पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु ल...

पोखरा:   होटल संघ पोखरा नेपालले आगामी ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइडमा २० औं फेवा नववर्ष महोत्सव आयोजना गर्दैछ ।    त्यसका लागि पत्रकार सम्मेलनमार्फत निम्तो दिन होटल संघको टोली काठमाडौं पुगेको हो ।     सो अवसरमा बोल्दै महोत्सवका संयोजक तथा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित विगत २२ वर्षदेखि नववर्ष महोत्सवको आयोजना हुँदै आएको बताए ।  उनले कोरोना भाइरसको महामारीका कारण दुई वर्ष महोत्सव रोकिएको जानकारी दिदैं फेरि लयमा फर्किएको बताए ।    उनका अनुसार सो महोत्सव खहरेदेखि ड्यामसाइडसम्मको सडकमा आयोजना हुनेछ ।    उक्त महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता लगायतका कार्यक्रमहरु समावेश गरिने  निवर्तमान अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।    उनका अनुसार महोत्सव अवधिमा पर्यटकलाई २० प्रतिशत छुट दिइने छ ।   सो महोत्सवले पोखरा महानगरपालिकाले घोषणा गरेको भिजिट पोखरा इयर २०२५ अन्तर्गत २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्यलाई टेवा पुर्याउने विश्वास लिइएको छ ।   महोत्सवको मुख्य प्रायोजकका रुपमा गोर्खा ब्रुअरी प्रा.लि, सहप्रायोजकका रुपमा बरुण बेभरेज प्रालिको पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार प्रालि, फोन पे, अन्नपुर्ण केवलकार प्रालि, टोकला चिया रहेका छन् ।    यस्तै इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ भने, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, र पोखरा महानगरपालिकका रहेका छन् ।  

पोखरा:  पोखरा सभागृहमा वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीतहरु गुञ्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा न्यौपानेका साढे एक दर्जन गीत गुञ्जिएका हुन् । सांगीतीक साँझमा न्यौपानेले सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैनसहितका १८ गीत गाए । २०६६ को चैत २२ गते पोखरा सभागृहमा ‘पुरुषोत्तम न्यौपाने एकल साँझ’ भएको थियो । ठ्याक्कै १५ दिनपछि सोही ठाउँमा पुरुषोत्तम गुञ्जिएका हुन् । कार्यक्रममा उनको जीवनीमा तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । योसँगै उनलाई प्रतिष्ठानले सम्मानसमेत ग¥यो ।  २०२९ सालमा स्याङजामा जन्मिएका न्यौपाने नेपाली लोक दोहोरी क्षेत्रमा एउटा गर्विलो ईतिहास कोर्न सफल भएका छन् । झण्डै साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसंगीतमा रहेका न्यौपानका करिब हजार भन्दा बढी गीतहरु रेकर्डिङ छन् । पुरुषोत्तमले २०४६ सालमा बलाम देबीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । वार्षिक कार्यक्रमअन्तर्गत अग्रज कलाकारका सम्मान र लोक कला संरक्षण गर्ने उद्देश्यले उक्त सांगीतीक साँझ आयोजना गरिएको प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले जानकारी दिइन् । प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । वर्षेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजना छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गीत, कला, साहित्यको माध्यमबाट समाजलाई सभ्य बनाउन सकियो भने मात्रै मानिस सुखी हुने बताए । उनले सुखी समाज, समृद्धि समाज बनाउनका लागि लोक गीतको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । स्वदेशका प्रायः सबै जिल्लादेखि थुप्रै विदेशका भूमिहरुमा समेत पुगेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेका न्यौपानेले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन् । उनले लोकगीतमा लगातार तीनपटक म्युजिक नेपाल अवार्ड पनि हात पारेका थिए । प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन् । लोक सङ्गीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले विस २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लोकगीत, सङ्गीत र लोककलाको क्षेत्रमा क्रियाशील हुँदै आएको छ । अहिले प्रतिष्ठानको ७ प्रदेश समिति, १ काठमाडौं उपत्यका समन्वय समिति, ७७ जिल्लास्तरिय समिति तथा १० वटा देशमा आफ्ना शाखा समिति छन् ।  

