पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

काठमाडौं:     हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।  देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ ।  गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ ।  कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

म्याग्दी:     “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धवलागिरि चढ्दै गरेको तस्बिरसहित आरोहणसम्बन्धी जानकारी गराउनुभएको थियो ।  संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका १४ जना रुसी पर्वतारोहीको नेतृत्वकर्ता डसिकाको यो नै अन्तिम सन्देश बन्न पुग्यो ।  यही असोज २१ गते अर्थात् अक्टोबर ६ तारिखका दिनदेखि आरोही एकाएक सम्पर्कविहीन भएपछि समाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका आफन्त तथा शुभेच्छुकहरू निराश बने ।    धवलागिरिको चुचुरो चुम्न एक सय ६७ मिटरमात्र बाँकी रहेको अवस्थामा असोज २१ गते दिउँसो ११ बजे आधार शिविरमा रहेको टोलीलाई फर्कन लागेको जानकारी गराएका डसिकासहित पाँचजना आरोही सम्पर्कविहीन भएको दुई दिनपछि असोज २३ गते सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिए ।  अतिरिक्त अक्सिजनको प्रयोगबिना धवलागिरि आरोहण गर्न आएका डसिका, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोइ अन्ततः धवलागिरिमै अस्ताए ।  हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा खसेर ज्यान गुमाएका पाँचै जनाको शव दश दिनपछि बुधबार निकालिएको छ ।  एयर अल्टिच्युडको हेलिकप्टरबाट रसीमा झुण्डिएर घटनास्थलमा पुगेका सेभेन समिट टे«क्सका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर इटली आधार शिविरमा ल्याएको थियो ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले आधार शिविरबाट शवलाई काठमाडौँस्थित शिक्षण अस्पतालमा लगिएको बताउनुभयो ।  “मौसमको खराबी र प्रतिकूल भूगोलका कारण घटनास्थलबाट शव सङ्कलन गरेर ल्याउन ढिलाइ भएको हो । यसअघि दैनिकजसो शव ल्याउन गएका हेलिकप्टर रित्तै फर्किएका थिए । उद्धारकर्ताहरूको अथक प्रयासपछि हेलिकप्टरबाट रसीमा झुण्डिएर शव ल्याउनुभयो”, उहाँले भन्नुभयो । आइएम टे«किङ एण्ड एक्सिपडिसनमार्फत १४ जना रुसी पुरुष पर्वतारोहीहरू धवलागिरि हिमाल आरोहणका लागि गएका थिए । सो टोलीका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्लीले भने धवलागिरिको सफल आरोहण गरेका आरोहण गराउने कम्पनी एक्सपिडिसनले जनाएको छ ।  कम्पनीका अनुसार छ जना पर्वतारोही बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएको थियो ।  चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उहाँले आरोहण रद्द गरेका जनाइएको छ ।  जिल्लाको धवलागिरि गाउँपालिका–४ मा पर्छ । 

काठमाडौं:     सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।  प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।   एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।   प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार  नेपाल भुटानसँग भिड्नेछ । 

