पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए । उनले खेलकुदले देशलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे । राष्ट्रिय एकताको प्रतीकका रुपमा खेलकुद विकास भइरहेको भन्दै मेयर आचार्यले देश विभिन्न मुद्दामा विभाजित हुँदा पनि खेलकुदको माध्यमबाट एकजुट र एकताबद्ध बन्ने गरेको स्मरण गरे । उनले ग्रासरुटबाट खेलाडी उत्पादनको गर्नको लागि महानगरले ध्यान दिएको दावी गरे । त्यसको मुख्य थलो विद्यालय भएकोले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने उनको भनाइ थियो । यहीँबाट उत्पादन भएका विद्यार्थी जिल्ला, प्रदेश, राष्ट्रियस्तर हुँदै अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुग्ने बताउँदै त्यसैको आधार तयार गर्न यो प्रतियोगिता आयोजना गरिएको प्रष्ट पारे । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगरका रुपमा रहेको पर्यटनको राजधानी सहर पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गर्नुपर्छ भन्ने उद्देश्यसहित पोखरा महानगरले काम गरिरहेको बताइन् । विद्यालय तहका बालबालिकाहरूको सर्वाङ्गीण विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने भएकाले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताइन् । पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले व्यक्तिगत स्वास्थ्यमात्र नभई समाजलाई नैतिकवान्, मूल्यवान, सशक्त र एकताबद्ध बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए । उनले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई अनुशासित बनेर खेल्न आग्रह गरे । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको उनको भनाइ छ । उद्घाटन समारोहमा नयाँ खेलाडीमा उत्साह थप्न नेपालका नम्बर वान टेनिस खेलाडी प्रदिप खड्का सहित राष्ट्रिय महिला फुटबल खेलाडी अनिता बस्नेत र अञ्जना रानामगरको विशेष उपस्थिति रहेको थियो । बस्नेत र रानामगरसँग तस्बिर खिचाउन र अटोग्राफ लिन विद्यार्थीको भिड लागेको थियो । सो अवसरमा ४० वटा विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए । उसुको डेमोस्ट्रेसन, सांस्कृतिक नृत्य समेत उद्घाटन समारोहको आकर्षणको रुपमा रहेको थियो । समितिका अध्यक्ष दीपक बहादुर गोदारको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए । आयोजकका अनुसार पहिलो दिन बिहानैबाट विभिन्न खेल आयोजना भएका थिए । उद्घाटन खेलको रुपमा रहेको एथलेटिक्स तर्फको १५ सय मिटरको छात्र दौडमा कालिका माविका सुजन नेपाली प्रथम, बालोदयका तेन्जोन रोका मगर द्धितीय, पश्चिमाञ्चल माविका रोशन पन्थ तृतीय भए । १५ सय मिटरको छात्रा दौडमा छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम, साधना परियार द्धितीय र गौरी शंकर माविकी कविता मगर तृतीय भएको सदस्य सचिव अधिकारीले जानकारी दिए । बिहीहार बिहानैबाट खेलहरु सुरु हुने आयोजकले जनाएका छन् ।
पोखरा: कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् । महोत्सवलाई परिष्कृत स्वरूप दिँदै पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरिएको छ । महोत्सवको छैटौँ दिन मंगलबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित उद्योग बहस कार्यक्रमले उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव साटासाट र छलफलको अवसर प्रदान गरेको थियो । सुरुका दिनमा सुन्तला उत्पादन र बजारीकरण प्रवद्र्धनका लागि आयोजना गरिएको लेखनाथ महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवद्र्धनमा