पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिन सम्म आइपुग्दा दर्शकको भीड बढ्दै गएको आयोजक युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार महोत्सव समापन तिर आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको भीड बढ्दै गएको हो । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार बढ्दै गएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन समिति संयोजक जयराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार महोत्सवमा विशेष गरी घरायसी सामाग्री, कृषि र जाडो यामका लत्ता कपडा किन्नेको भीड लागेको छ । महोत्सवमा शुक्रबार चर्चित दोहोरी गायक श्याम राना मगरको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । श्याम राना संगै शुक्रबार महोत्सवमा प्रजापति पराजुली, चोलेन्द्र पौडेल, सरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगरको लोक दोहोरी प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए । त्यसैगरी हाँस्य ब्यंग्य तर्फ पुर्खे बाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाईभ कन्सर्ट तर्फ रक हेड्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको छ । बेसलाइन, अमरसिंह माबि, ज्ञानगंगा र पोखरा युनाईटेड एकेडेमी बिचको प्रतिस्पर्धामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको हो । महोत्सवको दशौं दिन लोकदोहोरी तर्फ शान्तारानी परियार, प्रजापति पराजुली, चालेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरी ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सनाका अनुसार सांझको लाइभ कन्सर्टमा युवाहरु माझ चर्चित भीटेनको प्रस्तुती रहने छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्ष बिनु थापामगर सर्वसम्मत चयन भएका छन् । पोखरामा आज (शुक्रबार) सम्पन्न भएको (फोनिज) कास्कीको सातौं जिल्ला अधिवेशनले थापामगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । फोनिज कास्कीको उपाध्यक्षमा शुसील श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्रास्ना मानन्धर, कोषाध्यक्षमा बस बहादुर शेर्पा चयन भए । सदस्यहरुमा सोनु राना, हुम गुरुङ, अर्चना श्रेष्ठ चयन भए । बाँकी सदस्य पहिलो बैठकले मनोनित गर्नेछ ।
पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं –१५ द्वारा आयोजित वडास्तरीय चार दिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो । यो तेस्रो खेल महोत्सव हो । वडावासीहरूको व्यापक सहभागिताका बीच महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदले सम्पूर्णलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताए । अन्य विषयहरूमा मतभेद रहेपनि, फरक विचार रहेपनि खेलकुदले एकै नियममा बाँध्ने भन्दै मेयर आचार्यले खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । पोखराका वडाहरूमध्येमा खेलकुद क्षेत्रमा १५ नम्वर वडाले गरेको नेतृत्व प्रशंसनीय रहेको बताउँदै मेयर आचार्यले सबै उमेर समूहका वडाबासीलाई खेलकुद मार्फत् एकै ठाउँमा ल्याई नमूना कार्य गरेकोमा वडाअध्यक्ष तोरण बहादुर बानियाँ र खेल संयोजक एवं वडा सदस्य आशिष भण्डारीलाई धन्यवाद दिए। पोखरा वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुद स्थलको अभावले आफूले यस्ता कार्यक्रमहरू गर्न नसकेपनि वडा नं. १५ सँग सहकार्यमा अघि बढ्न सक्ने बताउँदै आफूले हरतरहले साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आयोजक वडाका अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद महोत्सवले यहाँस्थित आमा समूह, टोल विकास संस्था र युवा क्लबहरू बीचमा आपसी सहयोग, चिनजान तथा भाइचाराको विकास गरेकाले यसलाई निरन्तरता दिइएको बताए । वडाका नागरिक स्वस्थ भए घरको वातावरण स्वस्थ हुने र स्वस्थ नागरिकले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने बताए। बानियाँले विकास सँगसँगै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको आवश्यकता पर्छ भन्ने उद्देश्यले यस महोत्सवलाई निरन्तरता दिइएको र योगामार्फत् वडाबासीलाई स्वस्थ बनाउन टोल टोलमा योग प्रशिक्षक उत्पादन र कक्षा सञ्चालनमा लागिपरेको बताए । यस्तै, वडा सदस्य तथा महोत्सव संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रम महोत्सवले वडावासी नागरिकमा सामाजिक सद्भावका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले स्वास्थ्य सँगसँगै