काभ्रेपलाञ्चोक:    सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ ।       रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।      सडक डिभिजन भक्तपुरले आज सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो ।  उक्त सडकखण्ड सञ्चालनमा आएसँगै अहिले बिपी राजमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनको चाप बढेको छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुन्छ भन्ने भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ ।  ६९ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निश्चित अवधिपछि वर्तमान सरकार आफैँ फेरिने स्पष्ट पार्नुभयो ।         “अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने सुनिन्छि, दसैँपछि तुरुन्त परिवर्तन हुन्छ रे, कुन दसैँ भनेको ? ८४ सालको दसैँपछिको चुनावमा रु ठिकै हो । त्यसभन्दा यता मैले एक वर्ष नौ महिनापछि शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु । त्यसबेला आफैँ फेरिन्छ यो सरकार”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसपछि देउवाजीले नेतृत्व गर्नुहुन्छ, उहाँको नेतृत्वमा २०८४ सालमा निर्वाचन हुन्छ । चुनावपछि जो आउँछ त्यसले सरकार बनाउँछ । यस कुरामा सबै ढुक्क रहन म आग्रह गर्न चाहन्छु ।”           प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा ठूलो योगदान गरेका नेपाली कांग्रेस र नेकपा ९एमाले० जस्ता पार्टीले मिलेर बनेको लगभग दुई तिहाइको सरकार ‘खरानीको डल्लो’ नभएको टिप्पणी गर्नुभयो ।   ‘वर्तमान संविधान र लोकतान्त्रिक प्रणालीमा ‘कम्प्रोमाइज’ हुँदैन’        प्रधानमन्त्री ओलीले जनप्रतिनिधिमार्फत निर्माण गरिएको वर्तमान संविधान र जनताको सङ्घर्षको बलमा स्थापित लोकतान्त्रिक प्रणालीमा कुनै ‘कम्प्रोमाइज’ नहुने स्पष्ट पार्नुभयो । उहाँले नेपाली जनतामा सार्वभौमसत्तानिहीत रहेको यस प्रणालीको रक्षा गर्नु  सम्पूर्ण नेपालीको कर्तव्य भएको बताउनुभयो ।            “पूर्वज र अग्रजले यो देशको निर्माण र समृद्ध बनाउने सन्दर्भमा धेरै बलिदान र कष्ट व्यहोर्नुभएको छ । आजको स्वतन्त्रतायुक्त समाज यत्तिकै आइलागेको होइन, यो बडो मेहनतका साथ आएको हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनतामा सार्वभौमसत्ता रहेको र जनता शक्तिको स्रोत रहेको संविधान र यसबाट निर्दिष्ट अहिलेको लोकतान्त्रिक प्रणालीको रक्षा गरिनेछ ।”            अलोकतान्त्रिक विधिबाट परिवर्तन गर्छु भन्नु अराजनीतिक विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “धेरै कुरामा ‘कम्प्रोमाइज’ हुन सक्दछ, तर प्रणालीको कुरामा कुनै सम्झौता हुँदैन । लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने चुनावका माध्यमबाट अर्को सरकार गठन गर्न सकिन्छ ।”   ‘कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ’            प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका साथ पारित गरिने स्पष्ट पार्नुभयो ।  उहाँले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने उल्लेख गर्नुभयो । उक्त विधेयकलाई हाल आवश्यक सुझावका लागि लोकसेवा आयोगमा पठाइएको छ ।          नेपाल प्रहरीलाई आफूले जेलमा रहँदा, सांसद–मन्त्री हुँदादेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस सङ्गठनलाई अपराध अनुसन्धानमा तालिम र अत्याधुनिक साधनको उपब्धता गराउने विषयमा सरकारकोे ध्यान गएको बताउनुभयो ।            देशविदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसका शुभकामना दिँदै प्रधानमन्त्री ओलीले समाजमा प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताउनुभयो ।

काठमाडौं:     नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल फाउण्डेसन’ जस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।   आफ्नै निवास बुढानिलकण्ठमा आज जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले चेतनाको वाहक भएर लोकतान्त्रिक पद्धती र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जनअधिकारको रक्षाका निम्ति फाउण्डेशनले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउण्डेसनलाई आग्रह गर्नुभयो । विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसन समेत स्थापना भएकामा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।   स्मारिका सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि,उद्देश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराउनुभएको थियो ।  जय नेपाल सन्देशका प्रधान सम्पादक प्रा।डा धनेश्वर नेपाल र फाउण्डेसनका संस्थापक सदस्य सचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख विजयराज अधिकारीले स्मारिकामा समेटिएका विषयवस्तु र विचारहरूबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराउनुभएको थियो । फाउण्डेसनका संस्थापक सदस्यहरू योगेन्द्र राई, रामबहादुर रोकाय, प्रकाश रावल र शान्ता तामाङलगायत सहभागी हुनुहुन्थ्यो । फाउण्डेसन नेपालभित्र रहेका तथा विश्वभर छरिएका नेपाली युवाबीच सहकार्य, सहयोग र सद्भाव बढाउने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था हो ।  फाउण्डेसनको केन्द्रीय समिति, ७ वटै प्रदेश, ७७ वटै जिल्ला एवं पालिका तहसम्म संरचना विस्तार भएका छन् । अमेरिकामा जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसन कृयाशील छ भने यसअन्तरर्गत विभिन्न देशमा ३० भन्दाबढी शाखाहरू विस्तार भएको छ ।   नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री तथा अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त युवा वैज्ञानिक प्रा डा यादव पण्डितले जय नेपाल इन्टरनेसनल फाउण्डेसनको नेतृत्व गर्नुभएको छ । फाउण्डेसनअन्तर्गत अन्तराष्ट्रिय नलेज नेटवर्क, मिडिया नेटवर्क, युथ नेटवर्क र ओमन नेटवर्क समेत कृयाशील रहेका छन् ।

