पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता विकास गर्ने उद्देश्यसहित दुई दिने (शुक्रबार र शनिबार) तालिम दिइएको हो । तालिममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले र कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले शनिबार प्रशिक्षण दिए । पहिलो दिन शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वसचिव धर्मराज कुइकेल र प्रदेश पुस्तक तथा सञ्चार समन्वय महाशाखाका प्रमुख पार्वती लामिछानेले प्रशिक्षण दिइन् । तालिमका क्रममा प्रमुख प्रशिक्षक गाउँलेले अदातलमा पत्रकारका लागि आवश्यक समाचारको स्रोत यथेष्ट पाइने भएकाले त्यसको सही सदुपयोग गर्न सुझाव दिए । जसका लागि पत्रकार कार्यक्षेत्र (अदालत) मै पुग्नुपर्नेमा उनको जोड थियो । फैसलाको क्रममा रहेका मुद्दा, फैसला पछि कार्यान्वयनको चरण र न्यायाधिसलाई मुद्दामा एकपक्षीय प्रभाव पार्ने खालको समाचारबाट पत्रकारहरु जोगिनुपर्ने तर्फ उनले सचेत गराएका थिए । तालिममा कास्कीका कास्कीका ८० जना पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अदालती रिर्पोटिङ गर्दा ख्याल गर्नुपर्ने विषयलाई मध्यनजर गदैै तालिम आयोजना गरिएको बताए । तालिम पश्चात पत्रकारहरुले कार्यक्षेत्रमा यसको भरपुर प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । तालिम पश्चात प्रशिक्षार्थीहरु तिलक पुन र रोजी श्रेष्ठले तालिम फलदायी भएको प्रतिक्रिया दिए । तालिममा सिकेको ज्ञानले पत्रकारिताका दौरान सहयोग पुग्ने प्रशिक्षार्थीहरुले बताएका थिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लागि आयोजना गरेको अन्र्तक्रियात्मक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने बताउनुभयो । बुद्ध धर्म यस धर्ममा आस्था राख्नेको मात्र नभएर सबैका लागि एउटा दर्शन र सिद्धान्त रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘बुद्ध शिक्षा जीवनको नैतिक मार्गदर्शक हो, यसको अनुसरण र परिपालना गर्न जरूरी छ । बुद्धको सन्देशलाई आत्मसाथ गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता हो । बौद्ध शिक्षालाई विश्वभर फैलाएर शान्तिको सन्देश दिनुपर्नेछ ।’ बौद्ध दर्शनको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यसहित २० वर्षअघि स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा रहेको उल्लेख गर्दै उहाँले सानो संरचनाबाट विश्वविद्यालयको स्वरुप देखिने चरणमा आइपुगेकोमा खुशी व्यक्त गर्नुुभयो । विश्व आकर्षणको केन्द्र भएको लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले नेपालमै लुम्बिनी र बुद्ध प्रतिको चासोलाई बढाएको उहाँको भनाई छ । ‘बौद्ध अध्ययन, लुम्बिनीको चिनारी, विपश्यना ध्यानसहितको पाठ्यक्रम तयार हुनाले यसले नेपालमा मात्र नभई विश्व समुदायमा नै चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उहाँले भन्नुभयो – ‘विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि विभिन्न मुलुकहरूमा अध्ययन केन्द्रहरु स्थापना गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेकोमा खुशी लागेको छ ।’ बौद्धदर्शन विश्वका धेरै विश्वविद्यालयमा अध्ययन अध्यापन हुने भएपनि बुद्ध भूमिमा बसेर बौद्ध दर्शन अध्ययन गर्न पाउनु सुखद अवसर रहने प्रदेश प्रमुख भट्टको भनाई छ । उहाँले थप्नुभयो – ‘यसैले पनि विदेशी नागरिकले पनि लुम्बिनीलाई विशेष महत्व राख्ने गरेका छन् । विश्वविद्यालयलाई शैक्षिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । त्यसका लागि अझ धेरै पूर्वाधार आवश्यक रहेकाले राज्यले विशेष ध्यान दिनुपर्दछ । ’ विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेकोमा खुशी व्यक्त गर्दै उहाँले बुद्धलाई ढोग्न मात्रै होइन, ज्ञान आर्जनका लागि पनि लुम्बिनी आउनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको विश्वविद्यालयलाई प्रगतिको कामना गर्नुभयो । गण्डकीमा पनि केन्द्र स्थापना गरी बौद्ध दर्शन सम्बन्धी अध्ययन अध्यापन गराउने कार्यको स्वागत गर्दै उहाँले गण्डकी प्रदेश सरकारले पनि आवश्यक सहयोग, समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणा बमोजिम स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध धर्म दर्शनको अन्तर्राष्ट्रिय प्राज्ञिक थलोका रूपमा विकास गर्न सबै पक्षको सहयोग जरूरी छ ।’ उहाँले भन्नुभयो – ‘गोष्ठीले साझेदारहरूबीच गहन अन्तक्र्रिया गरी सरोकारवाला पक्षसँग आपसी सम्बन्ध विस्तार गर्न, केन्द्र स्थापनाको लागि आधार तयार गर्न सक्नेछ भन्नेमा विश्वस्त छु ।’
पोखरा: कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ हो घान्द्रुक । जुन निकै लोकप्रिय गन्तव्यहरुको लिस्टको अग्रभागमा पर्ने ठाउँ हो । आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने यो गाउँ प्रकृति र संस्कृतिमा धनि छ । सुनगाभाको लेन्सबाट घुम्नुहोस् ‘घान्द्रुक’ :-
पोखरा: गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । १८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए । बसन्तले १७ बलमा ३ छक्का प्रहार गरेभने, नारायणले १० बलमा १ छक्का प्रहार गरे । किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट भए । उनले २६बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सुजन थपलिया ३५ रनमा अउट भए । उनले २१ बलमा ६छक्का प्रहार गरे । दिपक डुम्रे २६रनमा अउट भए । उनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर साकिव हुकले २४ रन बनाए । उनले १५ बलमा ५ चौका प्रहार गरे । अर्जुन कुमाल शुन्यमै पेभिलियन फर्किए । काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट हुन पुग्यो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुगे । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । उनले २९ बलमा ७ चौका र २ छक्काको मद्धतमा अर्धशतक बनाए । सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । रित गौतम ४, दिपेन्द्र रावत ४, सुशान्त सिंह थापा ६, राजेन्द्र बम १, दिनेश बोहोरा ८, सूर्य तामाङ ३ र युनिश विक्रम सिंह ठकुरी १ रनमा आउट भए । गण्डकीका लागि अमृत गुरुङ र कृष्ढा पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुना प्लेयरअफ दी म्याच घोषित भए । यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे । गत वर्षको उपाधि भने मधेस प्रदेशले जितेको थियो ।
पोखरा: संसदीय छानविन उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका भ्रष्टाचार भएको निष्कर्षसहित आफ्नो प्रतिवेदन तयार पारेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिले निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो। उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा रहेको उक्त उपसमितिले विमानस्थल निर्माणका क्रममा लुट मच्चाएको निष्कर्ष निकालेको उपसमिति सदस्य एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीले जानकारी दिए। उपसमितिले तयार पारेको प्रतिवेदनमा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाएको उल्लेख गर्दै पोखरा विमानस्थल ठेक्का प्रक्रियाको चरणबाटै अनियमितता र भ्रष्टाचार सुरु भएको उल्लेख गरेको