पोखरा: नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख अन्तिम सातामा हुने अवार्डको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले गर्ने भएको हो । आइतबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष एमबी आस्था मगरबीच ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्री गर्दै आएको छ । यस अघिका अवार्डलाईसमेत सिटिजन फर्निचरले सहयोग गर्दै आएको छ । अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा सहयोगीहरु जोडिने क्रम समेत बढ्न थालेका छन् । नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै उदीयमान खेलाडी विधाको पुरस्कार प्रायोजन सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था विधाको पुरस्कार प्रायोजन निट डेन्टल केयरले गर्ने सम्झौता भइसकेको छ । त्यसैगरि जिल्ला एथ्लेटिक्स सङ्घ कास्कीले ११ हजार १ सय ११ रुपैयाँ, मदन भण्डारी स्पोर्टस् एकेडेमीले १ सय थान टिसर्ट सहयोग गर्ने सम्झौता भइसकेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।
पोखरा: नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा मदन भण्डारी स्पोर्टस् एकेडेमीले भने १ सय टिसर्ट सहयोगको घोषणा गरेको हो । शुक्रबार एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र मञ्चका अध्यक्ष एमबी आस्था मगर बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एकेडेमी खेल क्षेत्रको विकासमा अग्रसर रहँदै आएको र खेल क्षेत्रलाई माथि उकास्न सबै खेलप्रेमी लाग्नुपर्ने एकाडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । साथै खेल र खेलाडीको साथमा एकेडेमी रहँदै आएको आचार्यले बताए । यता मञ्चका अध्यक्ष एमबी आस्था मगरले सहयोगदाता प्रति धन्यवाद ज्ञापन गरे । खेलप्रेमी तथा खेल संघसंस्थाको साथ सहयोगले नै स्पोर्टस् अवार्ड यो उचाईसम्म पुगेको उनको भनाई थियो । यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ, भने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखराले प्रायोजन गरिसकेको छ । त्यस्तै जिल्ला एथ्लेटिक संघ कास्कीका ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरिसकेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको संस्था देश संघीयतामा गएसँगै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ ।
पोखरा: नेपाल पुन मगर समाज पोखरा–३२ वडा समितिले निर्माण गरेको ब्याडमिन्टन कभर्ड हलको शनिबार उद्घाटन भएको छ । तल्लो गगनगौंडामा निर्मित कभर्ड हलको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । समाजले ५२ लाख ७३ हजार १ सय ८३ रुपैयाँको लागतमा उक्त कभर्ड हल निर्माण गरेको हो । कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका समाजका अध्यक्ष तुलबहादुर पुर्जा पुनले पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको सहयोग र जनसहभागिता सहित कभर्ड हल निर्माण गरिएको बताए । युवालाई खेलकुद मार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्यले कभर्ड हल निर्माण गरिएको उनले उल्लेख गरे । उद्घाटन समारोहमा आय व्यय प्रतिवेदन प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष भीमप्रसाद पुनले पुन मगर समाजका सदस्यले ६ लाख ४९ हजार ३ सय ९४ रुपैयाँ बराबरको श्रमदान गरेको बताए । पटक–पटक गरी समाजका सदस्यबाट १० लाख २३ हजार ७ सय ८९ रुपैयाँ नगद सहयोग संकलन गरेको उनले सुनाए । उनका अनुसार कभर्ड हल निर्माणका लागि महानगरपालिकाको ३२ नम्बर वडा कार्यालयबाट आर्थिक वर्ष ०७७÷७८ मा १ लाख रुपैयाँ प्राप्त भएको थियो । आर्थिक वर्ष ०७८÷०७९ मा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १५ लाख र आर्थिक वर्ष ०७९÷८० मा पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ प्रदान गरेको थियो । कभर्ड हल उद्घाटन गर्दै महानगर उपप्रमुख गुरुङले खेल पूर्वाधार निर्माणले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताइन् । ‘शारीरिक र मानसिक रुपमा स्वस्थ रहँदै दक्ष खेलाडी उत्पादन गर्न कभर्ड हलले भूमिका खेल्नेछ,’ उनले भनिन् । उद्घाटन समारोहमा कभर्ड हल बनाउन सहयोग गर्ने संघसंस्था, चन्दादातालाई सम्मान गरिएको थियो ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता विकास गर्ने उद्देश्यसहित दुई दिने (शुक्रबार र शनिबार) तालिम दिइएको हो । तालिममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले र कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले शनिबार प्रशिक्षण दिए । पहिलो दिन शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वसचिव धर्मराज कुइकेल र प्रदेश पुस्तक तथा सञ्चार समन्वय महाशाखाका प्रमुख पार्वती लामिछानेले प्रशिक्षण दिइन् । तालिमका क्रममा प्रमुख प्रशिक्षक गाउँलेले अदातलमा पत्रकारका लागि आवश्यक समाचारको स्रोत यथेष्ट पाइने भएकाले त्यसको सही सदुपयोग गर्न सुझाव दिए । जसका लागि पत्रकार कार्यक्षेत्र (अदालत) मै पुग्नुपर्नेमा उनको जोड थियो । फैसलाको क्रममा रहेका मुद्दा, फैसला पछि कार्यान्वयनको चरण र न्यायाधिसलाई मुद्दामा एकपक्षीय प्रभाव पार्ने खालको समाचारबाट पत्रकारहरु जोगिनुपर्ने तर्फ उनले सचेत गराएका थिए । तालिममा कास्कीका कास्कीका ८० जना पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अदालती रिर्पोटिङ गर्दा ख्याल गर्नुपर्ने विषयलाई मध्यनजर गदैै तालिम आयोजना गरिएको बताए । तालिम पश्चात पत्रकारहरुले कार्यक्षेत्रमा यसको भरपुर प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । तालिम पश्चात प्रशिक्षार्थीहरु तिलक पुन र रोजी श्रेष्ठले तालिम फलदायी भएको प्रतिक्रिया दिए । तालिममा सिकेको ज्ञानले पत्रकारिताका दौरान सहयोग पुग्ने प्रशिक्षार्थीहरुले बताएका थिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लागि आयोजना गरेको अन्र्तक्रियात्मक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने बताउनुभयो । बुद्ध धर्म यस धर्ममा आस्था राख्नेको मात्र नभएर सबैका लागि एउटा दर्शन र सिद्धान्त रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘बुद्ध शिक्षा जीवनको नैतिक मार्गदर्शक हो, यसको अनुसरण र परिपालना गर्न जरूरी छ । बुद्धको सन्देशलाई आत्मसाथ गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता हो । बौद्ध शिक्षालाई विश्वभर फैलाएर शान्तिको सन्देश दिनुपर्नेछ ।’ बौद्ध दर्शनको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यसहित २० वर्षअघि स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा रहेको उल्लेख गर्दै उहाँले सानो संरचनाबाट विश्वविद्यालयको स्वरुप देखिने चरणमा आइपुगेकोमा खुशी व्यक्त गर्नुुभयो । विश्व आकर्षणको केन्द्र भएको लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले नेपालमै लुम्बिनी र बुद्ध प्रतिको चासोलाई बढाएको उहाँको भनाई छ । ‘बौद्ध अध्ययन, लुम्बिनीको चिनारी, विपश्यना ध्यानसहितको पाठ्यक्रम तयार हुनाले यसले नेपालमा मात्र नभई विश्व समुदायमा नै चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उहाँले भन्नुभयो – ‘विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि विभिन्न मुलुकहरूमा अध्ययन केन्द्रहरु स्थापना गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेकोमा खुशी लागेको छ ।’ बौद्धदर्शन विश्वका धेरै विश्वविद्यालयमा अध्ययन अध्यापन हुने भएपनि बुद्ध भूमिमा बसेर बौद्ध दर्शन अध्ययन गर्न पाउनु सुखद अवसर रहने प्रदेश प्रमुख भट्टको भनाई छ । उहाँले थप्नुभयो – ‘यसैले पनि विदेशी नागरिकले पनि लुम्बिनीलाई विशेष महत्व राख्ने गरेका छन् । विश्वविद्यालयलाई शैक्षिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । त्यसका लागि अझ धेरै पूर्वाधार आवश्यक रहेकाले राज्यले विशेष ध्यान दिनुपर्दछ । ’ विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेकोमा खुशी व्यक्त गर्दै उहाँले बुद्धलाई ढोग्न मात्रै होइन, ज्ञान आर्जनका लागि पनि लुम्बिनी आउनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको विश्वविद्यालयलाई प्रगतिको कामना गर्नुभयो । गण्डकीमा पनि केन्द्र स्थापना गरी बौद्ध दर्शन सम्बन्धी अध्ययन अध्यापन गराउने कार्यको स्वागत गर्दै उहाँले गण्डकी प्रदेश सरकारले पनि आवश्यक सहयोग, समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणा बमोजिम स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध धर्म दर्शनको अन्तर्राष्ट्रिय प्राज्ञिक थलोका रूपमा विकास गर्न सबै पक्षको सहयोग जरूरी छ ।’ उहाँले भन्नुभयो – ‘गोष्ठीले साझेदारहरूबीच गहन अन्तक्र्रिया गरी सरोकारवाला पक्षसँग आपसी सम्बन्ध विस्तार गर्न, केन्द्र स्थापनाको लागि आधार तयार गर्न सक्नेछ भन्नेमा विश्वस्त छु ।’
