पोखरा: पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ । पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो । दिउँसो १ः५९ बजे कास्कीको सिनुवा आसपास केन्द्र बनाउँदै ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पोखरा: उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ । पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा बढीरहेको सहर रहेको भन्दै कारहरूको हेरचाह सेवालाई लक्षित गरी कार्जस्पा सञ्चालनमा ल्याइएको हो । यो सँगै कार्जस्पाले पोखरामा गाडीको सौन्दर्यलाई जोगाउन, अभिबृद्धि गर्न र कायम राख्न डिजाइन गरिएको प्रिमियम कार हेरचाह सेवाहरूको विस्तृत दायरा प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो । कार्जस्पा मार्फत पेन्ट प्रोटेक्सन फिल्म स्थापना गरिने जनाइएको छ । यसका माध्यमबाट कारको रंगलाई स्क्रयाच, चिप्स र वातवरणीय क्षतिबाट जोगाइने छ । त्यस्तै सिरेमिक कोटिंग, कारको भित्री भागलाई नयाँ देखिने गरी गहिरो सफाई, छालाको कन्डिसनिङ र कपडाको सुरक्षा, बाहिरी माटो धुने, स्टीम सफा गर्ने, विन्डशिल्ड पालिस गर्ने, रंग सतह परिष्करण आदि गरिने कार्यक्रममा जानकारी गराइयो । सेवा सञ्चालनको शुुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खे्लकुद मन्त्री विन्दुुकुमार थापाले पोखरामा सञ्चालनमा आएको यो सेवा उपयोगी बन्ने विश्वास व्यक्त गर्दैै सफलताको शुुभकामना व्यक्त गर्नुभयो । ओमराज शर्माको सभापतित्व एवम् शिव थापाले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बराल, नायिका प्रियंका कार्की, कार्जस्पा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अंकुर सामी, कार्जस्पा कम्पनीका नेपाल प्रमुख तरुन औजा चेम्बर अफ कमर्शका अध्यक्ष उमराज वास्तोला, पाोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले सफलताको शुुभकामना व्यक्त गर्नुुभयो ।
पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराएका छन । ३२ औं मदन आश्रीत स्मृति दिवसको अवसरमा हिमालय आँखा हस्पिटलको प्राविधिक सहयोगमा पोखरा रंगशालामा आयोजना गरिएको शिविरमा खेलाडी, खेल संस्थाका प्रतिनिधी, पत्रकार गरी तीन सय ४७ जनाले आँखा जाँच गरेको मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए । गुरुङका अनुसार शिविरमा १ सय ९१ जनालाई औषधी वितरण, ३९ जनालाई चश्मा वितरण, मोतियाविन्दुको समस्या देखिएको ७ जना र अन्य ३९ जना र आँखामा मासु पलाएका ११ जनालाई हिमालय आँखा हस्पिटल घारीपाटन रिफर गरिएको छ । शिविरमा सहभागीहरुको दृष्टि विशेषज्ञहरु अनिश अधिकारी, रोष्ना भुजेल, झरना बुढा र रितिका किजु लगाएतले सहजीकरण गरेका थिए । यसअघि शिविरको उद्घाटन गर्दै पोखरा महानगरका उप प्रमुख मन्जुदेवी गुरुङले मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक उत्तरदायित्व वहन गर्ने गरी आँखा शिविरको आयोजना गरेकोमा आभार प्रकट गरिन । कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव दिपक आचार्यले गरेका थिएभने कार्यक्रममा उपाध्यक्ष सुुजन आचार्यले स्वागत मन्तब्य राखेका थिएभने केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
