पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   क्लबले स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि संकलित रकमबाट शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा खर्च गर्दै आएको क्लबका अध्यक्ष लोक बहादुर थापाले स्पष्ट पारे ।   उनका अनुसार १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लबको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास नर्माणको लक्ष्य राखेको छ ।   उक्त योजनाको डिपिआर अनुरुप निर्माण कार्य अगाडी बढेको  क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।     उनका अनुसार सो जग्गामा २० कोठाको भवन निर्माण हुनेछ  । यस वर्ष ३ कोठाको भवन निर्माण भइसकेको र १४ औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइनेछ ।    यससँगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरतासमेत दिइने उनले बताए ।    रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर मुख्य प्रायोजक रहेको १४ औं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, ठेलो प्रतियोगिता, टिकटक प्रतियोगिताको आयोजना गरिने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।     उनका अनुसार महोत्समा चर्चित लोकदोहोरी गायक गायिकाहरु रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछन् भने लाईभ कन्सर्टतर्फ लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, लेकाली, एवाईजी, रकहेड्स, जेम्सी, सविन राई, भिटेन  र पर्पल संगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ ।    

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’   तर, आइतबारसम्म कसैलेपनि बुझाएका छैनन् । त्यसोत बुझाउने समय अझै दुईहप्ता बाँकी छ ।    आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी अवैध रुपमा राखिएका हातहतियार बुझाउन सूचित गरिएको हो ।   ‘आसन्न फागुन २१ गते सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको छ यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि कास्की क्षेत्र भित्र अवैध रुपमा राखिएका हातहतियार माघ १५ भित्र बुझाउन सूचना जारी गरेका हौं ।’ जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शिव लम्सालले भने ।    लम्सालका अनुसार प्रशासनको तथ्याङ्कमा १ हजार ४ सय बढी इजाजत प्राप्त हातहतियार छन् ।   गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रशासन जलेसँगै सबै तथ्याङ् जलेर नष्ट भएको उनले बताए ।    ‘कास्कीमा इजाजत प्राप्त हातहतियार १ हजार ४ सय बढी नै छन् । यकिन तथ्याङ्क संघीय मन्त्रालयबाट माग्दै छौ । आएपछि कति इजाजत प्राप्त छन् भन्ने यकिन तथ्याङ्क दिन सकिन्छ, प्रवक्ता लम्सालले भने, ‘दुई÷दुई वर्षमा ति हातहतियारको नवीकरण हुन्छ ।’   प्रवक्ता लम्सालका अनुसार हतियारको प्रकृति हेरेर शुल्क निर्धारण हुन्छ । उनले न्यूनतम ३ हजार शुल्क लाग्ने बताउदै भने ‘हतियार कस्तो र कुन प्रकृतिको छ त्यो हेरेर नवीकरण शुल्क लाग्छ ।’    उनले गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनपनि सबै सेवा सुचारु भएपनि हतियार नवीकरण गर्ने सेवा सुचारु हुन नसकेको बताए ।   ‘कार्यालयबाट सबै प्रकारका सेवाहरु पुनः सुरु भइसेको छ । यही हातहतियार नवीकरण गर्ने सेवा मात्रै सुचारु हुन सकेको छैन । सबै तथ्याङ्क जलेकाले माथी मन्त्रालयबाट डेटा मगाउँदै छौ, आउने क्रम पनि छ । त्यसपछि यो सेवा पनि यथाशिघ्र सुरु हुन्छ ।’   तोकिएको समयमा अवैध हातहतियार खरखजना नबुझाएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।    

पोखर:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताउनुभएको छ ।   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा शुभकामना सन्देशमार्फत् राष्ट्र एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।    ‘आज मनाइँदै गरेको ३०४ औं पृथ्वी जयन्तीले नेपाल एकीकरण अभियानको गौरवमय इतिहाससँगै मुलुक एकीकरणको योगदानकर्ताहरूलाई स्मरण गराएको छ ।’   सन्देशमा भनिएको छ – ‘पृथ्वीनारायण शाहकै अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो । त्यसपछिका विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहन पुग्यो । पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’   सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।   यो दिवसले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना व्यक्त गर्नुभएको छ ।

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ ।  महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसिटिभी क्यामेराको निगरानीबाट सुरक्षा प्रदान गरिने भएको हो । कास्कीका सुरक्षा निकायका प्रतिनिधी र महोत्सव आयोजक बिचको बैठकले महोत्सवमा भइपरी हुन सक्ने घटनालाई मध्येनजर गरी महोत्सव स्थलको सुरक्षालाई चुस्त बनाइने निर्णय गरेको छ ।  सो अवसरमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगतका वर्षहरु भन्दा यो वर्ष सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताईन् ।  अघिल्लो संस्करणमा कुनै अप्रिय घटना नघटेको भएतापनि अहिलेको परिस्थिती फरक रहेका कारण त्यसमा सम्पूर्ण सुरक्षा निकायले ध्यान दिन आवश्यक रहेको बताईन् ।  महोत्सवकै आम्दानीबाट सामाजिक काम मार्फत युनाईटेड क्लबले आफ्नो पहिचान बनाउन सफल भएको बताउदै शर्माले १४ औं पोखरा महोत्सवको सफलताको समेत कामना गरिन ।   कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले महोत्सवमा कानुनले बञ्चित गरेका क्रियाकलापहरु सञ्चालन गर्न नहुने बताए ।  त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जेन्जी आन्दोलन पछि कानुन हातमा लिने गरी मानिसहरुले अवान्छित क्रियाकलापहरु गर्ने गरेको बताउदै महोत्सव स्थलमा त्यस्ता हर्कत गर्नेलाई कडा कारबाही गर्ने बताए ।  पोखरा महोत्सव अन्य महोत्सव भन्दा फरक हुने भएकाले आफुहरुले त्यही अनुरुप सुरक्षा योजना बनाइ अगाडी बढेको उनको भनाइ रहेको थियो ।  सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सिनाले महोत्सवमा आवश्यक पर्ने सुरक्षाका लागि आफ्नो मातहतबाट सुरक्षाकर्मी परिचालन हुने बताए ।  युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले विगतका महोत्सवहरुमा सुरक्षा निकायको साथ र सहयोगलेनै कुनैपनि अप्रिय घटनाहरु नभएको र यस पटकपनि साथ र सहयोग रहनेमा आफु आशावादी रहेको बताए ।  क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका कार्यसमिति सदस्य तथा महोत्सवका सुरक्षा व्यवस्थापन उप समिति संयोजक बुद्ध कार्कीले महोत्सव स्थलको बारेमा जानकारी गराएका थिए ।   

