पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ (सुमन), र कोषाध्यक्षमा युनिश गुरुङ चयन भए । यस्तै सदस्यहरुमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भए । रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए । अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रमा अध्यक्ष पौडेलले समामार लेख्ने भन्दा फोटो पत्रकार फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने हुँदा धेरै चूनौति सामना गर्नुपर्ने बताए । समाचारका लागि अति आवश्यक फोटो खिच्ने पत्रकारहरु एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । ‘समाचारका लागि फोटो अति आवश्यक चिज हो । अर्को अर्थमा भन्नुपर्दा समाचार आज लेख्यो भोली पुरानो हुन सक्छ तर फोटो कहिल्यै पुरानो हुँदैन्,’ उनले भने, ‘समचारको महत्वपूर्ण पाटो फोटो खिच्ने पत्रकारहरु एकजुन हुनु आवश्यक छ र रहिरहनेछ ।’ कास्कीका फोटो पत्रकारहरुले सिर्जनात्मक काम गर्नुपर्नेमा उनको जोड थियो । फोटो पत्रकारका हरेक गतिविधिमा पत्रकार महासंघको सदैव साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारमा फोटोको महत्व जति छ त्यो भन्दा बढि फोटो पत्रकारको महत्व रहेको बताए । फोटो बिना समाचार र पत्रकार अपुरो हुने भएकाले आगामी दिनमा पत्रकार महासंघ र नेपाल फोटो पत्रकार संघ सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले कास्कीका फोटो पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिइन् । केन्द्रमा भएको फोटो पत्रकार संघ टुटफुट भएपनि कास्कीबाट एकजुटको सन्देश दिनुपर्ने उनले बताइन् । कार्यक्रममा संघका संस्थापक अध्यक्ष घनश्याम पौडेलले २०६२/०६३ को जनआन्दोलनको समयमा एकजुट भएका फोटो पत्रकारहरुको संस्थाले विभिन्न समयमा फोटो प्रदर्शनीलगायत अन्य रचनात्मक कार्यक्रम गर्दै आएको बताए । आगामी दिनमा पनि अझै क्रियाशिल भएर लाग्न उनको सुझाव थियो । संघका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले २०६२/०६३ को जनआन्दोलन क्रममा तस्विर खिच्ने क्रममा बिभिन्न समस्या भोग्नु परेपछि आन्दोलनकै दौरानमा स्थापना भएको संस्था अहिलेको अवस्थामा आईपुगेको बताए । २०५३ सालमा काठमाण्डौंमा खोलिएका राष्ट्रिय फोटो पत्रकार समूह नेपालको शाखाका रुपमा स्थापित संस्था केन्द्रमा गुटबन्दीमा परी टुटफुट भएको अवस्थामा कास्की एक भएर अघि बढिरहेको उनले सुनाए । संघले राजनीति बाहेक, पर्यटन प्रवद्र्धन र वातावरण संरक्षण तथा जनचेतनामूलक फोटो प्रदर्शनी गरिरहेको जानकारी दिए । पूर्वअध्यक्ष ईन्द्रप्रसाद पौडेलले केन्द्रमा केन्द्रले २०७४ सालमा गरेको भद्र सहमति र निर्णय लत्याएपनि कास्कीमा केन्द्रकै निर्णय अनुसार दर्ता गरिएको नेपाल फोटो पत्रकार संंघ कास्की विना कुनै गुटबन्दी अहिलेसम्म चलिरहेको जानकारी दिए । वि.सं की २०७४ सालमा दर्ता भएको नेपाल फोटो पत्रकार संंघ, कास्कीको पहिलो नेतृत्व आफैले गरेको उनले सुनाए । त्यसपछिका अध्यक्षहरुले पनि संस्थालाई जोगाएर विभिन्न कार्यक्रम गरिरहेको उनले बताए । फोटो पत्रकारहरुको अर्को संस्था फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाले फोटो पत्रकारहरु एकजुट हुनुपर्ने सन्देशसहित आफूहरुको संस्था नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा गाभिएको घोषणा गरेको छ । २०६७ सालमा कास्कीमा स्थापना भएको फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाका अध्यक्ष एकराज गिरीले आफ्नो संस्था एनपिजए कास्कीमा गाम्ने घोषणा गरेका हुन् । ‘यति सानो शहरमा फोटो पत्रकारहरुको संस्था किन धेरै बनाउनु छ र?,’ अध्यक्ष गिरीले भने, ‘अहिलेको अवस्थामा पोखरामा क्रियाशिल फोटो पत्रकारहरु एक भएको सन्देश दिन जरुरी छ । आजैका दिन देखि म अध्यक्ष रहेको संस्थालाई एनपिजए कास्कीमा समाहित गरिएको जानकारी गराउँछु ।’
पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालयले ११५ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा टपरी गाँस्ने र धूपबत्ती बाट्ने प्रतियोगिता सम्पन्न गरेको छ । ‘सबै महिला तथा बालिकाहरुका लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारासहित वडा भित्रका महिला समूहहरुबीच प्रतियोेगिता आयोजना गरिएको वडाध्यक्ष राधिका कुमारी शाहीले जानकारी दिइन् । उनका अनुसार टपरी गाँस्ने प्रतियोगितामा छिमेकी आमा समूह विजयी बन्यो । यस्तै जनजागरण आमा समूह द्वित्तिय, लगनशिल आमा समूह तृतीय र संकल्प आमा समूहले सान्त्वना स्थान गर्याे । ति समूहले क्रमश: नगद रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे । टपरी गाँस्ने प्रतियोगितामा कुल २१ आमा समूहको सहभागिता रहेको थियो । यस्तै धूपबत्ती बाटनेतर्फ शितलपथ महिला समूह प्रथम बन्यो । ड्यामसाइड टोल विकास आमा समूह द्वित्तिय, छिमेकी आमा समूह तृतीय र श्रीराम जानकी शान्तिपथ आमा समूहले सान्त्वना स्थान हाँसिल गर्याे । उनीहरुलेपनि क्रमश: नगद रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे । धूपबत्ती बाटने प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गरेका थिए । विजयी तथा उपविजेता समूहलाई कार्यक्रमका प्रमुख अतिथीसमेत रहेकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ वडाका जनप्रतिनिधिहरु लगायतले पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा बोल्दै पोखरा महानगरकी उपप्रमुख गुरुङले उक्त कार्यक्रमले महिला सशक्तिकरणको पक्षमा सघाउ पुर्याउने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा पनि वडाबासीलाई सशक्तिकरण बनाउने खालका रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेकी थिइन् । कार्यक्रममा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोला, वडासदस्य विक्रम गुरुङ, पोखरा-१७ का वडासचिव सुरेन्द्र शर्माका साथै सहभागीका तर्फबाट शितलपथ आमा समूहका अध्यक्ष सुमित्रा लम्साल र छिमेकी आमा समूहका अनिता पनेरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडाध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं वडासदस्य विष्णुकुमारी थापा भुजेलले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन वडाका कर्मचारी तिर्सना बरालले गरेकी थिइन् ।
पोखरा: गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ । समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ नायव प्रहरी निरिक्षक शिव पाठकले ट्राफिक नियम र दुर्घटना वारे प्रशिक्षण दिएका थिए । यस्तै गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका कानुनी सल्लाहकार यमबहादुर खत्रीले यातायात कानुन वारे प्रशिक्षण दिएका थिए । नेपाल इन्स्योरेन्सका अधिकृत दिनेश पोखरेलले सडक दुर्घटना र विमा पोलीसीबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की प्रमुख शोमा पाण्डेले सडक दुर्घटना न्यूनिकरण गर्नु सबैको दायीत्व रहेको बताइन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि कानूनर व्यवहारीक पक्षलाई हेरेर काम गरिरहेको पाण्डेले बताइन् । गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीले दुर्घटना न्युनिकरण गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । सडकमा यात्रा गर्दा आवश्यक पर्ने नियम जानकारी भए दुर्घटना स्वतः कम हुने रसाइलीले बताए । व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षित गराउन समितिले काम गरिरहेको छ ।
पोखरा: पोखरा न्यूरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहान आगलागी भएको छ । आज बिहान फर्निचरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार पोखरा न्यूरोडस्थित १४ नम्बर सडकमा दिपक मानन्धरले सञ्चालन गरेको फर्निचरमा आगलागी भएको हो । प्रहरी, शसस्त्रप्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट फर्निचरमा रहेका तयारी सामग्रीहरु र काठहरुमा जलर क्षति भएको छ । आगलागीको कारण र क्षतिको विवरण भने खुल्न बाँकी छ ।
