पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु ल...

पोखरा:   प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ ।   यस्तै, ‘प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने पनि प्रेस चौतारी कास्कीले जनाएको छ ।   प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारी कास्की शाखाले माघ २२ गते पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पुरस्कारको राशी २२ हजार २ सय २२ रहेको छ ।   प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको हो ।   सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।   स्याङ्जा सिरूबारी जन्मस्थान रही पोखरा १५ मा स्थायी बसोबास गर्दै आएका गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए । हिमचुली एफएम, गोल्डेन आई टेलिभिजन हुँदै २०६४ देखि सगरमाथा टेलिभिजनमा आबद्ध रही १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत छन् ।   बिएलसम्म अध्ययन गरेका गुरूङ २०७७ मा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित भइसकेका छन् ।   पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन् । यस्तै, मैदानन्यूज डटकमको संस्थापक सञ्चालक हुन् ।   प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष पौडेल नेपाल पत्रकार महासंघ गण्डकीको संस्थापक सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद् पनि हुन् ।   नेपाल फोटो पत्रकार महासंघको कास्की शाखा अध्यक्षदेखि केन्द्रीय सदस्यसमेत भइसकेका पौडेल सामाजिक संस्था सिर्जना विकास केन्द्र, पोखराको पूर्व अध्यक्ष पनि बने । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित समाज सेवा युवा परिवारका संस्थापक अध्यक्ष, जनप्रिय बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य पनि हुन् ।   पौडेलले प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार २०७२, सहारा क्लब पोखरा, फोटोग्राफर संघ पोखबाट सम्मान प्राप्त गरेका छन् । पोखरा ७ निवासी पौडेलले बिए अध्ययन र २ वर्षे सीएमए पनि गरेका छन् ।   प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ ।   प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् । यसैगरी, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भएका छन् ।   यसैबीच, सम्मान तथा पुरस्कार अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।   सोहि दिन स्थानीय तहसँगको समन्वयमा अन्तर्क्रिया र प्रेस चौतारी कास्कीको नवौं अधिवेशनमार्फत् नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम रहेको सचिव अधिकारीले जानकारी दिए ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिँदै प्राविधिक जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका छन् ।   प्रविधिको युग सुहाउँदो जनशक्ति उत्पादन गर्न बालबालिका उमेरदेखि नै प्रविधिमा अभ्यस्त बनाउनुपर्ने आवश्यकता उनले औंल्याए ।   पोखरा–१९ तल्लाकोट स्थित विन्ध्येश्वरी माविको ६३ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण, आइसीटी ल्याब उद्घाटन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले यो समयमा पूरानो शैली र ढाँचाले पठनपाठन फलदायी नहुने उल्लेख गरे ।   ‘आज विद्यालयले आईसीटी ल्याब पनि उद्घाटन गरेको छ । यसले विद्यार्थीहरुलाई ठूलो फाइदा पुग्दछ । शिक्षालाई प्रविधिसँग जोड्दै सिकेका कुरालाई सीपमा बदल्न यसले ठूलो भूमिका खेल्दछ ।’ प्रदेश प्रमुख भट्टले भने – ‘सरकारी विद्यालयमा पठनपाठन नहुने, पढाइ राम्रो नहुने भन्ने आरोप लागिरहँदा विन्ध्येश्वरी मावि उदाहरणका रुपमा अघि बढेको छ । एसईईमा शतप्रतिशत नतिजाले पनि यो पुष्टि गर्दछ ।’     सरकारले शिक्षा क्षेत्रमा उल्लेख्य बजेट छुट्याइरहेको सन्दर्भमा त्यसको तुलनामा सरकारी विद्यालयबाट प्रतिफल प्राप्त नभएको गुनासो आइरहँदा विन्ध्येश्वरी जस्ता विद्यालयबाट अन्य सरकारी विद्यालयहरुले पनि पाठ सिक्न जरुरी रहेको उनले बताए ।     ‘शिक्षा क्षेत्र सामाजिक परिवर्तनको संवाहक हो । दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालय सही ढंगले अघि बढ्न सकेन भने बालबालिकाहरूको वृत्ति विकासमा बाधा पुग्दछ । समय सुहाउँदो पठनपाठन विधि तथा भौतिक पूर्वाधारको व्यवस्थापन अपरिहार्य छ ।’ उनले भने ।     विद्यालयहरुले विद्यार्थीको आचरण निर्माण, अनुशासन र चरित्र निर्माण जस्ता कुरामा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउँदै उनले हाम्रा सामाजिक मूल्य र मान्यता, रहनसहन र मौलिकता, हाम्रा धार्मिक, सांस्कृतिक धरोहर, हाम्रो माटोको सुगन्धलाई कसरी विद्यार्थीको सिकाइसंग जोड्नेतर्फ शिक्षक र अभिभावकले ध्यान दिनुपर्ने बताए ।      