छ। निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको पाएको केसीको भनाइ छ। नयाँ कार्यान्वयन सम्झौता गरी पटक–पटक गरेर २ अर्ब २२ करोड ४० लाख कर छुट दिएर आर्थिक अनियमितता गरेको, कर छुट दिइएको २ अर्ब २० करोड रुपैयाँसमेत गैरकानुनी रूपमा भुक्तानी भएको तथ्य उपसमितिको प्रतिवेदनमा उल्लेख छ। उपसमितिले तयार पारेको प्रतिवेदन अब बस्ने सार्वजनिक लेखा समितिको पूर्ण बैठकमा पेस गर्ने तयारी भएको केसीले बताए। पोखरा विमानस्थल निर्माणका लागि सरकारले चिनियाँ एक्जिम बैंकबाट महँगो ब्याजमा करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१ अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो। २०७२ चैत ८ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भई २०७३ पुस २७ बाट निर्माण सुरु भएको थियो। छानविनका क्रममा स्थलगत अनुगमनमा आएका संयोजकले के भनेका थिए ? २०७९ पुस १७ मा यो विमानस्थल उदघाटन गरिएको थियो। उद्घाटनको २७ महिना हुँदा समेत विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। उपसमितिको छानबिनबाट तत्कालीन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले नीतिगत निर्णयको आवरणमा पोखरा विमानस्थलको लागत १४ अर्बबाट २२ अर्ब पुर्याएको तथ्य फेला पारेको छ। प्रधानन्यायाधीशसमेत रहेर मन्त्रिपरिषद्को अध्यक्षको जिम्मेवारीमा रहेका रेग्मीले नै १४ अर्बमा सम्पन्न हुने भनी तयार इस्टमेटलाई सार्वजनिक खरिद ऐन र निवयमावली उल्लंघन गर्दै २२ अर्ब पुर्याएको पाइएको उपसमितिले जनाएको छ । उपसमितिले विमानस्थललाई पूर्ण रूपमा निर्माण गरेर व्यावसायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सुझाव दिएको छ । उपसमितिमा सांसद लेखनाथ दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणी राना छन्।
पोखरा: रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच नयाँ माेडेल पोखरामा सार्वजनिक गरिएको छ । बुलेट ट्रेडर्स नयाँबजारमा पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइराला र ट्रेडर्सका सञ्चालक मनोज थापाले रोयल इन्फिल्ड क्लासिक ३५० का नयाँ माेडेलसार्वजनिक गरेका हुन् । बिहिबारदेखि पोखराबाट रोयल इन्फिल्ड क्लासिक ३५० बाइकहरुको बुकिङ, टेस्ट राइड र बिक्री सुरु भएको छ । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० का नयाँ मोडलका बाईकहरु पोखरा भित्राइएको बुलेट ट्रेडर्सका सञ्चालक मनोज थापाले जानकारी दिए । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबिएससहित प्रिमियम एलइडी हेडल्याम्प, एलइडी पाइलट ल्याम्प पनि उपलब्ध गराउनेछ । त्यसमा टाइप सी युएसबी चार्जर हुने र गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुने सञ्चालक थापाले बताए । कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कोइरालाले पोखरामा रोयल इन्फिल्डको नयाँ भेरियन्टको आगमनले अटोमोबाइल क्षेत्रमा नयाँ ईंट्टा थपिएको बताए । उनले रोयल इन्फिल्डको आधुनिक सुधारसहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङलाई थप रोमाञ्चित बनाउने र उपभोक्ताको मन जित्नेमा आशावादी रहेको सुनाए । रोयल इन्फिल्डका पाँच नयाँ भेरिएन्टमा हेरिटिज सिरिज, हेरिटेज प्रिमियम भेरियन्ट, सिग्नल सिरिज, डार्क सिरिज र क्लासिक क्रोम छन् । हेरिटेज प्रिमियम भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ भने सिग्नल सिरिज कमान्डो स्यान्ड, डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपन लगाइएको छ । क्लासिक क्रोम निख्खर हरियो स्वरूपमा उपलब्ध रहेको रोयल इन्फिल्डका गेयर एन्ड जिएमए म्यानेर सुसन महर्जनले जानकारी दिए । नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडरमाझ नवीन तरिकाले यसको विरासतअघि बढ्ने बुलेट ट्रेडर्सको विश्वास छ । नयाँ मोटरसाइकलहरुको मूल्य ५ लाख ५५ हजारदेखि ५ लाख ७९ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ ।
