पोखरा: मर्दी हिमाल आरोहणका क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव काठमाडौं पठाइएको छ । पर्यटक गाइड तामाङलाई शवलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याएर आज एम्बुलेन्सबाट काठमाडौ लगिएको वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए । ‘मर्दी हिमाल आरोहणको क्रममा लडेर शनिबार मृत्यु भएको पर्यटक गाइड तामाङको शव मंगलबार मात्र काठमाडौंबाट आएको खोज तथा उद्धारको टोलीले फेला पारेको थियो’, वडाध्यक्ष क्षेत्रीले भने, ‘भौगोलिक तथा प्रतिकुल मौसमका कारण शवलाई दुर्घटनास्थलबाट तल झार्न नसकेपछि आज सिम्रिक एयरको सहयोगमा पोखरामा पठाएर त्यहाँदेखि एम्बुलेन्समा काठमाडौं लगिएको हो ।’ हेलिकप्टरमार्फत पोखरा झारिएको तामाङको शवलाई एम्बुलेन्सबाट काठमाडौं लगेर पोष्टमार्टम गरेर गृहनगर नुवाकोट नै लगेर अत्येष्टी गर्ने परिवारले जनाएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा शनिबार तामाङको लडेर मृत्यु भएको थियो । मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका तामाङको शव मंगलबार काठमाडौंका आएको खोज तथा उद्धारको टोलीले दुर्घटनास्थल भन्दा २ सय मिटर तल फेला पारेको थियो । काठमाडौंको सनराइज कम्पनीबाट नर्वेली नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोहण योजनासहित आएका तामाङको आरोहणको क्रममा लडेर मृत्यु भएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । उनीहरुको टोलीमा एक नर्वेली नागरिकसहित ४ जना नेपालीको समूह रहेको थियो । यो पनि पढ्नुहोस स्कूप: मर्दी हिमाल आरोहणका क्रममा गाइडको मृत्यु मर्दी फलोअप: गाइडको शव निकाल्न समस्या, वडाध्यक्ष नेतृत्वको टोली जाँदै फलोअप: तामाङको शव भेटियो, काठमाडौंबाट आएको टोलीले निकाल्दै फलोअप: मर्दी हिमालमा मृत भेटिएका गाइडको शव ल्याउन समस्या
पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले आइटी पढ्ने विद्यार्थीका लागि नि:शुल्क इन्टरनेटको व्यवस्था मिलाएकाे छ । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निस्शुल्क रुपमा इन्टरनेटको सुविधा उपलब्ध गराएको हो । 'देशकै नमूना विद्यालयका रुपमा पुरस्कृत भइसकेका शितलादेवी, अमरसिंह मावि जस्ता विद्यालयलाई प्रविधिमैत्री बनाउँदै आइटी पढ्ने विद्यार्थीलाई नि:शुल्क इन्टेरनेटको व्यवस्था वडाले नै गर्ने हो, सरकारी विद्यालयप्रति अझै विश्वास बढाउनका लागि जनप्रतिनिधिले अझै ध्यान दिनुपर्छ भनेर लागि परेका छौं, वडाध्यक्ष बास्तोलाले भने । इन्टरनेटको सुविधा पाएपछि पढाईमा सहज भएको विद्यार्थी प्रज्वल बास्तोलाले बताए । 'अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषय वस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन तर यहाँ भने विद्यार्थीलाई नि:शुल्क इन्टरनेट उपलब्ध गराएर विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याइएको छ, उनले भने । इन्टरनेटको व्यवस्था भएपछि अध्ययनमा सहयोग पुगेको अर्का विद्यार्थीले बताए । नि:शुल्क इन्टरनेटको निरन्तरता पाएपछि विद्यार्थीहरु उत्साहित भएका छन् । वडाले नीति तथा कार्यक्रममै भौतिक पूर्वाधारभन्दा शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई जोड दिएर नीति तयार गरेको हो । वडा कार्यालयले असोजदेखि सुरु गरेको उक्त सेवाका कारण विद्यार्थीहरुलाई विभिन्न विषयको खोज अनुसन्धान गर्न सहज भएको छ । शिक्षण र प्रविधिलाई जोड दिंदै वडाले विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ ।
