पोखरा: कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो । गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा कैदी, बन्दी, सुरक्षाकर्मीसहित करिब ९ सयको बसोबास छ । शिविरमा सहभागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी कारागारमा रहेका कैदीबन्दीका विभिन्न खाले समस्या देखिएको बताउँछन् । ‘सबैजसोमा कोलेस्ट्रोल निकै उच्च देखियो,’ डा अधिकारी भन्छन्, ‘धेरैले मानसिक समस्या जस्तोः निद्रा नलाग्ने, छटपटी हुने गरेको सुनाए । कहिल्यै जाँच गर्न नपाएका मधुमेह, प्रेसर निकै उच्च भएकाहरु पनि भेटियो ।’ चिल्लो खाना, व्यायामको कमी, आवश्यक परामर्शको अभाव, कसरत नहुनुका साथै बेलैमा उपचारको व्यवस्था नहुँदा यस्तो अवस्था देखिएको डा अधिकारीले औंल्याए । युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ स्वास्थ्य उपचारको निकै आवश्यक रहेका कैदीबन्दीहरुको परीक्षणसहित औषधीसमेत वितरण गरिएको बताउँछन् । ‘हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर शिविर आयोजना गरेका हौं,’ अध्यक्ष पन्तले भने, ‘सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यहाँ आइपुगेका हौँ । करिब ३ लाखको औषधीसमेत वितरण गरिएको छ ।’ युआरएल फाउन्डेसनका सचिव गणेशप्रसाद कोइरालाले पहिलो पटक यसरी शिविर गरिएको जनाउँदै कारागारमा दन्तसहित विभिन्न रोगका शिविर जरुरी रहेको औंल्याए । कैदी बन्दीहरुको स्वास्थ्य सेवालाई बनाउन यस्ता शिविरले सघाउने कारागार प्रमुख राजेन्द्र शर्माको भनाइ छ । उनले सीमित स्रोतका बाबजुद पनि आफूहरु कारागारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेको उल्लेख गरे ।
पोखरा: नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् । त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल रहेका छन् । निर्वाचन समितका संयोजक प्रेमप्रसाद पौडेल तथा सदस्यद्धय जयप्रसाद शर्मा र अरुण गिरीले समिति सर्वसम्मत चयन गर्न भूमिका खेलेका थिए । नेपाल लोकतान्त्रिक यातायात व्यवासयी संघ गण्डकी प्रदेशको हालै सम्पन अधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै जिल्ला समिति विस्तार शुरु गरेको हो । संघले गण्डकी प्रदेशका सवै जिल्लाामा माघ महिन सम्ममा समिति विस्तार गर्ने योजना रहेको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश बहादुर थापा गणेशले जानकारी दिए । यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले यातायात व्यवसायीका हक हितमा पार्टीले केन्द्र प्रदेश जिल्ला तहमा आवाज उठाउने बताए । ‘तपाईहरुका समस्या नजाने, नवुझेर वा नदेखेका कारण पार्टीले केहि गरेन भन्ने लाग्न सक्छ’ साभापति बरालले भन्नुभयो, ‘ तपाईहरुले पार्टीलाई जिम्मेवार बनाउने काम गर्नुहोस् तपाईका समस्यामा पार्टी सधै साथमा रहने छ ।’ यातायात व्यवसायी मर्यादित र अनुशाशित हुदाँ पार्टीलाई नै फाइदा पुग्ने बताउँदै उहाँले व्यवसायलाई मर्यादित र अनुशाशित बनाउन लाग्न आग्रह गरे । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यातायात व्यवसायीको समस्या नजिकबाट वुझेको बताउँदै उद्योग वाणिज्य संघमा रहदा पनि व्यवसायीका हक हितको पक्षमा आवज वुलद्ध पार्ने स्पष्ट पारे । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय आमन्त्रीत सदस्य तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव भानुभक्त बरालले नेपाली काँग्रेसको नेतृत्वमा सरकार हुदा मात्रै व्यवसायीका समस्य समाधान हुने गरेको उल्लेख गरे । पोखरा महानगर पालिका वडा नं. १६ का वडाअध्यक्ष अमृत तिमिल्सिनाले व्यवसायीको समस्या संवोधन गर्न यातायात व्यवसायी एक हुनु पर्ने बताए । नेपाली काँग्रेस कास्कीका सहचिव तथा प्रवत्ता नविन सिग्देलले यातायात व्ययवसायलाई मजवुद र शसक्त बनाउन पार्टी सँगसगै रहेको बताए । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष जितबहादुर गुरुङ व्यवसायीले वुलद्ध रुपमा आवज उठाउन नसकेसम्म समस्या समाधान हुन नसक्ने बताए । नेपाली काँग्रेसका स्या·जाका महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरणबावु पन्तले बोलेका थिए । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष महेश बहादुर थापा गणेशको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष वावुराम घिमिरेले स्वागत र सचिव मेघराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ मजुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना भएको छ । विद्यालयमा आज आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं १६ तल्लो दीप जोगिमणि मार्ग निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गर्नुभएको हो । उक्त रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कृत तथा सम्मानित गरिने कार्यक्रममा जानकारी गराइयो । सहयोग हस्तान्त्रण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधान, विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदी, पूर्व प्रधानाध्यापक विष्णुबहादुर बस्नेत लगायतको उपस्थिति थियो । अक्षयकोष सहयोगी दाता थापाले यस अघि पनि विभिन्न संघ संस्थामा सहयोग गर्दै आउनुभएको छ । उहाँ शिक्षासेवीसँगै सफल व्यवसायीका रुपमा रहनुभएको छ ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा प्रौढतर्फ युनाइटेड किङ्स क्लब पोखरा र छारमेन्दो तक्रो उपाधिका लागि भिड्ने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार घलेलको खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बौद्ध सृजना युवा क्लबलाई २–० को सोझो सेटमा र छारमेन्दोले फरेष्ट क्याम्प मर्दी हिमाल समूहलाई २–० कै सोझो सेटमा हराउँदै फाइनलमा किङ्स क्लबसँगको भेट पक्का गरेको हो । उक्त फाइनल खेल भने २२ गते हुने अध्यक्ष गुरुङले बताए । यस्तै महिलातर्फ भने क्वाटरफाइनल समिकरण पुरा भएको भलिबल खेल संयोजक गणेश बिसीले जानकारी दिए । उनका अनुसार महिलातर्फ आरम्भ स्पोर्टस् हाउस नयाँबजारले बोद्ध सृजना क्लब घलेललाई २–० को सोझो सेटमा हरायो । यस्तै अर्काे खेलमा निश्चल झरना युवा क्लब लुम्रेलाई पोखरा ३३ को टोलीले पनि २–० कै सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । भोलि महिलातर्फको समिफाइनल समिकरण पुरा हुने संयोजक बिसीले बताए । उक्त खेलको उद्घाटन भने माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी तथा वडा ८ का वडाध्यक्ष राम बहादुर गुरुङले गरेका थिए । यस्तै क्लबका सचिव अमृत गुरुङले पुरुषतर्फको खेल तालिका सार्वजनिक भएको बताए । उनका अनुसार भोलि साढे ११ बजेबाट खेल सुरु हुनेछ । कुल ३४ टिमको सहभागिता रहेको उक्त खेलको फाइनल २२ गते हुनेछ । भोलि चिज र बालकाशी गुरुङको बेजोड प्रस्तुती क्लबका अध्यक्ष विराज गुरुङका अनुसार साँस्कृतिका कार्यक्रमतर्फ १९ गते चर्चित गायक चिज गुरुङ र बालकाशी गुरुङको बेजोड प्रस्तुती रहने छ । यस्तै घोडा दौड २० गते बिहान ११ बजे हुनेछ । यसैगरी नृत्य प्रतियोगिता १८, १९ र २० गते साढे ४ बजेबाट सुरु हुनेछ । ठेलो प्रतियोगिता २० गते दिउँसो १ बजे, रस्साकस्सी २० गते दिउँसो २ बजे आयोजना हुनेछ । कुन प्रतियोगिताको उपाधि राशी कति ? गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले बताए । यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताको विजेता र उपविजेतालाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा सम्पन्न भएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् । पोखराको फेवातालमा आज सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो । दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो । नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो तथा लिआओचिङ युनिभर्सिटी तृतीय भयो । युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हासिल गर्न सफल भयो । यसैगरी निर्धारित पाँच सय मिटरको दौडमा लिआओ चेङ युनिभर्सिटी दोस्रो भयो । प्रतियोगितामा युहान युनिभर्सिटी तेस्रो भयो । प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार डलर र तृतीयले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सहभागी टोलीलाई पाँच सय डलरका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा २० टोलीको सहभागिता थियो । प्रतियोगितामा चीनका आठ, सिङ्गापुरको एउटा तथा नेपालका ११ टोली सहभागी थिए । नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस–२०२४ सम्पन्न भएसँगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा नेपालको पर्यटन प्रवद्र्धन गर्न मद्दत पुगेको पोखरा महानगरका प्रमुख आचार्यले बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिका–२७ डाडाँकोनाक, तालचोकमा पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने २० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । लेखनाथ उद्योग वाणिज्य संघले आज डाडाँकोनाक, तालचोकमा पत्रकार सम्मेलन गर्दै महोत्सव तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली अधिकारीले २०५९÷६० मा सुन्तला प्रदर्शनी हुँदै २० औं लेखनाथ महोत्सवमा आइपुगेको बताइन् । ‘महोत्सव लेखनाथको संस्कृति,स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नारासहित हामी अहिले २० औं संस्करणको लेखनाथ महोत्सवको अन्तिम तयारी छौं, महासचिव अधिकारीले भनिन्, ‘२०५९÷६० मा सुन्तला प्रदर्शनी, २०६१ सालमा सुपथ मूल्य बजार र लेखनाथ महोत्सवको सफलतासँगै अहिले हामी अनवरत रुपमा महोत्सव सञ्चालन गर्दै आएका छौं ।’ महासचिव अधिकारीले पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरूकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सिर्जनशीलतामा जोड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताइन् । करिव २ सातासम्म सञ्चालन हुने महोत्सवमा ३ सय ३६वटा स्टल निर्माण गरिएको महासचिव अधिकारीले बताइन । ‘महोत्सवमा हामीले स्थानीय कृषि, औद्योगिक तथा हस्तकलाका वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि ३ सय ३६वटा स्टल निर्माण गरेका छौं, स्टल बुकिङ भइसकेको छ’, उनले भनिन्, ‘महोत्सवमा व्यापारको प्रवद्र्धनसँगै आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सिर्जनशीलतामा जोड दिन्छौं ।’ महोत्सवमा करिव ९ करोडको कारोवार हुने अनुमान आयोजकले गरेको छ । महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादन भएका कृषि प्रदर्शनी, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, महलिाहरुको क्षमता अभिवृद्धिको लागि महिला÷आमा समूहहरुबीच हाजिरी जवाफ प्रतियोगिता, विभिन्न जातजातिहरुको रीतिरिवाज तथा सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी, कन्सर्ट, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसँगै बाल उद्यान, एक्कुरीयम राखेर विभिन्न जातका १सय भन्दा बढी माछाहरुको अवलोकन गर्न पाइने आयोजकले जनाएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीहरुको लागि ६०, साधारण टिकट १ सय र लाइभ कन्सर्टका लागि ३ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।
पोखरा: पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिए । कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले बताए । गायक थापासँगै रितु केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र विजय बज्राचार्यका साथमा बाँसुरी बादक किरण बरालको सहभागिता रहने उनको भनाइ थियो । कार्यक्रममा प्रवेश निःशुल्क रहेको होटलले जानकारी दिएको छ । नयाँ वर्षको अवसरमा होटल पौवाका अन्य शाखामा पनि साँस्कृतिक कार्यक्रम आयोजना हुने होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले जानकारी दिए । पोखरासँगै रुपन्देही भैरहवा, दाङको भालुवाङ, दाङकै घोराही र नवरपुरको गैडाकोटमा रहेका शाखामा पनि १६ गते नै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली आतिथ्य सहितको सेवा दिने उद्देश्यले देशभर शाखा विस्तारमा तिब्रता दिएको प्रमुख संचालन अधिकृत गौतमले बताए । निकट भविष्यमै १०० शाखा बनाउने लक्ष्य लिएको होटल पौवाको अहिले देशभर १७ शाखा रहेको उनले जानकारी दिए । होटल पौवाको शाखाहरु कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा रहेको छ । गण्डकी प्रदेशको पोखरा र नवलपुरमा होटलले शाखा विस्तार गरिसकेको छ । बागमती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट र चितवनको भरतपुरमा पौवाको शाखा छ । कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरेको छ । छिट्टै बाँकेको नेपालगन्जमा पाँच तारे स्तरको होटल पौवा सञ्चालनको तयारीमा रहेको अधिकृत गौतमले बताए । होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए । होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए । सोही अनुरुप होटलले नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।
पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा शनिबारदेखि सडक महोत्सवको २६ औं संस्करण सुरु भएको छ । पोखरा रेष्टुरेन्ट एन्ड बार एसोसियशन अफ नेपाल (रेवान) पोखराको आयोजनामा भएको महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गरे । त्यसअघि, खहरे चोकदेखि कोमागाने पार्कसम्म साँस्कृतिक झाँकीसहित र्याली आयोजना भयो । जसमा विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा झाँकीसहित र्यालीमा सहभागी भएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । छिमेकी जिल्लाका प्रचलित नाचहरुले दर्शकको ध्यान खिचेको थियो । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ सुरु महोत्सव लोपोन्मुख कला संस्कृति, धर्म, जातजाति, मौलिक तथा रैथाने खाना एउटै थलोमा ल्याएर प्रवर्द्धन गर्ने माध्यम बनेको महोत्सव संयोजक भट्टराईले बताए । साथै, कृषि तथा हस्तकलालाई पनि प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ पोखरा सेरोफेरो तथा देशका विभिन्न स्थानमा उत्पादित कृषि उपज तथा सामाग्रीलाई बजारीकरण गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्नेछ: मन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्ने बताएका छन् । ‘अहिले नै बेलुन फेस्टिबल चलिरहेको छ । ड्रागन बोट हुँदैछ । अनि सडक महोत्सव भइहाल्यो । यसरी ३ वटै महोत्सव एकै पटक किन गरेको ?,’ उनले भने, ‘फरकफरक मितिमा गरेको भए तीनै पटक पर्यटक आउने, त्यती पटक नै व्यवसाय बढ्थ्यो । त्यही भएर पर्यटन प्रवर्द्धन हुने काम मिलेर गर्नुपर्यो । पर्यटनको विकासका लागि पोखरा एक छ भन्ने सन्देश दिनु जरुरी छ ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि धेरै काम बाँकी रहेको उनले बताए । विमानस्थल सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यायल, गृह मन्त्रालय अन्तर्गतको भिसा अनुमति कार्यालय, अर्थ मन्त्रालय अन्तर्गतको भन्सार अड्डा पोखरामा सञ्चालनका लागि आवाज उठाइरहेको उनले सुनाए । नागरिक उड्डयले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्यविधि छिट्टो बनाउनुपर्ने उनको जोड थियो । मन्त्री गुरुङले प्रदेशको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार र भौतिक संरचना बनाउनका लागि गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए । पोखरा आइटी पार्कका लागि उपउक्त भएकाले पार्क बनाउनका लागि पहल थाल्ने उनले सुनाए । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री मिललाल बस्याल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्या जिसी श्रेष्ठ, पोखरा महानगरका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्य, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले सडक महोत्सव पोखराको ब्राण्ड बनिसकेकाले यसको स्तरवृद्धि र प्रभावकारी बनाउनका लागि साथ र सहयोग रहने बताएका थिए । ड्रोनबाट निगरानी सडक महोत्सवमा नेपाल प्रहरीको टोलीले ड्रोनबाट निगरानी गर्ने भएको छ । प्रहरीले यो पटक सडकलाई महोत्सवलाई डिजिटल्ली रुपमा सुरक्षा दिन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । यस बाहेक ४० वटा सिसीक्यामेराबाट पनि सुरक्षाको काम गरिने उनले सुनाए । म्यानुअल्ली सुरक्षा अन्तर्गत ५ दिनको अवधिमा करिब २ हजार प्रहरी परिचालन हुने कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए । सँगै शंकास्पद स्थानमा कुकुर प्रयोग गरेर सुरक्षा दिने योजना बनाएको उनले बताए । ५ दिनसम्म चल्ने महोत्सवमा लेकसाइडका विभिन्न ४ स्थानमा स्टेज बनाएर विभिन्न झाँकी, लोकसंगीत देखि आधुनिक ब्यान्ड बाजा, नृत्यका साथै समसामयिक बिषयमा आधारित टक सो कार्यक्रम पनि आयोजना हुनेछ । सडकमै मनोरंजनात्मक खेलकुदहरु जस्तैः वेटर रेस, रस्साकसी, बोट रेस र विभिन्न रमाइल खेलहरु समावेश गरिएको छ । लेकसाइडको ३ किलोमिटर क्षेत्र अहिले दुलहीझै सिंगारिएको छ । महोत्सवको अवसरमा होटल संघ पोखराले २० प्रतिशत, टानले २५ प्रतिशत, प्याराग्लाईडिङमा १० प्रतिशत, रेष्टुरेन्टले १० प्रतिशत छुटको व्यवस्था गरेका छन । महोत्सव रेवान पोखराले आयोजना गरे पनि यो सम्पूर्ण पोखरेलीले अपनत्वमा गएको र अव पोखरा महानगरले पनि यसको अपनत्व लिएर अघि बढ्नुपर्ने आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलले बताए ।