केन्द्रित हुँदै आएको छ । उद्योग बहस कार्यक्रममा विभिन्न उद्योगका प्रतिनिधिहरूले आफ्ना व्यवसायिक यात्रा, संघर्ष र सफलताका कथा सुनाएका थिए । कर्माचार्य ग्रुपका विक्रम कर्माचार्यले व्यवसायिक परिवारमा जन्मिएकाले सानै उमेरदेखि व्यवसायप्रति आकर्षित भएको बताए । उनले १३–१४ वर्षकै उमेरमा नेपाली उत्पादनहरू जस्तै टुथपेस्ट, मेची चिया, मायालु साबुन र सोल्टी साबुन बिक्री गरेको अनुभव स्मरण गरे । खुला सीमाका कारण नेपाली व्यवसायमा परेको असर अनुभूति गरेपछि स्वदेशी उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्दै विज्ञापनमार्फत अघि बढ्ने सोच बनाएको उनको भनाइ थियो । यस्तै, दिप आइसक्रिमकी सञ्चालक पम्फा देवकोटाले ‘म कर्म गर्न सक्छु र कर्म गरेरै अगाडि बढ्छु’ भन्ने दृढ इच्छाका साथ व्यवसायमा लागेको बताइन् । उनले निरन्तर मेहनत, आत्मविश्वास र कर्मचारीको साथले आफ्नो व्यवसाय अघि बढ्दै गएको अनुभव सुनाउँदै संघर्षका कथा साझा गरिन् । मनकामना प्लाइउड कम्पनीका सञ्चालक नारायण प्रसाद वास्तोलाले सानो समिलबाट सुरु गरेको व्यवसाय प्लाइउड उद्योगसम्म आइपुग्दा विभिन्न चुनौती झेल्नु परेको बताए । विशेष गरी नेपालमा वन पैदावारसम्बन्धी स्पष्ट कानुनको अभावले व्यवसाय सञ्चालनमा समस्या आएको स्मरण गर्दै संघर्षकै बीच व्यवसायलाई निरन्तरता दिएको उनले बताए । कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महराज ढकालले उद्योग प्रवद्र्धनका लागि अनुदानको सीमा बढाउनुपर्ने आवश्यकता औँल्याए । डिपिआरमै ठूलो खर्च हुने हुँदा धेरै योजना अलपत्र पर्ने अवस्था आएको उल्लेख गर्दै अनुदानलाई निश्चित दायराभित्र ल्याउने प्रयास भइरहेको जानकारी दिए । साथै, प्रदेशका गौरवका रूपमा रहेका औद्योगिक क्षेत्रको विकासका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उनले बताए । स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई उत्साहित बनाउने उद्देश्यसहित आयोजना गरिएको लेखनाथ महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । आयोजकका अनुसार महोत्सवको छैटौँ दिन मंगलबार मात्रै करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् । आर्थिक कारोबारतर्फ दैनिक करिब १ करोड रुपैयाँ बराबरको कारोबार भएको महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए । लेखनाथ महोत्सवले स्थानीय उत्पादन, उद्योग र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन् ।
पोखराः पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेष्टिवल गर्दै आइएकोमा यस वर्ष २५ औं व्याचका विद्यार्थीको आयोजनामा यही पुस २६ गते शनिबार एनटिएचएमसी फुड फेष्ट आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष विवेक महतले जानकारी दिनुभयो । आँफूहरूले फुड फेष्टिवलका लागि तयारी थालिसकेको जानकारी गराउँदै उहाँले उक्त फेष्टिवलमा विभिन्न किसिमका खाना तथा पेय पदार्थ, भेगन (प्लान्ट बेस फुड) आदिको स्वाद लिन पाइने जानकारी दिनुभयो । उक्त अवसरमा बार टेण्डरिङ फेलरिङ सो समेत हुनेछ । फेष्टिवलमा समिर श्रेष्ठ, केहारसिंह लिम्बुु जस्ता कलाकारको ब्याण्ड प्रस्तुतीका साथै विभिन्न सांस्कृतिक तथा अन्य प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय कलाकारका साथै कलेजका विद्यार्थीको समेत विभिन्न प्रस्तुती रहने जनाइएको छ । कार्यक्रममा सशुल्क सहभागि हुने व्यवस्था मिलाइएको र यसका लागि सशुल्क अनलाइन टिकेटिङ पाटनरका रुपमा रेभेलसँग