पोखरा:    छनोट समितिले  गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ३ जनाको नाम प्रदेश सरकारलाई सिफारिस गरेको छ । विश्वविद्यालय न्यायिक परिषद् अध्यक्षसमेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ३ जनाको नाम समावेश गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।   तीमध्ये १ जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले नियुक्तिको निर्णय गर्ने छ ।   प्रस्तुतीकरण र अन्तर्वार्ताबाट छानिएका ३ जनाको नाम सिफारिस गरिए पनि नाम भने सार्वजनिक भइसकेको छैन ।   २ समूह बनाएर १९ र २० गते प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो ।   ७ जनाको आवेदन परेको भए पनि ५ जनाको दरखास्त स्वीकृत भएको थियो ।   स्वीकृत उम्मेदवारहरूमा प्राडा इन्द्रप्रसाद तिवारी (पोखरा ३१, कास्की), प्राडा कुसुमाकर न्यौपाने (पैयुँ ६, पर्वत), प्राडा नवराज देवकोटा ( सिरानचोक ४, गोरखा), प्राडा विश्वकल्याण पराजुली (पोखरा १, कास्की) र प्राडा सरोज कोइराला (पोखरा ५, कास्की) छन् । यी ५ जनामध्येबाट ३ जनाको नाम सिफारिस भएको छ ।  

दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् ।   अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।   उनका अनुसार गत वर्ष यही समयमा होटलमा पाहुनाको संख्या क्षमताको झण्डै ५० प्रतिशतसम्म पुगेको थियो ।   “पदयात्रामा आउने पर्यटक र मुक्तिनाथ जाने भारतीय पर्यटक पोखरामा नबसी सिधै गन्तव्यस्थल पुग्ने गरेकाले पनि होटलको ‘अकुपेन्सी’ कम छ”, उनले भने, “नयाँ वर्ष नजिकिँएको र विद्यालय तहको परीक्षा सकिएर बिदा सुरु भएकाले आन्तरिक पर्यटकको आउजाउ अब बढ्ने देखिएको छ ।”   पोखरा घुम्ने र यहाँका होटलमा रात बिताउने विदेशी पर्यटकको संख्या भने अपेक्षाभन्दा कम रहेको अध्यक्ष सुवेदीले बताए ।   होटल व्यवसायमा ठूलो लगानी गरेका पर्यटन व्यवसायीहरु मुख्य याममा नै पर्यटकको आवागमन कम हुँदा चिन्तित छन् । पोखरामा पर्यटक भित्राउने लक्ष्यसहित सङ्घले नयाँ वर्षका अवसरमा २०औँ फेवा नव वर्ष महोत्सवको आयोजनासमेत गरेको छ ।   नयाँ वर्षका बेला होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतभन्दा माथि पुग्ने अपेक्षा लिइएको सङ्घका अध्यक्ष सुवेदीले बताए ।   महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ । “अहिले दैनिक औसतमा २० हजार आन्तरिक तथा बाह्य पर्यटक पोखरामा छन्”, उनले भने, “यहाँ रहेका १२ सयभन्दा बढी होटल भरिभराउ हुन दैनिक ४० हजार पर्यटक पोखरा हुनुपर्छ ।”   पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।   पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । हवाई मार्ग र सडकमार्ग प्रयोग गरेर पर्यटक पोखरा भित्रने गरेका छन् । यहाँको प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण चक्रीय पदमार्गमा पनि पदयात्री पर्यटकको चहलपहल बढेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ ।   ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले चैत लागेसँगै पर्यटकको आउजाउ बढेको बताए । “ट्रेकिङ रुटहरुमा यतिबेला पर्यटकीय चहलपहल बढेको छ”, उनले भने, “शरद ऋतुपछि वसन्त याममा धेरै पर्यटक पदयात्राका लागि नेपाल भित्रन्छन् ।”   अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए ।   गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रुपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ ।   पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथां व्यवस्थित बनाउन सके उल्लेख्य संख्यामा पर्यटक भित्राउन सकिने उनले बताए ।   अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए ।   जसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका थिए । उक्त संख्या हालसम्मकै बढी रहेको जनाइएको छ । त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।   सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो ।   उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’ले जनाएको छ । रासस