गण्डकीका प्रदेश प्रमुुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला स्तरीय संरक्षक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताउनुभयो । ‘कलिलो उमेरबाटै अरुको सेवा गर्नुपर्ने भावना विकसित गर्न सकेमा ती बालबालिका भविष्यमा नैतिकवान्, कर्मठ र ईमान्दार दक्ष नागरिक बन्नेछन् ’ उहाँले भन्नुभयो – ‘नैतिक शिक्षाले उनीहरु असल मार्गमा अघि बढ्छन् । हिंसा र अपराधबाट जोगिन्छन् । परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी छ ।’ स्वयंसेवी कार्यकर्ता, युवाहरूको सक्रिय संलग्नता र सामुदायिक सहभागितामार्फत् रेडक्रसले आफूलाई अग्रपंक्तिमा उभ्याएको भट्टले उल्लेख गर्नुभयो । उहाँले गोष्ठीमा प्रस्तुत कार्ययोजना, छलफल तथा विचार मन्थनबाट संस्थागत कामकारबाहीको मूल्यांकन, सुझाव ग्रहण र आगामी दिनको योजना तर्जुमा गर्न सक्षम बनोस् भन्दै संस्थालाई सबिलकरणको दिशामा अघि बढाउन दिशानिर्देश गरोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो । ‘रेडक्रस भन्ने बित्तिकै मानवियता र सेवा भावना जोडिन्छ । युद्ध, प्राकृतिक विपद् र अन्य आपत्कालीन अवस्थामा पीडितलाई सहायता पु¥याउने उद्देश्यका साथ रेडक्रसले कामहरू गर्दै आएको छ ।’ उहाँले भन्नुभयो । स्थानीय समुदायमा मानवीय सेवाको आवश्यकता बोध हुँदा सम्झिने पहिलो सामाजिक संस्था रेडक्रसले मानवतालाई जीवित राखौँ मूल मन्त्रका साथ काम गर्दै आएकोमा आभारपनि व्यक्त गर्नुभयो । ‘रेडक्रसले जिल्लास्तरीय समिति अन्तर्गत विभिन्न उप–शाखाहरू, समुदायस्तरीय युवा सर्कल, स्वयंसेवक समूह र विद्यालय अन्तर्गत जुनियर तथा युवा रेडक्रस सर्कलहरूलाई क्रियाशील बनाउँदै फराकिलो क्षेत्र ओगटेको छ ।’ प्रदेश प्रमुख भट्टले थप्नुभयो – ‘रेडक्रस, स्काउट, लायन्स, रोटरी जस्ता संस्था संघसंस्थाहरू गर्वलायक सामाजिक संघसंस्था हुन् । मानव जीवनको अमूल्य वस्तु रगतको अभाव हुँदा सबैभन्दा पहिले सम्झने संस्था भनेकै रेडक्रस हो ।’ रगत उपलब्ध गराउने काम सँगसँगै नेपालमा महामारी, भूकम्प तथा बाढीपहिरोको पीडामा रहँदा रेडक्रसले अग्रणी भूमिका खेलेको बताउँदै भट्टले पीडितहरुलाई खाद्यान्न लत्ताकपडादेखि तत्कालिन एम्बुलेन्स सेवा, स्वास्थ्य सेवा, परामर्श लगायत कार्य रेडक्रसकै अगुवाईमा भएको उल्लेख गर्नुभयो । रेडक्रसले सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै आगामी दिनमा राज्यको निकायसँग सहकार्य, प्रविधिको उपयोग र नवप्रवर्तनशील कार्यक्रमहरूका माध्यमबाट रेडक्रस अझ प्रभावकारी रूपमा समाजसेवामा अग्रसर हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
पोखरा: विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कक्षा नर्सरीबाट इशान सुवेदी प्रथम, सनिका थापामगर द्वितीय र इज्रा तामाङ तृतीय भएका छन् । कक्षा एल.के.जी.बाट इमान थापाक्षेत्री प्रथम, विपीन रानामगर द्वितीय र नोआ गुरुङ तृतीय भएका छन् । कक्षा यु.के.जी.बाट मबेल थापामगर प्रथम, राजश्री अर्याल द्वितीय र अल्बिना तामाङ तृतीय भएका छन् । यस्तै कक्षा एकबाट सलोम राई प्रथम, सनम बराइली द्वितीय र लियोसा के.सी. तृतीय भएका छन् । कक्षा २ बाट पारोमिता मोण्डल प्रथम, कक्षा ३ की अनिसा गुरुङ द्वितीय र कक्षा २ का एडेन गुरुङ तृतीय भएका छन् । कक्षा ४ बाट मौ भौमिक प्रथम, कक्षा ५ की प्रेमिका नेपाली द्वितीय र कक्षा ५ कै प्रिन्स सुनार तृतीय भएका छन् । त्यस्तै सिनियर आधारभूततर्फ कक्षा ८ की मेहुली मन्ना प्रथम, सोही कक्षाकी उपासना रेग्मी द्वितीय र कक्षा ७ की सविता सुनार तृतीय भएका छन् । मा.वि.तहमा कक्षा ९ की सुनिशा सुनार प्रथम, कक्षा १० की प्रशंशा सुनार द्वितीय र सोही कक्षाकी आरोशी देवकोटा तृतीय भएका छन् । शिक्षिका अनिता थापाको संयोजकत्वमा भएको उक्त प्रतियोगिताको पुरस्कार वितरण विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले गरेका थिए ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा सम्पन्न ‘ऐतिहासिक काल्खु मेला’मा भलिबलतर्फको उपाधि कालीकोटले जितेको छ । जनसम्पर्क युवा क्लबले गत चैत्र पूर्णिमा (३० गते) देखि आयोजना गरेको साविक वडा स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा आइतबार ओरस्टेलाई ३–२ को सेटले हराउँदै कालीकोटले उपाधि जितेको हो । उपाधिसँगै कालीकोटलाई नगद ८१ हजार रुपैयाँ, रनिङ शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार उपविजेता टोली ओरस्टेले नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । भने, तृतीय स्थान हाँसिल गरेको गहते ‘टिम बि’ ले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्याे । सो प्रतियोगिताबाट ओरस्टेका लब्सन सुनार सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यसैगरी सोही टिमकै कृष्ण थापा उत्कृष्ट ब्लकर, कालीकोटका सञ्जय गुरुङ उत्कृष्ट स्पाइकर, सोही टिमकै विवश थापा उत्कृष्ट डिफेन्डर र गहतेका सुजित थापामगर उत्कृष्ट लिफ्टरका रुपमा पुरस्कृत भए । कुल ३५ टिमको सहभागिता रहेको सो प्रतियोगितामा अनुशासित टिमका रुपमा सालडाँडा जामुने नगद रु १२ हजारसहित पुरस्कृत बन्यो । खुला नृत्यतर्फ कोल्माकी अनुस्का च्याम्पियन खुल्ला नृत्य प्रतियोगितातर्फ कोल्माकी अनुस्का गुरुङ च्याम्पियन भइन् । अन्य ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अनुस्का प्रथम भएकी हुन् । यस्तै कोल्माकी साईसा गुरुङ द्वित्तिय, पोखराका दिपेश सुनार तृतिय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हाँसिल गरे । खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम भएकी अनुस्काले ८ हजार रुपैयाँ, द्वित्तिय भएकी साईसाले ६ हजार, तृतीय भएका दिपेशले ४ हजार र सान्त्वना स्थान हाँसिल गरेका विक्रमलाई नगद रु २ हजार पुरस्कार प्राप्त गरेको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए । कोरियोग्राफर तथा नृत्य निर्देशक होम गुरुङको नेतृत्व निर्णायकको भूमिकामा थियो । यस्तै म्युजिकल चियर प्रतियोगितातर्फ निरा थापामगर प्रथम, कल्पना गुरुङ द्वित्तिय र माया रानामगर तृतिय भइन् । सो प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो । स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृती टोल विकास संस्था प्रथम स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृती टोल विकास संस्था प्रथम बन्यो । कुल ६ समूहको सहभागिता रहेको सो प्रदर्शनीमा प्रथम बनेको जागृती टोल विकास संस्था नगद रु १० हजारसहित पुरस्कृत बन्यो । जागृती टोल विकास संस्थाले काल्खुले कुसिन्डे भाका प्रस्तुत गरेको थियो । यस्तै उपविजेता बनेको जिवन ज्योती टोल विकास संस्थाले झ्याउरे भाका प्रस्तुत गरेकोक थियो । जिवन ज्योतीले नगद रु ५ हजार प्राप्त गर्याे । उक्त प्रतियोगिताले स्थानीय संस्कृतिको संरक्षण गर्न सघाउ पुर्याएको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले बताए । मेलाका विभिन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडी तथा समुहलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पुतलीबजार नगरपालिकाका प्रमुख तुलसी रेग्मी, पुतलीबजार नगरपालिकाका प्रवक्ता मनोज पौडेल, शुक्लागण्डकी नगरपालिका ११ का वडाध्यक्ष शालिकराम भट्टराई, पुतलीबजार नगरपालिकाका विधान समितिका संयोजक तथा वडा १४ का सदस्य मुवारक मिया, पुतलीबजार नगरपालिका ३ की वडासदस्य सविता पौडेल, पुरस्कारदाताहरु स्थानीय अग्रजहरु लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथी तुलसी रेग्मीले प्रमुख अतिथि जनसम्पर्क युवा क्लबको खेल मैदानको स्तरोन्नतीका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । उनले काल्खु हुँदै तनहुँको सिमानासम्मको सडकलाई कालोपत्र गर्नका लागि बजेटको व्यवस्था गर्नेसमेत आश्वासन दिएका थिए । मेलाका क्रममा चर्चित लोक तथा दोहोरी कलाकार चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, निश्चल थापामगर, पारु गुरुङ, ममता तामाङ, रेशम थापामगर, अर्चना चापागाईं लगायतले बेजोड प्रस्तुती दिएका थिए । मेलाका संयोजक प्रेमबहादुर रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन खिम रानामगरले गरेका थिए ।