सहकार्य गरिएको जानकारी दिदै उहाँले आयोजक टिमका सदस्यबाट समेत टिकट वितरण गरिने बताउनुुभयो । “कार्यक्रमलाई भव्य र सभ्य बनाउन १४ सदस्यीय मूल आयोजक समिति कृयाशिल बन्नुुका साथै क्याम्पस प्रमुख प्रकाश रेग्मी र सहायक क्याम्पस प्रमुख राजकुुमार कार्कीको निरन्तरको सरसल्लाहमा हामी निरन्तर लागिरहेका छौंं”, उहाँले भन्नुुभयो, “कार्यक्रमको सफलताका लागि विभिन्न प्रायोजक, सहप्रायोजक एवम् सहयोगीको साथ सहयोग रहेको छ ।” कार्यक्रम पश्चात वातावरणलाई साथ र सहयोग गर्ने उद्देश्यका साथ ‘प्लेट फर प्लान्ट’ योजना समेत राखिएको आयोजकले जनाएको छ ।
पोखरा: लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित भएको छ । २०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको यो कार्यक्रम आज व्यापक स्वरूपमा विस्तार हुँदै स्थानीय समृद्धिको आधार बनेको छ । हाल लेखनाथमा जारी एक्काइसौँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार व्यवसायलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ । महोत्सवको पाँचौँ दिन सोमबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित कृषि बहस कार्यक्रमले कृषक, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको छ । सुन्तलाबाट महोत्सवसम्मको यात्रा सुरुआती दिनमा सुन्तला उत्पादन र बजारीकरणलाई केन्द्रमा राखेर सुरु गरिएको महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवद्र्धनमा केन्द्रित हुँदै आएको छ। महोत्सवले विभिन्न राजनीतिक, सामाजिक र आर्थिक उतार–चढाव पार गर्दै २०८२ सालसम्म आइपुग्दा २१औँ संस्करण सफलतापूर्वक सञ्चालन गरिरहेको छ । महोत्सव आयोजक संस्थाका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार हालसम्म लेखनाथ महोत्सवमार्फत करिब डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । साथै, २१औँ संस्करणसम्म आइपुग्दा करिब ४० लाख दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरिसकेका छन्। उनका अनुसार महोत्सवले स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई प्रत्यक्ष लाभ पु¥याएको छ । कृषि बहस ः अनुभव, चुनौती र नीति सोमबार आयोजित कृषि बहस कार्यक्रममा विभिन्न कृषि क्षेत्रका प्रतिनिधिहरूले आफ्ना अनुभव र सफलताका कथा प्रस्तुत गरेका थिए । माछापालक कृषक यज्ञप्रसाद आचार्यले व्यावसायिक माछापालन सुरु गर्दा भोग्नुपरेका चुनौती, बजार व्यवस्थापन र प्रविधिको महत्वबारे चर्चा गरे । अलैंची खेती गरिरहेका कृषक सुरेन्द्रजङ्ग क्षत्रीले नगदे बालीका रूपमा अलैंची खेतीले ग्रामीण अर्थतन्त्रमा ल्याएको परिवर्तन र जोखिमबारे अनुभव सुनाए । त्यसैगरी, पोल्ट्री व्यवसायी बाबुराम गिर ले व्यवसायिक पोल्ट्री खेतीका उतार–चढाव, रोग व्यवस्थापन र बजार प्रतिस्पर्धाबारे धारणा राखे । कार्यक्रममा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले कृषि मन्त्रालयका नीतिगत कार्यक्रम, अनुदान, प्रविधि हस्तान्तरण र कृषक लक्षित सहयोग योजनाबारे जानकारी गराउँदै सरकार र कृषकबीच सहकार्य आवश्यक रहेको बताए । कार्यक्रमको सहजीकरण पत्रकार सुरेन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न कृषक तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । संस्कृति र साहित्यसँग जोडिएको महोत्सव कृषि र व्यापारसँगै लेखनाथ महोत्सव सांस्कृतिक तथा साहित्यिक गतिविधिको केन्द्र पनि बनेको छ । सोमबारका लागि तय गरिएका रत्यौली, विद्यालयस्तरीय सांस्कृतिक