पोखरा: कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ हो घान्द्रुक । जुन निकै लोकप्रिय गन्तव्यहरुको लिस्टको अग्रभागमा पर्ने ठाउँ हो । आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने यो गाउँ प्रकृति र संस्कृतिमा धनि छ । सुनगाभाको लेन्सबाट घुम्नुहोस् ‘घान्द्रुक’ :-
पोखरा: गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । १८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए । बसन्तले १७ बलमा ३ छक्का प्रहार गरेभने, नारायणले १० बलमा १ छक्का प्रहार गरे । किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट भए । उनले २६बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सुजन थपलिया ३५ रनमा अउट भए । उनले २१ बलमा ६छक्का प्रहार गरे । दिपक डुम्रे २६रनमा अउट भए । उनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर साकिव हुकले २४ रन बनाए । उनले १५ बलमा ५ चौका प्रहार गरे । अर्जुन कुमाल शुन्यमै पेभिलियन फर्किए । काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट हुन पुग्यो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुगे । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । उनले २९ बलमा ७ चौका र २ छक्काको मद्धतमा अर्धशतक बनाए । सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । रित गौतम ४, दिपेन्द्र रावत ४, सुशान्त सिंह थापा ६, राजेन्द्र बम १, दिनेश बोहोरा ८, सूर्य तामाङ ३ र युनिश विक्रम सिंह ठकुरी १ रनमा आउट भए । गण्डकीका लागि अमृत गुरुङ र कृष्ढा पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुना प्लेयरअफ दी म्याच घोषित भए । यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे । गत वर्षको उपाधि भने मधेस प्रदेशले जितेको थियो ।
पोखरा: संसदीय छानविन उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका भ्रष्टाचार भएको निष्कर्षसहित आफ्नो प्रतिवेदन तयार पारेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिले निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो। उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा रहेको उक्त उपसमितिले विमानस्थल निर्माणका क्रममा लुट मच्चाएको निष्कर्ष निकालेको उपसमिति सदस्य एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीले जानकारी दिए। उपसमितिले तयार पारेको प्रतिवेदनमा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाएको उल्लेख गर्दै पोखरा विमानस्थल ठेक्का प्रक्रियाको चरणबाटै अनियमितता र भ्रष्टाचार सुरु भएको उल्लेख गरेको छ। निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको पाएको केसीको भनाइ छ। नयाँ कार्यान्वयन सम्झौता गरी पटक–पटक गरेर २ अर्ब २२ करोड ४० लाख कर छुट दिएर आर्थिक अनियमितता गरेको, कर छुट दिइएको २ अर्ब २० करोड रुपैयाँसमेत गैरकानुनी रूपमा भुक्तानी भएको तथ्य उपसमितिको प्रतिवेदनमा उल्लेख छ। उपसमितिले तयार पारेको प्रतिवेदन अब बस्ने सार्वजनिक लेखा समितिको पूर्ण बैठकमा पेस गर्ने तयारी भएको केसीले बताए। पोखरा विमानस्थल निर्माणका लागि सरकारले चिनियाँ एक्जिम बैंकबाट महँगो ब्याजमा करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१ अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो। २०७२ चैत ८ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भई २०७३ पुस २७ बाट निर्माण सुरु भएको थियो। छानविनका क्रममा स्थलगत अनुगमनमा आएका संयोजकले के भनेका थिए ? २०७९ पुस १७ मा यो विमानस्थल उदघाटन गरिएको थियो। उद्घाटनको २७ महिना हुँदा समेत विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। उपसमितिको छानबिनबाट तत्कालीन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले नीतिगत निर्णयको आवरणमा पोखरा विमानस्थलको लागत १४ अर्बबाट २२ अर्ब पुर्याएको तथ्य फेला पारेको छ। प्रधानन्यायाधीशसमेत रहेर मन्त्रिपरिषद्को अध्यक्षको जिम्मेवारीमा रहेका रेग्मीले नै १४ अर्बमा सम्पन्न हुने भनी तयार इस्टमेटलाई सार्वजनिक खरिद ऐन र निवयमावली उल्लंघन गर्दै २२ अर्ब पुर्याएको पाइएको उपसमितिले जनाएको छ । उपसमितिले विमानस्थललाई पूर्ण रूपमा निर्माण गरेर व्यावसायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सुझाव दिएको छ । उपसमितिमा सांसद लेखनाथ दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणी राना छन्।