पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभएको छ । कास्की नेत्रहीन संघको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले मुलुकमा समग्र जनसंख्याको दुई प्रतिशत बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक रहेकाले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मान र पहिचानसहित स्वतन्त्र रुपले हिँडडुल गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु मुख्य दायित्व रहेको बताउनुभयो । ‘रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्नका लागि सरकारको प्रतिबद्ध छ । अपाङ्गतामैत्री संरचना र सेवा जरूरी छ । सामाजिक सुरक्षाको प्रबन्ध गर्नुपर्नेछ ।’ उहाँले भन्नुभयो– ‘अपाङ्गता भएकाहरुको समानुपातिक समावेशी सहभागिता अपरिहार्य छ । उनीहरूको सहजताका लागि राज्यसहित सबै क्षेत्र जिम्मेवार तथा जबाफदेही बन्न आवश्यक ठानेको छु।’ दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको छापा अक्षरमा अन्य व्यक्तिसरह पहुँच स्थापित गर्न आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो । ‘नेपालमा एकातिर विभिन्न स्वास्थ्यसम्बन्धी कारणबाट दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या बढ्दै गइरहेको देखिन्छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘अर्कोतर्फ समाजमा उनीहरूप्रति गरिने व्यवहार, मुलुकमा दशकौँदेखि व्याप्त रुढी, अन्धविश्वास र भेदभावलगायतका कारण दृष्टिविहीन अपाङ्गहरूले मानव भएर पनि न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।’ प्रदेश प्रमुख भट्टले नेपाल नेत्रहीन संघमा निर्वाचित अध्यक्ष शिशिर खनालसहितका संघीय पदाधिकारीहहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालमा दृष्टिविहीनहरूको हक अधिकार स्थापित गर्न उल्लेखनीय कार्यसम्पादन हुने अपेक्षा पनि राख्नुभयो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले मृत्युपर्यन्त नेत्रदान गर्ने घोषणा पनि गर्नुभयो । ‘आँखासहित मेरा अंगहरु कसैको जीवनप्राप्तिमा काम लाग्छ भने यसको लागि म प्रतिवद्धता व्यक्त गर्दछु।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । कार्यक्रममा दृष्टिविहीनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेहरूलाई सम्मान पनि गरिएको थियो । कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, नेपाल नत्रहीन संघका अध्यक्ष शिशिर खनाल, संस्कृत माविका अध्यक्ष विष्णुप्रसाद अधिकारी, पोखरा वडा नं. १ का अध्यक्ष सहारा प्रधान, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेपाल सरकार उपसचिव मिरा अधिकारी, संस्थाकी उपाध्यक्ष सुनिता ज्ञवालीलगायतले दृष्टिविहीनका हकअधिकारका बारेमा बोलेका थिए ।
पोखरा: पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइ सकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन् । सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ शुरु गरेका हुन् । शुक्रबार देखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन स्काई डाइभ कम्पनीका सञ्चाल तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए । यसअवधिमा स्काई डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी दुइवटा प्याकेज बनाएको थापाले बताए । भिआइपीको १ लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ पर्ने उनले जानकारी दिए । विदेशीलाई भने थप ५ हजार बढि लाग्ने उनले बताए । स्काई डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ । स्काई डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा २३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्ने छन् । माथिबाट डाइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन् । यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताए । एलिसलाई सुवास थापा, मनिष हिराचन, आशिष थापा र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसीले साथ दिएका छन् । नेपालको प्राकृतिक सुन्दरतालाई विश्वभरका साहसिक पर्यटकलाई पु¥याएर नेपालमा आकर्षित गर्नु रहेको बताए ।
पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ । उक्त कार्यक्रमको विद्यालयमा आयोजित विशेष समारोहकाबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताउँदै विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी लाग्ने विश्वास व्यक्त गरे । सरकारले विद्यालय शिक्षालाई निशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउदै उनले अब आउने नयाँ शिक्षा ऐनबाट विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे । पोखरामा पूर्वाधार विकास लगायतका क्षेत्रमा ठूलो लगानीमा विभिन्न परियोजनाहरू अघि बढेको बताउदै यी सम्पन्न भएसँगै महानगरवासीले अनुुभूति हुने गरी परिणाम प्राप्त हुने उल्लेख गरे । गोगन माध्यमिक विद्यालयका अध्यक्ष एवम् कार्यक्रमका सभापति मेघराज पौडेलले विभिन्न आरोह अवरोहका साथ विद्यालय बर्तमान अवस्थासम्म आइपुुगेको जानकारी दिदैं विद्यालयले शैक्षिक गुणस्तरीयतालाई निरन्तर रुपमा जोड दिदै आइएको बताए । विद्यालयमा राज्यका १६ वटा मात्र दरबन्दी रहेकोमा हाल ७७ जना शिक्षकहरूबाट अध्यापन गराइएको बताउदै सिमित साधनस्रोतकाबीच शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाई बताए । कार्यक्रममा विभिन्न तह र विषयमा अध्यापनरत शिक्षकहरू अर्जुनप्रसाद बास्तोला, कालीप्रसाद भुर्तेल, प्रकाश खड्का, रामहरि बराल, लिलमाया गुरुङ, सुनिता गुरुङ, सुरेन्द्र लामिछानेलाई सम्मान गरिएको थियो । उक्त अवसरमा कर दिवसका अवसरमा राष्ट्रियस्तरमा आयोजित खुल्ला प्रतियोगितामा प्रथम हुने छात्रा दिप्ती थापा, विभिन्न कक्षामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न उत्कृष्ट सांस्कृतिक प्रस्तुतीहरू प्रदर्शन गरेका थिए ।
१३ औं संस्करणको पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले गरेको सामाजिक कामको प्रसंशा गर्दै पोखरामा खुल्ला चिडियाखाना निर्माणको थालनी गरेको र उक्त कार्य सरकारले अपनत्व लिएको बताए । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा धेरैभन्दा धेरै पूर्वाधार बन्नुपर्नेमा जोड दिए । पर्यटकीय राजधानी घोषणा गरिदिएर मात्र नहुने बताउदै त्यसको पुर्वाधार निर्माणका गाली गण्डकी प्रदेश सरकार र पोखरा महानगरले समेत पुर्वाधारका कामहरु गर्नुपर्नेमा उनको जोड रहेको थियो । पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी वर्षको नीति तथा कार्यक्रममा पार्नका लागि पहलकदमीका लागि नेतृत्व गर्ने उनले प्रतिवद्धता जनाए । नेपालकै तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हल बनाउन, चिडियाखाना बनाउनका लागि पहल गर्न, बसपार्कलागयन पूर्वाधार बनाउन सबैले पहल थाल्नुपर्ने उनको भनाइ थियो । पोखरा आइटी पार्कका लागि उपयुक्त भएकाले पार्क बनाउनका लागि पहल थाल्ने उनले सुनाए । ताल संरक्षण तथा विकास प्राधिकरणलाई सक्रिय बनाएर प्रदेशमा भएका तालहरुको सिमा निर्धारण गर्दै संरक्षण र सरसफाई गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्न प्रदेश सरकारलाई मन्त्री गुरुङको अनुरोध थियो । सो अवसरमा वोल्दै गण्डकी प्रदेशका वन तथा बातावरण मन्त्री भेष बहादुर पौडेलले युनाईटेड क्लबको पहलकदमीमा पोखराको लेखनाथ स्थित पचभैया क्षेत्रको सामुदायिक बनमा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना निर्माणमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध भएर अगाडी बढेको बताए । पोखरामा खुल्ला चिडियाखाना निर्माणमा युनाईटेड क्लबले पहलकदमी गरेको र उक्त कार्यलाई गण्डकी