पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले रुपा–३ टाकेञ्जास्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र बिजय बास्तोलाको शालिकमा माल्यार्पण गरेर आईतबारको भेटघाट शुरु गरेको हो । भेटघाटमा स्थानियले यस पटक नेकपालाई नै जिताउने वचन दिए । विगतमा अन्य दलको उम्मेदवारलाई जिताउँदा नेकपालेजस्तो विकास र सुशासन दिन नसकेकाले यस पटक फेरी नेकपालाई जिताउने बताएका थिए । तर नेकपाले पनि जनयुद्दका अजेण्डा छाड्न नहुने बताए । स्थानीय एक आमाले भक्कानिदै भनिन्,‘नेकपाले जित्दाजस्तो विकास र सुशासन अरुले गरेनन्, त्यसैले यस पटक नेकपालाई जिताउँछौं । तर तपाईंहरुले पनि सहिदको सपना र वेपत्ताको योगदान नबिर्सिनूस् ।’ अर्की आमा चिजा भुजेलले जेनजी आन्दोलनको वातावरण बनाउने कांग्रेस र एमाले र जेनजी आन्दोलनको नाममा आगजनी गर्ने बालेन र रविको हातमा सत्ता गए देशले दुःख पाउने बताईन् । उनले भनिन्,‘त्यसैले हामी सचेत भएर नेकपालाई जिताउँछौं ।’ सो अवसरमा उम्मेदवार राजकाजी गुरुङले पार्टी र आफू जनयुद्दको अजेण्डामा कायम रहेको बताए । उनले भने,‘सहिदको सपना र वेपत्ता तथा घाईतेको योगदान कहिल्यै बिर्सिएको छैन र बिर्सने पनि छैन । त्यो सपना पूरा गर्ने भनेको समाजवादले मात्र हो, हामी त्यसकै लागि लडिरहेका छौं ।’
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग प्रतियोगिता शुरु भएको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभाले वाराही र बाल मन्दिरले ग्लोबल कलेजियटलाई पराजित गर्दै बिजयी सुखद शुरुवात गरेका हुन् । प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आयोजक प्रतिभा माविले वाराही माविलाई ३ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ रोजेको वाराहीले निर्धारित १७.१ ओभरमा सबै विकेट गुमाएर १२६ रन बनाएको थियो । वाराहीका लागि अभिषेक अधिकारीले ३७ बलमा ४२ रन, ब्रिजेश भट्टराईले २५ बलमा २० रन र कुशल पौडेलले ८ बलमा १५ रन बनाए । १२७ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको प्रतिभाले १८.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रतिभाको जितमा सहबुदिन अन्सारीले ४० बलमा ४३ रन, मिसन विकले २८ बलमा १४ रन र साहिल खानले १३ बलमा १२ रनको योगदान दिए । प्रतिभालाई दवाबमा राख्ने क्रममा वाराहीका ब्रिजेश भट्टराईले ४ ओभरमा १८ रन खर्चे भने समीर विकले ४ ओभरमा २० रन खर्चेर २ विकेट हत्याए । सो खेलमा बिजयी प्रतिभाका खेलाडी सबुदिन अन्सारी प्लेयर अफ दी म्याच बने । आईतबार नै भएको दोस्रो खेलमा बाल मन्दिर माविले ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको ग्लोबल कलेजियटले कमजोर प्रदर्शन गर्दै १५.१ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्रै बनाउन सक्यो । ग्लोबलका लागि विमोचन सापकोटाले ३४ बलमा ४० रन र अपिल पौडेलले १७ बलमा १८ रन बनाउनुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । ग्लोबललाई सस्तैमा समेट्न बाल मन्दिरका सुमन अधिकारीले ३.१ ओभरमा ९ विकेट दिएर ह्याट्रिक विकेटसहित ५ विकेट लिए । सुवास पठायतले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट हत्याए । ७२ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको बाल मन्दिरले केवल १२.१ ऋोभरमा ४ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । बाल मन्दिरका लागि सुरज अधिकारीले २६ बलमा १९, श्रीनिवास कठायतले २६ बलमा १७ रन र सुवास कठायतले १५ बलमा १६ रनको योगदान दिए । बाल मन्दिरलाई दवाबमा राख्न ग्लोबल कलेजियटका सौगात आचार्यले १ ओभरमा ४ रन खर्चेर २ विकेट तथा आयुष्मान गौतमले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए पनि जितका लागि पर्याप्त भएन । सो खेलमा बिजयी बाल मन्दिरका ह्याट्रिक विकेटसहित ५ विकेट लिएका सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता क्रिकेटको विकास, खेलाडीको प्रतिभा उजागर गर्न तथा क्रिकेटको जग बलियो बनाउने उद्देश्यले गरिएको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । त्यस्तै, विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले शैक्षिक सान बनेको प्रतिभा माविले शिक्षासँगै खेलकुद र पर्यटनको विकासमा योगदान गर्न प्रतियोगिता आयोजना गरेको बताए । प्रमुख अतिथि पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले प्रतिभाले प्रतियोगितामार्फत खेलकुदको क्षेत्रमा योगदान गरेको भन्दै धन्यवाद दिए । प्रतियोगिताको बिजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिए ।