काठमाडौं:    दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उड्नुभयो । मलेसिया जान लाग्नुभएकी गिरीले भावुक हुँदै भन्नुभयो, “घर चलाउन, घरै छाड्नुपर्‍यो ।” घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उहाँको भनाइ थियो ।            कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमान्को कमाइले परिवार चलाउन सक्नुभएन ।  छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो । उहाँले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोच्नुभएको होइन तर लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएको बताउनुभयो ।  “सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र”, उहाँले भन्नुभयो, “मुटुमा ढुङ्गा राखेर जान लागेकी छु । राम्रै कम्पनी परे त ठिकै हो । नभए के गर्ने थाहा छैन ।” गिरीसँगै कामदारका रुपमा विदेश जान आठ महिला तयार हुनुहुन्थ्यो । ती सबै आमाहरु थिए ।  त्यही लहरमा भेटिनुभएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो । आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारिको मुलुकमा कसरी काम गुर्नहुन्छ ? भन्ने प्रश्नको जवाफ छोटोमा दिनुभयो, “जे त होला ।” तामाङले ५ कक्षासम्म मात्रै पढ्नुभएको छ । सानैमा बिहे भयो । १० वर्षकी छोरी छोडेर विदेसिनु कुनै महत्वाकाङ्क्षा नरहेको उहाँको भनाइ छ ।  “यो मेरो बाध्यता हो”, उहाँ भन्नुहुन्छ, “छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले विदेसिने बनायो ।” तामाङका श्रीमान् सवारी चालक हुनुहुन्छ । सुकुम्बासी बस्तीमा बस्ने उहाँहरुको जग्गा जमिन छैन । घर चलाउन श्रीमान्लाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातिमा दाग देखिएपछि उहाँले आफैँ विदेसिने निधो गर्नुभएको हो । “नेपालको कमाइले पुग्दैन । महँगी छ । त्यसैले विदेसिनुको विकल्प देखिँन”, उहाँले भन्नुभयो ।            स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा हुनुहुन्छ । श्रीमान्ले काम नगर्ने, जाँड रक्सी खाएर कुटपिट गर्ने गरेपछि उहाँले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आउनुभएको थियो । छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो ।  श्रीमान्लाई फकाएर मलेसिया पठाउनुभयो । विदेश गएका श्रीमान्ले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर श्रीमान्ले न त पैसा पठाउनुभयो न त फोन सम्पर्क नै । हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रवासमा राखेर दुबई जान लागेको बताउनुभयो ।  “विदेश गएको श्रीमान्ले एक सुको पठाएन, वास्तै गरेन”, उहाँले भन्नुभयो, “छोराछोरी पाल्ने कोही नभएपछि उनीहरुकै भविष्यका लागि विदसिन लागेकी हुँ ।”      वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्याङ्कमा वैदेशिक रोजगारमा जाने महिलाको उमेर समूहमा २४ देखि ३४ वर्षका ५२ दशमलव तीन प्रतिशत, १८ देखि २४ उमेरका ३२ दशमलव तीन प्रतिशत र ३५ देखि ४४ वर्ष उमेरका १४ दशमलव छ प्रतिशत र ४५ देखि माथिका शून्य दशमलव आठ प्रतिशत उल्लेख छ ।       विभागकाअनुसार बर्सेनी ६० हजार हाराहारीको सङ्ख्यामा महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए ।  आर्थिक वर्ष २०७९/०८० मा ७२ हजार महिला श्रम गर्न विदेश गए । आर्थिक वर्ष २०८०/८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या वृद्धि भई ८० हजार पुगेको छ ।            वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले तुलनात्मक रुपमा पुरुषभन्दा महिला कमै विदेश जाने गरेको देखिए पनि पछिल्लो  तथ्याङ्कले रोजगारका लागि विदेश जानेक्रम बढ्दो अवस्थामा रहेको बताउनुभयो ।  उहाँका अनुसार खाडी मुलुक जाने महिलाको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । “अधिकांश महिला साउदी, मलेसिया, कुबेत, कतार, युएइलगायत खाडी मुलुकमा रोजगारका लागि जानुहुन्छ”, प्रवक्ता ढकालले भन्नुभयो, “त्यसमा पनि श्रम स्वीकृति नलिइ लुकेर जानेहरुको तथ्याङ्क पाउन मुस्किल छ ।”            राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताउनुहुन्छ । आयोगले एक वर्षअघि गरेको तथ्याङ्कको विश्लेषण गर्दै भन्नुभयो, “आमा नहुँदा घर परिवार लथालिङ्ग भएको छ ।” राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगर्दा नागरिककले सास्ती खेप्नुपरेको उहाँको भनाइ छ ।            पौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङका अनुसार आमाहरु परिवार पाल्न विदेसिनुमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरु मुख्य छन् । संस्थाले विदेश जानुअघि परामर्श दिने, सकेसम्म स्वदेशमै बस्न उत्साहित गर्ने र नभएमा विदेश जाँदा अपनाउनुपर्ने सचेतताबारे परामर्श दिँदै आएको उहाँले बताउनुभयो ।  बितेका १५ वर्षमा पाँच हजार बढी वैदेशिक रोजगारीमा अलपत्र महिलाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । “नेपाली समाजमा महिलाले थुपैै्र विभेद सहन बाध्य छन्”, उहाँ भन्नुहुन्छ, “जसले गर्दा घर छोडेर कमाउन विदेसिएका छन् ।” आमाहरुलाई स्वदेशमै टिकाउन राज्यले उद्यमशील निती ल्याउन जरुरी रहेको उहाँको सुझाव छ ।