पोखरा:  ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा आज ६ खेल सम्पन्न भएका छन् ।   बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा आज पहिलो चरण अन्तर्गतकै खेल भएका हुन् ।   पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (बुधबार) भएको पहिलो खेलमा बिबिसी काठमाडौंको अनुपस्थितिमा ताकामी काठमाडौंले वाक ओभरमार्फत विजयी बन्यो ।   यस्तै दोस्रो खेलमा चितवन भेट्रान्स र सुनाखरी भेट्रान्स ललितपुर बीच भएको खेलमा चितवनका एक खेलाडीको निर्धारित उमेर कम (४० वर्ष मुनीका) खेलाडी खेलाएका प्रोटेस्टको आधारमा ललितपुर विजयी बन्यो ।   तेस्रो खेलमा गार्डेन एफसी पोखराले एनजेजेभिसी सिमरालाई २–० गोल अन्तरले पराजित गर्याे । यस्तै चौंथो खेलमा चियापप ठमेलको अनुपस्थितिमा ब्रदर्शहुड काठमाडौं वाकओभरमार्फत विजयी बन्यो ।   पाँचौ खेलमा फ्रिडम फाइटरले र कुपण्डोललाई २–० गोल अन्तरले हराउँदै फाइटर दोस्रो चरणमा प्रवेश गर्याे ।   आज भएको झम्सीखेल र गण्डकी स्पोर्टस् क्लबबीच भएको अन्तिम खेल –१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि पेनाल्टी सुटाउटमा झम्सीखेल विजयी बन्यो ।   भोलि पनि पहिलो चरणकै खेलहरुहुने बगर भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।   शुक्रबारबाट मात्र ५० वर्ष माथी उमेर समूहतर्फको खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।   प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।    यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।     

पोखरा:   ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित बगर भाइखलकको आयोजनामा १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।   पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (मंगलबार) देखि १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो ।   उद्घाटन खेलमा संगम भेट्रान्स विजयी बन्यो । लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै संगम दोस्रो चरणमा  प्रवेश गर्याे । संगमको जीतमा दिलिप कुमार गुरुङले निर्णायक गोल गरे । उनै दिलिप म्यान अफ द म्याच घोषित भए ।   यस्तै अर्काे खेलमा आयोजक भाइखलकले विष्णु पादुका हेमजालाई ३–० गोल अन्तरले हरायो ।      भाइखलकको जीतमा नरेश केसी र शशी राईले समान १÷१ गोलको योगादन दिए भने, १ गोल हेमजाका गोलरक्षक राजु श्रेष्ठले आत्मघाती गोल गरेका थिए । उक्त खेलबाट बगर भाइखलकका नरेश केसी म्यान अफ द म्याच बने । भोलि (बुधबार) पनि पहिलो चरणकै खेलहरु हुने भाइखलका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।    उनका अनुसार प्रतियोगिताको तिन वटा विधामा (४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूह) कुल ३९ टिमको सहभागिता रहेको छ ।    यसअघि उक्त प्रतियोगिताको उद्घाटन पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी मधुकर सिंह कार्कीले गरे ।      सो अवसरमा बोल्दै उनले खेलकुदले सबै उमेर समूहलाई एउटै सुत्रमा बाँध्ने धारणा राखे ।   उनले खेलकुदको माध्यमबाट चौतर्फी विकास हुने बताउदै बगर भाइखलको प्रतियोगिताले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए । उपाधि राशी २ लाख   बगर भाइखलकका महासचिव मनकाजी गुरुङले ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए ।   सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।    यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।     प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।    १३ औं संस्करणको प्रतियोगितामा ४० वर्ष उमेरसमूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो ।   

