पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज...

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ ।      महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५ः३० बजे महासभामा सम्बोधन गर्नुभएको हो ।      उहाँले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गर्नुभयो ।      सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराउनुभयो ।      “दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ । पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकार्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ ।”       इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।      प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताउनुभयो । उहाँले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग गर्नुभयो ।      महासभामा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्छ ।

काठमाडौं:    जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।      आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।      असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।      यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।      यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।      विपद् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिनुभयो ।

काठमाडौं:    सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज १३ गते आइतबार बस्ने भएको छ ।            कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज एक विज्ञप्ति जारीगरी बैठक आइतबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने जानकारी दिनुभयो ।  बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।            कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ । 

काठमाडौं:     निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने स्थानीय तहको उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।      आयोगकाअनुसार त्यसका लागि मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ भने सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मङ्सिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।       सोही दिनको दिउँसो ३ बजे उपरान्त मङ्सिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।        मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।      आयोगले मतदान सुरु हुनुभन्दा अठ्चालिस घण्टा अगाडि अर्थात् मङ्सिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने जानकारीसमेत सबैलाई गराएको छ ।

पोखरा:     ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन् । बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले छोटो तयारीबीच आयोजित प्रतियोगितामा सबै जनाको साथ र सहयोगप्रति खुसी व्यक्त गरे । विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किमी उक्त दौड प्रतियोगितामा खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश गरिएको उनले बताए । खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पु¥याएकोमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई ‘पोखरा क्लिक विशिष्ट सम्मान’ गरिनेछ । विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित प्रतियोगितासँगै पर्यटनको राजधानी पोखराको वडा २२ का प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचारप्रसार र पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ लम्बिने आयोजकको विश्वास छ । पत्रकार सम्मेलनमा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले दौडका लागि ट्रयाक मर्मत गरिएको बताए । उनले आफ्नो गाउँठाउँमा पोखरा क्लिकले प्रतियोगिता आयोजना गरेकोमा आफ्नै ठानेर सहयोग गरिएको बताए । सो क्रममा नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्कीका कावा अध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए । पोखरा क्लिक अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन पत्रकार एवं साहित्यकार असफल गौतमले गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न ९ उपसमिति गठन गरिएको छ ।

काठमाडौं:     सशस्त्र प्रहरी बल नेपाल, युएन शान्ति स्थापना शिक्षालयले काठमाडौँ नगर प्रहरीलाई शान्तिसुरक्षा र भीड नियन्त्रणसहित व्यावसायिक जिम्मेवारीसँग सम्बन्धित एक महिनाको आधारभूत तालिम प्रदान गरेको छ ।      काठमाडौँ महानगरपालिकाले गत असारमा नयाँ भर्ना लिएका नगर प्रहरीमध्ये ३९ महिलासहित एक सय १० जनालाई पहिलो चरणमा तालिमका लागि त्यहाँ पठाएको थियो । शिक्षालयले शान्तिसुरक्षा, भीड नियन्त्रण, अनुशासन, व्यावसायिक जिम्मेवारी, समन्वय, सहकार्य र रणनीतिक अभ्यासका विषयमा तालिम प्रदान गरेको हो ।      शिक्षालय परिसरमा आज आयोजित दीक्षान्त कार्यक्रममा बलका वरिष्ठ उपरीक्षक एवं शिक्षालयका समादेशक राजेन्द्र खड्काले छोटो अवधिको आधारभूत भए पनि नगर प्रहरीका हैसियतले कार्यक्षेत्रमा खटिइ जिम्मेवारी बहन गर्दा तालिममा सिकेका ज्ञान फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।      महानगरपालिकाको अनुरोधमा शिक्षालयले पहिलो पटक नगरप्रहरीलाई यो तालिम प्रदान गरेको हो । महानगरपालिकाले आगामी एकमहिनाभित्रै एक सय तीन जनाको दोस्रो समूह पनि त्यहाँ पठाउने टुङ्गो गरेको छ ।      महानगरपालिकाको सुरक्षा नेतृत्वले छोटो अवधिको तालिम भए पनि आफ्ना नयाँ भर्ना सुरक्षा जनशक्तिलाई कार्यक्षेत्रमा गर्नुपर्ने शान्तिसुरक्षालगायत मामिलामा प्रदान गरिएको शिक्षा महत्वपूर्ण रहेको भनी प्रशंसा गर्नुभयो ।      महानगरपालिकाले मुख्य कार्यालय, मीनभवन, टेकु र बसपार्कलगायतका स्थानबाट नगर प्रहरी परिचालन गर्दै आएको छ । पछिल्लो समय स्थानीय सरकारले करार र स्थायी दरबन्दी कायमगरी आ–आफ्ना नगर प्रहरी राख्ने अभ्यास छ । स्थानीय तहको अनुरोधमा त्यस्ता नगर प्रहरीलाई गृह मन्त्रालयसँग स्वीकृत लिइ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट तालिम प्रदान गरिँदै आएको छ ।

काठमाडौं:   सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।  सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले उक्त निर्णय गरेको हो ।      प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको आज बसेको पूर्ण बैठकबाट एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।      वरिष्ठ अधिवक्ताको उपाधि पाउने अधिवक्ताहरुमा पूर्वमहान्यायाधिवक्ता डा दीनमणि पोखरेल, नेपाल बारका पूर्वमहासचिव खम्मबहादुर खाती, डा भीमार्जुन आचार्य, बाबुराम दाहाल, ज्योति बानियाँ, पूर्णिमा रिमाल गुरागाईं, शान्तिराम खतिवडा, ललितबहदुर बस्नेत, विष्णुमाया भुसाल, राजुप्रसाद चापागाईं, पद्मबहादुर श्रेष्ठ, रामप्रसाद भण्डारी, राजु खड्का, सरिता शर्मा, राजु खड्कासहित एक सय ५९ हुनुहुन्छ ।

काठमाडौं:    नेपाल प्रहरीको टोलीले ठगीसम्बन्धी कसुर र जबर्जस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरेको छ ।      पक्राउपर्नेमा ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरु पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया भूपेन्द्र बोहरा र काठमाडौँ नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कवीर बुढाथोकी तथा जबर्जस्ती करणी कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।      उहाँले भन्नुभयो, “इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन फरार व्यक्तिलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ दुबईमा पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ ।”      पक्राउ परेकामध्ये भूपेन्द्रलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट विसं २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।       यसैगरी काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट विसं २०७० साउन २४ गते कवीर बुढाथोकी र गएको असार १२ गते रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता कार्कीले बताउनुभयो ।      भूपेन्द्रलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोमा तथा कवीर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

सुनसरी:    कोशी ब्यारेजको ३४ र ३५ नम्बर ढोका छेउमा यात्रुबहक बस नदीमा खसेको छ । घटनामा २० जना यात्रुको उद्धार गरिएको छ । उनीहरुलाई सुनसरीको विभिन्न अस्पतालमा लगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभएको छ । विराटनगरबाट मधेश प्रदेशतर्फ गइरहेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बसमा कतिजना यात्रु थिए भन्नेसमेत स्पष्ट हुन सकेको छैन् ।