खेलकुद कार्यक्रमले खेलाडीहरू उत्पादन गर्ने र यहाँबाट उत्पादन भएका खेलाडीहरू महानगर, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुगुन् भन्ने आफूहरूको लक्ष्य रहेको बताए। वडा कार्यालयदेखि खेलस्थल वन विज्ञान क्याम्पसको चौरसम्म नेपाल प्रहरीको ब्याण्डबाजासहित वडा स्थित आमा समूह, विद्यार्थी, युवाहरूले र्याली निकालेका थिए । र्यालीमा जनजागृति महिला समूह र नेपाल भारत मैत्री विद्यालय उत्कृष्ट बन्दै पुरस्कृत भए । समारोहमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा बन विज्ञान क्याम्पसका प्रमुख विनोद हेजु, आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी, हिमालयन लाइफ नेपालका अध्यक्ष बुद्धिबल रम्तेल, राइट फर चिल्ड्रेनका परियोजना प्रबन्धक सन्तोष गुरूङले पनि बोलेका थिए । वडा अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव संयोजक आशिष भण्डारीले स्वागत र वडा सचिव युवराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए । पहिलो दिन फुटबल, भलिबल र ब्याडमिन्टनका खेल खेलकुद महोत्सवको पहिलो दिन फुटबल, भलिबल र ब्याडमिन्टनका खेलहरु सुरु भएका छन् । पुरुष फुटवल तर्फ तल्लो सिमलबोट टोल विकास संस्था र गलेश्वर युवा क्लब बीचको खेलमा गलेश्वर युवा क्लब ४ –० ले बिजयी भएको छ । तल्लो नयाँ गाउँ र अलकापुर टोल विकास संस्था बीचको खेलमा अलकापुर १–० ले विजयी बन्यो । विद्यालय फुटबलमा भ्यू प्वाइन्ट सेकेण्डरी र वेलनन एकेडेमी बीचको खेलमा वेलनन १ –० ले बिजयी बन्यो भने सिद्ध मावि र एस ओ एस हर्मन माइनर विद्यालय बीचको खेलमा एसओएस १–० ले बिजयी बन्यो । पुरुष भलिबलतर्फ गरिमा टोल र तल्लो नयाँ गाउँ तर्फको खेलमा तल्लो नयाँ गाउँ विजयी बन्दा आदर्श टोल विकास संस्थाले सुनगाभा टोल विकास संस्थालाई हरायो । चन्द्र सूर्य क्लब र स्यानी मजुवा टोल विकास संस्था बीचको खेलमा चन्द्र सूर्य क्लब विजयी बन्यो भने अलकापुर टोल विकास संस्था र गलेश्वर युवा क्लब बीचको खेलमा गलेश्वर युवा क्लबले जीत हाँसिल गर्न सफल भयो । महिला भलिबलतर्फ जनजागृति महिला समूह र अलकापुर महिला समूह बीचको खेलमा जनजागृति महिला समूह विजयी बन्यो । ब्याडमिन्टन महिला डबल तर्फ बेलबोट आमा समूह र जागृती आमा समूह बीचको खेलमा बेलबोट आमा समूह विजयी, एकता र अलकापुर आमा समूहबीच एकता आमा समूह विजयी र सिद्धेश्वर मातृ शक्ति समूह र ठूली मजुवा आमा समूह बीचको खेलमा ठूली मजुवा विजयी भयो । ब्याडमिन्टन महिला सिङ्गलमा मितेरी आमा समूह र एकता महिला समूह बीचको खेलमा मितेरी आमा समूह, स्यानीपाटन र संगम टोल महिला समूह बीचको खेलमा स्यानीपाटन महिला समूह विजयी भयो, आदर्श आमा समूह र लक्ष्मी टोल आमा समूह बीचको खेलमा आदर्श आमा समूह विजयी भयो ।
पोखरा: कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे सक्रान्ती मेलामा भएको ठेलो प्रतियोगितामा निरज गुरुङले उपाधि जितेका छन् । यो उपाधिसँगै उनी २०६५ सालयता ८ पटक विजयी बनिसकेका छन् । बुधबार सम्पन्न प्रतियोगितामा स्याङ्जा टकसारका निरजले विजेता बन्दै नगद ४५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै बागलुुङ निसिखोलाका बालकुमार विरही दोस्रो भए । उनले ४० हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता दुवैलाई सम्मान गर्दै गाउँ परिक्रमा गराइएको थियो । सिक्लेस युवा क्लबले आफ्नो ३० औं वार्षिकोत्सव तथा सिक्लेस माघे सक्रान्ति मेला २०८१ को आयोजना समेत गरेको छ । यस्तै मेलाको मुख्य आकर्षकको रुपमा खुल्ला पुरुष भलिबल र खुल्ला पुरुष बास्केटबल प्रतियोगिता समेत सञ्चालन भइरहेको छ । उक्त प्रतियोगिताको विजेताले समान एक–एक लाख रुपैयाँ पाउनेछन् । उपविजेता हुने टिमले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । खुल्ला महिला भलिबल प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने गुरुङ भाषा नृत्य प्रतियोगिताको विजेतालाई ६० हजार रुपैयाँ प्रदान गरिनेछ । दोस्रो हुनेलाई ४५, तेस्रोलाई ३० हजार रुपैयाँ र उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य निर्देशकलाई समान पाँच–पाँच हजार रुपैयाँसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सिक्लेस पोखरादेखि ४० किलोमिटरको दुरीमा रहेको छ । २०५२ सालमा स्थापित क्लबले निरन्तर रुपमा सञ्चालन गर्दै आएको मेला माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।
