पोखरा: कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ ।  चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र...

पोखरा:   रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच नयाँ माेडेल पोखरामा सार्वजनिक गरिएको छ ।   बुलेट ट्रेडर्स नयाँबजारमा पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइराला र ट्रेडर्सका सञ्चालक मनोज थापाले रोयल इन्फिल्ड क्लासिक ३५० का नयाँ माेडेलसार्वजनिक गरेका हुन् ।   बिहिबारदेखि पोखराबाट रोयल इन्फिल्ड क्लासिक ३५० बाइकहरुको बुकिङ, टेस्ट राइड र बिक्री सुरु भएको छ ।   पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० का नयाँ मोडलका बाईकहरु पोखरा भित्राइएको बुलेट ट्रेडर्सका सञ्चालक मनोज थापाले जानकारी दिए ।   सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबिएससहित प्रिमियम एलइडी हेडल्याम्प, एलइडी पाइलट ल्याम्प पनि उपलब्ध गराउनेछ ।   त्यसमा टाइप सी युएसबी चार्जर हुने र गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुने सञ्चालक थापाले बताए ।   कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कोइरालाले पोखरामा रोयल इन्फिल्डको नयाँ भेरियन्टको आगमनले अटोमोबाइल क्षेत्रमा नयाँ ईंट्टा थपिएको बताए ।   उनले रोयल इन्फिल्डको आधुनिक सुधारसहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङलाई थप रोमाञ्चित बनाउने र उपभोक्ताको मन जित्नेमा आशावादी रहेको सुनाए ।   रोयल इन्फिल्डका पाँच नयाँ भेरिएन्टमा हेरिटिज सिरिज, हेरिटेज प्रिमियम भेरियन्ट, सिग्नल सिरिज, डार्क सिरिज र क्लासिक क्रोम छन् ।   हेरिटेज प्रिमियम भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ भने सिग्नल सिरिज कमान्डो स्यान्ड, डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपन लगाइएको छ । क्लासिक क्रोम निख्खर हरियो स्वरूपमा उपलब्ध रहेको रोयल इन्फिल्डका गेयर एन्ड जिएमए म्यानेर सुसन महर्जनले जानकारी दिए ।   नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडरमाझ नवीन तरिकाले यसको विरासतअघि बढ्ने बुलेट ट्रेडर्सको विश्वास छ ।   नयाँ मोटरसाइकलहरुको मूल्य ५ लाख ५५ हजारदेखि ५ लाख ७९ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ ।

पोखरा:   कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु भएको छ ।   कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।   उद्घाटनका दिन विभिन्न उमेर समूहका खेलहरू सम्पन्न भएका छन् । सम्पन्न खेलहरूमा १४ वर्ष मुनि ब्वाइज सिंगलमा आर्यस राज पौडेलले शरण विकलाई ६–०, ६–० ले, स्पन्दन उदासले आरित मल्ललाई ६–०, ६–० ले, सुरेन्द्र विकले दर्शन अधिकारीलाई ६–३, ६–१ ले, अभिषेक बिकले संगम मगरलाई ७–६, ६–४ ले,  सुर्यान्स श्रेष्ठले सुमित विकलाई ७–६,६–४ ले पराजित गरे ।   त्यसैगरी १० वर्ष मुनिको गल्र्स सिङ्गलतर्फ निमित कुँवरले सहारा कायस्थलाई ६–४ ६–१ ले, ताभिसी रानाले अनन्या गुरुङलाई ६–१, ६–० ले पराजित गरिन् । १० वर्ष मुनिकै ब्वाइज सिंगलतर्फ मार्कब पोखरेलले आयोग्य राईलाई  ६–१,६–० ले, कायन चालिसेले आयन पन्तलाई ६–१, ६–० ले, साविक पोखरेलले जीवास भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ५–७, ६–३ र १०–४ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए ।   यु–१२ गल्सतर्फ थेया श्रेष्ठले जीवाश्री भट्टराईलाई ६–०, ६–० ले तथा कुसुम श्रेष्ठले सुप्रिया बिकलाई ४–६, ६–१ र ६–४ ले, इरा खत्रीले बुन्नी एस मेक्लागनलाई ६–३,६–१ ले तथा नायरा घलेले इनुला परियारलाई ६–०,६–० ले, आर्या पौडेलले रुविना श्रेष्ठलाई ६–०,६–० ले पराजित गरिन् । यु–९ ब्वाईज सिंगलमा जिवास भट्टराईले अनन्त पाण्डेलाई ४–०,४–० ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । कायन चालिसेले आयन चालिसेलाई ४–१ ,४–१ ले पराजित गरे ।   १२ वर्षमुनिकै ब्वाइज सिंगलमा साहन्स के बस्नेतले इवान भट्टराईद्वारा वाक ओभर पाए । अनमोल नेपालीले दक्ष गुरुङलाई ६–०,६–४ ( रिटायर्ड हर्ट ) पराजित गरे । त्यसैगरि अभिषेक बयलकोटीले साबिक पोखरेललाई ६–०,६–१ ले, नितेस थापाले मार्कब पोखरेललाई ६–४,७–५ ले पराजित गरे ।   ब्वाइज डबल्सतर्फ प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीले अभिषेक बयलकोटी र अनमोल नेपालीलाई ६–०,६–३ ले सुर्यान्स श्रेष्ठ र सन्दिप विकको जोडीले संगम मगर र अभिषेक विकको जोडीलाई ६–१,७–५ ले पराजित गरे । यु–१४ गल्सतर्फ ज्योभिना केसीले रुविना श्रेष्ठलाई ६–०,६–३ ले पराजित गर्दै पहिलो चरण पार गरिन् ।   आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलक क्षेत्री, सचिव अन्जु केसी, प्रदेश टेनिस संघ गण्डकीका अध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक लोक गुरुङ लगायतको सहभागिता रहेको थियो ।   सचिव भिष्मराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा आसन ग्रहण तथा मन्तव्य समेत नराख्दा कार्यक्रम केहि पृथक बनेको थियो ।   

पाेखरा:   कास्की प्रहरीको टोली ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सर्लाही स्याथी घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे  बस्ने ४३ वर्षीय बिक्की परियार र पर्वत स्थायी घर भई हाल पोखरा महानगरपालिका ५ जिरो किमी बस्ने ३८ वर्षीय ओमबहादुर नेपाली रहेका छन् ।   उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले गत मंगलबार दिउसो करिब ३ बजे पोखरा २६ विजयपुर क्षेत्रमा लागूऔषध कारोबार भएको सूचनाका आधारमा पक्राउ गरिएको हो ।   उनीहरुको साथबाट ब्राउन सुगर (४.९० ग्राम) तथा विभिन्न कम्पनीका मोबाईल २ थान र नगद रु १७ हजार ९ सय बरामद गरिएको छ ।   पक्राउ परेका उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:    ४ करोड बढीको कारोबार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ।   गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म त्यहाँबाट ४१ लाखको आलु बिक्री भएको छ भने महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल सबैबाट गरी ४ करोड बढीको कारोबार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाले जानकारी दिए। त्यहाँ कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल थिए ।   त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाई छ ।   महोत्सवको अन्तिम दिन बुधबार महोत्सव मूल आयोजक समिति, मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालको संयुक्त आयोजना रक्तदान आयोजना गरिएकोमा कुल १ सय १ युनिट रगत संकलन भयो।   उक्त कार्यक्रम क्षत्रीय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको हो।   त्यस अवसरमा पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, मनिप्लान्ट बचतका अध्यक्ष प्रेमबहादुर कार्की, व्यवस्थापक शिवराम थापा, लायन्स क्लवका जगत पौडेल र हरिप्रसाद शर्मा, प्रादेशिक रक्तसंचारको तर्फबाट अर्जुन ज्ञवाली लगायतले धारणा राख्दै रक्तदानको महत्वमाथि प्रकाश पारे ।   बुधबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको जनाइन् ।     पोखरा महानगरले पर्यटन तथा कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै उपप्रमुख गुरुङले पछिल्लोपटक हेमजा कृषि पर्यटनको हव बन्दै गएकोमा खुशी व्यक्त गरिन् ।   उनले आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाएको स्पष्ट पार्दै आर्थिक चलायमान्का लागि मेला महोत्सव गर्दै जानुपर्ने उल्लेख गरिन्।   पोखरा २५ का कार्यवहाक अध्यक्ष सुवाश भण्डारीले आलु महोत्सव समग्र पोखरा क्षेत्रकै महत्वपूर्ण महोत्सव भएको चर्चा गर्दै महोत्सव मार्फत कृषकलाई हौसला मिलेको बताए।उनले कृषि क्षेत्रमा रहेका समस्या समाधानका लागि वडा सचेत रहेको सुनाउँदै पछिल्लो समय हेमजा महोत्सवमय बन्दै गइरहेको पनि औंल्याए ।   कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनाले आफुले आलु महोत्सवलाई विगतदेखि नै नजिकबाट हेरीरहेको स्मरण गर्दै अव नेपालमा कृषि क्षेत्रको पुनःसंरचना गरिनुपर्ने बताए ।उनले नेपालको कृषि अधोगतितर्फ धकेलिनु दु:खद् भएको स्पष्ट पार्दै कृषि पेशाबाट मात्रै नेपाल समृद्धिको मार्गमा अगाडि बढ्न सक्ने धारणा राखे ।   कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष डा.कुमार खड्काले मेला महोत्सव सम्पन्न गर्न चुनौतीपूर्ण रहेको सुनाउँदै आलु महोत्सवका संस्थापक प्रति आभार जनाए।   आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवाला सबैले जिम्मवारी पुरा गरेका कारण महोत्सव सफल भएको उल्लेख गर्दै क्लवले सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।   महोत्सव अन्र्तगत भएको रत्यौली गीत प्रतियोगितामा कमलजौंसी आमा समूह प्रथम, अभियान आमा समूह द्वितीय, सिर्जनशील आमा समूह तृतीय तथा हेमजा आमा समूह र तीव्रेकोट आमा समूह सान्त्वना भए।   प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमश नगद रु.२० हजार, १५ हजार, १० हजार साथै ५ हजारका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे।   त्यस्तै देउराली आमा समूह उत्कृष्ट भेषभुषा, जगेर्ना सुन्दुरपुरी आमा समूह उत्कृष्ट नृत्य साथै राधाकृष्ण आमा समूह मौलिक गायन प्रस्तुतितर्फ उत्कृष्ट हुँदै पुरस्कृत भए ।   त्यसैगरी कृषि झाँकीतर्फ देवीस्थान भजन समूह पहिलो, नेवाः खल हेमजा दोस्रो, सिर्जनशील आमा समूह सुईखेत तेस्रो साथै ओम शान्ति, लक्ष्मी आमा समूह र इन्द्रेणी आमा समूह क्रमश सान्त्वना हुन सफल भएको महोत्सवका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।   झाँकी ¥यालीतर्फ पहिलोलाई ८ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार तथा सान्त्वना पुरस्कार समान २ हजार प्रदान गरिएको छ।   महोत्सबमा बुधबार कलाकारहरु प्रजापति पराजुली, जीवन दाहाल, शंकरविरही गुरुङ, सरला पाण्डे, ज्योति लोहोनी, लक्ष्मण श्री र परशुराम अधिकारीका प्रस्तति रहे।   यसपटक हेमजामा आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मानिसहरु पुगेका थिए ।   महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान गरिएको थियो।   त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ।   महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य धना तिम्सिनाले स्वागत तथा मूल आयोजक समितिका महासचिव थापाले कार्यक्रम संचालन गरे।

पोखरा:   १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज (बुधबार) सकिदैछ ।   समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।         समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ ।जसलाई विष्णुपादुका क्लव मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा आयोजना गरेका छन् ।         त्यस्तै समापनको दिन बुधबार रत्यौली गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ ।जसका प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार साथै सान्त्वनालाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ।         त्यसैगरी कृषि झाँकी ¥यालीतर्फको नतिजा पनि सार्वजनिक गरिने छ । झाँकी ¥यालीतर्फ पहिलोलाई ८ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार तथा सान्त्वना पुरस्कार २ हजार प्रदान गर्ने तयारी आयोजकको छ ।   त्यस्तै सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि मायाको चिनो सहित सम्मान गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।   महोत्सवको १० औं दिन मंगलबारसम्म ९४ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेको छन् ।   जसमध्ये कुल ३ हजार ५ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले मंगलबार साँझसम्म गरी ३८ लाख बढीको आलु कारोवार भएको पनि सुनाए।         महोत्सवमा मंगलबार कलाकारहरु अर्जुन सापकोटा, सुमन बिटी, मञ्जु विक, सुदिप क्षत्री, कृष्ण भट्टराई तथा आगमन व्याण्डका प्रस्तुतिहरु रहे।   ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो।   महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो परीक्षण तथा रोगको निदान रहेका छन्।   त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ । यही चैत २४ गतेबाट महोत्सव सुरु भएको हो।