पोखरा:   कास्कीको पर्यटकीय गाउँ ताङतिङमा आयोजना हुने ३१ औं चैत्र मेला, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।   ताङतिङ क्लबको आयोजनामा यही २२ गतेदेखि २६ गतेसम्म मादी गाउँपालिका २ ताङतिङमा हुने मेलाको तयारी तिब्र पारिएको क्लबका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए ।   उनका अनुसार उक्त मेलामा मुख्य आकर्षणको रुपमा खुला पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता समावेश गरिएको छ ।   यस्तै पुरुष तथा महिला छेलो हान्ने प्रतियोगिता, पुरुष दौड प्रतियोगिताको आयोजना गरिनेछ ।   खुला भलिबल तथा बास्केटबलतर्फको विजेता टिमलाई नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताए । यस्तै दुवै प्रतियोगिताको उपविजेता टिमलाई नगद रु ७० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   उनका अनुसार पुरुष दौडतर्फ प्रथमलाई ४० हजार, द्वित्तियलाई ३० हजार, तृतीयलाई २० हजार, चौथो हुनेलाई १० हजार, पाँचौ, छैटौं र सातौ हुनेलाई क्रमश ८ हजार, ६ हजार र ५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।        पुरुष छेलो हान्ने प्रतियोगिताको विजयीलाई २५ हजार नगद, उपविजयी बन्नेलाई १५ हजार प्रदान गरिने उनले बताए । यस्तै महिलातर्फको विजेतालाई १० हजार र उपविजयी बन्नेलाई ५ हजार प्रदान गरिनेछ ।   पुरुष डोरी तान्नेतर्फ प्रथम हुने समूहलाई नगद रु ३० हजार र द्वित्तिय हुने समूहलाई २० हजार, ३५ वर्ष माथि उमेरसमूहतर्फको बास्केटबल प्रतियोगिताको विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १० हजार प्रदान गरिने क्लबका सचिव बिन गुरुङले जानकारी दिए ।    उक्त कार्यक्रममा  लाइभ कन्सर्ट तथा ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

