पोखरा: कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा शनिबार माछापुच्छ्रे ६ हेम्जाकोटमा शनिबार सम्पन्न भएको हो । अन्तरक्रियामा गाउँपालिका, स्थानीय निकाय, स्थानीय, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता थियो । सहभागीहरूले माछापुच्छ्रे गाउँपालिकाभित्र रहेका पर्यटन सम्भावना र चुनौती विषयमा धारणा व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमका वक्ताहरूले पत्रकारहरूले गाउँपालिकाका पर्यटकीय सम्पदा, संस्कृतिको संरक्षण तथा प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले गाउँपलिकाको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहे पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताए । विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजि भैरहेको र आन्तरिक पर्यटक धेरै आउने गाउँपालिकाका गन्तव्यमा विदेशी पर्यटकलाई आकर्षण गर्ने योजनामा गाउँपालिका अगाडी बढेको उनले जनाए । त्यस्तै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले गाउँपालिकाको समग्र पर्यटन विकासका लागि आवश्यक सुझाव दिन आह्वान गरिन् । यता गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिका पर्यटनको सम्भावना निकै रहेको र स्थानीय नागरिकले गाउँपालिकासँग गर्ने सहजीकरण निकै सह्रानीय रहेको बताए । अन्तरक्रियामा पत्रकार र स्थानीयबाट उठेको प्रश्नको जवाफ गाउँपालिकाले दिएको थियो । त्यसैगरि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले पत्रकार, पालिका र स्थानीयबीच भएको अन्तरक्रियाले समन्वय सुदृढ बनाई पर्यटन प्रवद्र्धनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा हेम्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष इश्वर गुरुङ, माछापुच्छ्रे गाउँपालिका वडा ५ का अध्यक्ष नारायण पौडल, वडा ६ का अध्यक्ष टेकनाथ गौतम, खेलकुद विकास समिति माछापुच्छ्रे गाउँपालिकाका सदस्य सचिव होमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव परशुराम शर्माले गरेका थिएभने स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले राखेका थिए । दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई शनिबार आफ्नै जन्मथलोमा नगदसहित सम्मान गरिएको छ । १२ देखि २३ नोभेम्बर २०२५ मा भारत र श्रीलङ्कामा पहिलोपटक आयोजना हुन लागेको टि–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीमा परेकी विनितालाई नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा नगदसहित सम्मान गरेको हो । विनिता कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घर भएकी अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनलाई माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले संयुक्त रूपमा नगद सात हजार सात सय ७७ रुपैयाँसहित सम्मान गरेका हुन् ।
पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान संचालन गर्ने योजना अनुसार कार्यक्रम जारी राखेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रम पोखरा महानगरपालिका वडा नं २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रधानाङ्गले सम्वदेनशील उमेर समूह छनोट गरी कार्यक्रम संचालन गरिनु प्रशंसनीय भएको बताउनुभयो । वडा सदस्य गोमा सुवेदीले स्थानीय सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । विन्ध्यवासिनी माविका प्रधानध्यापक बसन्त पाण्डेले यो अभियानमा शिक्षा र स्वास्थ्य दुवै विषय जोडिएका निकै उपयोगी भएको बताउनुभयो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिक बदली बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । मौसम विभागका अनुसार आज देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ । ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको विभागको भनाइ छ । यस्तै बागमती प्रदेशका काठमाडाैँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएपछि व्यवस्थापन गर्न कठिन भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । घान्द्रुक जान योजना बनाएका पर्यटकहरुले सम्पर्क गरेर मात्रै जानुपर्ने उनले बताए । ‘घान्द्रुकमा अहिले पर्यटकको चाप निकै बढेको छ । बिदा र घुमघामको सिजन भएकै कारण घान्द्रुकमा आउने आन्तरिक र बाह्य पर्यटकको घुइचो भएको हो, उनले भने, ‘यदी तपाइहरु पनि घान्द्रुक आउने योजना बनाउनुभएको छ भने यहाँका व्यवसायी वा समितिलाई सम्पर्क गरेर मात्रै आउनुहोला ।’ यस्तै घान्द्रुक पर्यटन व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्ण गुरुङले होटल तथा होमस्टे गरी घान्द्रुकमा करिब ३ हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने क्षमता रहेको बताए । हरेक वर्ष दशैं तथा तिहारको छेको पारेर अत्याधिक मात्रामा पर्यटक घान्द्रुक पुग्ने गरेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँ संस्कृति र प्रकृतिमा निकै धनि छ । घान्द्रुकबाट एबीसी ट्रेक (अन्नपूर्ण आधार शिविर), हिडन लेक लगायतका एसियाकै लोकप्रिय पदमार्ग जान सकिन्छ ।
पोखरा: होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको भन्दै अध्यक्ष सुवेदीले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरे । महोत्सवका विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत टिका लगाउन आउने अपेक्षा गरिएको महोत्सवका संयोजक एवं संघका उपाध्यक्ष गणेशराज पहारीले जानकारी दिए । महोत्सवमा तिहारको महत्व, दिपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी दिइने पनि संयोजक पहारीले बताए । तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको छ । पौने तीन बजे सुरु हुने महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण मिडियाकर्मीलाई संघले अनुरोध गरेको छ । गोर्खा वियर र सोमरसबीले महोत्सवलाई सघाएका छन् । महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रबद्र्धन गर्दै छन् । अनलाइन पार्टनरमा रिभेल रहेको छ ।
पोखरा: पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । दशै र तिहारलाई लक्ष्त गरे ल्याएका योजनामा १ हजारको खरिदमा एउटा कुपन पाइने छ । लक्की ड्र मार्फत विजेताले प्रथम पुरस्कार इलेक्टिक स्कुटर, दोस्रो पुरस्कार माउन्टेन साइकल र तेस्रो पुरस्कार डिस्पेन्सर पाउने छन् । अन्य १२ जनालाई सान्तोना पुरस्कार प्रदान गरिने डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । १७ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री गर्दै आएको छ । अघिल्लो वर्षहरुमा पनि स्टोरले उपहार योजना चलाउदै आएको थियो । सुलभ डिपार्टमेन्टल स्टोर्समा होटल, रेष्टुरेण्ट र घरयासी प्रयोगमा आउन किचनका भाँडाहरु थप गरेको छ । करिब २ करोडका लागतमा होटल, रेष्टुरेन्ट, क्याफे र होमस्टेका किचनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा र उपकरण उपलब्ध गराउने लक्ष्य स्टोरमा थप लगानी गरेको सहकारीका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । उनले पोखरामा थपिदै गएका होटल तथा रेष्टुरेण्टका लागि आवश्यक किचनका सम्पूर्ण सामग्री सहज रूपमा पाउन सकिने बताए । पहिलो काठमाडौं धाउनु पर्ने भएपछि अब भने सबै स्टोरमा नै पाइने उनको भनाई छ । उनका अनुसार स्टोरमा होटल तथा रेष्टुरेण्ट सञ्चालनका लागि चाहिने बुफे सेट, स्टेनलेस स्टिलका भाँडा, प्यान, कुकर, ट्रे, फ्राइप्यान, सूप प्यान, चपिंग बोर्ड, चाकू, चम्चा, स्प्याचुला, टोंग, जार, बाउल, प्लेट, ग्लास, कप, ग्यास चुल्हो, ओभन, डीप फ्रायर, मिक्सर ग्राइन्डर, ब्लेन्डर, फूड प्रोसेसर, डिश–र्याक, वाटर फिल्टर लगायतका साना देखी ठुला सम्म सबै भाँडाकुँडा उपलब्ध रहेको बताए । स्टोरले ग्राहकको मागअनुसार अर्डर लिने र होम डेलिभरीको समेत व्यवस्था रहेको व्यवस्थापक बरालले बताए । साना भाडा पहिले पनि पाइने भएपनि अहिले होटल र रेष्टुरेण्टका लागि आवश्यक सामग्री थप गर्दै गएको उनको भनाई छ ।