पोखरा:  पेशागत महासंघ नेपालसँग आबद्ध नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कास्कीको १३ औैं जिल्ला अधिवेशनबाट रामचन्द्र पहारी सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।   अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष रामचन्द्र पहारीको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे । संगठनको खुला उपाध्यक्ष हरिप्रसाद रेग्मी, महिला उपाध्यक्ष ऐश्वर्य आचार्य पोखरेल, सचिव शिवप्रसाद पौडेल, सहसचिव नेत्रनारायण सुवेदी र कोषाध्यक्ष केशव ढुंगाना चयन भए ।   यस्तै कार्यसमिति सदस्य खुलातर्फ बुद्धिप्रसाद अधिकारी, सूर्यप्रसाद पोखरेल, गगन भुषाल र राजेन्द्र लामिछाने चुनिए  ।   महिलातर्फ सरस्वती सापकोटा, नानु दाहाल सिग्देल, वसुन्धरा दवाडी र अस्मिता शर्मा छानिए ।     श्रेष्णी विहीनबाट कार्यसमितिको सदस्यमा माधव बराल सर्वसम्मत बने ।   जनजातिबाट रविचन्द्र श्रेष्ठ, युवाबाट विवश बास्तोला, प्रदेशबाट सन्तोष अधिकारी र स्थानीय तहबाट दमयन्ती पराजुली निर्विरोध भएका छन् । लेखा परीक्षण संयोजक मेघबहादुर बस्नेत, सदस्यमा विष्णु अधिकारी र यामप्रसाद पंगेनी सर्वसम्मत भए । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा कमलबहादुर केसी, राजेन्द्रप्रसाद आचार्य, माधवप्रसाद पौडेल, कमलप्रसाद पनेरु, महिला प्रतिनिधिमा विष्णुदेवी पोखरेल र सहकारी प्रतिनिधिमा तिलकप्रसाद आचार्य चयन भए ।   प्रदेश प्रतिनिधिमा प्रविण भण्डारी, विष्णु पोखरेल पौडेल, जीवनकुमार तिवारी, गणेशबहादुर कार्की, विष्णुदेवी पोखरेल, नरेन्द्र रेग्मी, बेलकुमारी गुरुङ, महिला प्रतिनिधिमा सुशीला पोखरेल र सहकारी प्रतिनिधिमा गणेश कार्की निर्विरोध भएका छन् ।

पोखरा:  पोखरा–१३ माछापोखरी फुटबल मैदानमा लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ  ।  पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको उद्याटन खेलमा ट्रिकर एफसी काहुँखोलाले जितेको छ । नेपाल मुस्लिम युथ समितिको सी टिमलाई ६–० गोलअन्तरले पराजित गदैँ ट्रिकरले खेल जितेको हो । यस्तै आजै भएको दोस्रो खेलमा एलसी ब्रदर्श लामाचौरले मिक्की एफसी रामबजारलाई २–१ को अन्तरमा जित निकाल्यो । प्रतियोगिता अन्तरगत सोमबार सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।  

पोखरा:    पोखरा महानगरपालिका वडा नं १२ मा नि:शुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १२ वडा कार्यालयको सहयोगममा कार्यक्रम गरेको हो । कार्यक्रमबाट शनिवार ५८ जना लाभान्वित भएका छन् ।  एक सातासम्म वडा कार्यालयको सिफारिसमा संघको कार्यालयमा सम्पर्कमा आउनेलाई सेवा प्रदान गरिने छ । कार्यक्रमक उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले हरेक नागरिक आफ्नो स्वास्थ्य बारे सचेत हुनुपर्ने बताए ।  उनले काम गर्नका लागि दृढ इच्छा शक्ति आवश्यक भएको उल्लेख गरे ।     नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गर्दै संघ अघि बढ्न चाहेको उल्लेख गरे ।  उनले वडा अध्यक्ष बास्तोलाले नागरिकप्रतिको स्वास्थ्यमा गम्भिरता देखाएका कारण नै पोखरा १२ मा कार्यक्रमका गरिएको जानकारी दिए ।  नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ का वडा सदस्य शान्ति कोइराला, नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र स्त्री रोग विशेषज्ञ डा कालिका भण्डारी लगायतले बोलेका थिए । 