पोखरा:  पोखरामा भोलिदेखी क्लब स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघले ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको हो ।  संघमा आबद्ध भएका क्लबहरुमात्र उक्त प्रतियोगितामा सहभागि कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए ।  उनले जिल्ला स्तरमा प्रतियोगिता हुँदा खेलाडी विकास हुने बताए । संघले ग्रासरुटस्तरमा खेलाडी विकास गर्ने योजनाका साथ प्रतियोगिता आयोजना गरेको उनले सुनाए । उनका अनुसार प्रतियोगिता नेपाल क्रिकेट संघले आयोजना गर्ने प्रधानमन्त्री कपका लागि जिल्ला छनोटको रुपमा समेत रहेको छ ।  ‘यो पिएम कपको लागि जिल्ला स्तरीय छनोट प्रतियोगिता समेत भएकाले संघमा आबद्ध क्लबहरु बिचमा मात्रै भएको हो । हाम्रो संघमा ९ क्लब दर्ता रहेका छन’ उनले भने, ‘यो खेलाडीहरुका लागि अवसर समेत हो । खेलाडीले राम्रो प्रदर्शनी गर्न सकेमा भोलि राष्ट्रिय टिममा समेत पर्ने सम्भावना रहन्छ ।’   एक दिवसीय क्रिकेट जिल्ला स्तरमा हुँदा खेलाडी विकासमा ठुलो टेवा पुग्नेमा आफु आशावादी रहेको उनी सुनाउछन् ।  प्रतियोगितामा सहभागि कुल ९ टिमलाई तीन समुहमा विभाजन गरिएको छ ।  समुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन् ।  प्रतियोगिताको समुह विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् भने उपविजेता मध्येबाट एक टिम सर्वाधिक अंक ल्याउने वा रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गर्नेछ ।  प्रतियोगिता भोलिबाट सुरु भई १२ गतेसम्म सञ्चालन हुनेछ । सांग्रिला क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब बिच उद्घाटन खेल हुने पुनले बताए ।

महोत्तरी:    यहाँको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राऊ गरेको छ ।      पक्राऊ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाईकलमा चढेर मनरासिश्वा नगरपालिका–२ स्थित भोल्ही चोक जाँदै गरेका साहलाई प्रहरी टोलीले शङ्का लागि चेक जाँच गर्दा निजले लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको उक्त नगद बरामद गरेको प्रहरीले जनाएको छ । साहले शरीरका विभिन्न भागमा लुकाएर बोकेको  अवस्थामा स्रोत नखुलेको रु एक हजार दरका नोट आठ सय एक थान र रु पाँच सयका नोट नौ थान बरामद गरेको हो ।      पक्राऊ परेका साह र उनी सवार मोटरसाईकलसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ ।