बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

पाेखरा | मंसिर ३, २०८१

बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

पोखरा:     गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । 

मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । 


टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो । 


गल्कोट–हरिचौर–म्याग्दी १०.८९४ किलोमिटर सडक स्तरोन्नतीका लागि २०७६ साल कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेशीसँग सम्झौता भएको थियो । 


सम्झौता अवधि सकिन करिब ५ महिना बाँकी रहेको सडकको काम ६७ प्रतिशत सकिएको छ ।बुर्तिबाङ–तमानखोला १०.२ किलोमिटर सडक गत साउनमा २ वर्षभित्र सक्ने गरी सम्झौता भएको छ । निर्माणका लागि एसी कन्ट्रक्सनले १२ करोड ७४ लाख ७ हजार ८ सय ४२ रुपैयाँमा सम्झौता गरेको थियो । 


सडकको निरीक्षण गर्दै मन्त्री केसीले समयसीमा भित्र काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले जनताबाट गुनासो नआउने गरेर काम गर्नसमेत आग्रह गरे । 


यस्तै चक्ति खोलामाथि बनेको २.८ किलोमिटर पुलसँगै १०.३६० किलोमिटर गाडीखोला–ढोरपाटन सडकको निर्माण सकिएको छ । उक्त सडकको निरीक्षण गर्दै मन्त्री केसीले गाडीखोलाबाट ढोरपाटन जोड्न सकिए यात्रा थप सहज हुने भन्दै थप सडक निर्माणमा चासो व्यक्त गरे । 


अनुमगनपछि मन्त्री केसीले बागलुङका योजनाबारे पूर्वाधार विकास कार्यालय बागलुङसँग छलफलसमेत गरेका थिए । छलफलका क्रममा पूर्वाधार विकास कार्यालय बागलुङका कार्यालय प्रमुख सीडीई दिनेशकुमार घिमिरेले बागलुङका योजनाबारे मन्त्री केसीलाई योजनाबारे जानकारी गराए । घिमिरेले कार्यालयमा कर्मचारीको समस्या रहेको भन्दै थप कर्मचारी पठाइदिन आग्रह गरे । 


भौतिक पूर्वाधार मन्त्रालयका सचिव कमल प्रसाद अधिकारीले छलफल गरेर कर्मचारी पठाउने प्रतिबद्धता व्यक्त गरे । भौतिक मन्त्री केसीले समयसिमाभित्र निर्माण सक्ने गरी ठेकेदारलाई काम लगाउन कार्यालय प्रमुखलाई निर्देशन दिए ।


 ‘केही समस्या छ भने त्यहिअनुसार अगाडि बढ्नुहोला । जनगुनासो कत्ति पनि नआओस् कुनै पनि काममा । पार्दशी तरिकाले गर्नुहोला, गुणस्तरयुक्त काम गर्नेमा ध्यान दिनुहोला । भोलि गएर कुनै पनि कुरा सुन्न नपरोस्,’ उनले भने । काम छोडेर गएका ठेकेदारलाई मन्त्रालयमै बोलाएर छलफल गर्ने मन्त्री केसीले बताए । 


नेकपा (एमाले)का सांसद केसी गत भदौ १७ मा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका थिए । मन्त्री बनेपछि केसीले अत्यावश्यकबाहेक भेला, समारोह, गोष्ठीजस्ता काममा नजाने योजनाअनुसार निर्णय गरेका थिए । त्यसयता मन्त्री केसी मन्त्रालयकै आन्तरिक काममा व्यस्त छन् । 


मन्त्री बनेको साढे दुई महिना अवधि मन्त्रालयको प्रशासनिक र भौतिक अवस्था, वार्षिक विकास कार्यक्रमका योजनाको अवस्था, मन्त्रालय मातहतका निकायको प्रगति र समस्या बुझ्न खर्चिएको मन्त्री केसीले सुनाए । 


अब बेलाबखत प्रदेश सरकारको लगानीमा निर्माणाधीन योजनाको निरीक्षणमा निस्कने बताए । ‘ठूला योजना जसले जनताको आर्थिक, सामाजिक उन्नतिक हिसाबले अर्थ राख्छ ती योजनाको बेलाबखत निरीक्षण गर्छु, उनले भने, ‘फिल्डमा जाँदा यथार्थ बुझिन्छ । आफू स्वयं गएर बुझेपछि अबको बजेटमा ती योजना समेट्न, संघ सरकारको सहयोग चाहिएमा प्रधानमन्त्री, भौतिक मन्त्रीसँग भन्न पनि सजिलो हुन्छ ।
 

म्याग्दी:    म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ । गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय ...

थप पढ्नुहोस्

काठमाडौं:    पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गर...

थप पढ्नुहोस्

डोल्पा:     आँखा देख्न छाडेको धेरै समयपछि पुन: दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गर्नुभएको छ ।  उहाँ लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न न...

थप पढ्नुहोस्