प्रदेश सरकारले साकार पारेरै छाड्ने र त्यसका लागि युनाईटेड क्लब जस्तै सम्पूर्ण संघ संस्थाहरुको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ रहेको थियो । त्यस्तै शिक्षाको क्षेत्रमा युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणमा समेत गण्डकी प्रदेश सरकारले साथ र सहयोग प्रदान गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले युनाईटेड क्लबको सामाजिक कामको प्रशंसा गर्दै युनाईटेड क्लबले महोत्सवकै आयोजना गरी सामाजिक काममात्र नभई पर्यटन प्रवद्र्धन र शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै आफ्नो तर्फबाट समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । गण्डकी प्रदेश सभा सदस्य वेद बहादुर गुरुङले युनाईटेड क्लवले अहिले सम्म गरेको कार्यको प्रशंसा गर्दै अन्य संघ संस्थाले समेत यसको सिको गर्नुपर्ने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सरकारलाई कर समेत तिरेर त्यसबाट बचत भएको रकमबाट सामाजिक काम गर्नु आफैमा श्रहानिय काम भएको बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाईटेड क्लबले सामाजिक काम मार्फत आफुलाई अग्रणी स्थानमा राख्न सफल भएको र पोखरा महोत्सव पोखराको ब्राण्ड बनेको बताए । महोत्सवको आयोजना गर्नु आफैमा चुनौती भएतापनि युनाईटेड क्लबले महोत्सवको आयोजना गरेर सामाजिक काम गर्नु आफैमा गौरवको विषय भएको बताए । युनाईटेड क्लबको सिको अन्य संघ संस्थाहरुले समेत गर्न सक्नुपर्नेमा जोड दिए । क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षणमा काम गर्दै आइरहेको बताउदै १३ औं पोखरा महोत्सव देखि युनाईटेड क्लबले आफ्नो जग्गा रहेको ठाँउ पोखरा २७ अर्चलेमा रहेको जग्गामा युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताए । सो अवसरमा वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै चार जना ब्याक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पत्रकार कृष्णमणी बराल, भ्लगर सञ्जय पुन, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने चन्द्रकान्त बराल र प्र्रेम बहादुर जिसी रहेका छन । समाजिक सञ्जालमा पोखरा मात्र नभइ देशकै कला, संस्कृति सहित पर्यटकीय गन्तब्यको बारेमा जानकारी मुलक श्रब्यदृश्य बनाई भ्लग मार्फत संसारभरि फैल्याउदै अन्य युवाहरुलाई समेत सो कार्य गर्न प्रोत्साहित गर्नुको साथै विदेशी पर्यटकलाई पनि पोखरा भ्रमणको लागि सो भ्लग मार्फत लालाहित बनाएकोमा उक्त कार्यको उच्च मुल्यांकन गर्दै भ्लगर सञ्जय पुनलाई सम्मान गरेको हो । त्यसैगरी पोखरामा रही पत्रकारिता गर्दै आएका पत्रकार कृष्णमणी बराललाई वातावरण संरक्षण र पर्यापर्यटनको क्षेत्रमा पत्रकारिताको माध्यामबाट गिद्ध संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । पोखराको पुम्दीकोटमा विशाल महादेवको मुती निर्माण गरी पोखरामा धार्मिक पर्यटकीय स्थल निर्माणमा टेवा पु¥याएवापत चन्द्रकान्त बराललाई सम्मान गरेको हो । त्यसैगरी पोखराको सराङकोटमा नयाँ धार्मिक पर्यटकीय गन्तब्य विशाल शिवको मन्दिर संगै ६२ फिटको पञ्चमुखी गणेशको मुर्ती स्थापनामा योगदान पु¥याएबापत प्रेम बहादुर जिसीलाई सम्मान गरेको हो । सम्मानित हरुलाई प्रमुख अतिथि सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, क्लबका अध्यक्ष लोक बहादुर थापा, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेका थिए । महोत्सवको उद्घाटन सत्र पूर्व पोखराको रंगशाला देखि आयोजना भएको झांकी प्रतियोगितामा नेपाल मगर संघ इकाइ समिति पोखरा १५, द्धितिय ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय, तृतिय क्षेत्री समाज नेपालको(साराङ नाच) र सिद्धेश्वर भजन मण्डल पोखरा १५ सिद्धेश्वर भजन समुह पोखरा १५ सान्तवना स्थान हाँसिल गर्न सफल भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार र मायाको चिनो, द्धितिय हुनेले नगद १५ हजार र मायाको चिनो, तेश्रो हुनेले नगद १० हजार र सान्तवना स्थान हाँसिल गर्नेले नगद ३ हजार र मायाको चिनो प्राप्त गरे । ¥यालीतर्फ स्वर्णीम टोल महिला समुह पोखरा १० प्रथम, सानी मझुवा आमा समुह पोखरा १५ द्धितिय, सिमलमार्ग टोल बिकास संस्था पोखरा १० तृतिय र रुकुमेली एकता समाजले सान्तवना स्थान हाँसिल गर्न सफल भयो । ¥यालीमा प्रथम हुनेले नगद ६ हजार, द्धितिय हुनेले नगद ४ हजार द्धितिय हुनेले नगद २ हजार र मायाको चिनो प्राप्त गरे । युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधी सभा सदस्य दामोदर बैरागी, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, राष्ट्रिय प्रकृति तथा वित्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका लेखा समतिका संयोजक तथा आर केडी होल्डिङ कम्पनी लिमिटेडका सञ्चालक धर्मराज भण्डारी, गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा लगायतले बोलेका थिए । युनाईटेड क्लबका महासचिव तथा पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । महोत्सवको दोश्रो दिन शुक्रबार लोकदोहोरी तर्फ राजु परियार, चालेन्द्र पौडेल, तुलसा क्षेत्री, मन्जु बिक, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमेश थापा मगर, हास्यब्यंग्य तर्फ बलराम गिरी सरकारको प्रस्तुती रहने छ । -गिता राना
पोखरा: कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने लगायतलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेशानुसार रिहा भएका छन् । उनको अन्तिम मेडिकल चेकजाँच फिस्टेल अस्पतालमा गरिएको थियो । उनीसँगै रिहा भएका पूर्व डिआइजी छविलाल जोशी पनि थिए । मेडिकल जाँचपछि आफ्ना समर्थकलाई मुस्कुराउँदै धन्यवाद दिदैं बाहिरिएका थिए । लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तस्बिरहरु:
पोखरा महानगरपालिका–१६ दिपहाउजिङ तल रहेको सेती नदीको नहरमा खस्दा १ युवकको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा कैलालीको धनगढी स्थायी घर भई पोखरा–१९ लामाचौरमा बस्ने २१ वर्षीय संगम पौडेल रहेका छन् । उनी पश्चिममाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत थिए । प्रहरीका अनुसार हिजो (बुधबार) बेलुकी करिब सवा ७ बजे सेतीको नहरमा युवक खसेको सूचनापछि सशस्त्र प्रहरी बल कालीका गणबाट उद्धार टोली खटिएको थियो । ४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले पौडेलको शव करिब २० मिनेटमै फेला पारेको थियो । पौडेल नहरमा कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
पोखरा: तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा तालमा गरिएको जलपंछी गणनामा ५३ प्रजातिका जलपंछी फेला परेका छन् । टाइगर माउण्टेन पोखरा लज र पोखरा पंछी समाजको अगुवाईमा ४३ जना स्वयंसेवक गणकहरूबाट यही पुस २२ र २३ गते विभिन्न १२ वटा टोलीमा विभाजित भई गरिएको गणनामा ५३ प्रजाति अभिलेख गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिनुभयो । सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको वितरण, तिनीहरूको अवस्थाको जानकारी लिन, संख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि गर्दै संरक्षणमा हातेमालोका लागि सन् २००४ बाट पोखरा उपत्यकामा जलपंछी गणना गरिंदै आइएको उहाँले बताउनुभयो । उहाँका अनुुसार पोखरा उपत्यका भित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपंछी गणना गरिएको थियो । गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुुई हजार १२ जलपंछी फेला परेका छन् । त्यस्तै बेगानास तालमा १४ प्रजातिका १५८, रुपा तालमा २६ प्रजातिका ३६४, गुँदे तालमा १३ प्रजातिका ३०१, खास्टे र न्युुरेनी तालमा १६ प्रजातिका १८९, दिपाङमा १३ प्रजातिका २१७, मैदीमा १० प्रजातिका १२१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ संख्यामा जलपंछी भेटिएका छन् । गणनाका क्रममा फेवा र दिपांग तालमा चराहरूको संख्या यस अघिकोमा केही बृद्धि भएको भने रुपा र मैदीमा बराबर तथा अन्यमा घट्दो अवस्थामा रहेको छ । पछिल्लो समयमा सिमसार संकुचित हुँदै जानु, मानवीय गतिविधिहरू बढ्नु, अवैध चोरी शिकार, ध्वनी प्रदुषण, वासस्थानको व्यापक विनाश, पंछी संरक्षणमा सचेतनाको कमी आदि कारणले केही तालमा थोरै बढेता पनि अन्यमा अघिल्लो वर्षको तुलनामा धेरै घटेको उहाँले जानकारी दिनुभयो । सन् १९८७ देखि नेपालमा नियमित रुपमा हुँदै आएको एशियाली जलपंछी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको टाइगर माउन्टेन पोखरा लजका चरा विज्ञ एवम् क्षेत्रीय संयोजक झलक चौधरीले जानकारी दिनुभयो । उहाँका अनुुसार जलपंछी गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाई सराई गर्ने र पानीमा र यस वरिपरी बस्ने चराहरुको संख्या र वितरणको बारेमा जानकारी संकलन गर्नु रहेको छ । यसबाट सिमसार क्षेत्रको अवस्था, जलपंछीको प्रजनन अवस्था र जलवायु परिवर्तनको असरबारे जानकारी पाइने उहाँले जानकारी दिनुभयो ।
पोखरा: पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाइएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा बढी किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रर्दशनीमा विभिन्न किसिमका फलफुल तथा तरकारी, बिउ विजन, कृषि प्रविधिहरुका उत्कृष्ट नमुनाहरु प्रर्दशनीमा राखिनुका साथै माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपन कस्तो छ भनेर किसानलाई जानकारी पनि दिने गरिन्छ । प्रर्दशनीमा सहभागी किसानहरुमध्येबाट उत्कृष्ठ हुनेलाई पुरस्कृत समेत गरिने संघका कृषि उप–समितिका संयोजक खेमराज बरालले जानकारी दिए । महोत्सवमा रहेका कृषिका २४ स्टलहरु मध्ये ताजा तरकारीका ६, सुन्तला तथा फलफुलका ५, मौरी ६ र अन्य कृषिसँग सम्वन्धित स्टलहरु रहेका छन । माछाका स्टलमा बेगनासताल, रुपाताल, खास्टेताल र न्यूरेनीतालका माछाहरु संकलन गरेर विक्रिका लागी राखिएको छ । महोत्सवमा दैनिक रुपमा सरदर ५० केजी भन्दा वढि माछा बिक्रि हुने गरेको कृषि उप–समितिका सल्लाहकार दयाराम तिवारीले जानकारी दिएका छन् । वि स २०५८ सालमा सुन्तला प्रर्दशनीबाट शुरु भएको लेखनाथ महोत्सवमा कास्की र आसपासका जिल्लाहरुबाट ल्याईएका सुन्तलाहरु पनि दर्शकहरुले खरिद गर्न पाउनेछन । सुन्तलाका ५ वटा स्टलहरुमा कास्कीको पुम्दी बाग्लुङ, पर्वत र स्याङ्गजामा उत्पादन भएका सुन्तलाहरु राखिएका छन । ति स्टलहरुमा दैनिक सरदर तीन सय केजी भन्दा बढि सुन्तला बिक्रि हुने गरेको छ । ताजा तरकारीमा स्थानिय क्षेत्रकै उत्पादनहरुको बाहुल्यता छ । लेखनाथमै उत्पादन भएका तरकारीहरुदेखी कास्कीको हेमजासम्मका उत्पादनहरु स्टलहरुमा देख्न पाईन्छ । विभिन्न कृषक समुह, आमा समुहहरुले स्थानिय किसानका उत्पादनहरु संकलन गरी महोत्सवमा विक्रि वितरणको व्यवस्था समेत मिलाएको पाईन्छ । सँगै महोत्सवमा रहेका विभिन्न होटल तथा रेष्टुरेण्टहरुले महोत्सवमा रहेका कृषि उपजका स्टलहरुबाटै सामान खरिद गर्ने गरेका छन । कृषि उत्पादनमा लेखनाथलाई निश्चिीत कुनै एउटा ब्राण्डको रुपमा स्थापित गर्न नसकिएको अवस्था भएपनि स्थानिय स्तरमा उत्पादन भएका विभिन्न कृषि उत्पादनले भने महोत्सवमा राम्रै वजार पाएका छन । स्थानीय तालका माछा, मह, फलफुल, ताजा तरकारी, जडिबुटि, विभिन्न स्थानिय प्रजाती जेठोबुडो, गुर्दी, घैया, मन्सरा लगायतका चामल जस्ता कृषि उपजको किनमेल मात्रै हैन महोत्सव भित्र अवलोकन गर्न आउने र दर्शकहरुले कृषि सम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीहरुको अवलोकन पनि गर्ने गरेका छन, यसले कृषि