पोखरा: विगत ४७ वर्षदेखि छोरेपाटन माविले सञ्चालन गर्दै आएको छोरेपाटनस्थित पातले छाँगोको प्रवेशद्वारमा महानगरपालिकाले तालाबन्दी गरेको छ । पोखरा महानगरले माघ १ गतेदेखि पातले छाँगोको सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको नियन्त्रणमा लिने भन्दै तालाबन्दी गरेको हो । यद्यपी स्थानीयले भने विरोध गरेका छन् । विरोधकै क्रममा उनीहरुले मेयर धनराज आचार्य, प्रवक्ता मोति तिमिल्सिना, पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगी विरुद्ध नाराबाजी पनि गरे । महालेखापरीक्षकको कार्यालयले राजस्व संकलन सम्बन्धि सम्पूर्ण काम महानगरपालिकाले नै गर्नुपर्ने आदेश दिएपछि छाँगो महानगर आफैले सञ्चालन गर्न लागेको बताइएको छ । महानगरपालिकाले विभिन्न संरचना निर्माणसमेत गर्ने गरी निजी कम्पनीलाई भाडामा दिने सम्झौता गरेको हुँदा विद्यालय सञ्चालनको आम्दानी टुट्ने भन्दै स्थानीयले विरोध गरेका थिए । गतवर्षमात्र उक्त छाँगोबाट करिब ४ करोड ४५ लाख ३४ हजार आम्दानी भएको बताइएको छ ।
पोखरा: पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा बुधवार देखि विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । कुल १४ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको पहिलो दिन माघ २ गते बाल कल्याण बोर्डिङ स्कुल, कालिका माध्यामिक विद्यालय, सेन्ट मेरिज स्कुल, अमरसिंह माध्यामिक विद्यालय ‘बी’ बीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञान गंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा रहने छ । माघ ४ गते बेसलाइन ई। बोडिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि ९ए० बीच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते सरस्वती ई। बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी ई। बोर्डिङ स्कुल, विभुति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक स्कुल बीच प्रीतस्पर्धा रहने छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र तृतिय हुनेले नगद २० हजार शिल्ड र प्रमाण पत्र र शान्तवना स्थान हाँसिल गर्ने दुई वटा टिमले जनही नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । पोखरा महोत्सवको छैठौ दिन दर्शकको उल्लेख्य सहभागीत रहेको छ । माघ १ गते छैठौ दिन महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा मंगलबार चर्चित लोक तथा दोहोरी गायिका शान्ती श्री परियार, चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसा क्षेत्री, सन्तोष सुवेदी, निश्चल थापा मगर, पुजा गुरुङ, गंगा पौडेल, आयुषजंग कार्कीको प्रस्तुती संगै गंगा पौडेल र पोखरेली माग्नेबुढा र धुर्मुसको हाँंस्य ब्यङ्ग्य प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा चर्चित ¥यापर लाहुरेको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवको सातौ दिन लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, चारापति सुवेदी, तुलसा क्षेत्री, ज्योती लोहनी, बसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारी र राजेन्द्र गिरी (गुन्द्रुके)को हाँस्यब्यङ्ग्य प्रस्तुती रहने छ । साँझको लाइभ ब्याण्ड तर्फ सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महोत्सव अत्यन्त भव्यताका साथ सफल भएकोमा आमदर्शक र आयोजकलाई धन्यवाद् दिदै महोत्सवमा राखिएको गौतम बुद्धको मुर्तिलाई उपयुक्त दुइ ठाउँ मध्ये एक स्थानमा व्यवस्थित गरिने छ आचर्यको भनाइ रहेको छ । वहाँले यस क्षेत्रमा २१ ओटा विभिन्न परियोजना जस्तै वेगनास तालको वाटर स्पोर्ट, पोखराको प्रवेशद्धारमा रहेको हेलमेटडाडाँ लगायतका विभिन्न परियोजना सफल पार्न निजी क्षेत्रलाई लगानी गर्न सक्रिय सहभागिताका लागि आह्वन गर्दैे पोखरा आफैँमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य गरी पर्यटनको राजधानी को रुपमा विकास गर्न पर्नेमा जोड दिएका थिए । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव २० औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै भव्य र सभ्य दर्शकको साथ मिलेको, उत्पादक र उपभोक्तmा लाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको बताउदै प्राकृतिक सम्पदाको संरक्षणमा जुट्न सवैमा आग्रह गर्दै सम्पूर्ण लेखनाथभित्रका संघ संस्था, व्यवसायीहरु, विभिन्न जात जातिहरु, आमा÷महिला समूहहरू र समग्रमा सम्पुर्ण लेखनाथवासिहरुको एकताका कारण उक्त सफलता सम्भव भएको बताए । कार्यक्रमा प्रेस रजिष्ट्रार गण्डकी प्रदेशकी विमला भण्डारीले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने धारणा राखिन् । