पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

काठमाडौं:    लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ ।  साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।       आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।  रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।        असोज २८ गते सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेशक  र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

काठमाडौं:    बडादसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् ।  असोज  २४ गते फूलपाती र २६ गते(महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।       त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।       यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।      यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए ।  ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् ।  यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो ।          अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।  यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो । 

तनहुँ:    बडादसैँको दशौ दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो ।  सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । उहॉले भन्नुभयो, “दुई सय ३७ जना आफन्तजनले कैदीबन्दीसँग भेट गर्दैं दसैँ मनाएका छन् । दसैँ मनाउन पाउँदा कैदीबन्दी खुसी भएका छन् ।’’  विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गर्नुभयो । कारागारमा रहेका कैदीबन्दीले दसैँ मनाउनका लागि रकम सङ्कलन गरेका थिए ।  सोही रकमबाट उनीहरुले खसीको व्यवस्थापन गरेका थिए । सरकारले दसैँ मनाउका लागि प्रति कैदीबन्दी रु तीन सय र लत्ताकपडा बापत रु दुई हजार पाँच सय उपलब्ध गराएको थियो ।   केही कैदीबन्दीले मूढा विक्री गरेर समेत दसैँ खर्च जुटाएका थिए । तनहुँ कारागारमा तीन सय ३० कैदीबन्दी छन् । उनीहरुलाई कारागारभित्र रहेका दुई वटा ब्लकमा व्यवस्थापन गरिएको छ ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रु पैयाँ ८० पैसा निर्धारण गरिएको छ ।      युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।        अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३० पैसा र बिक्रीदर ७९ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।     जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।        केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ तीन पैसा र बिक्रीदर चार रुपैयाँ आठ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा कायम छ ।  साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।        राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५५ पैसा तोकेको छ ।      भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:   आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।       आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।      आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस   एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख गरिएको छ ।        जबसम्म मनुष्यले पद्मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन्, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ भनी ती ग्रन्थमा लेखिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी गराउनुभयो । यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुन्दर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ ।       एकादशीको व्रतको समानता गङ्गा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन् । हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ । यो व्रत नगर्दा पाप बाँकी रहन्छ र अन्त्यमा नरकमा जानुपर्दछ । कलिकालमा मनुष्यहरुले दुर्लभ यो चोलालाई सुलभ बनाउन यो व्रत बस्नु उचित मानिन्छ ।        यो एकादशीको विधिपूर्वक व्रत गर्नाले आमापक्षका दश पिँढी, बाबुपक्षका दश पिँढी अनि आफ्नी पत्नीका र पतिका पक्षका दश पिँढी त्यसपछि विगतका स्त्री र पुरुषलाई उद्धार गरिदिन्छ अर्थात् वैकुण्ठमा बास गराइदिने विशवास पनि गरिन्छ । बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ ।       आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ । सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन भन्ने विश्वास पनि रही आएको छ ।

कास्की:   विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् ।  विगत वर्षहरुमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् ।      कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखराका सातवटा रुटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिनुभयो । ती बसहरु आज अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुनेछन् ।       पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन् ।        यसैगरी लेखनाथ जनताको चौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोकहुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने छन् ।  निःशुल्क सेवा सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।      उहाँले भन्नुभयो, “दसैँको टिका तथा आशीर्वाद थाप्न मान्यजनकहाँ जाने चलन छ । तसर्थ दसैँको दिन सार्वजनिक यातायात सहजरूपमा उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीसँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाएको हो ।” दसैँका बेला कुनै प्रकारको समस्या परे महानगरपालिकाको टोल फ्री नं ११८१ (हटलाइन) सेवामा सम्पर्क गर्न प्रमुख आचार्यले आग्रह गर्नुभयो ।       यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताउनुभयो । “जनताको सेवा र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न हामी तयार छौँ । त्यसैको कडीको रुपमा निःशुल्क बस सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । उहाँले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको हो ।       साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिनुभएको उहाँको सचिवाललये जनाएको छ । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।       यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ ।         अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ । 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गर्नुभएको छ ।  सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयो ।       राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसँैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नुभएको हो ।  सोही अवसरमा उहाँले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरुलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।       विजयादशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० बजे देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्वहरु तथा र ३ः३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको छ ।  राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिनुहुने कार्यक्र छ ।       साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि दसैँको टीका र जमरा लगाइदिनुहुने कार्यक्रम छ । यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।      दसैँलाई असत्यमाथि सत्यको विजयको प्रतीक र  देवी दुर्गाले महिषासुर दैत्यलाई पराजित गरेको कथासँग जोडिएको छ । टीका लगाउँदा देवीको आशीर्वाद स्वरूप विजयशक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ ।  टीका लगाउनु धार्मिक रूपमा शुद्धता र पवित्रताको प्रतीक  तथा यो परम्पराले नेपाली संस्कृति तथा परम्पराहरूलाई संरक्षण गर्दै अघि बढाउने र दसैँको टीकाले परिवारका सबै सदस्यहरूलाई एक ठाउँमा भेला गराउने भएकाले यसको महत्व छ ।  दसैँको टीकाले धार्मिक, सांस्कृतिक, र पारिवारिक रूपमा गहिरो महत्व राख्दछ, जसले नेपाली समाजमा एकता, प्रेम र शान्तिको भावना प्रवर्द्धन गर्ने समेत विश्वास लिइएको छ । 

काठमाडौं:     सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।       श्रीलङ्काको कोलम्बोमा हुने फाइन भिडन्त स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । हिजो भएको लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।       त्यसअघि नेपाललले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो ।            नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने उज्वेकिस्तान शतप्रतिशत जीतसहित पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो । समूह चरणमा सबै खेलमा उज्वेकिस्तानले जीत हासिल गरेको थियो ।           श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित तुर्किमिनिस्तान, माल्दिभ्स, कीर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।