सुन्दा अनौठो लाग्न सक्छ, कास्कीको रुपातालको किनार (साविक रुपाकोट गाउँ पञ्चायत वडा नं ९) सिस्ठेनीमा लाग्ने मेला छ सय वर्षभन्दा पुरानो इतिहास, प्रकृति र संस्कृतिको साक्षी हो ।      प्रत्येक वर्षको चैते रामनवमीका अवसरमा पाँच दिनसम्म लाग्ने मेलालाई  यस क्षेत्रको अति प्राचीन मेलाका रुपमा लिने गरिन्छ ।   अहिलेको जस्तो बढ्दो बजारीकरण र सरसामान किनमेलको सहजता नभएका अवस्थामा कास्की र आसपासका जिल्लाबाट सामान किनमेल गर्ने मेलाका रुपमा यसले चासो र चर्चा कमाएको स्थानीय समाजसेवी कुलप्रसाद अधिकारीले जानकारी दिए ।      सिस्ठेनी मेलाको इतिहास छ सय वर्षदेखि रहेको उल्लेख गर्दै उनले पछिल्ला समयमा यहाँस्थित रुपा युवा क्लबको सक्रियतामा यसलाई थप व्यवस्थित गर्दै लगिएको बताए । “विगतमा यो मेला सामान किनबेचका लागि मात्र नभई बिहेवारीका लागि पनि अभिभावक आएर केटाकेटी र परिवारका सम्बन्धमा बुझ्ने माध्यम पनि बनेको थियो”, उनले भने, “मेलामा कास्की आसपासका ठाउँबाट भद्रभलादमी समेत घोडा लिएर अवलोकन गर्न आउने र मेला अवधिभर यहाँ बसेर विभिन्न भेटघाट पनि गर्ने गर्दथे ।”       मेलाका सल्लाहकार उपसमितिका संयोजक समेत रहेका अधिकारीका अनुुसार पछिल्लो समयमा स्थानीय रुपा युवा क्लबको सक्रियतामा सिस्ठेनी मेलालाई निरन्तरता दिन थालिएको छ । यस वर्ष पनि यही चैत २२ गतेदेखि वैशाख २ गतेसम्म ७ औँ रुपा सिस्ठेनी मेला आयोजना गरिएको उनले जानकारी दिए ।      यसअघि ४५÷४६ सालतिर मेलामा बर्सेनिझैँ झगडा हुन थालेपछि केही वर्ष रोकिएको मेलालाई क्लबको सक्रियतामा पुनः इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ व्यवस्थित गर्दै लगेको उनले जानकारी दिए ।   मेलामा स्थानीय उत्पादनको खरिद बिक्रीसँगै इतिहासको निरन्तरता स्वरुप अहिले पनि दैनिक रुपमा आवश्यक पर्ने कृषिजन्य उत्पादन, फलफूल, जडीबुटी, वनपैदावार एवं घरेलु सामग्रीको बिक्री वितरण हुने गरेको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्का बताउँछन् ।       मेलामा परम्परागत रुपमा उपयोग हुँदै आएका कुटो, कोदालो, हलो, बञ्चरो, हँसिया, चुलेसी, करौती, भकारी, माटाको भाँडा, चोयाबाट बनेको नाङ्ग्लो, जाँतो, गुन्द्री, डोको–डाला, नाम्लो, दाम्लो, कम्मल राडीपाखी, लत्ताकपडा, ठेकी, मदानीलगायत घरेलु मसला आदि किनबेच गर्ने गरिएको छ ।      त्यस्तै हाम्रा गाउँघरमा दैनिक प्रयोग हुने कोदो, जौ, फापर, मकै, गुर्दी, जर्नेली, कागुनोजस्ता खाद्य तथा नगदेबालीहरूको साथमा बैद्यको आयुर्वेदिक औषधिको समेत तत्कालीन अवस्थामा बजारीकरणको सहजता नहुँदा किनबेच गर्ने थलोका रुपमा मेला स्थापित बनेको उनको भनाइ छ ।      उनका अनुसार तत्कालीन समयमा घरायासी सामानको बेचबिखनका लागि काठमार्डौ, ललितपुर, भक्तपुरका साथै छिमेकी लमजुङ, गोरखा, स्याङ्जा, पर्वत, चितवन आदि स्थानबाट सामान बेच्नका लागि मानिसहरू आउने गर्दथे ।       विसं २०३४÷२०३५ तिर यहाँ लाग्ने मेलाका लागि स्याउलाले छाएका व्यापारिक कक्ष एक मोहोर रुपैयाँमा बिक्री गरेको कुलप्रसाद अधिकारीको अनुभव छ । तत्कालीन समयमा यहाँ हुने छेलो, रस्साकस्सी प्रतियोगितासँगै रोधी, ठाडोभाका, कौडा नृत्य, लाखेनाच आदिमा सहभागिताका लागि पनि टाढाटाढाबाट मानिसहरू आउने गरेको बूढापाका बताउँछन् ।      छ शताब्दी पुरानो इतिहासको जगेर्नासँगै स्थानीय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन एवं संस्कृतिलाई जीवन्त राख्नका लागि सिस्ठेनी मेलालाई निरन्तरता दिने कुरामा आफूहरू लागेको क्लबका निवर्तमान अध्यक्ष एवं मेलाका निर्देशक धीरजकुमार श्रेष्ठ बताउँछन् ।      “महोत्सवको माध्यमबाट आफ्नो स्थानीय पहिचान बनाउँदै मेलाका माध्यमबाट यस क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान एवं स्थानीय तथा ग्रामीण उत्पादन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, विभिन्न जातजातिको कला, धर्म र संस्कृतिको जगेर्ना गर्नुु नै हाम्रो उद्देश्य हो”, उनले भने ।      यस वर्षको मेलामा करिब १२० भन्दा बढी व्यापारिक कक्षहरू रहने प्रायोजक उपसमिति संयोजक वसन्त जोशीले जानकारी दिए । उनका अनुसार मेलाको मुख्य प्रायोजकमा साहारा इन्टरनेशनल फर्टिलिटि सेन्टर पोखरा रहेको छ भने सहप्रायोजकमा रुपा–६ जन्मस्थान भई हाल अमेरिकामा रहेका प्रकाश तिवारी रहेका छन् । ।     

पोखरा:  ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता रहेको थियो । मर्यादीत सहकारी, समुउन्नत समाज भन्ने मूल नाराका साथ ६८ औं राष्ट्रिय सहकारी दिवस बुधबार मनाउदै छन् । पामे बजार फेवातालका मुहान क्षेत्रका साथै पर्यटकी स्थल भएका कारण पनि सरसफाइमा ध्यान दिदै आफुहरुले सर सफाइ गरेका सहकारीका अध्यक्ष नवराज पराजुलीले जानकारी दिए । उनले सहकरीले सामाजीक क्षेत्रमा पनि बेला बेला विभिन्न काम गर्दै आएको बताए । पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल लगाएतका फोहोरहरु भेटिएको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए । उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा राख्नु पर्ने बताए । सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०८०र८१ मा १७ करोड ९ लाख ७८ हजार निक्षेप संकलन गरी २५ करोड ४ लाख १६ हजार कर्जा प्रवाह गरेको छ ।