पोखरा:  पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीमाथि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीयमाथि खुकुरी देखाएर धम्क्याएको आरोप लागेको छ। पोखरा–३३ स्थित पुँडीटार क्षेत्रमा फोहोर प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) निर्माण गर्ने महानगरपालिकाको निर्णयविरुद्ध स्थानीयवासी लामो समयदेखि विरोध गर्दै आएका थिए।  बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै शुक्रबार उनीहरूले वडा कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यालय घेराउ गरेका थिए। सो क्रममा प्रदर्शनकारीले वडा कार्यालयको गेटमा ताला लगाएका थिए। प्रदर्शनकै क्रममा वडाध्यक्ष अधिकारी खुकुरीसहित उपस्थित भई आन्दोलनकारीलाई तर्साउने प्रयास गरेको स्थानीय सञ्जय आचार्यले बताए । उनले भने‘ वडाध्यक्षले को हो ? यहाँ ताला लगाउने, देखाइदिउँ? ” भन्दै खुकुरी नचाए ।  घटनापछि अवस्था तनावग्रस्त बनेपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पोखरा पठाएको छ। खुकुरी देखाइएको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीले वडाध्यक्षको गाडी तोडफोड गर्नुका साथै वडा कार्यालयको गेट र कार्यकक्षमा पुनः ताला लगाएर प्रदर्शन जारी राखेका छन्। स्थानीय बासिन्दाहरूले भरतपोखरी क्षेत्रको पहिचान कुनै पनि हालतमा ल्याण्डफिल साइट हुन नसक्ने स्पष्ट पारेका छन्। “कुनै पनि परिस्थितिमा यहाँ फोहोर प्रशोधन केन्द्र स्वीकार्य हुँदैन,” स्थानीय दिनेश आचार्यले बताए। विवादले झडप निम्तिने देखिएपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई आफ्नो गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय कास्की ल्याएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:  १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाले आ आफ्नो झाँकी तथा ¥याली सहभागी गराएर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।  उनीहरुले पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झाँकी तथा ¥यालीमा स्व स्फुर्त रुपमा सहभागी भई महोत्सवको सोभा बढाउने समेत निर्णय गरेका छन । महोत्सव आयोजक युनाईटेड क्लबले आयोजना गरेको संघ संस्था तथा झाँकी ¥याली अन्तरक्रिया कार्यक्रममा सहभागी उनीहरुले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले विशुद्ध सामाजिक काम गर्ने भएकाले आफुहरुले हरेक महोत्सवमा झांकी र्याली सहभागी गराइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने समेत बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका पूर्व अध्यक्ष तथा १४ औं पोखरा महोत्सवका झाँकी र्याली ब्यवस्थापन उपसमिति संयोजक सुक बहादुर गुरुङले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन पोखराका संघ संस्थाहरुको महत्वपूर्ण भुमिका रहेको बताउदै १४ औं पोखरा महोत्सवमा समेत झाँकी र्यालीबाट साथ र सहयोग हुने विश्वास ब्यक्त गरे । पोखरा महोत्सवको आम्दानी सामाजिक कामका लागि भएकाले संघ संस्थाहरुले समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युनाईटेड क्लबले गरेको सामाजिक काममा सहभागीता रहेको समेत गुरुङले बताए । त्यस्तै संघ संस्था ब्यवस्थापन उपसमिति संयोजक सीमा गुरुङले पोखरा महोत्सवको उद्घाटन पूर्व आयोजना गरिने संघ संस्थाको झाँकी र्याली कार्यक्रमले पोखरा महोत्सवको सोभा बढाएको बताइन । गुरुङले अघिल्लो वर्ष ३ सय १५ संघ संस्थाले झाँकी र्यालीमा सहभागीता जनाएको वताउदै यस वर्षपनि त्यतिनै संख्यामा संघ संस्थाको सहभागीता रहने अपेक्षा रहेको बताइन । सो अवसरमा बोल्दै क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्ण पोखरेलीको साथ र सहयोगले नै पोखरा महोत्सव १४ औं संस्करण सम्म आइपुगेको बताए । क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका पदाधिकारी, सल्लाहकार, महोत्सवका विभिन्न उपसमिति संयोजक तथा सल्लाहकार र संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

पोखरा:  २१७ औं लुइ जयन्ती तथा विश्व ब्रेल दिवसको अवसरमा कास्की नेत्रहिन संघको आयोजनामा शनिबार पोखरामा दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीको बीचमा सस्वर ब्रेल पठन प्रतियोगिता गरिएको छ ।      पोखरास्थित अमरसिंह माध्यमिक विद्यालय र कुँडहर आधारभुत विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा १ देखि ६ र कक्षा ७ देखि ११ सम्म गरि दुई चरणमा ब्रेल सस्वर पठन प्रतियोगिता गरिएको थियो ।       कक्षा १ देखि ६ सम्मको प्रतियोगितामा अमरसिंह मा.वि. कक्षा ५ का गगन सिंह तामाङ र कक्षा ५ कै बिनिशा तामाङ क्रमशः प्रथम र द्वितीय एवम् अमरसिंह मा.वि.का कक्षा ५ का अस्मिता बिक र कुँडहर आ.वि.कक्षा ३ का अन्जना गुरुङले तृतीय स्थान प्राप्त गर्नुभयो ।      त्यस्तै कक्षा ७ देखि ११ सम्मको प्रतियोगितामा कक्षा ११ का ऋषि लोहोनी प्रथम, कक्षा १० का गौरी देउवा द्वितीय र कक्षा ९ का पूर्णिमा गुरुङले तृतीय स्थान प्राप्त गर्नुभयो ।      कार्यक्रममा पोखरा महानगरपालिका अपाङ्ग सञ्जालका संयोजक गङ्गाबहादुर खड्काले दृष्टिबिहिनहरूलाई उज्यालो संसार देखाउने ब्रेल लिपिका आविष्कारक लुइ ब्रेलको योगदान अतुलनीय भएको बताउनुभयो ।      नेपाल नेत्रहिन संघका केन्द्रिय सदस्य लक्ष्मण सुबेदीले लुइ नभएको भए आफू यो स्थानसम्म आउन नसक्ने धारणा राख्नुभयो ।      कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले लुइ ब्रेलको योगदानको चर्चा गर्दै नेपालमा ब्रेल लिपि भित्राउने जङ्गबहादुर बोगटीलाई पनि स्मरण गर्नुभयो ।      दृष्टिविहिनहरूको मातृ लिपि ब्रेल लिपीलाई कहिल्यै पनि भूल्न नहुने र यहि लिपिका कारण दृष्टिविहिनकोहरूको शिक्षा सम्भव भएको उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुशिल होदार र सुनिता ज्ञवालीले गर्नुभएको थियो ।