पोखरा: सहारा क्लब पोखराले तिहारको अवसरमा आयोजना गरेको देउसी भैलोबाट १२ लाख रुपैयाँ संकलन गरेको छ । मोफसलको चर्चित क्लब सहाराले स्थापनाकालदेखि नै नियमितरुपमा देउसीभैलो खेल्दै आएको छ । ‘संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं’ भन्ने उद्देश्यसाथ तिहारमा ५ दिनसम्म पोखराका विभिन्न भागमा भएको देउसी भैलोबाट १२ लाख ९ हजार ३ सय १५ रुपैयाँ संकलन भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रमका लागि क्लब सहकोषाध्यक्ष अशोक लालचनलाई संयोजक तोकिएको थियो । पोखरा १७, दोबिल्लामा क्लबले सहारा फुटबल एकेडेमी संचालन गरेको छ । उक्त एकेडेमी संचालनका लागि क्लबले फुटबल प्रतियोगितासहित यसप्रकारका देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । एकेडेमीमा हाल चौंथो ब्याचको रुपमा विभिन्न जिल्लाका ३० जना बालकहरुले निःशुल्क आवासीय सुविधासहित शिक्षा, दीक्षा लिनुका साथै नियमित फुटबल सिकिरहेका छन् । यसैबीच, क्लब अध्यक्ष केशवराज बरालले देउसीभैलोमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, दाता, व्यक्ति विशेष लगायतप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
पोखरा: गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भएको छ । आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गर्दै पर्यटकको आकर्षण बढाउन खोजिएको हो । यो कार्यक्रम हरेक दिन बेलुका दुई घण्टा प्रतिष्ठानको भानु हलमा चल्नेछ । कार्यक्रम मार्फत ७०–८० कलाकारले प्रस्तुती राख्दै गण्डकी प्रदेशको संस्कृति प्रस्तुत गर्नेछन् । प्रतिष्ठानले पुषको पहिलो हप्ता गण्डकी प्रदेशका मौलिक लोकबाजाहरूको प्रस्तुती ‘अर्केष्ट्रा’ प्रस्तुत गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिए । ४० जना वाद्यवादक विभिन्न जातजातिको मौलिक धुन र गण्डकी प्रदेशका कीर्तिशेष स्रष्टाहरूको चर्चित लोक गीतका धुनहरू एउटै स्टेजमा प्रस्तुत गर्नेछन् । बाजाले दिने धुन कति महत्वपूर्ण छ भन्ने बारेमा नयाँ पुस्तालाई जानकारी गराउनका लागि यो कार्यक्रम गर्न लागिएको हो । प्रतिष्ठानले अहिलेको आर्थिक वर्ष ८१/८२ को पहिलो चौमासिकसम्म आइपुग्दा वार्षिक कार्यक्रम अन्तरगत रहेका ५७ कार्यक्रम मध्येमा मौलिक बाजा र भाषाका कार्यक्रम लगभग सकेको जनाएको छ । बाजातर्फ गुरुङ समुदायको एक महिने छ्याडु बाजा प्रशिक्षण, नेवार समुदायको धिमे बाजा, साराङ नाच, नेपाल भाषा, श्रीकृष्ण नृत्य, गायन र बाजा, सोरठी प्रशिक्षण लगायतका कार्यक्रम भएको सदस्य सचिव श्रेष्ठले बताए । प्रतिष्ठानले गण्डकी प्रदेशमा आयोजना हुने संस्कृतिसँग सम्बन्धित कार्यक्रममा सहकार्य गर्ने गरेको छ । आजसम्म ४२ वटा वाङमयिक संस्थासँग सहकार्य गरेको उनले खुलाए । यस्तै गत वर्ष जस्तै यो वर्ष पनि प्रादेशिक चित्रकला प्रदर्शनी हुने भएको प्रतिष्ठानले जनाएको छ । कुल ५ दिनको प्रदर्शनी मार्फत छनोट भएका चित्रले केन्द्रमा गएर प्रतिष्पर्धा गर्नेछन् । प्रतिष्ठानले स्रष्टाको क्याटगोरीको