पोखरा: सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव बुधबार सकिएको छ। महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिनुभयो। यसअघि मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा आज बुधबार मात्रै ८० लाख बढी दान थपिएको हो। योसँगै सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले यज्ञ मार्फत संकलनको लक्ष्य राखेको ३ करोड करिव पुरा भएको छ। आज महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गर्नुभएको छ। त्यस अवसरमा भनाई राख्नुहुँदै महानगर प्रमुख आचार्यले सराङकोट धामको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्नुहुँदै पोखरा भ्रमण वर्ष सफल बनाउन सराङकोट धामले भूमिका खेल्ने विश्वास लिनुभयो। अव पर्यटक हिमाल हेर्न, सुर्योदय र सुर्यास्तको अवलोकन गर्न मात्रै सराङकोट आउने होइन, यो अव कोट मात्रै रहेन, सराङकोटमा अन्य धेरै आयाम थपिएका छन् प्रमुख आचार्यले भन्नुभयो । प्रमुख आचार्यले सराङकोटमा निर्माण गर्न बाँकी संरचना बनाउन महानगरले सहयोग गर्ने विश्वास दिलाउनु हुँदै सराङकोट धार्मिक पर्यटकीय स्थल भएको औँल्याउनुभयो। सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले सबैको साथ सहयोगबाट महायज्ञ सफल भएको जनाउनु हुँदै आगामि दिनमा पनि सहयोगको अपेक्षा सुनाउनुभयो ।वास्तवमै सराङकोट स्वर्गको टुक्रा हो, यसको हामी सबै मिली संरक्षण एवम् प्रवद्र्धन गर्नुपर्दछ, त्यसैमा आम पोखरेलीको कल्याण छ, उहाँले उल्लेख गर्नुभयो। यज्ञका सहअध्यक्ष समेत रहनुभएका वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले धेरै दानदाताको सहयोगबाट सराङकोट धाम सिञ्चीत भएको स्पष्ट्र पार्नुहुँदै उत्साहजनक सहभागिताका बीच यज्ञ सफल भएको धारणा राख्नुभयो। कार्यक्रमका बीच प्रमुख वाचक भागवत् भाष्कर प.कमलनयन गौतम सहित सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई सम्मान गरियो। महायज्ञमा कास्की, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दी, धादिङ समेतबाट गरी करिव १ लाख ६० हजार भक्तजनले सहभागि जनाएको महायज्ञका महासचिव शम्सेरबहादुर थापाले जानकारी दिनुभयो ।यि मध्ये करिव ६० प्रतिशत अन्नपूर्ण केवलबार मार्फत तथा अन्य महायज्ञका निःशुल्क वस एवम् स्वस्र्फूत रुपमा सराङकोट धाम पुगेको आयोजकले जनाएको छ । सराङकोटमा वि।स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ।
पोखरा: पोखरा महानगरपालिकामा सञ्चालित ईसिडीदेखी कक्षा ३सम्म शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ । इनोभेसन इन एजुकेसन (इसिइसि) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयहरूमा सञ्चालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक देखिएको समीक्षाका क्रममा पाइएको हो । परियोजना अन्तरगत इसिइसिले शिक्षकहरूको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका प्रतिनिधिहरूका लागि नेतृत्व विकास, अन्तर्राष्ट्रिय बाल विकास सहजकर्ता प्रशिक्षण तथा शैक्षिक सुधारका लागि निरन्तर अनुगमन, परामर्श तथा सहायता लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । महानगर क्षेत्रका विभिन्न क्लष्टरका १२ वटा विद्यालयहरूमा २०७९ पौषदेखि यो कार्यक्रम शैक्षिक सुधार परियोजनाका रूपमा सञ्चालनमा रहेको छ । सन् २००१ मा स्थापना भएको उक्त संस्थाले देशभर विभिन्न सरकारी तथा निजी विद्यालयहरूसँग सहकार्य गरी शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको इसिइसिका प्रबन्ध निर्देशक पीताम्बर न्यौपानेले बताउनुभयो । कार्यक्रममा इसिइसिका अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमी र परियोजना इन्चार्ज विजय तामाङले परियोजनाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परियोजनाले विद्यालय तहको शैक्षिक सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभएको छ । उहाँले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको बताउनुभयो । नेपाल वितरक महासंघको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको शुभारम्भ गर्दै उहाँले निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएकाले अर्थतन्त्रको ऊर्जा भएको उल्लेख गर्नुभयो । लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले व्यापार, ढुवानी तथा वितरणमा सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा जोड दिनुभयो । व्यापार व्यवसाय चलायमान बनेमा मात्र राज्यको अर्थतन्त्र सुदृढीकरण हुने बताउँदै उहाँले वितरकहरुको काम, कर्तब्य र अधिकारलाई समेट्ने गरी स्पष्ट कानुन नबन्दा विभिन्न समस्याहरु भोग्नु परेको समस्याबारे आफू जानकार रहेको बताउनुभयो । ‘सामानहरु देशका विभिन्न ठाउँमा पु¥याएर सेवा प्रवाह गर्ने क्रममा विभिन्न कठिनाईहरु भोग्नुपरेको गुनासो अवगत नै छ । आर्थिक मन्दी, बढ्दो बैंक ब्याजदरका कारण व्यवसायीहरु मारमा परेको अवस्था छ ।’ उहाँले भन्नुभयो – ‘नीतिगत रुपमा व्यवसायलाई कुनै अप्ठ्यारो परेको भए त्यसमा राज्यले सहजीकरण गर्नुपर्नेछ ।’ आफ्ना व्यवसायिक हकहितलाई सर्वोपरी राखी सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ्नु संस्थाको पवित्र उद्देश्य रहनुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड दिनुभयो । ‘लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनु राज्यको दायित्व हो ।’ भट्टले भन्नुभयो । महासंघका अध्यक्ष हरिराज पन्तको अध्यक्षतामा कार्यक्रम भएको थियो । पन्तले स्वदेशमै उत्पादन भएका एवं बाह्य बजारबाट आयात गरिएका विभिन्न उत्पादनहरु वितरण तथा बजारीकरणमा संलग्न व्यवसायीहरुको अभिभावकीय संस्थाका रुपमा रहेको यो महासंघ ४५ जिल्लामा फैलिसकेको र ६ हजार बढी व्यवसायी आवद्ध रहेको बताउनुभयो । नेपालमा उत्पादित तथा विदेशबाट आयातित वस्तुहरुको विक्री वितरण गर्न एकै प्रकृतिका व्यवसायीहरू एकीकृत भई २०६६ सालमा नेपाल वितरक महासंघ स्थापना भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
पोखरा: नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा सम्पन्न प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ । प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्धितिय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा स्थान हासिल गर्न सफल भए । विजेता प्रथम, द्धितिय, तृतिय एवम सान्तन्वा स्थान हासिल गर्ने टोलीले क्रमश रु ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेताहरुलाई गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपम वाइवा तामाङ, पुर्व अध्यक्ष धनप्रसाद तामाङ, केन्द्रिय सदस्य सुजन लामा, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, नेपाल तामाङ घेदुङ कास्की अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराका अध्यक्ष अमन तामाङ लगातयले वितरण गरे । कार्यक्रममा तामाङ समुदायको संस्कृतिमा योगदान गरे वापत नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष तथा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका प्रथम उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, बरिष्ठ नृत्य निर्देशक अमर गोम्जा र गायक उर्गेन दोङ्गलाई सम्मान गरिएको थियो ।
पोखरा: नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी दिएको हो । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो । सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ । देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ । यसपटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत प्रवचनसँगै फेस्टिभल सुरू हुने कार्यकारी निर्देशक भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए । विद्वत् प्रवचनलगत्तै अध्यात्म र संघर्षमाथि अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ । यसैगरी महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ । फेस्टिभलमा उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण हुने आयोजकले जनाएको छ । नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो हुन् । नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ । उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन् । फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । ८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ । परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउनेछ । सांगीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली संगीतका पप–सम्राटका रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् । परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिन्छ । सिर्जनाको अर्को विधा चित्रकलालाई यस वर्ष पनि प्राथमिकता दिइएको कार्यकारी निर्देशक भारीले सुनाए । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिने उनले जानकारी दिए । विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको साङ्गे हुनेछ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फेस्टिभलका निर्देशक अजित बरालले सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभलको आयोजनापछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको र यो निकै खुसीको कुरा भएको बताए । ‘सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकडभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छ,’ उनले भने, ‘यस्ता फेस्टिभलले ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको छ । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ ।’ एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चारको क्षेत्रबाट मात्र नभई कला र साहित्यबाट पनि आफूहरू समाजसँग जोडिएको बताइन् । कला–संस्कृति र साहित्य समाजको धरोहर भएको र एनसेल फाउन्डेसनमार्फत फेस्टिभलसँग १० वर्षपछि फेरि आबद्ध हुन पाएकोमा उनले खुसी व्यक्त गरिन् । ‘कला, साहित्य र संस्कृति हाम्रा धरोहर हुन् । यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो । एक दशकपछि पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं ।’ एनसेल फाउन्डेसनले सञ्चार, प्रविधि, शिक्षा, स्वास्थ्य, वातावरण, कला, संस्कृतिलगायत क्षेत्रमा २ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको उनले जानकारी दिइन् । फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्वबारे चर्चा गरे । साहित्यले समाजमा पु¥याएका योगदानहरूका उदाहरण दिँदै उनले भने, ‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ । सँगै यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ । नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पु¥याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो ।’ फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पु¥याएको विश्वास व्यक्त गरे । फेस्टिभलको आयोजक ३६ लाख ७३ हजार रूपैयाँ घाटामा रहेको कार्यकारी निर्देशक निरज भारीले पत्रकार सम्मेलनमा जानकारी गराए । एघारौं संस्करणमा एक करोड १० लाख ९२ लाख रूपैयाँ आम्दानी र एक करोड १४ लाख ७६ हजार रूपैयाँ खर्च भएको उनले सुनाए । गत संस्करणमा मात्र ३ लाख ८३ हजार ३ सय ६० रूपैयाँ घाटा भएको थियो । ‘दसौं संस्करणमा हामीसँग टाइटल स्पोन्सर थिएन । त्यसैले त्यो संस्करणको घाटा अहिलेसम्म व्यहोर्नुपरेको छ,’ भारीले भने, ‘पोखराका साहित्य प्रेमी र देशका अग्रज र समकालीन लेखकहरूको साथले हामीलाई यो फेस्टिभल निरन्तर गर्न झकझकाएको छ । नाफा घाटाभन्दा पनि फेस्टिभलले साहित्य र कला क्षेत्रलाई के दियो भन्ने प्रमुख विषय हो ।’ फेस्टिभलको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । फेस्टिभललाई बुद्ध एयरले सम्वद्र्धन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै उप–प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिएका छन् ।