पोखरा: २४ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । सोको लागि पुरस्कारवापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो । सहारा युकेका महासचिव क्या. पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच फ्यान अफ द म्याच पुरस्कार प्रायोजनबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा सहारा क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्व अध्यक्ष विक्रम थकालीलगायतको उपस्थिति थियो । प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले सहारा यूकेका पूर्व अध्यक्ष मीन गुरुङले सहाराको अभियानमा विगतका वर्षमा झैं साथ दिँदै रकम संकलनमा सहयोग गरेकोमा आभार व्यक्त गरे । २४ औं आहा रारा पोखरा गोल्ड कप सहयोग अभियानमा सहभागी हुँदै सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङबाट २५ हजार, लोक गुरुङबाट २५ हजार, क्लबका शुभचिन्तक नरजंग गुरुङबाट १५ हजार ५ सय ५५ र राम गुरुङबाट १५ सय १ सय रुपैयाँ सहयोग प्रदान भएको छ । क्लबले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको फुटबल प्रतियोगिता गर्दैछ । १२ टिमले भाग लिने प्रतियोगिताको क्लबले तयारी तीव्र पारिएको अध्यक्ष केशवराज बरालले बताए । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो । क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । बर्सेनि प्रतियोगिता आयोजना गरेर बचत रकम क्लबले एकेडेमीमा लगाउने गरेको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
पोखरा: पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ । पौष २८ गतेदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस भएका सम्पूर्ण प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले पास गर्दै शुक्रवार सम्पन्न भएको हो । सभाले भवन नियमित तथा अभिलेखीकरण कार्यविधि (पहिलो संशोधन) २०८१, आर्थिक ऐन संशोधन २०८१, भवन निर्माण तथा पूर्वाधार (पहिलो संशोधन) २०८१, ४ तलामाथिका भवनहरूको सम्बन्धमा तुलनात्मक अध्ययन प्रतिवेदन तथा कार्यविधि निर्माणका लागि कार्यपालिकालाई दिइने निर्देशन समेत सर्वसम्मतिले पारित भएको छ । विभिन्न योजना तथा कार्यक्रमको बजेट तथा कार्यक्रम संशोधन, परिमार्जन र रकमान्तरका लागि नगर प्रमुखलाई अधिकार प्रत्यायोजन गर्दै नगर सभाले शिशुवा अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । यसअघि कार्यपालिकाको बैठकले निर्णय गरी नगर सभामा पेस गर्नुपर्ने भनी गरेका सम्पूर्ण निर्णयहरू पनि महानगरपालिकाको १६ औँ नगर सभाले अनुमोदन गरेको छ। नगरसभाले राजश्व बक्यौता असुली कार्य योजना पनि पारित गरेको छ । राजश्व बक्यौता असुलीका लागि महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाको संयोजकत्वमा २ जना नगर सभा सदस्यहरू, लेखा समितिका १ जना सदस्य, वित्त व्यवस्थापन महाशाखा प्रमुख, नगर प्रहरीको तर्फबाट १ जना सदस्य रहने गरी राजश्व महाशाखाका प्रमुख सदस्य सचिव रहेको एक समिति समेत गठन गरेको छ । महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा हालसाबिकको समस्या रहेकाले त्यसको समाधानका लागि पनि सम्बन्धित निकायहरूमा समन्वय गर्ने प्रस्ताव पनि नगर सभाले पास गरेको छ । नगर सभामा उठेका सबै विषयहरूलाई नगरसभाको अङ्गका रूपमा आत्मसात् गर्दै महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । यसअघि नगर सभा सदस्यहरू सुशील बास्तोला, शिवराम भण्डारी, परमेश्वर बहादुर कार्की, विष्णु प्रसाद घिमिरे, सनकमान सिके र रेसम सुवेदी लगायतले छलफलमा भाग लिनुभएको थियो ।