पोखरा: कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटनका दिन विभिन्न उमेर समूहका खेलहरू सम्पन्न भएका छन् । सम्पन्न खेलहरूमा १४ वर्ष मुनि ब्वाइज सिंगलमा आर्यस राज पौडेलले शरण विकलाई ६–०, ६–० ले, स्पन्दन उदासले आरित मल्ललाई ६–०, ६–० ले, सुरेन्द्र विकले दर्शन अधिकारीलाई ६–३, ६–१ ले, अभिषेक बिकले संगम मगरलाई ७–६, ६–४ ले, सुर्यान्स श्रेष्ठले सुमित विकलाई ७–६,६–४ ले पराजित गरे । त्यसैगरी १० वर्ष मुनिको गल्र्स सिङ्गलतर्फ निमित कुँवरले सहारा कायस्थलाई ६–४ ६–१ ले, ताभिसी रानाले अनन्या गुरुङलाई ६–१, ६–० ले पराजित गरिन् । १० वर्ष मुनिकै ब्वाइज सिंगलतर्फ मार्कब पोखरेलले आयोग्य राईलाई ६–१,६–० ले, कायन चालिसेले आयन पन्तलाई ६–१, ६–० ले, साविक पोखरेलले जीवास भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ५–७, ६–३ र १०–४ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए । यु–१२ गल्सतर्फ थेया श्रेष्ठले जीवाश्री भट्टराईलाई ६–०, ६–० ले तथा कुसुम श्रेष्ठले सुप्रिया बिकलाई ४–६, ६–१ र ६–४ ले, इरा खत्रीले बुन्नी एस मेक्लागनलाई ६–३,६–१ ले तथा नायरा घलेले इनुला परियारलाई ६–०,६–० ले, आर्या पौडेलले रुविना श्रेष्ठलाई ६–०,६–० ले पराजित गरिन् । यु–९ ब्वाईज सिंगलमा जिवास भट्टराईले अनन्त पाण्डेलाई ४–०,४–० ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । कायन चालिसेले आयन चालिसेलाई ४–१ ,४–१ ले पराजित गरे । १२ वर्षमुनिकै ब्वाइज सिंगलमा साहन्स के बस्नेतले इवान भट्टराईद्वारा वाक ओभर पाए । अनमोल नेपालीले दक्ष गुरुङलाई ६–०,६–४ ( रिटायर्ड हर्ट ) पराजित गरे । त्यसैगरि अभिषेक बयलकोटीले साबिक पोखरेललाई ६–०,६–१ ले, नितेस थापाले मार्कब पोखरेललाई ६–४,७–५ ले पराजित गरे । ब्वाइज डबल्सतर्फ प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीले अभिषेक बयलकोटी र अनमोल नेपालीलाई ६–०,६–३ ले सुर्यान्स श्रेष्ठ र सन्दिप विकको जोडीले संगम मगर र अभिषेक विकको जोडीलाई ६–१,७–५ ले पराजित गरे । यु–१४ गल्सतर्फ ज्योभिना केसीले रुविना श्रेष्ठलाई ६–०,६–३ ले पराजित गर्दै पहिलो चरण पार गरिन् । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलक क्षेत्री, सचिव अन्जु केसी, प्रदेश टेनिस संघ गण्डकीका अध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक लोक गुरुङ लगायतको सहभागिता रहेको थियो । सचिव भिष्मराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा आसन ग्रहण तथा मन्तव्य समेत नराख्दा कार्यक्रम केहि पृथक बनेको थियो ।
पाेखरा: कास्की प्रहरीको टोली ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही स्याथी घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने ४३ वर्षीय बिक्की परियार र पर्वत स्थायी घर भई हाल पोखरा महानगरपालिका ५ जिरो किमी बस्ने ३८ वर्षीय ओमबहादुर नेपाली रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले गत मंगलबार दिउसो करिब ३ बजे पोखरा २६ विजयपुर क्षेत्रमा लागूऔषध कारोबार भएको सूचनाका आधारमा पक्राउ गरिएको हो । उनीहरुको साथबाट ब्राउन सुगर (४.९० ग्राम) तथा विभिन्न कम्पनीका मोबाईल २ थान र नगद रु १७ हजार ९ सय बरामद गरिएको छ । पक्राउ परेका उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