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पोखरा पर्यटन वर्ष २०२५–२६ लाई प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक पोखरा रंगशालामा अस्थायी फ्लडलाइट जडान गरी खेल सञ्चालन गरिने क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । उनका अनुसार पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म चल्नेछ । सो प्रतियोगितामा आहा रारा गोल्डकपका सहभागी टोली नेपाल पुलिस क्लब, चर्च ब्वाइ युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, नेपाल एपिएफ कलब, प्लानिङ ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब, थन्डरवोल्ड नर्थ युनाईटड, सिक्किम (भारत), मछिन्द्र फुटबल क्लब, गोर्खा इन्टरनेसनल फुटबल क्लब, हङकङ, आभा फुटबल क्लब, उज्वेकिस्तान, सहारा क्लब पोखरा, भारतीय अर्को क्लब (नाम तय हुन बाँकी)गरी कुल १२ टोलीको सहभागिता रहने छ । सो प्रतियोगिताको उपाधि राशी नगद रु १४ लाख १ हजार निर्धारण गरिएको क्लबका सदस्य सचिव गंगाराज पौडेलले जानकारी दिए । उनका अनुसार उपविजेता टोलीले नगद रु ७ लाख १ हजारप्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अस्ट्रेलियाको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।
पोखरा: कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ । चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । ‘चिप्ली गाउँमा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको सिद्ध युवा क्लबले आफ्नो ३८ औं वाषिकोत्सवको अवसरमा महाशिवरात्री मेलालाई निरन्तरता दिएको हो, अध्यक्ष गुरुङले भने, ‘ महाशिवरात्री मेलाले पर्यटकीय गाउँ चिप्लीको पर्यटन प्रवद्र्धन,खेलकुद र विकासमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’ उनका अनुसार महाशिवरात्री मेलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता,छेलो, रस्साकस्सी र म्युजिकचियर प्रतियोगिता आयोजना गरिएको छ । वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै रस्साकस्सी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेतालाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र र फेटाले सम्मान गरिने क्लबका अध्यक्ष गुरुङले बताए । कास्कीको उत्तरी भेगमा अवस्थित मादी गाउँपालिका–६ चिप्ली गाउँमा पोखराको काहुँखोला, काभ्रेडाँडा, छाचोक, मेलबोट, थाक, तप्राङ हुँदै चिप्ली गाउँ पुग्न सकिन्छ । पोखराबाट सवारी यात्रामा १ घण्टामा नै चिप्ली गाउँमा पुग्न सकिन्छ ।
पोखरा: पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा क्लबले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष सन्तोष गुरुङले माघ २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ५० बढी टिमको सहभागिता हुने अपेक्षा गरिएको बताए । ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि सञ्चालन गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘अहिले हामी प्रतियोगिताको तयारीलाई तिब्र पारेका छौ ।’ उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८÷८ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए । उनले प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रतिटिम १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको सापकोटाले बताए । बिटी क्लब खेलकुद प्रतियोगितासँगै फुटबल एकेडेमी सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ । बिटी क्लब सामाजिक क्षेत्रमासमेत क्रियाशिल रहदैं आएको छ ।
पोखरा: पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ । तालिमको पहिलो दिन डा.आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गरिन् । उनले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् । तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिनेछन् । अन्तिम दिन बुधबार साइबर अपराध र अनलाइन ठगी सचेतना सम्बन्धमा कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले सहजीकरण गर्नेछन् । तालिको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले तालिममा गरिने लगानीले व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुपर्ने बताए । उनले पर्यटन व्यवसायी महिलाको सवलीकरणका लागि आवश्यकताका आधारमा अन्य शीर्षकमा पनि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डीएसपी नवराज भट्टराईले साइबर अपराध बढिरहेको अवस्थामा यसबाट बच्न अपनाउनुपर्ने उपायकाबारेमा तालिमले स्पष्ट पार्ने अपेक्षा व्यक्त गरे । पोखरा पर्यटन परिषद्का सचिव नारायणप्रसाद सुवेदीले तालिमबाट लाभ लिएर व्यावसायिक जीवनमा उतार्न सहभागीलाई आग्रह गरे । टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले शारीरिक र मानसिक रुपमा स्वस्थ हुँदा मात्रै व्यवसायमा पनि सफल हुन सकिने भएकोले यस्ता तालिम फलदायी हुने बताइन् । टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले तालिमबाट अपेक्षित उपलब्धी हासिल गर्ने बताइन् । ‘क्षमता अभिवृद्धिमा पर्यटन बोर्डले सहयोग गरेको छ अब पर्यटन प्रवद्र्धनमा पनि व्यवसायी महिलाका लागि बजेट छुट्याउन आवश्यक छ,’ उनले भनिन् । संस्थाकी महासचिव शोभा अधिकारी पौडेलद्वारा सञ्चालित कार्यक्रममा संयोजक मीना बरालले तालिमको उद्देश्यबारे बताएकी थिइन् ।