पोखरा: नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान राष्ट्रिय फुटसल प्रतियोगितामा इक्यान कास्की च्याम्पियन बनेको छ । शनिबार भएको फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्की च्याम्पियन बनेको हाे। च्याम्पियन बनेसँगै इक्यान कास्कीले ६६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्याे । उपविजेता इक्यान पूर्वाञ्चलले ३६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल हात पार्याे । सात टिमको सहभागिता रहेको फुटसल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा काठमाडौं, कास्की, पूर्वाञ्चल, मकवानपुर र रुपन्देहीबाट एक/एक टिम र आयोजक टिम चितवनबाट २ टिम सहभागी रहेको थियाे ।
पोखरा: नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख अन्तिम सातामा हुने अवार्डको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले गर्ने भएको हो । आइतबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष एमबी आस्था मगरबीच ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्री गर्दै आएको छ । यस अघिका अवार्डलाईसमेत सिटिजन फर्निचरले सहयोग गर्दै आएको छ । अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा सहयोगीहरु जोडिने क्रम समेत बढ्न थालेका छन् । नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै उदीयमान खेलाडी विधाको पुरस्कार प्रायोजन सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था विधाको पुरस्कार प्रायोजन निट डेन्टल केयरले गर्ने सम्झौता भइसकेको छ । त्यसैगरि जिल्ला एथ्लेटिक्स सङ्घ कास्कीले ११ हजार १ सय ११ रुपैयाँ, मदन भण्डारी स्पोर्टस् एकेडेमीले १ सय थान टिसर्ट सहयोग गर्ने सम्झौता भइसकेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।
पोखरा: नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा मदन भण्डारी स्पोर्टस् एकेडेमीले भने १ सय टिसर्ट सहयोगको घोषणा गरेको हो । शुक्रबार एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र मञ्चका अध्यक्ष एमबी आस्था मगर बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एकेडेमी खेल क्षेत्रको विकासमा अग्रसर रहँदै आएको र खेल क्षेत्रलाई माथि उकास्न सबै खेलप्रेमी लाग्नुपर्ने एकाडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । साथै खेल र खेलाडीको साथमा एकेडेमी रहँदै आएको आचार्यले बताए । यता मञ्चका अध्यक्ष एमबी आस्था मगरले सहयोगदाता प्रति धन्यवाद ज्ञापन गरे । खेलप्रेमी तथा खेल संघसंस्थाको साथ सहयोगले नै स्पोर्टस् अवार्ड यो उचाईसम्म पुगेको उनको भनाई थियो । यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ, भने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखराले प्रायोजन गरिसकेको छ । त्यस्तै जिल्ला एथ्लेटिक संघ कास्कीका ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरिसकेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको संस्था देश संघीयतामा गएसँगै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ ।