प्रस्तुति, नृत्य, लोकदोहोरी, सुगम संगीत तथा गायन कार्यक्रमहरू तालिकाअनुसार सञ्चालन भइरहेका छन् । कवि शिरोमणि लेखनाथ पौड्यालको योगदानलाई स्मरण गर्दै आयोजना गरिएको साहित्यिक कार्यक्रममा दर्शक सहभागितामूलक प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको छ । साहित्यिक कार्यक्रमका संयोजक कृष्णप्रसाद ढुङ्गानाका अनुसार कवि लेखनाथ पौड्यालको जीवनी तथा कृतिबाट २१ प्रश्न सोधिने र सही उत्तर दिने प्रत्येक विजेतालाई एक हजार पाँच रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस वर्ष कवि शिरोमणि लेखनाथ पौड्यालसम्बन्धी विषयमा विद्यावारिधि गरेका डा. बोधराज ढकाल लाई विशेष अभिनन्दन गर्ने कार्यक्रम पनि महोत्सवको महत्वपूर्ण आकर्षणका रूपमा रहेको छ । दर्शक र आर्थिक कारोबारमा वृद्धि भएको प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार सोमबार मात्र २८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । सोही दिन १ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको उनले जानकारी दिए । महोत्सवका आगामी दिनमा दर्शक संख्या र कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ । समृद्धिको आधार बन्दै लेखनाथ महोत्सव स्थानीय उत्पादनको बजारीकरण, साना व्यवसाय प्रवद्र्धन, कृषकको हौसला र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको छ। अझै केही दिन सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
पोखरा: जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार क्याम्पस परिसरमा आयोजित पदस्थापना तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष पहारीले विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसले प्राप्त गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको तेस्रो चक्रको प्रमाणपत्र हासिल गर्न आफूले कुनै कसर बाँकी नराख्ने उद्घोष गरे । पद तथा गोपनीयताको शपथ लिँदै अध्यक्ष पहारीले आफ्नो तीनवर्षे कार्यकाल (२०८२–२०८५) को मार्गचित्र प्रस्तुत गरे । उनले गण्डकी प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने र श्रमबजारको मागअनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने कुरालाई आफ्नो बटमलाइन बनाएका छन् । ‘मेरो नेतृत्व क्याम्पसको समृद्धि, संस्थागत सुशासन र शैक्षिक उत्कृष्टतामा केन्द्रित हुनेछ,’ अध्यक्ष पहारीले भने, ‘हामी सबै पक्षलाई समेटेर, सबैसँग हातेमालो गर्दै जनप्रियलाई नाम जस्तै साँच्चिकै ‘जनप्रिय’ बनाउन समर्पित हुनेछौँ ।’ उनले क्याम्पसको नेतृत्व गर्दा ‘म’ भन्दा माथि उठेर ‘हामी’ भन्ने सामुदायिक भावनाको विकास गर्ने विश्वास दिलाए । क्याम्पसको ३४औँ वार्षिकोत्सवका अवसरमा सम्पन्न २७ औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट निर्वाचित अध्यक्षसहित ११ जना सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता बोधराज बरालले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए । शपथ लिने सदस्यहरूमा गणेशबहादुर अधिकारी, नम्रता बराल, तिलकराम पौडेल, गिरिराज चालिसे, विश्वकुमार विजुक्छे, पदमबन्धु पोखरेल, लक्ष्मीप्रसाद पौडेल, इन्द्रप्रसाद पौडेल, इन्जिनियर शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल र हेमबहादुर थापा पराजुली रहेका छन् । २५ सदस्यीय सञ्चालक समितिमा निर्वाचित बाहेकका सदस्यहरू मनोनयन र पदेन रहने व्यवस्था छ । पदस्थापना समारोहमा क्याम्पसका अग्रज तथा सरोकारवालाहरूले शैक्षिक संस्थालाई राजनीतिबाट