पोखरा:  युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा वृद्धाआश्रममा खाद्यान्न वितरण गरेको छ ।  सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव मनाउने योजना अनुसार त्यसको अवसरमा वैशाख १ गते पोखरा १७ सितापाइलामा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो । सो अवसरमा बोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब पोखराले पोखरामा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेकाले पोखरा महोत्सवलाई सवै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए । त्यस्तै पोखरा वृद्धाआश्रममा अध्यक्ष कुशुमकेशव पराजुलीले बृद्धाश्रमलाई  राज्य र सरकारी संस्थाबाट सोचेजस्तो साथ र सहयोग नभइरहदा युनाईटेड क्लब जस्तै संघ संस्थाको सहयोबाटनै आश्रममा आश्रितहरुलाई सहयोग पुगेको बताए ।  युनाईटेड क्लबले अहिले मात्र नभइ यसअघिपनि सहयोग गर्दै आइरहेको बताउदै युनाईटेड क्लबले सामाजिक क्षेत्रमा आफुलाई अब्बल बनाएको बताए ।  समाज बिकास र समुन्नतिका लागि महिला युवा र जेष्ठ नागरिकले आ आफ्नो ज्ञान शीप र अनुभवलाई प्रयोग गर्नुपर्ने बताउदै उनले जेष्ठ नागरिकको हेरचाह स्याहार गर्ने शीप र ज्ञान सिकाउनका लागि पोखरा बृद्धाश्रमले जापानी प्रबिधिको तालिम पोखरामा भित्रयाउन लागेको बताए । स्वदेश तथा विदेशमा रोजगारी बढ्दै जाने क्रम भएकाले उक्त तालिम उपयोगी हुने उनको भनाइ थियो । क्लबका द्धितिय उपाध्यक्ष एवं खाद्यान्न वितरण कार्यक्रम संयोजक सूर्य बहादुर बानियाँले सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लबले नयाँ वर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न सामाग्री वितरण गरी शुरुवात गर्न पाउदा खुसी लागेको बताउदै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताए । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लब विशुद्ध सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहदा बिगतमा जस्तै यो वर्षपनि सामाजिक कामबाटै बार्षिकोत्सव कार्यक्रमको थालनी गरिएको बताए ।  पोखरा बृद्धाश्रम जस्ता संस्थाहरुलाई सम्पूर्ण संघ संस्थाहरुले साथ र सहयोग गर्नुपर्नेमा जोड समेत जोड दिए । क्लबले वार्षिकोत्सवको अवसर पारि वैशाख ३ गते वृहत रक्तदान कार्यक्रमका साथै छिट्टै नै बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । उक्त अवसरमा क्लवका संस्थापक सदस्य रेशम बहादुर थापाले आश्रमलाई ५ हजार ५ सय नगद प्रदान गरेका थिएभने आश्रममा आश्रित १०९ वर्षिय नन्दलाल दाहाल र ९२ वर्षिय पार्वती पौडेललाई क्लबका अध्यक्ष लोक बहादुर थापाले दोशल्ला ओढाइ सम्मान गरेका थिए । १५ औं वार्षिकोत्सव कार्यक्रम संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । उक्त अवसरमा क्लबका सल्लाहकार, आजीवन सदस्य र पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

पोखरा महानगरपालिका–३ नदीपुर (पद्म नर्सिङ होमको अगाडि) मा ५० लाखको लागतमा ‘कानुङ क्याफे एण्ड कफि सप’ सञ्चालनमा आएको छ ।    पोखरा महानगरपालिका–३ का वडा सदस्यसमेत रहेका युवा व्यवसायी नविन आले मगरले नव वर्ष २०८२ को अवसर पारेर आज (सोमबार) देखि क्याफे सञ्चालनमा ल्याएका हुन् ।    उक्त क्याफेको उद्घाटन माता तुलसीदेवी आले र पिता लालबहादुर आले मगरले संयुक्त रुपमा गरे ।      क्याफेमा नयाँवर्ष तथा उद्घाटन अफर अन्तरर्गत आगामी १५ गतेसम्म कफि तथा हरेक परिकारमा १० प्रतिशत छुट प्रदान गरिने सञ्चालक आले मगरले बताए ।   ‘कफि पारखीहरुका लागि मात्रै नभएर प्रचलित खाजाका परिकारहरु हाम्रो क्याफेमा उपलब्ध हुनेछन्, उनले भने, ‘नयाँवर्षदेखि २ हप्ताका लागि कफि तथा हरेर परिकारमा १० प्रतिशत छुट दिँदैंछौ ।’   