पोखरा: पोखरा महानगपालिका–१४ सेती दोभानमा गत सोमबार भेटिएको शवको पहिचान अझै हुन सकेको छैन् । पोखरा–१४ सेती दोभानमा गत सोमबार दिउँसो अन्दाजी २ः३० बजेको समयमा अन्दाजी ४५ वर्षीय एक पुरुष अचेत अवस्थामा फेला परेका थिए । सेती दोभान जाने भीर मुनी अचेत अवस्थामा फेला परेका पुरुषलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले अचेत अवस्थामा फेला परी मृत्यु भएको पुरुषको सनाखत हुन नसकेपछि आज (आइतबार) सामाजिकमा हुलिया र तस्वीर राख्दै चिनेजानेको भए सम्पर्कमा आउन आग्रह गरेको छ ।
पोखरा: जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । घाइतेहरूलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ। २०८२ साल भदौ २३ र २४ गते देशभर भएका जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई नेपाल सरकारको असोज १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयबाट प्राप्त सूचनाअनुसार ‘जेन–जी आन्दोलन घाइते परिचयपत्र’ तयार भइसकेको र असोज २६ गते आइतबारदेखि देखि वितरण सुरु गरिने सूचनामा जनाइएको छ। कास्की जिल्लामा स्थायी ठेगाना भएका घाइतेहरूले आफ्नो नाम सूचीकृत रहेको भए कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्ने भनिएको हो । आवश्यक कागजातमा अस्पतालको उपचार पूर्जी वा डिस्चार्ज कागजात, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल_, दुई थान फोटो र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि समावेश छन्। साथै, आन्दोलनका क्रममा घाइते भई उपचार गराएका व्यक्तिहरूलाई तत्कालका लागि भैपरी खर्च वापत प्रति व्यक्ति २० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। सो रकम उपलब्ध गराउन आवश्यक बजेट प्राप्त भइसकेको छ। सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जारी गरेको सूचनामा भनिएको छ, ‘परिचयपत्र र त्यसको अभिलेखमा घाइतेको औंठाछाप अनिवार्य रूपमा आवश्यक पर्ने भएकाले घाइते व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ।’ स्वयं उपस्थित हुन नसक्ने घाइतेको हकमा, परिवारका सदस्यहरूले कार्यालयमा जानकारी गराउन सक्ने प्रावधान गरिएको छ। उक्त कार्यको समन्वयका लागि प्रशासकीय अधिकृत झविश्वर रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको छ।
पोखरा: पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्ट्रिट र छ वटा टोलहरुलाई लक्षित गरी तोकिएका संयोजकहरुले स्थानीय व्यवसायी र टोलवासीसँग छलफल गरी सदस्यहरु तोकेर उपसमिति बनाउने छन् । उल्लेखित स्ट्रिट बाहेक ड्यामसाइड, खहरेचोक, गैह्राचौतारा, हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत यस्ता संयोजक तोकिएको हो । संघको कार्यालय डिहिको पाटनमा हालै आयोजित व्यवसायीको भेलाले उल्लेखित संयोजकहरु तोकेको संघले जनाएको छ । जेन–जी विद्रोहपछि प्रभावित हुन पुगेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटक र व्यवसायी तथा टोलबासीको सुरक्षाको लागि संयोजकहरु तोकेर अगाडि बढिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । ‘पर्यटन क्षेत्रमा चोरीका घटनापनि फाट्टफुट्ट देखिन थाले,’ ‘अध्यक्ष सुवेदीले भने, हाम्रो अभियान कसैप्रति लक्षित भन्दा पनि व्यवसायीको हकहित, पर्यटनको विकास र पर्यटकको सुरक्षासँग सम्वन्धित छ ।’ व्यवसायीलाई जागरुक बनाउने र पर्यटकलाई गुणस्तरीय सेवा दिन समेत आफूहरु एकजुट भएको अध्यक्ष सुवेदीले बताए । सबै होटल र टोलका सीसीटीभी क्यामेरा चालु अवस्थामा राख्ने, विग्रेका क्यामेरा र प्रणालीको मर्मत गर्ने, सुरक्षाकर्मीको आत्मबल बढाउन मद्दत गर्ने, सुरक्षाका लागि सहकार्य गरेर अगाडि बढ्ने, सडक वत्तीको मर्मतसंभार गर्ने र खाल्डाखुल्डी परेका सडकलाई मर्मत गर्न समेत तोकिएका संयोजक र उपसमितिले सघाउने संघले जनाएको छ ।