मुक्त राख्नुपर्नेमा विशेष जोड दिएका थिए । संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, सल्लाहकार तथा पूर्वअध्यक्ष दामोदर चालिसे, पूर्व कार्यवाहक अध्यक्ष परशुराम बराल, र निवर्तमान अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे लगायतले नवनिर्वाचित समितिलाई बधाई दिँदै क्याम्पसलाई केन्द्रविन्दुमा राखेर काम गर्न सुझाव दिए । वक्ताहरूले भने, ‘राजनीतिक विचारधारा र आस्थालाई क्याम्पसको गेट बाहिरै राखेर भित्र केवल नतिजामुखी काममा केन्द्रित हुनुपर्छ । सामुदायिक भावना र क्रियाशीलताले मात्र जनप्रियको साख जोगिनेछ ।’ सो अवसरमा पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय एकाइका अध्यक्ष विकास थापामगरले पनि शैक्षिक गुणस्तरमा नयाँ समितिले विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नवनिर्वाचित अध्यक्ष र सदस्यहरूलाई खादा ओढाएर स्वागत गरेका थिए भने क्याम्पस प्रमुख कृष्णबाबु बरालले अबिर लगाएर बधाई ज्ञापन गरेका थिए । निर्वाचन समितिका संयोजक अधिवक्ता बोधराज बरालको अध्यक्षतामा सम्पन्न उक्त समारोहको सञ्चालन निर्वाचन समिति सदस्य चेतबहादुर पोखरेलले गरेको क्याम्पसका उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । महोत्सवको रौनक बढेसँगै विभिन्न व्यवसायमा संलग्न स्टलवालाहरू उत्साहित देखिएका छन् । विशेषगरी कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, माछा तथा फलफूलको व्यापारमा उल्लेखनीय वृद्धि भएको स्टल सञ्चालकहरूले बताएका छन्। महोत्सव अवलोकनका लागि आउने दर्शक तथा उपभोक्ताहरूले स्थानीय तथा जैविक उत्पादनप्रति चासो देखाउन थालेपछि यस्ता स्टलहरूमा घुइँचो लागेको देखिन्छ । महोत्सव स्थलमा स्टल नं. २८ मा मुस्ताङ जिल्ला चोहोेर गाउपालिका वडा नं. ९ की ५० वर्षीया पासाङ आयो पहिलो पटक लेखनाथ महोत्सवमा सहभागी भएकी हुन्। पहिलो सहभागितामै व्यापार राम्रो भएपछि उनी निकै उत्साहित देखिन्छिन् । उनले जिम्बु, टिमुर, विरैनुन, जाइफल, हर्रो लगायतका विभिन्न प्राकृतिक जडीबुटी बिक्री गर्दै आएकी छन्। उनका अनुसार महोत्सवमा जडीबुटीको माग बढ्दो छ र दैनिक करिब १५ हजार रुपैयाँ बराबरको नगद कारोबार भइरहेको छ। स्थानीय तथा शुद्ध प्राकृतिक उत्पादन खोज्ने ग्राहकको संख्याले आफूलाई थप हौसला दिएको उनको भनाइ छ । त्यसैगरी स्टल नं. ३५ मा रहेको शीतल जडीबुटीका सञ्चालक तथा पोखरा महानगरपालिका वडा नं. ३१ निवासी वैद्य जयबहादुर थापा विगत २१ औँ संस्करणदेखि निरन्तर रूपमा लेखनाथ महोत्सवमा सहभागी हुँदै आएका छन् । उनले यस वर्ष पनि महोत्सवबाट लाखौँ रुपैयाँ बराबरको व्यापार भएको जानकारी दिए । थापाका अनुसार चौटा जोर, कुरिलोको जरा, हर्रो, बर्रो, सिखारीको लहरालगायतका जैविक जडीबुटीहरू विशेषगरी महिला ग्राहकको रोजाइमा परेका छन्। स्वास्थ्यप्रति सचेत उपभोक्ताको बढ्दो आकर्षणले जडीबुटी व्यवसायलाई थप बल पुगेको उनले बताए । महोत्सवमा कृषि तथा जडीबुटी मात्र होइन, स्थानीय खाद्य तथा माछा व्यवसाय पनि फस्टाएको देखिन्छ। स्टल नं. ९ मा रहेको बेगनास माछा पसलका सञ्चालक नारायण नेपालीले विभिन्न स्थानीय जातका ताजा माछाको दैनिक करिब ६० हजार रुपैयाँ बराबरको बिक्री भइरहेको बताए । स्थानीय उत्पादनलाई प्राथमिकता दिने उपभोक्ताका कारण माछा बिक्रीमा वृद्धि भएको उनको भनाइ छ । त्यस्तै, स्टल नं. ३६ मा रहेको स्मार्ट बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक राहुल थापाले सिरम्ला, काउनु, मस्यौरा, फापरलगायत