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   महोत्सवमा २ सय ५० स्टल रहने क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । उनका अनुसार स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको छ ।    यस्तै महोत्सवमा नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झाँकी प्रर्दशनी, विद्यार्थीले निर्माण गरेका विज्ञान प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश हुने प्रचार प्रसार उपसमितिका संयोजक दिनेश सुनारले बताए ।   उनका अनुसार महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रर्दशनी, औद्योगिक उत्पादनको प्रर्दशनी एवम् विक्री वितरण हुनेछ ।   पोखरा लगायत यस्तै विभिन्न पर्यटीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवम् जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता साथै कृषिका गतिविधिहरु सञ्चालन हुनेछन् ।   सांगीतिक आकर्षणतर्फ रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछनभने लाईभ कन्सर्टतर्फ पूर्ण राई, डी मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकीसंगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ ।    पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, सह प्रायोजकमा सिटीजन फर्निचर, प्रायोजकहरुमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड, डियर वक पोखरा स्कुल, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप पोखरा १० शिवचोक, डिभ्योल मोबिल,  पोखरा सेकुवा घर, अफिसियल इन्टरनेट भायानेट, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिङकिङ पार्टनरमा सोल्टी, विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका र अमरसिंह मावि, सहयोगी संस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, हस्पिटल पार्टनरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, मोवाइल एप पार्टनरमा वी पोखरा, प्रवद्र्धकमा परिचय, ग्रुमिङ पार्टनरमा ववि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टर, पेमेन्ट पार्टनरमा रेभल अफिसियल टेलिभिजनमा फेवा टेलिभिजन एचडी र एबीसी टेलिभिजन रहेकाे छ ।    महोत्सवमा २ लाख ५० हजार हाराहारीमा दर्शकको उपस्थिती रहने अनुमान गरिएको छ भने, १ करोड ५१ लाख, ७५ हजार आम्दानी हुने र १करोड २३ लाख , ६० हजार खर्च हुने आयोजकको अपेक्षा छ ।

पोखरा:  रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी सजेस कंसाजु, राज तामाङ र राजकुमार तामाङको टोलीले द्वितीय स्थान हासिल गर्यो भने कुमार जलारी, गणेश जलारी र कृष्ण जलारीको टोलीले तृतीय स्थान हासिल गरेको छ । संस्थागततर्फ रुद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ सम्मिलित फेवा डुङ्गा व्यवसायी संगठनको टोलीले प्रथम, कृष्ण आचार्य, हरि भुजेल र तीर्थराज सुवेदी सम्मिलित टान गण्डकीको टोलीले द्वितीय तथा विकास कडेल, रवि प्रसाद आचार्य र श्याम लामिछाने सम्मिलित नेपाल पर्यटन यातायात व्यवसायी संघको टोलीले तृतीय स्थान हासिल गरे । प्रतियोगितामा विजयी हुने टोलीले खसी, द्वितीय स्थान हासिल गर्नेले बोका तथा तृतीय स्थान हाँसिल गर्ने टोलीले भाले पुरस्कार प्राप्त गरे । महिलाहरू सम्मिलित टेवानको टोलीलाई विशेष पुरस्कारका रुपमा टोकला चियाको तर्फबाट नगद रु ५ हजार प्रदान गरिएको थियो ।  उनीहरूलाई नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु भट्टराई, आयोजक रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराई लगायतले एक समारोहका बीच पुरस्कार वितरण गरे । महोत्सवमा मंगलबारदेखि रस्साकसी प्रतियोगिता पनि शुरु भएको छ । मंगलबार ल्होसार समेत परेकाले दर्शकहरुको बाक्लो घुइचो देखिएको छ ।