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले महोत्सवले लेखनाथ क्षेत्रको पहिचान गरी यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको व्यापार प्रवद्र्धन भएको र आगामी दिनमा अझ पर्यटकी स्थल र ऐतिहासिक स्थलको खोजी गर्न आग्रह गरे । पुस १८ गतेदेखि सञ्चालन भएको २० औँ संस्करणको महोत्सवमा आयोजकले राखेको लक्ष्यभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् भने सोही अनुसारको कारोबार समेत भएको छ । महोत्सव अवधिभर ९ करोड ५० लाख भन्दा बढीको कारोबार भएको र ३ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गरेको प्रचारप्रसार संयोजक जानुका पराजुलीले बताइन् । महोत्सवमा निर्माण गरिएको बुद्धको मुर्ति सहितको नमुना विशेष आकर्षणको केन्द्र बनेको थियो भने मातृशत्तिहरुको सम्मानमा आयोजित पहिलो पटक भएको हाजिरी जवाफ प्रतियोगिता रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा÷महिला समूहहरूको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी, ख्याति प्राप्त हास्य व्यङ्ग्य कलाकारहरुको दैनिक प्रस्तुति, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्ट अन्य आकर्षणको रुपमा रहेका थिए । विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्तोना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई कार्यक्रममा सम्मान गरीएको थियो । महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी राजुले गरेका थिए ।
पोखरा: गण्डकी प्रदेश शारिरिक सुगठन संघ तदर्थ समितिको अध्यक्षमा नविन आले मगर सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश शारीरिक सुगठन संघ तदर्थ समिति भेलाले आलेमगरको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा बिमल बहादुर खॉड (स्याङ्जा), सचिब प्रकाश पौडेल (स्याङ्जा) र कोषाध्यक्षमा नितेश खड्का (कास्की) चयन भए । यस्तै कार्यसमिति सदस्यमा अमृत लम्साल (कास्की), सैलेश रिमाल (तनहुँ), धिरज घर्ती (बाग्लुङ्ग), निरज तिवारी (कास्की), तिलक गर्बुजा (म्याग्दी), दिवा राना (स्याङ्जा) र दुर्गा खोर्जा पुन (पर्वत) चयन भए । तदर्थ समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका अध्यक्ष आलेमगरले गण्डकी प्रदेशमा शारीरिक सुगठन खेलको विकास एवं प्रवर्द्धन संगै आसन्न दशौं राष्ट्रिय खेलकुदमा गण्डकीको तर्फबाट पदक ल्याउने गरी प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा तयारी गर्ने प्रतिवद्धता जनाए ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सव सञ्चालनको १२ औं दिनसम्म आईपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दावी गरेको छ । महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ भने ७ करोड ९५ लाखको कारोबार गर्न सफल भएको छ । महोत्सवको सोमबार मात्रै २५ हजार दर्शकले अवलोकन गरेको र १ करोड बराबरको कारोबार गर्न सफल भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिएकी छन । महोत्सव समापनको अघिल्लो दिन किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएका र महोत्सव सोचे भन्दा बढी सफल रहेको आयोजकको दावी छ । महोत्सवमा पहिलो पटक सम्पन्न भएको महिलाहरुको हाजिरी जवाफ प्रतियोगितामा पोखरा–३० को नारी विकास आमा समुह प्रथम, पोखरा–२६ को सृजना महिला समुह द्धितीय, पोखरा–३० कै गार्डेन सिटी आमा समुह तृतीय र पोखरा–२९ को समाज सुधार आमा समुहले सान्त्वना स्थान हाँसिल गरेको संयोजक प्रभाकुमारी लामिछानेले जानकारी दिइन् । विजयी समुहले क्रमश २५ हजार, २०हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन् । यसैगरि महोत्सवको थप आक्रर्षणको रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा दर्ता भएका ३३ समुह मध्य छनोटमा परेका २२ समुहले महोत्सव स्थलमा प्रस्तुती रहेको रत्यौली गितका संयोजक गंगा मल्लले जानकारी दिएका छन् । सोमबार नै विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगिहरुलाई पुरस्कार वितरण समेत गरिएको छ । सोमबार कलाकारहरु प्रजापति पराजुली, तारापती सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापा, प्रस्तुती रहने र बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानिय ब्याण्ड सुजित एण्ड दि वार्यस व्याण्डको प्रस्तुती रहेको थियो ।