काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपरान्ह स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली स्वदेश फर्कनेक्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा मन्त्रीगण, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत हुनुहुन्थ्यो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जानुभएको थियो । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले महासभालाई यही असोज १० गते सम्बोधन गर्नुभएको थियो । महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । उहाँले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गर्नुभयो । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत हुनुहुन्छ ।
काठमाडौं: सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मङ्गलबार बस्न लागेको जनाएको छ । उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो । दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।
काठमाडौं: बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा शनिबार करिब दुई सय मिटर सडक रोशी खोलाको बाढीले बगायो । सडक सम्पर्क टुटेपछि यात्रु बाटोमै अलपत्र परेका थिए । अलपत्र परेका यात्रुको आइतबारदेखि हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ । राजधानीसँग मध्यपहाडी क्षेत्रहुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दुरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ को सीमास्थल उक्त स्थानमा रोशी खोलाको बाढीले कटान गर्दै करिब दुई सय मिटर सडक बगाएको हो । माथि ठूलो भीर भएको र रोशी खोलाको बहावका कारण आइतबारसम्म कुनैपनि स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन । पानीको बहाव घट्दै गएपछि आज भने रोशी क्षेत्रमा अलपत्र यात्रु हिँडेरै गन्तव्यतर्फ जान थालेका छन् । बाढीबाट सबैभन्दा बढी रोशी गाउँपालिका प्रभावित भएको छ । सडक सम्पर्क टुटेपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । आज दिउँसोसम्म रोशी क्षेत्रलगायत स्थानमा फसेका चार सय यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो । आइतबार तीनवटा हेलिकप्टरमार्फत रोशी गाउँपालिका, कोशीपूर्वस्थित भुम्लु, तेमाल गाउँपालिका र पनौतीको रोशी क्षेत्रबाट घाइते, बिरामीलगायतलाई उद्धार गरिएको उहाँले बताउनुभयो । “आज पनि बिहानैदेखि हेलिकप्टरमार्फत यात्रुको उद्धारकार्य जारी छ । हेलिकप्टरले उद्धार गर्न जाँदा राहत सामग्री बोकेर जाने र आउँदा विभिन्न स्थानमा अलपत्र परेका यात्रुलाई उद्धार गरिरहेको छ”, सहायक प्रजिअ पौडेलले भन्नुभयो । रोशी खोलाको बाढीले सडक मात्रै बगाएन, स्थानीयको करिब तीन सय रोपनी खेतसमेत कटान गरेको छ । स्थानीय गोविन्द गौतमले बाढीले बस्ती नजिकको झोलुङगे पुलसमेत बगाएको बताउनुभयो । “हामी दैनिक कामको सिलसिलामा नमोबुद्धको भकुण्डे बजार र सदरमुकाम जानुपथ्र्यो, सडक नै बगाएपछि कतैबाट पनि जान सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । शनिबार बिहानैदेखि उर्लेको रोशी खोलाको बाढीले कटान गर्दै उक्त सडक बगाउँदा नजिकका बस्तीका बासिन्दा त्रासमा रहेको उहाँले बताउनुभयो । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ रोशीको माम्तीका भ्याकुरे खोलाको बाढीले ह्युमपाइपसहित बगाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उहाँका अनुसार उक्त स्थानबाट पूर्वतर्फ जाने यात्रुको हेलिकप्टरबाटै उद्धार गर्नुपरेको छ । राजमार्गको मङ्गलटार क्षेत्रमा एक सय मिटर सडक पुरिएको छ भने राजमार्गकै नार्के बजारमा रोशी खोलाको बाढीले कटान गरी १२ घर बगाएको छ । रोशीमा बाढीका कारण ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ । उक्त क्षेत्रको विभिन्न स्थानमा सडक कटान गरेको छ भने सडक पुरिएको अवस्थामा रहेको स्थानीय रत्न लामाले बताउनुभयो । “सडक ठप्प छ, विद्यालय बन्द छन्”, उहाँले भन्नुभयो । पहाडी क्षेत्र भएकाले पहिरो त्रास रहेको लामाले सुनाउनुभयो । चौकीडाँडामा सडक भत्केपछि पैदलयत्रासमेत गर्न कठिन भएको स्थानीय राजेन्द्र श्रेष्ठले बताउनुभयो । “सदरमुकामसँगको सम्पर्क टुटेको छ, गाउँमा बिजुली छैन, टेलिफोन गर्नसमेत समस्या छ”, उहाँले भन्नुभयो । श्रेष्ठका अनुसार बगेको सडक पुनःनिर्माण गर्न समय लाग्ने देखिएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा हालको बाढीपहिरोबाट ५७ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । आज दिउँसोसम्म तीन हजार दुई सय ७४ जनाको उद्धार गरिएको छ । चार जना अझै बेपत्ता रहेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्य जारी राखिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०÷८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी व्यक्त गर्नुभयो । मुलुकको विकासको वाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यालय प्रमुख तामाङले आयोगले नेपालको संविधानले व्यवस्था गरे बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा प्राप्त उजुरीको प्रारम्भिक छानविन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोपपत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य सम्पादन भइरहेको जानकारी गराउनुभयो । आयोग पोखरा प्रमुख तामाङले आर्थिक वर्ष २०८०/८१ मा आयोगमा २६ हजार ९ सय १८ उजुरीहरु प्राप्त भएको जानकारी गराउँदै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ गरी कूल ३६ हजार १ सय ८६ कारबाही गर्नुपर्ने संख्या रहेको जानकारी दिनुभयो । यसमध्ये ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएको बताउनुभयो । आयोगको पोखरा कार्यालयबाट गत वर्ष १ हजार ३ सय १५ उजुरी प्राप्त भएकोमध्ये अघिल्लो वर्षको ४ सय ५५ सहित १ हजार ७ सय ७० उजुरी रहेकोमा १ हजार ६ सय १५ अर्थात् ९१.०२ प्रतिशत उजुरी फछ्र्यौट भएको जानकारी दिनुभयो । देशभरको तुलनामा प्रदेशगत हिसाबमा गण्डकीमा उजुरी संख्या सबैभन्दा कम भएपनि स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामै परेको तामाङले बताउनुभयो । आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडौं एवं मातहतका आठ वटा कार्यालयहरूबाट आयोगका कार्यहरू सम्पादन हुँदै आइरहेका छन् । ३३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई अनुसन्धानसम्बन्धी अधिकार प्रत्यायोजन गरिएको छ । हाल आयोगमा कुल ९९० कर्मचारीको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।
नुवाकोट: छहरे–टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट नुवाकोट हुँदै पोखरातर्फ जान लागेको ग१ख ४५३५ नम्बरको माइक्रोबस आज दिउँसो अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको घटनास्थलमा रहनुभएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । माइक्रोबसमा १८ यात्रु सवार थिए । घाइतेलाई उपचारका लागी काठमाडौँ पठाइएको छ । धादिङको विभिन्न स्थानमा पहिरो गएका कारण सो माइक्रोबस काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । माइक्रोबस भीरमा मौवाको रुखमा अड्किएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरी नायव उपरीक्षक भारतीले बताउनुभयो ।
काठमाडौं: नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए । सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मनाउन घर जाने यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलमा लैजान महासङ्घ लागिपरेको बताउनुभयो । वर्षाका कारण तीन दिनदेखि काठमाडौँमा रोकिएका सार्वजनिक सवारीसाधान क्रमशः नयाँ बसपार्कबाट गन्तव्यस्थलतर्फ जान थालेका छन् । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्याङ्क छ ।
पोखरा: पोखरामा जारी आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फ धादिङ स्पोर्टस क्लब र नदीपुर एफसी उपाधिका लागि भिड्ने भएका छन् । पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आज भएको महिलातर्फको पहिलो सेमिफाइनलमा नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश ग¥यो । नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई २५–७ , २५–१६ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा धादिङ स्पोर्टस क्लब धादिङले बागलुङ टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा नदीपुर एफसीसँग भेट पक्का गरेको छ । धादिङ स्पोर्टस क्लबले टिम बागलुङलाई २५–२३, २५–११ र २५–१७ ले पराजित गरेको हो । आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि नदीपुर एफसी र धादिङ स्पोर्टस क्लब धादिङबीच मंगलबार प्रतिस्पर्धा हुने पोखरा भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । यस्तै पुरुषतर्फको दुई सेमिफाइनल पनि आज नै हुने आयोजकले जनाएको छ । पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गल्कोट स्पोर्टस क्लब बागलुङ र आँधिखोला दिल्लीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल पोखरा मालेपाटन र नेपाल युथ स्पोर्टस क्लब जापानबीच प्रतिस्पर्धा हुनेछ । असोज ९ देखि १३ गतेसम्म सञ्चालन हुने भनिएको आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता अविरल वर्षाका कारण दुई दिन स्थगित भएको थियो । आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै यस्तै महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौं: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो । ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिनुभयो ।