पोखरा: आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले माग गर्नुभएको छ । पोखरा क्लिकद्वारा आज (बिहीबार) आयोजना गरेको पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालासँगको छलफल कार्यक्रमका वक्ताले उक्त सुझाव दिनुभएको हो । विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा उल्लेख्य विदेशी धावकहरूलाई सहभागी गराउन व्यवसायीहरूले आफ्ना क्षेत्रबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको मुख्य बजारदेखि नजिक रहेको पोखरा २२ पुम्दीभुम्दी क्षेत्र विभिन्न ढंगले पछि परिरहेको हुँदा यस्ता गतिविधि त्यस क्षेत्रको आयआर्जन र खेल पर्यटन प्रवद्र्धन गर्नमा कोशेढुंगा साबित हुने बताउनुभयो । उहाँले भन्नुभयो “पोखराको लेकसाइड र नेपालका धेरै पदमार्गहरू यतिबेला बिग्रेका छन् तर पोखरा नजिकै रहेको पुम्दीभुम्दी, रानीवन क्षेत्र अझै बिग्रेको छैन त्यहाँ पर्यापर्यटनको राम्रो सम्भावना छ ।” यस वर्षको विश्व पर्यटन दिवसलाई पर्यटनको राजधानी पोखरामा भव्य रूपमा मनाउन राजदूतहरूलाई पोखरामा निम्ता गरेर उहाँहरूको इच्छा अनुसार पोखरा र पोखरा क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यमा पु¥याउन पनि उहाँले सुझाव दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत युवराज गुरुङले विश्व पर्यटन दिवसका सन्दर्भमा आयोजना हुने प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले चाहँदा चाहँदै पनि कर्मचारी विविध सीमाभित्र बाँधिनुपर्ने, कसरी जोगिने भन्ने चुनौती छन् तापनि पर्यटन बोर्डको समयमै बजेट आएकाले पर्यटन प्रवद्र्धन हुने प्रदेशस्तरकै कार्यक्रम समयमै सञ्चालन गर्ने छौँ ।” साथै, उहाँले राज्यको पैसामा कुनै पदाधिकारीहरू घुम्ने प्रवृत्तिका कार्यक्रमका लागि बजेट माग्नु प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले पोखरासँग जोडिएको पोखरा २२ किन बनेन भनेर चिन्तन गर्न ढिलो भएको बताउनु भयो । उहाँले पुम्दीभुम्दीको कोदो फल्ने डाँडामा विशाल महादेवको मूत्र्ति निर्माण हुँदा हिजोआज आम्दानीका बाटा खुलेको बताउँदै त्यसको व्यापक स्तरोन्नतिका लागि नेता, व्यापारी, स्थानीय सबैको ध्यानाकर्षण हुनुपर्ने बताउनु भयो । परिषद्का महासचिव जीवनराज सापकोटाले आयोजकले दीर्घकालीन सोचका साथ उक्त प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै प्रतियोगितामा धेरै पर्यटक सहभागी गराउन जति सक्दो छिटो फारम खुला गर्न सुझाव दिनुभयो । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगितालाई सफल पार्न आफूहरूले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुवेदीले सो अवसरमा पुम्दीभुम्दीको रुटमा यस वर्ष आफूहरूले चौथो संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिता गर्ने तयारी गरेकोसमेत बताउनुभयो । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखराको नौलो विधाको रूपमा आएको पर्वतीय दौड प्रतियोगितालाई आफूहरूले साथ र सहयोग गर्ने बताउनुभयो । उहाँले पोखराको फेवाताल पुम्दीभुम्दी क्षेत्रलाई समेट्ने गरेर हाफ म्याराथन आयोजना गर्नसमेत सुझाव दिनुभयो । नाट्टा गण्डकीका पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष पोखरेलले धेरै विदेशी धावकलाई सहभागी गराउनु व्यापक तयारीका साथ अगाडि बढ्न सुझाव दिनुभयो । पोखरेली ट्याक्सी सेवाका अध्यक्ष शोभाकान्त पौडेलले पोखराको पर्यटकीय क्षेत्रलाई खेलका माध्यमबाट थप प्रचारप्रचार गराउने उक्त अभियानलाई आफूहरूले सहयोग गर्ने बताउँदै आफूहरूसँग भएका दुई हजार ट्याक्सीमा स्टिकर टाँस गरेर प्रचारप्रसार गर्नसमेत तयार रहेको जनाउनुभयो । कार्यक्रममा नाटा