स्थानीय खाद्यान्नको व्यापारबाट दैनिक करिब ५० हजार रुपैयाँ बराबरको नगद कारोबार भइरहेको जानकारी दिए। परम्परागत खानाप्रति युवा पुस्ताको समेत आकर्षण बढ्दै गएको देख्दा आफूहरू उत्साहित भएको उनले बताए । दुग्धजन्य पदार्थको व्यापार पनि महोत्सवमा राम्रो देखिएको छ । स्टल नं. २८७ मा रहेको तालचोक डेरी पसल सपका सञ्चालक पवित्रमणि पौडेलले दूधबाट बनेका विभिन्न परिकारको बिक्रीबाट दैनिक २५ हजार रुपैयाँभन्दा बढी नगद कारोबार भइरहेको बताए। जाडो मौसम सुरु भएसँगै खुवा र कुराउनीको माग उल्लेखनीय रूपमा बढेको र ग्राहकको चासो राम्रो रहेको उनको भनाइ छ । फलफूल व्यवसाय पनि महोत्सवमा आकर्षणको केन्द्र बनेको छ । स्टल नं. २९६ मा रहेको गुरुङ फलफूल पसलका ईश्वर गुरुङले दैनिक ३० हजार रुपैयाँभन्दा बढीको सुन्तला तथा अन्य फलफूल बिक्री भइरहेको जानकारी दिए। ताजा र स्थानीय फलफूलप्रति उपभोक्ताको आकर्षण बढ्दा व्यापार सहज भएको उनले बताए । समग्रमा लेखनाथ महोत्सवले स्थानीय उत्पादन, कृषि, जडीबुटी तथा साना व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको व्यवसायीहरूको भनाइ छ। महोत्सव अझै केही दिन चल्ने भएकाले आगामी दिनमा व्यापार थप बढ्ने आशा गरिएको छ। आयोजक तथा स्टल सञ्चालकहरूले महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् । महोत्सवको चौथो दिन मात्र एक करोड बरावरको कारोवार तथा २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेका प्रचार प्रसार संयोजक धु्रवबावु भटट्राईले जानकारी दिए । आइतवारका विषेश प्रस्तुतीमा शिवेश्वर महिला समुह पोखरा २९ र बयेर पाके महिला कृषक समुह पोखरा, ३० र मातृशिशु कल्याण आमा समुह पोखरा २८ ले रत्यौली प्रस्ततु गरेका थिए । विद्यालय स्तरीय प्रस्तुती अन्तरगत त्रिवेणी पब्लिक, एपेक्स प्रि स्कुल, विएमजी मावि र लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको प्रस्तुती रहेको थियो भने नृत्य तर्फ शैनिक बस्ती गुप्र नं १ को घाँटुनाच प्रस्तुत भएका थिए । भने कलाकार तर्फ आइतवार लोकदोहोरी तर्फ जिवन दाहाल, कृष्ण अखेली, कला लम्साल, शिवहरी ढुङ्गाना, रमा गौतम, सन्तोष सुवेदी र पुजा तामाङ्गको प्रस्तुती रहेको थियो यसै गरी सुगम संगित तर्फ बसन्त सापकोटा, सन्तोष बस्याल र विन्दु परियारको प्रस्तुती रहेको थियो ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २१ गतेसम्म २७ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, घोडा दौड प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, लगायतका प्रतियोगिता समावेश गरिएको छ । अध्यक्ष गुरुङले गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ८५ हजार र उपविजेतालाई नगद ५० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । टिम दर्ता गर्न शुल्क नगद रु ६ हजार रुपैयाँ तोकिएको छ । यसैगरी घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ५० हजार र उपविजेताले २५ हजार, तृतीय हुनेलाई १५ हजार तथा सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने, सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ । यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । टिम दर्ता गर्न शुल्क नगद रु २ हजार ५ सय रुपैयाँ तोकिएको छ । उनका अनुसार प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले विजेताले ३० हजार उपविजेताले २० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । टिम दर्ता गर्न शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् । मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेष प्रस्तुती दिने आयोजकले जनाएको छ ।