पोखरा: पोखरा महानगरपालिका–२५ हेमजामा यही चैत २४ देखि बैशाख ३ गतेसम्म १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । विष्णु पादुका क्लबको आयोजनामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुन लागेको क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए ।  ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको राष्ट्रिय हेमजा आलु महोत्सव यो वर्ष पनि आयोजना गर्दै छौं, अध्यक्ष श्रेष्ठले भने, ‘महोत्सव कृषकको चाडको रुपमा लिएका छौं, आलु महोत्सवका लागि भनेर हेमजामा नै उत्पादन भएका ४० हजार केजी आलु भण्डारण गरेका छौं ।’ उनका अनुसार महोत्सव अवलोकनका लागि साधारण टिकट प्रतिव्यक्ति ८० रुपैंया, विद्यार्थी सहुलियत ५० र हेमजाबासीलाई २ सय रुपैंयाको पास लिएपछि महोत्सवभर निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । महोत्सव अवधिवर आलुको मूल्य प्रतिकिलो बढीमा ४२ रूपैंया रहनेछ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै, कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहेका श्रेष्ठले बताए । पोखरा महानगरपालिका प्रवक्ता तथा पोखरा वडा नं. २५ अध्यक्ष मोतिलाल तिमिल्सिनाले आलु महोत्सव समग्र पोखराकै ब्राण्ड बनेको उल्लेख गर्दैै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट परे ।  उनले भने– ‘पछिल्लोपटक हेमजा महोत्सवमय बन्दै गइरहेको छ । आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाउने विश्वास छ ।’ हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् । हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।  

पोखरा:  अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक चिनियाँ नागरिक ६ दिनदेखि बेपत्ता भएपछि उनका परिवार नेपाल आइपुगेको छ ।   बेपत्ता  योङयनका बुवा ‘इ जोङ वी’ लगायत ५ जना उनका आफन्त योङयनलाई खोज्न देउराली पुगिसकेका छन् ।   अन्नपूर्ण आधार शिविर (बेस क्याम्प) बाट एक्लै फर्किदै गरेका २७ वर्षीय चेङ योङयन चैत ११ गते मध्यान्हको समयमा पदमार्गबाट नै बेपत्ता भएका थिए ।    अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गर्दा योङयन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले सुनगाभा न्यूजसँग पुष्टी गरे ।    ‘अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक चिनिया नागरिक बेपत्ता भएका छन्, प्रहरी प्रमुख ओलियाले भने, ‘चैत ११ गते अन्नपूर्ण बेस क्याम्पको रुटमा पर्ने देउरालीमा हिम पहिरो गएको छ, हिम पहिरोमा नै परेर बेपत्ता भए कि भन्ने आशंकामा प्रहरी, स्थानीयको सहयोगमा खोजीकार्य जारी छ । बेपत्ता नागरिकको परिवार पनि आइपुग्नुभएको छ । देउरालीको मौसम छिनछिनमा परिवर्तन भइराख्ने भएकाले खोजी कार्यमा केही समस्या छ ।’   विदेशी नागरिकले अन्नपूर्ण संरक्षण क्षेत्रको विभिन्न स्थानमा प्रवेश गर्नुपूर्व विभिन्न स्थानमा राखेको चेकपोष्टबाट नाम दर्ता गर्नुपर्छ ।   यो पनि पढ्नुहोस   अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका   उनको चेकइन गरेपनि चेकआउट भएको रेकर्ड नदेखिएकाले देउराली क्षेत्रमा बेपत्ता भएको आंकलन गरिएको हो ।   चैत ११ गते अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका दुई भारतीय नागरिकले आफु भन्दा अगाडि रहेका एक पर्यटक देउरालीको हिमपहिरोमा परेको सूचना प्रहरीलाई दिएका थिए ।    उनै व्यक्ति चिनियाँ नागरिक भएको हुनुपर्ने प्रहरीको अनुमान छ ।   पहिरोमा नागरिक पुरिएको सूचनापछि प्रहरी चौकी घान्द्रुक, पर्यटन प्रहरी पोखरा, स्थानीय र जनप्रतिनिधिको टोली घटनास्थलमा पुगेका थिए ।    हिउँँ पहिरोमा चिनियाँ नागरिक पुरिएको आशंकापछि पर्यटन प्रहरी पोखराबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको कमाण्डमा ७ जना पर्यटन प्रहरी, प्रहरी चौकी घान्द्रुक, स्थानीय र जनप्रतिनिधिको टोली घटनास्थलमा उद्धारको लागि खटिएको छ ।    देउरालीको मौसम परिवर्तन भइराख्ने भएकाले खोजतलाजमा समस्या भइरहेको उद्धार टोलीमा रहेका एक सदस्यले जानकारी दिए ।