएको छ । उहाँलाई  उपचारका लागि धनगढी पठाइएको छ ।  अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तनहुँ:    देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो ।   सुन्तला बगैँचा लगाउनुभएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताउनुभयो । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उहाँको माग छ ।  आफ्नो बगैँचामा पनि लटरम्म सुन्तला फलेका तर रोगव्याध लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई सताएको छ ।  सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजना भताभुङ्ग भएको दुखेसो उहाँले गर्नुभयो ।  तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभई काठमाडौँ उपत्यकामा पनि खपत हुने गरेको छ ।   गत वर्ष लुङग्रिङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

काठमाडौं:   हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ ।  साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।   आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक९दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।