पोखरा: हेमजा युनाईटेडको आयोजनामा सम्पन्न वडास्तरीय भेट्रान्स (३५ वर्ष माथि) फुटबल प्रतियोगितामा पोखरा महानगरपालिका वडा नंं. १५ च्याम्पियन बनेको छ । हेमजास्थित गौरीशङ्कर खेल मैदान(गौरी) मा शनिबार भएको फाइनल खेलमा वडा १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा १५ च्याम्पियन बनेको हो । उपाधिसँगै वडा १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसैगरी उपविजेता वनेको वडा १ ले नगद रु ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र हात पार्याे । सो प्रतियोगिताबाट वडा १ का इश्वर गुरुङ चन्द्र सर्वाेत्कृष्ट खेलाडीका रुपमा नगद रु ५ हजार र ट्रफिसहित पुरस्कत भए । यसैगरी सर्वाधिक गोलकर्ताका रुपमा वडा २५ का सुविन श्रेष्ठ, उत्कृष्ट गोलरक्षकमा वडा १५ का बलराम खत्री, उत्कृष्ट डिफेन्डरमा वडा १५ का मिलन गुरुङ, उत्कृष्ट मिडफिल्डर वडा १५ कै धर्मराज पराजुली, र उत्कृष्ट फरवार्डका रुपमा वडा १ का वासु जिसी तथा उत्कृष्ट प्रशिक्षकमा वडा १५ का नितेष गुरुङ पुरस्कृत भए । यस्तै अनुशासित टिमका रुपमा नगद रु १० हजारसहित वडा ५ पुरस्कृत भएको हेमजा युनाइटेडका उपाध्यक्ष तथा खेल संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए । प्रतियोगितामा प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, वडा १ का वडाध्यक्ष सहारा प्रधान, हेजमा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठ, खेल संयोजक इन्द्र बहादुर कुँवर, पूर्व राष्ट्रिय खेलाडी बलबहादुर कार्की, नेपाली काँग्रेस पोखरा–२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, हेमजा युनाइटेडका सल्लाहकार प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीय स्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाज नेपालको समन्वयमा सञ्चालित ‘मेलमिलाप सम्बन्धी तालिम समापन समारोहमा प्रमुख अतिथि भट्टले सामुदायिक मेलमिलाप सम्बन्धी असल अभ्यासका पक्षलाई राम्रोसँग ग्रहण गर्न सक्नुपर्नेमा जोड दिनुभयो । ‘स्थानीयस्तरमा हुनेगरेका विवादको न्यायिक निरूपण गर्न र मेलमिलाप मध्यस्थताको लागि मेलमिलापकर्तालाई यो तालिम महत्वपूर्ण र आवश्यक पनि हो ।’ उहाँले भन्नुभयो – ‘सूचीकृत मेलमिलापकर्ताले न्यायिक प्रक्रियामा सहभागी भई गरेको योगदानको म प्रशंसा गर्दछु ।’ बैकल्पिक उपायहरु वार्ता, मेलमिलाप र मध्यस्थताबाट विवाद समाधान गर्ने अभ्यास बढी प्रचलनमा आएको अवस्थामा स्थानीय न्यायिक समितिको व्यवस्था यसैको उपज रहेको भन्दै भट्टले नेपालको संविधानले स्थानीय सरकारले न्यायिक अधिकार अभ्यास गर्न पाउने परिकल्पना गरेबमोजिम न्यायिक समिति सक्रिय रहेको बताउनुभयो । संविधान र कानुनप्रतिको विश्वास, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायिक सुशासनको मूल्य मान्यता अंगीकार गरी कानुनको परिपालना गर्दै निष्पक्ष न्याय सम्पादन गरी नागरिकलाई न्याय सुनिश्चित गर्नु यो समितिको मूल कर्तव्य रहेको उहाँको भनाई छ । ‘मेलमिलाप विवाद समाधानको वैकल्पिक विभिन्न उपायमध्ये सर्वोत्तम उपाय हो । जीत–जीत तथा लाभ–लाभको अनुभूति गर्दै कम खर्चमा तत्काल न्याय प्राप्त हुने प्रक्रिया नै मेलमिलाप हो ।’ उहाँले भन्नुभयो – ‘आफैले रोजेको मेलमिलापकर्ताको सहयोगमा दुवै पक्ष सहभागी भई छलफल गरी चित्त बुझ्ने गरी विवादको टुङ्गो लगाउने माध्यम नै मेलमिलाप हो । मेलमिलापकर्ताले विवादका विषयमा सहमति कायम गर्नका लागि उत्प्रेरित गर्दछन् ।’ स्थानीय न्यायिक समितिमा जननिर्वाचितमध्येबाट पदमा बहाल रहने हुँदा न्यायिक निरुपणमा निष्पक्ष र तटस्थ बन्नुपर्ने अनिवार्यता रहेको उहाँको भनाई छ । ‘परस्पर विरोधी सवालमा सन्तुलित कार्य सम्पादन गर्न समितिसमक्ष यो ठूलो चुनौती हो । दक्षताको सीमितता, सीमित श्रोत साधन, न्यायिक समिति प्रमुख उपाध्यक्ष एवं उपप्रमुख हुने हुँदा बहुल जिम्मेवारीका कारण कार्यसम्पादनमा कठिनाई भएको पाएको छु ।’ पोखरा महानगरपालिकाले घरेलु हिंसामा परेका महिलाहरुको लागि उपप्रमुखको प्रत्यक्ष निगरानीमा महिला कानुनी परामर्श तथा सहायता कक्ष सञ्चालन गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । यसले महिला कानुनी परामर्श, निवेदनको मस्यौदा लेखन सहयोग र अन्य आवश्यक सहयोग मिल्दा नागरिकलाई सहजता प्रदान गर्ने उहाँको भनाई छ ।