गण्डकीका अध्यक्ष किशोर दाहाल, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसी, बिबिसी नेपाली सेवाका संवाददाता कृष्णमणि बराललगायतले प्रतियोगितालाई नयाँ ब्राण्डका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । सहभागीहरूले दिएका सुझावलाई मनन गर्दै जति सक्दो छिटो विदेशी धावकलाई सहभागी गराउन फर्म खुला गर्ने संयोजक दिननाथ बरालले बताउनुभयो । पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले प्रतियोगिताको मुख्य उद्देश्य पोखरा क्षेत्रका पर्यटकको बसाइ लम्ब्याएर खेल पर्यटनका माध्यमबाट गाउँ पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिसँग पोखरा २२ लाई जोड्ने रहेको बताउनुभयो । उक्त प्रतियोगिता सम्पन्न गर्न, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्यम रहेको छ । प्रतियोगितामा मेडिकल पार्टनरका रूपमा रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ । प्रतियोगिताको आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिने भएको छ । प्रतियोगिताको अफिसियल टेलिभिजन तर्फ सिटीवान टेलिभिजन रहेको छ । प्रतियोगितालाई सफल बनाउन विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्लगायत स्थानीय व्यावसायिक संस्थाहरूको सहयोग रहेको छ ।
पोखरा: पोखरा १५ मा बिहीबारदेखि निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन भएको छ । पोखरा कम्युनिटी सेन्टरको आयोजना तथा वडा कार्यालय १५ को समन्वयमा ४ दिने निःशुल्क दन्त परीक्षण शिविर सुरु भएको हो । अमेरिकाको क्रिकल्याण्ड कर्नरस्टोन डेन्टल बाट आएका डा. से जिन एनको १५ चिकित्सकीय टोलीले अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण गरेको पोखरा कम्युनिटी सेन्टरका कोअर्डीनेटर प्रकाश पार्कले जानकारी दिए । वडाध्यक्ष तोरण बानियाँले शिविरमा अमेरिकाका दन्त विशेषज्ञको टोलीद्वारा विशिष्ट मेसिनबाट दाँतको परीक्षण भइरहेको बताए । अघिल्लो वर्षको दन्त शिविरबाट धेरै जनाको सकारात्मक प्रतिक्रिया आएको र यस्तै शिविरको माग वडावासीबाट आएकाले शिविर सञ्चालनका लागि समन्वय गरिएको प्रतिक्रिया दिए । उनले मेसिन लगायत औजार झिकाउन भन्सारमा समस्या रहेकोमा वडा कार्यालयको विशेष पहलबाट औजार ल्याउन सकिएको र शिविर पश्चात् यी औजार वडाका कुनै सहयोगी संस्थामा राखेर त्यहाँबाट वडावासीलाई निःशुल्क सेवा दिने बारे कुरा भइरहेको बताए । एक महिनादेखि दाँतको दुखाइले राम्रोसँग सुत्न पनि नसकेको बताउने कोल पाटनकी गुमा बानियाँले शिविरमा चिकित्सकले दाँतको उपचार र परीक्षण गरेर औषधी दिएको बताइन् । पोखरा लक्ष्मी टोल बस्ने सिता परियारको चिसो र तातो खाँदा दाँत दुखाइको समस्या रहेकोमा शिविरमा चिकित्सकले दाँत सफाइ गरी समस्या देखिएको दाँत निकालेको बताइन् । ’निजी क्लिनिकमा जाँदा ८–९ हजार लाग्छ भनेका थिए, अहिले आफ्नै घर छेउमा निःशुल्क उपचार पाइयो’ खुसी हुँदै उनले भनिन् । निःशुल्क ४ दिने शिविरको पहिलो दिनमा नै एक सय बढी बिरामीले लाभ लिएका छन् । बिहीबार र शुक्रवारको शिविर वडा कार्यालय अगाडिको भवनबाट सञ्चालन हुनेछ भने बाँकी दुई दिन सानिपाटनस्थित कम्युनिटी सेन्टरको हलबाट शिविर सञ्चालन हुनेछ । शिविरलाई वडा सदस्य बलराम पौडेल तथा कार्यपालिका सदस्य मन्दिरा परियार लगायत कम्युनिटी सेन्टरका एक दर्जन युवायुवतीले सहजीकरण गरेका थिए ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार पहिरोमा पुरिएर एक युवकको मृत्यु भएको छ । घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छ्रे सडक खण्डमा बुधबार विहान करिब १० बजे खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका– २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार दिउँसो करिब साढे २ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । स्थानीय बंगुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले उल्लेख गरेको छ। उक्त घटनामा परी स्थानीय शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट विद्यालय जाने क्रममा शिक्षक पोखरेल सवार मोटरसाइकलाई पहिरोले पुरेको थियो । घाइते शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी तत्काल अस्पताल लगेका थिए ।
पोखरा: पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई बिदाई गरिएको छ । सेवा निवृत्त भएका इतिहास तथा संस्कृति विभागका सहप्राध्यापक पराजुलीलाई आइतबार विभागले एक समारोहका बीच बिदाई गरेको हो । विभाग सभाहलमा भएको कार्यक्रममा पराजुलीलाई ३० वर्ष सेवा अवधि पूरा गरेकोमा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा।डा। हरिप्रसाद पाठक, इतिहासका पूर्व विभागीय प्रमुख प्रा।डा। ज्ञानबहादुर कार्की, सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेल, इतिहास विभाग प्रमुख नारायणप्रसाद ढकाल लगायतले पुष्पगुच्छा, दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए । क्याम्पस प्रमुख पाठकले शिक्षण अवधिमा पराजुलीको योगदानको चर्चा गर्दै सुखद् निवृत्त जीवनको कामना गरे । ‘उहाँले शैक्षिक तथा प्रशासनिक नेतृत्वमा जिम्मेवार र कुशल ढंगले कार्यभार पूरा गर्नुभयो ।’ डा. पाठकले भने – ‘पराजुली सर सेवा निवृत्त हुनुभएपनि उत्तिकै सक्रिय र उर्जाशील हिसाबमा जीवन अघि बढाउनुहुनेछ भन्ने कामना गर्दछौँ ।’ सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेलले सहप्राध्यापक पराजुलीसँगको सौहार्द सम्बन्धको स्मरण गर्दै सक्रिय र स्वस्थ जीवनको लागि शुभकामना व्यक्त गरे । इतिहास विभागका पूर्व प्रमुख प्रा।डा। ज्ञानबहादुर कार्कीले इतिहास विभागलाई आजको यो अवस्थामा ल्याउन सहप्राध्यापक पराजुलीको अग्रणी भूमिका रहेको उल्लेख गरे । कार्यक्रमको अध्यक्षता समेत गरेका इतिहास विभागका प्रमुख नारायण ढकालले सहप्राध्यापक पराजुलीले ३ वर्ष विभागको नेतृत्व गर्दा उल्लेख्य प्रगति गरेको बताउँदै इतिहास विषयमा विद्यार्थीहरुको रुची बढ्दै गएको उल्लेख गरे । ‘साधारण जीवन र शालिन व्यवहार बसन्त पराजुली सरको पर्याय हो । सबैसँग मिल्न सक्ने भएकै कारण मनमा, मुटुमा, आँखामा बसन्त सर रहिरहनुहुनेछ । सेवा निवृत्त भएपनि विभागलाई उहाँको सहयोग मिलिरहनेछ ।’ विभाग प्रमुख ढकालले भने । सेवा निवृत्त सहप्राध्यापक पराजुलीले तीन दशक लामो शिक्षण पेशा नै पहिचानको आधार भएको उल्लेख गर्दै आफूले शिक्षा क्षेत्रका लागि सक्दो दिएको र सन्तुष्टि मिलेको बताए । उनले शुभकामना र सम्मानका लागि आभार पनि व्यक्त गरे । उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत तथा विभागका सदस्य तोयनारायण देवकोटाले सञ्चालन गरेको बिदाई कार्यक्रमा लेखा प्रमुख पुष्पराज पौडेल र विद्यार्थी विपिन आचार्यले पराजुलीले गरेको शैक्षिक योगदानको प्रशंसा गरेका थिए । इतिहास विभागको तर्फबाट सहप्राध्यापक डा. दीर्घमान गुरूङ, सहप्राध्यापक अर्जुन बहादुर भण्डारी, पूर्व विभागीय प्रमुख राधा भण्डारी लगायतले बरालसँगको लामो सहकार्यका अनुभव साझा गरे ।