उत्पादनको बजारीकरण र प्रर्वद्धनमा टेवा पुर्याउनुका साथै लेखनाथ महोत्सवलाई कृषकको पनि महोत्सवको रुपमा स्थापित गराएको छ । यसैगरी यसपालिको लेखनाथ महोत्सवमा पहिलो पटक महिला हक, अधिकारसग सम्बन्धित रहेर आयोजित महिला हाजिरी जवाफ प्रतियोगिता दर्शकको रोजाइमा रहेको छ भने युवालाई लक्षित गरि कन्सर्ट तथा लोक तथा दोहोरी गीतका पारखीहरुका लागि लोकदोहोरीका कलाकारहरु ल्याएर थप रोचक बनाएको प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) ले बताएका छन् । यसैबिच महोत्सवको सातौं दिन बुधवार करिव १२ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने आर्थिक कारोबार तर्फ ३५लाख बरावरको भएको र हालसम्म दर्शक तर्फ एक लाख आठ हजार र कारोवार तीन करोड ३५ लाख भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् । बुधबार विभिन्न राजनितिक दलका प्रदेश एवं महानगर तहका नेता, प्रतिनिधि एवं पुर्वमन्त्रीहरुले पनि महोत्सवको अवलोकन गरेका थिए । महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा राखिएको छ ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा सम्पन्न २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधि घान्द्रुक किम्चेले जितेको छ । आज भएको फाइनल खेलमा धम्पुसलाई ३–० को सोझो सेटले पराजित गर्दै घान्द्रुक किम्चेले उपाधि जितेको हो । उपाधिसँगै घान्द्रुक किम्चेले नगद रु ६५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको धम्पुसलाई नगद रु ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उक्त प्रतियोगिताबाट किम्चेका सचिन नेपाली सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले गो बन्जी नेपालबाट बन्जी जम्पको अवसर प्राप्त गरे । यस्तै महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुरले हर्स राइडर समूह छोम्रोङलाई २–० को सोझो सेटमा पराजित गर्दै एलिट च्याम्पियन बन्यो । उनीहरुले क्रमश: ३० हजार, २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । सो खेलबाट एलिट भलिबलकी पुजा सेन ठकुरी सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत बनिन् । यस्तै प्रौढतर्फ युनाइटेड किङ्स क्लबले छारमेन्दो तक्रोलाई २–१ को सेटले हराउँदै किङ्स विजयी बन्यो । उनीहरुले क्रमशः बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र हात पारे । उक्त विधामा किङ्सका राम छन्त्याल सर्वाेत्कृष्ट खलाडीका रुपमा पुरस्कृत भए । घोडा दौडतर्फ घान्द्रुकका हितमान गुरुङ च्याम्पियन बने । लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दुरी घान्द्रुकका गुरुङले ८ मिनेट २७.७४ सेकेन्डमा पार गरे । यस्तै गरी विवेक पुन (८ मिनेट ३१.५७ सेकेन्ड) द्वित्तिय बने । भने, घान्द्रुकका विनोद थापा (८ मिनेट ५०.५० सेकेन्ड) तृतीय बने । प्रथम, द्वित्तिय र तृतीय बनेका उनीहरुले क्रमश: नगद रु ४० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे । यस्तै सामुहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बन्यो भने, पूर्णीमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्दै क्रमश: ३० हजार र २० हजार तथा प्रमाणपत्रसहित पुरस्कत भए । उनीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुुर गुरुङ, वडा ८ का वडाध्यक्ष राम गुरुङ, वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्री वडा ६ का वडाध्यक्ष टेकनाथ गौतम समाजसेवी बम बहादुर गुरुङ (नगद रु १ लाख सहयोग) क्लबका सल्लाहकारहरु, सहयोगीदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए । बौद्ध सृजना युवा क्लबको आयोजनामा गत १५ गतेबाट सुरु भएको उत्सवमा चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायीका मधु थापामगर तथा बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।