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित, पेशागत सुरक्षाका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली पत्रकारिता आज गहिरो आर्थिक संकटमा पुगेको ठहर गर्दै मिडिया हाउसको आम्दानी घट्नु, विज्ञापन बजार असन्तुलित हुनु, डिजिटल प्लेटफर्मको प्रभाव र राज्यको नीतिगत उदासीनताले पत्रकारको जीविकोपार्जन असुरक्षित बनेको जनाइएको छ । भेलाले देशभर तथा विशेषतः गण्डकी प्रदेशका पत्रकारहरूले भोग्दै आएका आर्थिक, पेशागत र संस्थागत समस्याका साथै समसामयिक राष्ट्रिय विषयमा गम्भीर छलफल गरेको छ । महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलद्वारा जारी घोषणापत्रमा भनिएको छ, ‘तीन तहकै सरकारबाट पत्रकारिता क्षेत्रलाई सार्वजनिक सरोकारको रणनीतिक क्षेत्रका रूपमा स्वीकार गर्दै श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष कार्यान्वयन सुनिश्चित गरिनुपर्दछ । प्रदेश सरकार र स्थानीय तहले पत्रकार कल्याण, विज्ञापन नीति र सञ्चार कार्यविधिलाई व्यावहारिक र सहज बनाउनुका साथै पत्रकार र सञ्चारमाध्यमलाई विकास साझेदारका रूपमा स्वीकार गर्दै सूचना र विज्ञापनमा स्थानीय मिडियालाई प्राथमिकता दिन आग्रह गर्दछांै ।’ नवयुवा पुस्तालाई पत्रकारितामा आकर्षित गर्न र कार्यरत पत्रकारलाई पेशामा टिकाइराख्न सुरक्षित आम्दानी, करियर विकास, तालिम र प्रविधिमा लगानी अपरिहार्य भएको ठहर गरेको छ । मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिम मध्यनजर गर्दै पत्रकारले तथ्य जाँच, स्रोतको विश्वसनीयता, सन्तुलन र पेशागत आचारसंहिताको कडाइका साथ पालना गरी समग्र पत्रकारिताप्रतिको जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । संघ सरकारबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन र पत्रिका वर्गीकरण प्रणाली अझै व्यावहारिक, पारदर्शी र मिडियामैत्री बनाउन माग गरिएको छ । यसैगरी, विज्ञापन बोर्डले मिडियालाई अलमल पार्नेभन्दा सहज, सहजीकरणमुखी र विश्वासयोग्य बनाउनुपर्ने, गण्डकीभित्रका सञ्चारमाध्यम प्रदेशकै प्रेस रजिस्टारको कार्यालय वा जिल्ला हुलाक कार्यालयमार्फत् दर्ता र नवीकरण हुने प्रबन्ध मिलाउनुपर्ने, प्रदेश सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन रकम अत्यन्त कम र कार्यविधि झन्झटिलो भएकाले तत्काल परिमार्जन गर्न पनि आग्रह गरिएको छ । जेनजी आन्दोलनमा क्षति पुगेका मिडिया हाउस र पत्रकारलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । हालको अन्योलपूर्ण अवस्थाको निकास र संविधान रक्षाका लागि यथासमयमा भयरहित निर्वाचन गर्न र गराउन सरकार तथा दलहरूलाई आग्रह गरिएको छ । पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा पत्रकारिताको क्षेत्रबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माणमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको भेलामा ११ वटै जिल्ला शाखाले एकवर्षे कार्यकालको प्रगति विवरण, चुनौती तथा भावी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा महासंघ अध्यक्ष शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाललगायतले महासंघका गतिविधिबारे जानकारी दिँदै पत्रकारका जिज्ञासाका जवाफ दिएका थिए । उनीहरुले महासंघका सदस्यको पेसागत हकहित र सुरक्षामा महासंघ सधैँ साथमा रहेको बताए । शुक्रबार उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारको पेसामाथि संकट गहिरिँदै गएको, परम्परागत मिडियाले डिजिटल युगको चुनौती सामना गर्न नसकिरहेको अवस्थामा प्रेस रजिष्ट्रार कार्यालय नियामक निकाय मात्र नभई, पत्रकारको क्षमता र वृत्ति विकासमा पनि सहयोग गर्न तयार रहेको बताइन् । भेलामा महासंघका केन्द्रीय सदस्यहरु छविलाल तिवारी, केवी राना, कृष्ण केसी, महासंघ गण्डकी सल्लाहकार गोविन्द सुवेदी, नारायण शर्मा, महासंघ गण्डकी महिला उपाध्यक्ष माया अधिकारी लगायतले बोलेका थिए । महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले महासंघका विधानतः व्यवस्थाबमोजिम गण्डकीले भेला आयोजना गरेको प्रस्ट पारे । उनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाश पौडेल, सञ्चालन महासचिव जमुना वर्षा शर्मा र धन्यवाद ज्ञापन भेला आयोजक समिति संयोजक एवं महासंघ गण्डकी सचिव भविश्वर पाण्डेले गरे । यसैबीच, महासंघले पत्रकारलाई ‘क्षमता अभिवृद्धि तालिम’ पनि दिएको छ । तालिमको सहजीकरण गर्दै पत्रकार भरत कोइरालाले ‘पत्रकारिताः चुनौती र नवीनता’ विषयमा कार्यपत्र प्रस्तुत गरे । पछिल्लो समय छापा तथा एफएम रेडियो बन्द हुुने क्रम नेपालमात्र नभई विश्वभर तीव्र रहेको, पत्रकारको पेसा संकटमा परेको र न्यू मिडियाले अवसर पनि लिएर आउने गरेको बताए । संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष समेत रहेका कोइरालाले पत्रकार महासंघको विधानमा उल्लेखित शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षको काम, कर्तव्य र अधिकारबारे जानकारी दिए ।
पोखरा: ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक र विभिन्न उपसमितिहरु गठन गरी तयारी सुरू भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ ९ देखि १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका हुन् । संस्थाको शुक्रबार सम्पन्न बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १०७ सदस्यिय मुलआयोजक समिति गठन गर्नुका साथै विभिन्न १४ उपसमिति गठन गरेको जनाएको छ । टाइगर ग्रुपले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितालाई ब्यवास्थित बनाउन अतिथी सत्कारको उपसमितिमा संस्थाका उपाध्यक्ष देबेन्द्र केसी र महासचिब प्रकाश बराललाई जिम्मेवारी दिएको छ भने आर्थिक उपसमितिमा कोषाध्यक्ष हरि कुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् । सम्पन्न बैठकले मञ्च ब्यवस्थापनको उपसमितिको संयोजकमा रामकृष्ण ज्ञवाली, सचिवालयमा डिबी नेपाली, प्रचार प्रसारमा डिआर पोख्रेल, खेल मैदानमा खुम थापा, स्वयं सेवक एवं सुरक्षामा विरेन्द्र खडका, यातायातमा गोविन्द थापा मगर, प्राविधिकमा याम बहादुर गुरूङ, स्वास्थ्यमा शुक्रराज कंडेल, विदेश समन्वयमा धोज कुमार गुरूङ, सास्कृतिकमा राजु थापा, टिम समन्वय तथा ट्रफी, मेडलमा राज कुमार गुरूङ र आवाशमा शंकर गुरूङलाई संयोजक तोकिएको छ । टाइगर ग्रुपले गत मंसिर ५ गते नै प्रतियोगिताको संयोजकमा राजकुमार गुरूङ र सहसंयोजकमा डिआर पोख्रेललाई जिम्मेवारी सुम्पिएको थियो । छैटौ संस्करणको च्याम्पियन हुने टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ हात पार्नेछन् । सो पुरस्कार राशी महिला तथा पुरूष दुबैतर्फ बिजेताले प्राप्त गर्नेछन् । यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । छैटौ सस्करणको प्रतियोगिता माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको खेल मैदान सञ्चालन हुनेछ ।