पोखरा: मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १२ गते भोलि (शनिबार) हुँदैछ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिता पोखरा सभागृह हलमा मध्यान्ह १२ बजेबाट शुरु हुने आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङले बताए । प्रतियोगितामा ११ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा आकृति तामाङ, मञ्जिता पाख्रिन, प्रिन्सेस घिसिङ तामाङ, पुर्णिमा थिंङ्ग तामाङ, सुनिता तामाङ, शिशा लामा, सुप्रिया गोले तामाङ, पुर्णिमा लामा, सुमिना तामाङ, जमुना लामा र सोनिका तामाङ रहेको कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन । कार्यक्रमको मुल संयोजकमा पुर्व मिस तामाङ पोखरा रोश्मा ब्लोन तामाङ, सह संयोजक रोशिला तामाङ रहेका छन् । कार्यक्रमको प्रमुख निर्णायकमा चलचित्र निर्देशक तथा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ रहनेछन भने चर्चित कलाकार विशाल काल्तान, राजेन्द्र नेपाली लगायतका कलाकारको प्रस्तुती रहने छ । कार्यक्रमबाट बचत रकम पेमा धेछेन्लिङ तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ
पोखरा: पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । उनका अनुसार मेलामा देशका सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनहरुको प्रदर्शनीको अलावा औद्योगिक उत्पादन,घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ । मेलामा हामी गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासहरुलाई पनि समावेश गर्ने जमर्को गरिरहेका छौँ । मेलालाई सम्पूर्ण राष्ट्रको औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन,सूचना प्रविधि, शिक्षा,स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने गरी आयोजना गरिँदै छ,’ उनले भनेका छन्,‘ लगानीको सम्वद्र्धन: उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप आयोजना हुने मेलामा अन्य प्रदेशका निजी क्षेत्रले अलम्बन गरेका असल अभ्यासलाई पनि प्रदर्शन गरौँ,सहकार्यको नयाँ अध्याय सुरुवात गर्दै सो क्षेत्रको लगानी गण्डकी प्रदेशमा आकर्षित गरौँ भन्ने पुनित लक्ष्य पनि हामीले राखेका छौँ ।’ संघकी महासचिव शोभा गौतमका अनुसार मेलामा निजी क्षेत्रबीच सहकार्य र सम्भावनाबारे चर्चा पनि हुनेछ । प्रचार प्रसार संयोजक तथा संघका कार्यसमिति सदस्य मनोहरि पौडेलका अनुसार मेलामा विश्वस्तरमा चल्तीमा रहेका आर्टीफिसियल इन्टलिजेन्स (एआई), ९ उन्नत सीसी टिभी सर्भिलेन्स पनि उपलब्ध हुनेछन् ।
पोखरा: पोखरा महानगरपालिका–१३ मा लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माघ १३ देखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो । समितिले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । समितिका अध्यक्ष अब्बास अलिमियाँले आउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए । २०७८ सालमा तेस्रो संस्करणको प्रतियोगिता सम्पन्न गरेको समितिले प्रतियोगितालाई निरन्तरता दिदैँ चौँथो संस्करण आयोजना गरिएको जनाएको छ । प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक नजिम अलीले जानकारी दिए । प्रतियोगितामा ४०–५० टिमको सहभागिता हुने अपेक्षा आयोजकको छ । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने खेल संयोजक अलीले जानकारी दिए । तेस्रो संस्करणमा प्रथम पुरस्कार १ लाख २५ हजार र द्धितिय पुरस्कार ७५ हजार बाट बढाएर यस पटक पुरस्कार राशी बृद्धी गरिएको अध्यक्ष अलिमियाँले बताए । यस्तै विधागत तर्फ ५ विधामा खेलाडीलाई पुरस्कृत गरिने छ । वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । प्रतियोगिताको पहिलो संस्करण २०७२ र दोस्रो संस्करण २०७४ सालमा भएको थियो । स्थानीय खेलाडीलाई प्रोत्साहन र फुटबलको विकास गर्ने उदेश्यसहित समाजले प्रतियोगिता संचालन गदैँ आएको छ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख ८० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । समितिले टिम दर्ताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