आधारमा परिचयपत्र वितरण गर्ने भएको छ । त्यो परिचयपत्र देखाएर स्रष्टाले विभिन्न ठाउँमा छुट पाउने अवस्था बनाउन खोजिएको छ । अनुसन्धानको काम र निर्माणका काम भइरहेको छ । भानुहलमा कुर्ची थपेर र साउण्ड सम्बन्धी काम गरेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । अक्षयकोष निर्माण गर्ने तयारीमा समेत भएको जनाइएको छ । यो वर्ष १५ जना स्रष्टाको बायोग्राफी समेत तयार पारिएको जनाइएको छ । यसरी बायोग्राफी तयार पारिएका स्रष्टामा साहित्यकार सूर्य खड्का बिखर्ची, सुमन कुमार गुरुङ र देवी वनवासी, संस्कृतिकर्मी पदमराज ढकाल, सङ्गीतकार नवराज बराल र श्यामलाल श्रेष्ठ, नृत्यकार धन बहादुर गुरुङ र टक बहादुर गुरुङ, नाटककार कृष्ण उदासी, समालोचक प्रा.डा. जगन्नाथ रेग्मी, प्रा.डा. यदुनन्दन उपाध्याय र झलक सुवेदी, कलाकार प्रमिला तुलाचन, लोक प्रसाद गुरुङ र क्षेत्रलाल कायस्थ रहेका छन् । यो वर्षका लागि तय भएका सबै कार्यक्रम चैत्रको मसान्तमा सक्ने तयारी गरिएको सदस्य सचिव श्रेष्ठले बताए । अहिलेको टिमको कार्यकाल आगामी बैशाख १४ गतेसम्म भएकोले त्यो दिनमा कार्यकालमा भएका सबै कामको फेहरिस्त प्रस्तूत गरेर विदा हुने तयारी भएको समेत उनले खुलाए ।
पोखरा: गण्डकी प्रदेशकी कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोबलका साथ सेवामा खटिन उनले निर्देशन दिएकी हुन् । मन्त्रालयद्धारा आयोजित आर्थिक वर्ष ०८१/०८२ को त्रैमासिक प्रगति समिक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भनिन्,‘आम कृषकहरु प्रत्यक्ष लाभान्वित हुने गरी कार्यालयहरुको सेवालाई थप चुस्तदुरुस्त बनाउन आग्रह गर्दछु । कृषकहरु गुनासो वा कुनै समस्या लिएर कार्यालय आइपुग्दा तत्काल समाधान हुने छ भने तत्काल र समय लाग्ने तवरको छ भने सोही अनुसार निरुपण हुने गरी कार्य अघि बढाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।’ कृषकहरुलाई कृषि बीमाबारे अवगत गराउनुपर्ने उनले जोड दिइन् । मन्त्री श्रेष्ठले अधिकांश पशु पालन गर्ने कृषकहरुले पशुको बीमा गर्ने गरेकोमा अन्नबालीतर्फ न्यून संख्यामा कृषकहरु बीमामा संलग्न भएकाले सम्पूर्ण कृषकहरुमा कृषि बिमाको महत्वका बारेमा जानकारी गराउनुपर्ने बताइन् । उनले भनिन्,‘पशु पालन गर्ने अधिकांश कृषकहरुले बीमा गर्नुभएको थाह पाएँ । तर अन्नबाली लगायत खेती गर्ने कृषकहरु बिमामा संलग्न भएको संख्या न्यून छ । अब सबै कृषकहरुलाई कृषि बीमाको महत्वबारे जानकारी गराउँदै यसमा समेट्नु पर्दछ । यसले भइपरी हुने क्षतीबाट कृषकलाई राहत त मिल्छ नै, सँगै कृषि कर्ममा ढुक्क भएर अघि बढ्ने वातावरण तय हुनेछ ।’ यहि कात्तिक २६ गते मालेपाटनस्थित मन्त्रालयको सभाहलमा आयोजित समिक्षा गोष्ठी कात्तिक २७ गते समापन भएको हो । गोष्ठीमा मन्त्रालय मातहतका सबै कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