स्वदेशमै स्वरोजगारको सिर्जना गर्न र पारिवारिकमैत्री सेवा दिने उद्देश्यले क्याफे सञ्चालनमा ल्याएको बताउदै हाल ७ जना कर्मचारी कार्यरत रहेको उनले बताए ।    ‘अहिले युवाहरु देश छाडेर विदेश पलायन हुने अवस्था छ । तर मैले यही केही गर्नुपर्छ भनेर क्याफे सञ्चालनमा ल्याएको हुँ, उनले भने, ‘कानुङ क्याफे नाफामुखी मात्र नभएर सेवामुखी क्याफे बनाउने प्रयत्न गरेको छु ।’   उनले मगर जातिको भाषा तथा संस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित मगर भाषामा क्याफेको नामाकरण गरिएको  बताए ।   ‘मै सामाजिक क्षेत्रमा क्रियाशिल भएको हिसाबले पनि आफ्नो भाषाको संरक्षण गर्ने हेतुले क्याफेको नाम पनि ‘कानुङ क्याफे’ राखिएको हो, सञ्चालक आलेमगरले भने, ‘यसले मगर समुदायलाई मात्रै होइन अन्य समुदायलाई पनि अपनत्व गराउँछ भन्ने विश्वास छ ।’   मगर भाषामा ‘कानुङ’  भन्नाले नेपालीमा ‘हाम्रो’ भन्ने अर्थ लाग्छ ।   राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमासमेत क्रियाशिल आलेमगर विभिन्न संघ संस्थामा आबद्ध छन् ।  

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।   आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।   साेही नव वर्षको पहिलो दिन विन्ध्यवासिनीमा पूजापाठ गर्न भक्तजनको घुँइचो देखिएकाे छ ।   तस्बिरहरु:-                  

पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गरे ।   होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गते सम्म चल्ने छ ।   यसअघि खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूहसहितका विशाल झाँकीसहितका र्याली सभास्थलमा पुगेका थिए ।   नि:शुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव तिनै दुई स्थल विचको सडकमा संचालन हुने छ । पंचैवाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण हुन् । महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहेको छ ।   पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहेका छन् ।   महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन् । अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।   महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने उनले बताए । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनले सुनाए ।   प्रमुख अतिथि एवं महानगर प्रमुख आचार्यले पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसावले उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको बताए । पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए ।   पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले पोखराको नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे । पोखरामा जलन अस्पताल निर्माणका लागि कोरियाली सहयोगमा प्रारम्भिक काम अगाडि बढेको जानकारी पनि उनले दिए ।   होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि संभव रहेको बताए । उनले पोखरामा पर्यटन सम्वन्धि लगानी र ब्राण्डहरु थपिंदै गएको र यो सुखद पक्ष भएको सुनाए ।   होटल संघ नेपालका केन्द्रिय सदस्य एवं आयोजक संघको सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवा तालको माथिल्लो भागमा माटो निकाली सानो ताल बनाएर त्यहाँ जलगतिविधि संचालन गर्न सकिने सुझाव राखे ।   कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र महिला संजाल वडा ६ कि अध्यक्ष बबिता मल्लले पनि भनाई राखेका थिए । एसके डान्स ट्रेनिङका कलाकारले सो अवसरमा नाच देखाएका थिए ।   प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहेका छन् । संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ ।   यसलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् ।   फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहेका छन् ।   हेर्नुहोस् तस्बिर:-