पोखरा: माघ १२ गतेदेखि हुने पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा एनसेलले सहकार्य गर्ने भएको छ । कम्पनीको ‘हामी तपाईंकै लागि’ थिम र खेलकुदको विकासलाई सहयोग गर्ने उद्देश्यका साथ एनसेल टाइगर कपसंग जोडिएको हो । देशको जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ । यस्ता सहकार्यले देशमा खेलकुद क्षेत्रको विकास, युवा विकास, सामाजिक एकतालगायतका क्षेत्रमा ठूलो महत्व राख्ने टाइगर कपका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । देशको एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ । यस्ता सहकार्य तथा साझेदारी केवल खेल प्रतिभा प्रवद्र्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । यो प्रतियोगीतामा एनसेल प्रमुख प्रायोजनका रुपमा आवद्ध भएको हो । यसअघि एनसेलले नेपाल प्रिमियर लिगका लागि क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग ‘पावर्ड बाई एनसेल’ साझेदारका रुपमा सहकार्य गरेको थियो । खेलकुदको विकास, युवा सशक्तीकरण, र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्ने एनसेलको अपेक्षा छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँग पनि सहकार्य गरेको छ । यस सहकार्यमार्फत, एनसेलले राष्ट्रिय पारा खेलाडीहरूको समग्र तालिम, प्रशिक्षण र विकासमा सहयोग जारी राखेको छ । पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितहरुमा सहभागिता जनाउन सहयोगका साथै कम्पनीले क्रिकेट, फुटबल, भलिबल र गल्फलगायतका खेलमा सहयोग प्रदान गर्दै आएको छ । माघ १९ गतेसम्म चल्ने टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा २ विदेशीसहित १२ टोलीले सहभागिता जनाएका छन् । उक्त प्रतियोगिताका खेलहरु पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।
पोखरा: पोखरा महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला ३ बुँदे सहमतिपछि खुलेको छ। पोखराका मेयर धनराज आचार्यले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग सहमति गरेपछि ताला खुलेको हो। उनीहरूसँग तीनबुँदे सहमति गरिएको छ । नेकपा (एमाले)का जनप्रतिनिधिले बहिष्कार गरेपछि मेयर आचार्यले नगर सभाको स्थगन गरेका थिए। त्यसपछि कांग्रेसका जनप्रतिनिधिले सोमबार मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए। बुधबार ताला खुलेपछि मेयर आचार्यले सबै जनप्रतिनिधिलाई धन्यवाद दिएका छन्। तीनबुँदे सहमतिमा गत मंसीर २३ मा बसेको विशेष नगर सभाले गरेका निर्णय कार्यान्वयन गर्ने उल्लेख छ। त्यस्तै, नगर सभा माघ ११ गते बोलाउने र योजनाको रकम रकमान्तर र शीर्षकान्तर गर्ने व्यवस्था मिलाउने सहमति भएको छ। वडा कार्यालय, महाशाखा र शाखामा विनियोजित बजेट शीर्षकान्तर र रकमान्तर नहुँदा कार्यान्वयन गर्न समस्या भएको जनप्रतिनिधिको गुनासो थियो। कांग्रेसका तर्फबाट पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा तालाबन्दी गरिएको थियो।
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा भएको नागीधार महोत्सव समापन भएको छ । माघ ४ गते देखि शुरु भएको महोत्सव १ दिन थप गरि सोमबार समापन गरिएको हो । स्थानीय स्तरबाट गाउँमा गरिएको यो महोत्सव सफल भएको छ’ संयोजक गुरुङले भने, ‘महोत्सवलाई आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णलाई आयोजक धन्यावाद ज्ञापन गर्दछु ।’ महोत्सवमा भएको खुल्ला सेभेन ए साइड पुरुष फुटबल तर्फ पाखुरीकोट एफसी ह्वाइटले उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा पाखुरीकोट एफसी विल्युलाई ट्राइवेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै पाखुरीकोट एफसी ह्वाइटले उपाधि जितेको हो । विजेताले नगद ६० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता बनेको पाखुरीकोट एफसी विल्युले नगद ३० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । यसअघि दुवै टिमले नागीधार एफसी ए र नागीधार एफसी वि लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगितामा कास्की लम्जुङबाट २८ टिमको सहभागिता रहेको थियो । विजेता तथा उपविजेतलाई टिमलाई संयुक्त मुल आयोजक समितिको संयोजक ओम प्रकाश गुरुङ, मादी– ८ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङ, समाजसेवी सूर्यमान गुरुङ, रतन घले, महान घले, सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होमबहादुर गुरुङ, सचिव नरेश गुरुङ, नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा मादी –८ का वडा अध्यक्ष प्रेमबहादुर गुरुङ, पाखरीकोटका समाजसेवी चन्द्रबहादुर गुरुङले बोलेका थिए । नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । नागीधार गाउँको सर्वागिण विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहेका थिए ।
पोखरा: गत पुष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । महोत्सवको समापन गर्दै मेयर आचार्यले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी बढाइरहेको आफुले प्रत्यक्ष रुपमा अवलोकन गरिरहेको बताउदै युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा निर्माण गर्न लागेका युनाईटेड छात्राबास निर्माणका लागि पोखरा महानगरको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । शिक्षाको क्षेत्रमा युनाईटेड क्लबले निर्माण गर्न लागेको छात्राबास निर्माणमा महानगरको तर्फबाट हुने आर्थिक र नैतिक सहयोग समेत रहने मेयर आचार्यको भनाइ थियो । त्यसैगरी युनाईटेड क्लब पोखराले स्थापना कालदेखिनै क्यालेण्डरमा समावेश गरी पोखरा महोत्सव सञ्चालन गर्दै आइरहेको र महोत्सव सञ्चालन अवधिको समेत कर तिरेर आफुलाई अब्बल संस्थाको रुपमा उभ्याएको बताउदै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लबको सिको गर्नुपर्नेमा उनको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पोखरा महोत्सवले महोत्सवको मात्र आयोजना नगरी भाषा, कला संस्कृतिको उजागर र जगेर्ना गर्ने काम गरेको बताए । विगतका संस्करणका महोत्सवहरुमा समेत गण्डकी प्रज्ञा प्रतिस्ठानको तर्फबाट साथ र सहयोग प्रदान गरिरहेको बताउदै बिखर्चीले आगामी संस्करणमा समेत सहयोगलाई निरन्तरता दिने बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले पोखरा महोत्सव शान्तिपूर्ण ढंगबाट सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे । प्रहरी उपरीक्षक ओलियाले महोत्सव महोत्सव मात्र नभइ महाउत्सव समेत भएकाले आर्थिक क्रियाकलाप चलायमान संगै महोत्सवले मौलिकता र ऐतिहाँसिकतालाई झल्काउने र एक आपसमा सामाजिक सद्भाव समेत कायम गराउने वताउदै युनाईटेड क्लब संग सहकार्य गरेर सामाजिक विकृति र विसंगती विरुद्धको क्रियाकलापमा सहकार्य गरेर अगाडी बढ्ने समेत बताए । युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको कर समेत तिर्दै आइरहेको भएतापनि क्लबलाई दोहोरो तेहेरो करको दायरामा पार्ने गरी दुख दिने काम गरेको बताउदै त्यस तर्फ महानगरका मेयर समक्ष सहजीकरण गरिदिन आग्रह गरे । त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सञ्चालन गरेको सामाजिक कामको प्रशंसा गर्दै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लबको सिको गर्न सके समाज रुपान्तरणमा सहयोग पुग्ने बताए । त्यस्तै समाजकल्याण परिषदका उपाध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य परमेश्वर कार्कीले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्नु आफैमा श्रहानिय काम भएको र आफु जनप्रतिनिधी समेत रहेकाले युनाईटेड क्लबको हरेक क्रियाकलापमा साथ र समर्थन रहने बताए । अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गरेकोमा धन्यवाद ब्यक्त गरे । युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । युनाईटेड क्लबका महासचिव तथा तेह्रो पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । महोत्सवको अन्तिम दिन लोकदोहोरी गायक गायिका चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमेका थिए । पोखरा महोत्सव बिद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिताको उपाधि बेसलाइनलाई पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिताको उपाधि वेसलाइन ईङ्ग्लीस बोर्डिङ स्कुलले हात पारेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा १३ टीमलाई पछाडि पार्दै बेसलाइनको उपाधी संगै नगद ४५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा सरस्वती आदर्श विद्याआश्रमले दोश्रो स्थान सहित नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा विभूती शिक्षा सदनले तेश्रो स्थान सहित नगद २० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा कास्की मोडनाइज्ड र सेन्ट म्यारिज बोर्डिङ स्कुलले शान्तवना स्थान सहित नगद १० हजार, प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा बिजयीहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मन कुमार गुरुङ, महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । सागरलाई खुल्ला बुद्धिचालको उपाधी त्यसैगरी महोत्सवको अवसरमा आयोजित खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधी सागर साईले जितेका छन । उपाधी सहित साइले नगद १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै महेश्वर अधिकारी प्रतियोगिताको उपबिजेता सहित नगद ७ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै बुद्धिराज शर्माले तृतिय स्थान सहित नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा निशान पौडेलले शान्तवना स्थान सहित नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा दशौं स्थान भित्र पर्न सफल भीम प्रसाद भट्टराई, हुमराज गुरुङ, सुजन रानाभाट, रन्जन कुँबर, गोविन्द बराल, र एन्जल शाही ठकुरीले जनही नगद २ हजार र मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारी, कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिनोद नाल्मी, पोखरा महानगर बुद्धिचाल संघका अध्यक्ष चन्द्र गुरुङ, चिफ आर्बेटर श्याम शुन्दर ताम्राकार, नरेन्द्र रानाभाट, राम बहादुर क्षेत्री, क्लबका पूर्व अध्यक्ष एवं खेलकुद समिति संयोजक सुक बहादुर गुरुङ, क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी महोत्सवमा आयोजिक टिकटक प्रतियोगिताको उपाधी गोले लामाले जितेका छन । आशीष इन्स्टीच्युटले प्रायोजन गरेको उक्त प्रतियोगिताका बिजेता गोले लामाले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै महोत्सवको मुख्य प्रायोजक बेटरको स्टलबाट सामाग्री खरिद गरेका मध्ये लक्की ड्रको माध्यामबाट पोखरा ९ का गणेश रानाले १।५ टनको बेटर एसी प्राप्त गर्न सफल भएका छन । रानाले बेटरको स्टलबाट बटरफ्लाई मिक्स्चर खरिद गरेका थिए । त्यस्तै पोखरा १४ का साहारा लामिछानेले किंग राइकुकर खरिद गरि प्राप्त गरेको कुपनबाट बेटरको २५ लिटरको इलेक्ट्रिक गिजर बेटर मोनाको प्रो २५ र बेटरको ९० सेन्टिमिटरको तीनवटा बाफेल फिल्टर र मोसन सेन्सर भएको चिम्नि बेटर ब्रेथ प्रो ९० ग्लासहुड चिम्नी प्राप्त गरेका छन । तेश्रो बिजेता पोखरा १४ का तनिश तामाङले प्रेसर कुकर खरिद गर्दा बेटरको तीन बर्नर भएको बिल्ड इन हब चुलो बेटर युरोपा टफटेन थ्री प्राप्त गरेका छन । उक्त बिजेताहरुले बेटरको नयाँबजारमा रहेको शोरुमबाट उपहार प्राप्त गर्ने सक्ने बेटरका चिफ अप्रेसन अफिसर सर्वज्ञ अधिकारीले बताए । महोत्सव स्थलमा राखिएको भिजनलिंक एजुकेशन कन्सल्टेन्सीको स्टल मार्फत पोखरा भद्रकालीका प्रस्ताव ढकाल, मियापाटनकी सुनिता गौतम, रानीपौवाका अरमन अली, पोखरा ७ की गरिमा शर्मा, हस्पिटलचोकका राजेश तिवारी, अमरसिंहकी अन्जिला खत्री, पोखराका शिवजी प्रसाद गुप्ता, भेडिफर्मका सइरास गुरुङ, पोखराका प्रतिमा परियार र अमरसिंहका हरिकृष्ण खरेलले कन्सल्टेन्सीबाट सञ्चालित कुनैपनि कक्षामा निशुल्क सेवा प्राप्त गर्नेछन ।