पोखरा: पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र लियो क्लब अफ हेमजाले संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो । प्रमुख अतिथि लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन चियर पर्सन दिनेश तुलाचनले वातावरणीय स्वच्छता तथा उत्पादन मुखी फलफुलका बिरुवा रोपेर मानव स्वाश्थ्यलाई सरल र सहज बनाउनमा सहयोग पुग्ने कुरा बताए । तुलाचनले हेम्जा का लायन्स र लियोको समाज सेवाप्रति रहेको भावनालाई उच्च कदर गर्दै आगामि दिनमा अझै सक्रिय रुपमा समाजसेवामा समर्पित हुन आग्रह गरे । लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे का जोन १०का जोन चेयर पर्सन प्रगत कायस्थले फलफूलका विरुवा हुर्कदै फल्दै जाँदा बिधर्थिहरुलाई पनि अध्ययन र खाजाका लागी प्रयोग हुने चराचुरुङ्गीको संख्या समेत बढेर जाने बताए । लियो पास्ट डिस्ट्रिक्ट गर्भनर बिष्णु दाहाल ले हेमजाको सामाजिक क्षेत्रमा लियोको सक्रियता खुलेर प्रसंसा गरे । गौरी शंकर माविका प्रधानाध्यापक अमर बहादुर कुँवरले रोपेका बिरुवालाई हुर्काउन र संरक्षण गर्न स्कुल प्रतिवद्ध रहेको बताए ।
पोखरा: फुलबारी क्लबको अध्यक्षमा जनार्दन बास्तोला सर्वसम्मत चयन भएका छन् । पोखरा–११, फुलबारीमा सम्पन्न भएको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनबाट बास्तोला अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएका हुन् । समितिको उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सविना बास्तोला आचार्य, सह–सचिवमा अनन्त राज आचार्य, र कोषाध्यक्षमा रामशरण भट्टराई चयन भए । यस्तै समितिको सदस्यहरूमा सन्तोष भण्डारी, शिवराज पौडेल, अञ्जु ताम्राकार पौडेल, सुभास बास्तोला, रमेश बास्तोला र सङ्गीता पौडेल आचार्य छन् । कार्यक्रममा निवर्तमान सचिव युवराज बास्तोलाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सावित्रीकुमारी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नवनिर्वाचित अध्यक्ष जनार्दन बास्तोलाले आफ्नो कार्यकालको पहिलो प्राथमिकता मणिपाल अस्पतालसँगको सहुलियत कार्ड सेवा पुनः सञ्चालन गर्ने रहेको बताए । उनले मणिपाल अस्पताल स्थापना हुँदाका बेला फुलबारी क्षेत्रका केही घरधुरीलाई दिइएको सहुलियत कार्ड हाल रद्द भएको छ, त्यसलाई पुनः निरन्तरता दिन आवश्यक रहेको बताए। उनले समुदायमै उपलब्ध स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न क्लबको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि वडा नं. ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्मचार्यले फुलबारी क्लबले स्थानीय विकास, सामाजिक समावेशीता र सामुदायिक सहकार्यमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले नयाँ कार्यसमिति अझ प्रतिबद्ध र सक्रिय रहने विश्वास व्यक्त गरे।
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८२ को अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो भदौं ६ देखि १५ गतेसम्म तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ हुने भएको हो । आयोजक केन्द्रले महोत्सवको मिति तय सगै तयारी समेत तिव्र पारेको छ । महोत्सव सम्पन्न गर्न आयोजक केन्द्रमा अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडामा रहेका सम्पूर्ण संघ संस्था, आमा समूह, क्लब, टोल सुधार समिति, वित्तिय संस्था, विद्यालय लगायत विभिन्न क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरुको प्रतिनिधित्व हुने गरि मूल आयोजक समिति, ३९ सदस्य सम्पादन समिति, विभिन्न ३८ वटा उपसमिति, ३१ सदस्य मेला संरक्षक समिति, १३१ सदस्य सल्लाहकार समिति गठन गरिएको आयोजक केन्द्रका सचिव समेत रहेका सचिवालय व्यवस्थापन उपसमितिका संयोजक दृर्गाप्रसाद अधिकारीले जानकारी दिए । महोत्सवको तयारीका क्रममा शनिबार महोत्सव कार्य सम्पादन समिति एंव सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । बैठकमा आयोजक संस्थाका अध्यक्ष एंव मूल आयोजक समितिका संयोजक अधिकारीले ऐतिहासिक टुँडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने उदेश्य महोत्सवको रहेको बताए । सांस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पु¥याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने उदेश्य समेत महोत्सवको रहेको अधिकारीले जानकारी दिए । १० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकm नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ । आयोजक केन्द्रका उपाध्यक्ष एंव अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिए । महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरु मध्ये निरज विक्रम राणा–अर्थ संकलन, बसन्त बास्तोला–सांस्कृतिक, दुर्गाप्रसाद अधिकारी–सचिवालय व्यवस्थापन, वेद प्रसाद वस्ती–लेखा तथा आर्थिक व्यवस्थापन, दुर्गा दत्त भुगाई–अन्तर्राष्ट्रिय समन्वय, मिन बहादुर घले–युवा परिचालन, निर्देशन कुमार चुल्याजु–सरसफाई व्यवस्थापन, हरि प्रसाद अधिकारी–मञ्च व्यवस्थापन, पार्वती खनाल–स्वागत सत्कार, सरस्वती दाहाल–ज्येष्ठ नागरिक समन्वय, सुगम मणी पराजुली–जलपान व्यवस्थापन, राजेन्द्ररमण पराजुली–सल्लाहकार, राम विक्रम राणा–अनुमगन, प्रेम रमण आचार्य–संयोजक, खगेन्द्रराज पराजुली–अतिथि सत्कार, विश्वगोपाल पराजुली–मौलिक सांस्कृतिक संरक्षण, माननीय सारदा पौडेल–अतिथि व्यवस्थापन, दिल बहादुर गुरुङ–विशेष समन्वय, प्रेम बहादुर गुरुङ–मेला प्रवद्र्धन, तिलक कोइराला–कानूनी परामर्श, रोहितराज पराजुली–प्रचार प्रसार, बाल कृष्ण कोइराला–प्रायोजक समन्वय, राम प्रसाद अधिकारी–सुरक्षा व्यवस्थापन, भद्रराज त्रिपाठी–शिक्षा तथा श्रष्टा सम्मान, रुद्र प्रसाद लुईटेल–बजार व्यवस्थापन, गंगा बहादुर गुरुङ–टोल विकास संस्था समन्वय, चन्द्र बहादुर गुरुङ–स्थानीय संघसंस्था समन्वय, पदम बहादुर गुरुङ–झाँकी व्यवस्थापन, युवराज आचार्य–स्वयम् सेवक परिचालन, डिल्लीराम सुवेदी–प्रतियोगिता व्यवस्थापन, जीवन विक्रम राणा–पार्किङ व्यवस्थापन, चन्द्र बहादुर भण्डारी–यातायात व्यवस्थापन, कृष्ण कार्की–आकस्मिक सेवा, शिवराज अधिकारी–पुरस्कार व्यवस्थापन, प्रकाश रिजाल–छपाई तथा प्रकाशन, अशोक श्रेष्ठ–प्राविधिक व्यवस्थापन, तुलसी पौडेल– आमा समूह समन्वय र प्रकाशचन्द्र सापकोटा–सञ्चार तथा समन्वय उपसमितिका संयोजक रहेका छन् । शनिबार सम्पन्न महोत्सव कार्य सम्पादन समिति एंव सरोकारवालाहरुको बैठकमा संविधान सभा सदस्य सारदा पौडेल, पोखरा १ का वडा अध्यक्ष सहारा प्रधान, गायिक बाबा राणा, आयोजक केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, केन्द्रका पुर्व अध्यक्ष रामभुषण पराजुली, सामुदायिक सेवा केन्द्र पोखरा १ बगरका अध्यक्ष राम प्रसाद अधिकारी, नेपाल रेडक्रश सोसाईटी पोखरा १ की सभापति जिवन अधिकारी लगायतले महोत्सव मार्फत लोक सस्कृतिको संरक्षण, ऐतिहासिक टँुडिखेलको संरक्षण र यस्को पहिचान झल्काउन, भड्किलो बन्दै गईरहेको तीजलाई रोक्नका लागि सचेतना अभिबृद्धि गर्ने, तीज गित मार्फत समाजमा जनचेतना फैलाउने, परम्परागत र मौलिक कुराहरुको संरक्षण गर्ने गरि महोत्सव संचालन गर्न आयोजकलाई सुझाव दिएका थिए ।