फेवातालको सिमाना (तालघर) मा पिल्लरहरु गाड्न सुरु गरिएको छ । तिनै तहका सरकारका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सिमाङ्कन गरी सिमाक्षेत्रमा क्षेत्रमा पिल्लरहरु गाडिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएका छन् । फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको थियो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् । यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएको छ । ती विन्दुहरूको आधारमा तालको चार किल्ला क्षेत्रको सिमानामा १ हजार ५५ वटा पोलहरू गाडिने योजना रहेको छ । पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव निरीक्षक दिनेश कुमार आचार्य लगायतको उपस्थितिमा फेवातालको सिमाक्षेत्रमा ७ वटा पोलहरू गाडिएका छन् । सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको छ । उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग कि.मी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ ।
पाेखरा: पोखरास्थित फेवातालको क्षेत्रफल हालभन्दा ६ सय १७ वर्ग किलोमिटर (१ हजार २ सय १३ रोपनी) बढेको देखिएको छ । सर्वोच्च अदालतको परमादेशपछि गरिएको अध्ययनले फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिअन्तर्गत गठित प्राविधिक उपसमितिले पानीको उच्चतम बहावलाई मुख्य आधार मानेर गरेको अध्ययनले ताल घर र ६५ मिटरभित्र पर्ने क्षेत्रफल बढेको देखाएको हो । सहजीकरण समितिले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको क्षेत्रफल पछिल्लो प्रतिवेदनभन्दा ६ सय १७ वर्ग किलोमिटर (१ हजार २ सय १३ रोपनी) बढी हो । सो उपसमितिको अध्ययन अनुसार ताल घर ६.३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) छ । यो ०८१ असार १२ मा पोखरामा भीषण वर्षा हुँदा पहिचान गरिएको उच्चतम पानीको किनाराको क्षेत्रफल हो । डीजीपीएस प्रविधि र ड्रोन सर्भेमार्फत तालको क्षेत्रफल यकिन गरिएको हो । पछिल्लोपटक ०७७ मा सार्वजनिक पुण्य पौडेल आयोगको प्रतिवेदनले फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा भएको निष्कर्ष निकालेको थियो । उक्त क्षेत्रफल ०७८ फागुन १६ मा राजपत्रमा प्रकाशन भएको थियो ।
पोखराको सृजनाचोकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार मादी गाउँपालिका घर भई पोखरामा बसोबास गर्दै आएका ईच्छा क्षेत्री भन्ने विष्णुबहादुर बुढाथोकी लाई जेठ १२ गते राति करिब १०:५० बजे सृजनाचोक र सभागृह चोकबीचको सडक खण्डमा सडक पार गर्ने क्रममा अज्ञात स्कुटरले ठक्कर दिई फरार भएका थिए । उनको उपचारकै क्रममा जेठ १४ गते उनको निधन भएको थियो । उक्त घटनापछि काठमाडौँ महानगरपालिका–२६ निवासी ३३ वर्षीय समिरराज महर्जनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–११ स्थित फूलबारी चोकबाट उक्त दिनै (जेठ १४ गते) पक्राउ परेका महर्जनसँगै प्र.३–०२–००७ प २०२९ नम्बरको स्कुटरसमेत बरामद गरिएको छ । पक्राउ परेका महर्जनलाई सवारी ज्यान सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी कास्की जिल्ला अदालतको आदेशमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पोखरा: शुक्रबारदेखि आन्दोलनरत यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र आज (शनिबार) पनि कालो प्लेटका (सार्वजनिक यातायात) सवारी साधन ठप्प पारेका छन् । गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् । गण्डकी सरकारले आफुहरुलाई वार्ताका लागि नबोलाएकाले गण्डकी प्रदेशभरी सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा थन्काएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए । उनले यातायात व्यवसायीको माग पुरा नभए आगामी १९ गतेदेखि देशभर सार्वजनिक यातायात घर, ग्यारेजमा थन्काउने बताए । ‘हामी वार्ताका लागि सधैं तयार छौ । यदी हाम्रो माग सुनुवाई भएन भने १९ गतेदेखि देशभर आँधीबेरी ल्याउछौ र त्यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्छ ।’ नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने यातायात व्यवसायीहरुको माग छ ।
पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ बालकको ज्यान गएको छ । बिहीबार पौडी खेल्न पुगेका माछापुच्छ्रे गाउँपालिका–६ का १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको खोलामा डुबेर ज्यान गएको हो । उनीहरु बिहीबार दिउँसो करिब पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए। त्यसपछि घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा खटिएको गोताखोरसहितको टोली घटनास्थलमा पुगेको थियो। टोलीले करिब २० फिट गहिराइमा डुबेका बालकहरूको शव फेला परेको थियो ।
पाेखरा: यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र आज सार्वजनिक यातायात नचलाउने निर्णयसँगै पोखराका सडक सुनसान देखिएको छ । गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमागण्डकीमा आजदेखि आन्दोलन थालेका हुन् । सोही आन्दोलन अन्तर्गत आजदेखि गण्डकी प्रदेशभरी सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा थन्काएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए । उनले यातायात व्यवसायीको माग पुरा नभए आगामी १९ गतेदेखि देशभर सार्वजनिक यातायात घर, ग्यारेजमा थन्काउने बताए । आज पोखरामा (रातो नम्बर प्लेट) निजी मात्रै सडकमा देखिएका छन् भने, सार्वजनिक यातायात ठप्प छन् । यातायात व्यवसायीहरुले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।
पोखरा: नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको सह आयोजनामा आजदेखि पोखरामा ४५ दिने चिनिया भाषा तालिम सुरु भएको छ । नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी उनीहरूलाई प्रदान गरिने आतिथ्यतामा भाषाको विशेष महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै आयोजित तालिममा ८४ जनाको सहभागिता छ । पोखरामा चिनिया पर्यटकको आगमन बढीरहेका सन्दर्भमा भाषिक सञ्चारको विशेष महत्व हुने भएकोले तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो । तालिममा पर्यटन क्षेत्र सम्बन्ध विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता छ । एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नेपाल र चिनबीचको सम्बन्ध विस्तार हुँदै गइरहेका अवस्थामा गरिएको तालिमले विशेष महत्व राख्ने बताउनुुभयो । हामी दुुई ठूला राष्ट्रको बीचमा रहेको बताउँदै उहाँले हाम्रो पर्यटनलाई राम्रो बनाउँदै उनीहरूलाई आकिर्षत गर्न सक्नुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले चिनमा आफ्नै भाषा बोल्ने क्रम बढी रहेको बताउँदै उनीहरू नेपाल भ्रमणमा आउँदा चिनिया भाषा जान्नेले राम्रो आतिथ्यता प्रदान गर्न सक्ने बताउनुुभयो । पर्यटनका सबै क्षेत्रका व्यक्तिलाई समेटेर तालिम दिन लागिएको बताउँदै उहाँले यसले समग्र पोखराको पर्यटनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनको छेन्दुमा पहिलो व्यवासायिक चाटर्ड उडानसँगै हालसम्म चारवटा उडान भैसकेको बताउनुुभयो । चिनसँगको पर्यटकीय सम्बन्ध विस्तार भैरहेका अवस्थामा गर्न लागिएको चिनिया भाषा तालिम बहुउपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किरोर दाहालको सभापतित्व एवम् महासचिव चेतबहादुर कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका सचिव नवराज भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा पोखरा भ्रमण वर्ष कार्य सम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवम् होटेल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैरे, पूर्व अध्यक्ष हरिरम अधिकारी, पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासु त्रिपाठी लगायतले तालिमको महत्व सम्बन्धमा आ आफ्ना धारणा राख्नुभएको थियो ।