पोखरा महानगरपालिका २२ भ्यू प्वाइन्टमा सम्पन्न दोस्रो भेडीखर्क सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्यूप्वाइन्ट सिक्स टु सेभेन मेटले जितेको छ । शनिबार भएको फाइनल खेलमा नानु एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै भ्यू प्वाइन्ट सक्स टु सेभेन मेट च्याम्पियन बनेको हो । च्याम्पियन बनेको भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटले नगद रु ५१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको नानु एफसीले नगद रु २६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । यस्तै सो प्रतियोगिताबाट मलिक गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा र अर्जुन थापा उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भए । विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, स्थानीय अग्रज तथा समाजसेवी लगायतले पुरस्कार वितरण गरेका थिए । पोखरा भ्यू प्वाइन्ट युथ क्लबको आयोजनामा सम्पन्न सो प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको थियो ।
पोखरा: कास्कीको मर्दी पदमार्गमा बेपत्ता भएकी चिनियाँ नागरिकको सकुशल उद्धार गर्न सफल भएको भन्दै चिनियाँ नागरिक 'बेला'ले गाउँमै आएर सम्मान गरेका छन् । गत असोज २३ गते मर्दी पदमार्गमा बेपत्ता भएका चिनियाँ नागरिकलाई २३ घण्टापछि सकुशल उद्धार गरेको थिए । उनै बेपत्ता बेला अहिले आएर माछापुच्छ्रे गाउँपालिका ९ सिधिङमा आएर स्थानीय यामबहादुर क्षेत्री, मदन क्षेत्री, प्रसाद पौडेल र गोर्बद्धन पौडेललाई हिजो (सोमबार) नगदसहित सम्मान गरेकी हुन् । चिनियाँ नागरिक बेलाले नगद रु ५० हजार र नेपाल चाइना एशोसिशयनको तर्फबाट उनीहरुलाई नगद २० हजार सम्मानस्वरुप प्रदान गरेको वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए । कसरी हराए 'बेला' ? असोज २३ गते मर्दी हिमाल पदमार्ग अन्तरगत चिनियाँ नागरिक ‘बेला’ हाइक्याप पुगिसकेकी थिइन् । त्यहाँको होटल नमस्तेबाट चेक आउट भई निस्केकी उनी एकाएक बाटो बिराएर गन्तव्यविहीन बनिन् । उनी मर्दी खोलाको मुहानसम्म पुगेकी थिइन् । उनी कसैको सम्पर्कमा नआएपछि खोजतलासका लागि मर्दी हिमाल पर्यटन व्यवस्थापन समिति, पर्यटक प्रहरी र जनप्रतिनिधिहरुलाई खबर पुग्यो । त्यसपछि सयुक्त रुपमा सबै टोली परिचालित भए । त्यसपछि उनलाई मर्दी खोलाको मुहान नजिकै कोलङ्गेबाट २३ घण्टापछि स्थानीय यामबहादुर क्षेत्री, मदन क्षेत्री, प्रसाद पौडेल र गोर्बद्धन पौडेल लगायतले सकुशल उद्धार गरेका थिए ।
पोखरा: विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ । सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लामिछानेलाई कास्कीबाट बुटवल लैजान लागिएको हो । प्रहरी स्रोतका अनुसार उनलाई बुद्ध एयरको फ्लाइट नम्बर ६ सय ८१ मार्फत भैरहवा लगिदैं छ । तर अहिले प्रतिकुल मौसमका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थलमै अड्किएका छन् । उनलाई कास्की प्रहरीले बिहान ५ बजेर ५५ मिनेटमा विमानस्थलमा प्रवेश गराएको थियो । उनलाई बिहान सबेरै बुटवल पुर्याउने भनिएपनि मौसमका कारण फ्लाइट डिले भएको विमानस्थलले जनाएको छ । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई सोही रातीनै पोखरा ल्याइएको थियो । उललाई गत आइतबार कास्की जिल्ला अदालतले चौथों पटक १३ दिनको म्याद थप गरेको छ । बयानका लागि रुपन्देही लगेपनि बयान सकिएपछि पोखरा नै फर्काइने बताइएको छ । उनलाई रुपन्देही लगिने भएपछि रास्वपाका कार्यकर्ताहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । यद्यपी प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रेगाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा हिजो (आइतबार) एक पर्यटक गाइडको मृत्यु भयो । नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहणको गराउन काठमाडौंको सनराइज कम्पन्नीबाट आएका ६२ वर्षीय लालबहादुर तामाङको आरोहणको क्रममै लडेर मृत्यु भएको हो । सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि आएका एक विदेशीसहित टोलीमा ४ नेपाली रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए । ‘कात्तिक २३ गते काठमाडौंको सनराइज कम्पन्नीबाट नर्वेका एक नागरिकसहित ४ नेपालीको टोली मर्दी हिमाल आएका रहेका छन् । मुख्य गाइडसमेत रहेका लालबहादुर तामाङले नर्वेका नागरिकलाई हिमाल चढाउने र आफु पनि चढ्ने योजनामा आएका रहेछन्’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँगभने, ‘मर्दी हिमाल आरोहणकै क्रममा तामाङको आइतबार लडेर मृत्यु भएको हो, थप बुझ्दै छौं ।’ मर्दीको तापक्रम माइनस १० डिग्री, उद्धारका लागि जुटाउँदै तापक्रम र भौगौलिक अवस्थाका कारण मृतक लालबहादुर तामाङको शव निकाल्न कठिनाई भएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले बताए । ‘मर्दी हिमाल आरोहणको क्रममा मृत्यु भएका लालबहादुर तामाङको शव घटनास्थलबाट निकाल्न तापक्रम र भौगौलिक अवस्थाका कारण कठिनाई देखिएको छ, अहिले त्यहाँ माइनस १० डिग्री रहेको बुझ्नमा आएको छ । हामीसँग उद्धारका लागि पर्याप्त सामान छैन’, उनले भने, ‘अहिले मर्दीको मौसम चिसिएको छ, तामाङ लडेको स्थान ढुङ्गा नै ढुङ्गा भएको स्थानमा हो । हिडेर जान सकिदैन, रक क्लाइम्बिङ गर्नुपर्छ । त्यसका लागि आवश्यक सामान जुटाउन पर्छ । हामीले तयार गर्दैछौ ।’ उनले तामाङ लडेको स्थानमा रेकी गर्नका लागि सनराइज कम्पन्नीसँग समन्वय गरेर हेलीकप्टर मगाउन संवाद भइरहेको जानकारी दिए । अहिले हाइक्यापमा रहेका पर्यटन व्यवसायी र मर्दी हिमाल आरोहणका लागि गएका विदेशीनागरिकसहितका टोलि तामाङ लडेको स्थानमा जान लागेको उनले बताए । सूचना पाएका छौं हाम्रो टोली जाँदै छ: डिएसपी शर्मा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्तकुमार शर्माले मर्दी हिमाल आरोहणका क्रममा लडेर एक जना बेपत्ता भएको जानकारी आएको बताए । ‘मर्दी हिमाल आरोहणको क्रममा एक जना मानिस लडेर बेपत्ता भएको भन्ने सूचना आएको छ । घटनास्थलतर्फ हाम्रो टोली जाँदै छ अहिले बाटोमा छ’, डिएसपी शर्माले भने, ‘अहिले बेपत्ता भएको भन्ने सूचना मात्र पाएका छौैं थप अपडेट हाम्रो टोली जाँदै छ । पुगे पछि थाहा होला ।’ उनले अस्थायी प्रहरी चौकी भेडाबारीबाट टोली घटनास्थल हिडेको बताउँदै थप टोली जिल्लाबाट पठाउने तयारी भइरहेको बताए । प्रहरीलाई बेपत्ता भन्ने सूचना आएपनि मुख्य गाइड तामाङको मृत्यु भइसकेको स्थानीयहरुले गएराती नै पुष्टि गरिसकेका छन् । २०७१ जेठ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले ५ हजार ८ सय मिटर उचाईको हिमाल आरोहण गर्न अनुमति नचाहिने निर्णय गरेको थियो । सोही निर्णयलाई नै आधार मानेर मृतक तामाङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि उक्त स्थानमा पुगेका थिए । मर्दी हिमालको उचाई ५ हजार ५ सय ८७ मिटर रहेको छ । यो पनि पढ्नुहोस स्कूप: मर्दी हिमाल आरोहणका क्रममा गाइडको मृत्यु