पोखरा: लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चे स्थित जनप्रिय आधारभुत विद्यालयमा आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् । फाउण्डेशनका संस्थापक गुरुङले ६५ जना विद्याथीैहरुलाई शैक्षिक सामाग्री र विद्यालयलाई डष्टविन र एक थान भलिबल सहयोग गरेका हुन् । शैक्षिक सामाग्री हस्तान्तरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक कार्यमा जोडिने उद्धेश्यसहित विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गर्दै आएको बताए । ‘सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको फाउण्डेशनले घान्द्रुक लगायत विभिन्न जिल्लाका विद्यालयमा शैक्षिक सामागी सहयोग गरि सकेको छ, संस्थापक गुरुङले भने, ‘केही दिन अगाडि पोखरामा क्लबस्तरीय भलिबल सम्पन्न भइसकेको छ, यसपछि आज यस विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गर्ने अवसर पाएको छु, सहयोगका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिन चाहान्छु ।’ संस्थापक गुरुङले शैक्षिक गुणस्तर सुधारमा शिक्षक मात्र नभएर स्थानीयहरुले समेत चासो देखाउन सके गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । ‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किला हो, शैक्षिक गुणस्तरमा ध्यान दिन विद्यालयका शिक्षक मात्र हैन स्थानीयहरुले पनि चाँसो देखाउन आवश्यक छ, उनले भने, ‘गाउँकै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि फाउण्डेशन मार्फत सक्रियता बढाएको छु, अबको परिवर्तन शिक्षाले मात्र दिन सक्छ त्यसैले शिक्षामा सबैले ध्यान पु¥याउन आवश्यक छ ।’ विद्यालयका प्रधानाध्यापक बैकुण्ठ दाहालले यस सहयोगले विद्यार्थीहरुको अध्ययनमा हौसल थपिएर जाने बताए । ‘हाम्रो विद्यालयले आधारभुत तहमा पालिकामा नै उत्कृष्ट नतिजा निकाल्दै आएको छ, विद्यालयमा स्रोतका कमीका कारण केही समस्या छ, पालिकाले पनि छात्रावृत्ति लगायत विभिन्न शिर्षकमा सहयोग गर्दै आएको छ, प्रधानाध्यापक दाहालले भने, ‘लामा अमृत फाउण्डेशन घान्द्रुकले गरेको सहयोगले विद्यार्थीहरुको अध्ययनमा अझै हौसला बढेर जाने विश्वास लिएको छु ।’ फाउण्डेशनले यसअघि लमजुङ र घान्द्रुकको विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीसँगै पोशाक वितरण गरेको छ । फाउण्डेशन शैक्षिक, सामाजिक र खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।
पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत् प्रधानमन्त्रीलाई भारतका विभिन्न शहरबाट पोखरासम्म उडानको पहलका लागि कुरा राख्न आग्रह गरेको हो । यसैगरी अर्थमन्त्री पौडेलसँगको संवादको क्रममा पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रीय उडान संचालनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री पौडेलले बताएको होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिए । चालू बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पुर्याउन समेत आग्रह गरिएको केन्द्रिय सदस्य पराजुलीले जानकारी दिए । यसैगरी संघको टोलीले काठमाडौं स्थित संयुक्त अरव इमिरेट्स् (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट गरी पोखरा दुबई सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको थियो । सो अवसरमा राजदूत अब्दुल्लाले पोखरा दुबई उडानका लागि आफूले फ्लाई दुबईसँग कुरा राख्ने आश्वासन दिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखराको पर्यटन प्रवद्र्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा समेत राजदूत सकारात्मक रहेको अध्यक्ष सुवेदीले बताए । अर्थमन्त्रीसँग भेटको क्रममा पोखरा नयाँ पुल सुरुंग मार्ग शिलान्यास हुने क्रममा रहेको जानकारी मन्त्री पौडेलले संघको टोलीलाई गराएको संघका अध्यक्ष सुवेदीले जानकारी दिए । उक्त मार्गको डीपीआर तयार भइसकेको र चालू बजेटमा केही रकम समेत छुट्टिएको जानकारी पौडेलले गराएको अध्यक्ष सुवेदीले बताए । नारायणगढ बुटवल सडक र स्तरोन्नतीको अन्तिम चरणमा रहेको पोखरा मुग्लिन सडकको निर्माण कार्यलाई तिव्रता दिन पनि मन्त्री पौडेलसँग संघको टोलीले आग्रह गरेको थियो ।