पोखरा:    व्याण्डहरुको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ ।  पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल ७ वटा व्याण्डहरुले प्रस्तुती दिने गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव तथा सो कार्यक्रमका संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि-मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)को प्रस्तुती रहनेछ ।   व्याण्डहरुको राजधानी पोखराको विरासत फर्काउनेगरी कार्यक्रम गर्न लागिएको आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । कुनैबेला पोखरा व्याण्डहरुको राजधानी थियो ।  ९० को दशकमा पोखराका व्याण्डहरुले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,उनले भने,‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान बिस्तारै सुस्ताउँदै गयो । तर फेरी एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यहि विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौं ।’ उनले संगीतमार्फत विश्वको ध्यान फेरी एकपटक पोखरामा तान्न कार्यक्रम कोशेढुंगा सावित हुने उनको विश्वास छ ।   सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए ।  पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो,उनले भने,‘कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुव्र्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नुपनि कार्यक्रमको उद्देश्य हो ।’   कार्यक्रममा सहभागिले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने संघका निवर्तमान अध्यक्ष सुनिल थापाले बताए । उनले भने,‘जसले परिवारसँगको माया थप प्रगाढ बनाउन तथा आफ्नो सन्ततीलाई त्यो समयबारे भन्ने अवसर सिर्जना गर्नेछ ।’   कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन भएर तयारी शुरु भइसकेको कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरभोटेनीस्थित चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवम् ६३ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।      कार्यक्रमको एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्नुभयो ।      कार्यक्रममा वडा अध्यक्ष अधिकारीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई नैतिकवान बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।      विद्यालयका आवश्यक भौतिक पूर्वाधारका लागि वडाका तर्फबाट सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले सबैको साथ र सहयोगमा यस क्षेत्रको समग्र विकास गर्न सकिने बताउनुभयो ।      भरतपोखरी आँफैंमा धेरै सम्भावना बोकेको क्षेत्र भएको बताउँदै उहाँले यहाँ हुने हरेका विकास निर्माण योजनालाई सफल बनाउनका लागि सबैले आ आफ्ना तर्फबाट सहयोग गर्नुपर्ने धारणा राख्नुुभयो ।      विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले धेरै आरोह अवरोह पार गर्दै विद्यालयले यस क्षेत्रको शैक्षिक जागरणमा विशिष्ट भूमिका खेलेको बताउनुभयो ।      शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई नैतिकवान बनाउने गरी विद्यालय परिवार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।      शिक्षासेवी एवम् अक्षयकोषदाता पिताम्बर पौडेलले स्थापनाकालदेखि बर्तमानसम्म यहाँका स्थानीय समाजसेवी, बुद्धिजीविको अथक प्रयासकै कारण विद्यालय यस अवस्थासम्म आइपुुगेको बताउनुुभयो ।      विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले विद्यालयको समग्र आर्थिक, शैक्षिक एवम् भौतिक प्रगति र भावी योजनाबारे जानकारी गराउनुुभयो ।      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर क्षेत्रीले सबैको साथ र सहयोगमा विद्यालयको सर्वाङ्गिण विकास गर्न सकिने बताउँदै सबैको सहयोगको अपेक्षा गर्नुुभयो ।      अध्यक्ष क्षेत्रीको सभापतित्व एवम् शिक्षकद्वय कमलप्रसाद पौडेल र सन्तोष लामिछानेले सञ्चालन गर्नुुभएको कार्यक्रममा पूर्व शिक्षिका सरस्वती खत्री, अक्षयकोष दाताहरूको सम्मान सँगै कक्षागत रुपमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।      कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार चेतबहादुर महत, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कमलप्रसाद पौडेल, नेकपा एमाले पोखरा महानगपालिका वडा नं ३३ का अध्यक्ष टुकराज भण्डारी, विद्यालयकी छात्रा लक्ष्मी केसी,  लगायतले बोल्नुुभएको थियो । उक्त अवसरमा अभिभावक खेलसँगै विद्यार्थीहरूले भजन, गीत, नृत्य लगायतका विभिन्न प्रस्तुती देखाएका थिए ।