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समारोहमा बोल्दै मेयर आचार्यले पोखरा महोत्सव एक पृथक महोत्सव रहेको बताए । पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव रहेको बताउदै मेयर आचार्यले पोखरा महोत्सवलाई रातो किताबमै राखेर महानगरले अगाडी बढीरहेको बताए । त्यसैगरी महोत्सवकै आयोजना गरी पोखरा २७ मा युनाईटेड क्लबले निर्माण गरिरहेको युनाईटेड छात्राबास निर्माणका लागि महानगरको तर्फबाट साथ र सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । युनाईटेड क्लबले महोत्सवको आयोजना गरि गरिरहेको सामाजिक कामको समेत मेयर आचार्यले प्रशंसा गरे । त्यसैगरी रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महोत्सवको आयोजना गरि पोखरामा खुल्ला चिडियाखाना निर्माण, शिक्षा क्षेत्रमा निर्माणाधिन युनाईटेड छात्राबास संगै स्वास्थ्य क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै महोत्सवमा स्थानिय उत्पादनलाई समेत साथ दिएर आफ्नो पालिकाका कृषकहरुलाई समेत सहभागी गराएकोमा धन्यवाद ब्यक्त गरे । त्यसैगरी महोत्सवका मुख्य प्रायोजक मुख्य प्रायोजक रबि एण्ड शन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटरका निर्देशक श्री बिनोद रौनियारले बिगत ६ वर्षदेखि पोखरा महोत्सव संग सहकार्य गर्न पाउदा गर्व लागेको बताए । बेटरले आगामी दिनमा पनि युनाईटेड क्लबको सामाजिक काममा सहकार्य गरेर अगाडी बढ्ने समेत रौनियारले बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीले युनाईटेड क्लबले गरेको सामाजिक कामलाई आफुले नजिकबाट नियालेको बताउदै युनाईटेड क्लबले निर्माण गरेको युनाईटेड छात्राबासको अपनत्व महानगरले लिनुपर्ने बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बानियाँले महोत्सव एक उत्सव रहेको बताउदै महोत्सवले स्थानिय उत्पादनको प्रवद्र्धनमा टेवा पु¥याउने बताए । महोत्सवकै आयोजना गरि युनाईटेड क्लबले गर्ने विभिन्न सामाजिक काममा आफ्नो वडाको समेत संधै सहयोग रहने उनको भनाइ रहेको थियो । त्यस्तै समाज कल्याण परिषदका उपाध्यक्ष परमेश्वर कार्कीले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले आयोजना गरेको सामाजिक कामको प्रशंसा गरे । त्यस्तै पोखरा महोत्सवको सहयोगी संस्था अमरसिंह माविका प्रध्यानाध्यापक बलराम पोख्रेलले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठमा सहायता पु¥याउने गरी शैक्षिक सामाग्रीहरु वितरण गरिरहेको बताउदै आगामी दिनमा पनि युनाईटेड क्लबलाई साथ र सहयोग रहने बताए । सो अवसरमा वोल्दै महोत्सवका सल्लाहकार टीका बहादुर कार्कीले पोखरा महोत्सव एक उत्सव मात्र नभइ युनाईटेड क्लबको सामाजिक अभियान भएको र उक्त अभियानमा सरिक भइ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे । त्यस्तै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबले स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा विशेष पहलकदमी गर्दै पोखराको लेखनाथमा खुल्ला चिडियाखाना निर्माणको काम अगाडी वढिरहेको बताउदै १४ औं पोखरा महोत्सव देखि पोखरा २७ अर्चलेमा निर्माणाधिन युनाईटेड छात्राबासको निर्माणमा काम गर्ने बताए । त्यसैगरी उक्त छात्राबास जाने बाटो निर्माणका लागि पोखरा २७ र २८ जोड्ने गरी सडक निर्माणका लागि पहल गरिदिन मेयर आचार्य संग आग्रह गरे । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले १४ औं पोखरा महोत्सव भब्य र सभ्य ढंगले सम्पन्न गराउन दर्शकको मुख्य भुमिका रहेको बताए । युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि सामाजिक काममै खर्च गरिने भएकाले महोत्सवमा उपस्थित सम्पूर्ण दर्शकहरुको समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युनाईटेडको सामाजिक काममा साथ रहेको उनको भनाइ रहेको थियो । युनाईटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । यसैविच महोत्सवमा आयोजित टीकटक प्रतियोगिताको उपाधि गोले लामाले हात पारेका छन । आशिष इन्सटीच्युटको प्रायोजनमा सम्पन्न टिकटक प्रतियोगिताको उपाधि संगै लामाले नगद २५ हजार प्राप्त गरेका छन । गोलेले प्राप्त गरेको उक्त रकम क्यान्सर रोगबाट प्रभावित कास्की भुर्जुङखोला निवासी दिलमाया नेपालीलाई प्रदान गरे । नेपाली विगत ५ वर्षदेखि क्यान्सर रोगबाट प्रभावित छन । यसैगरी महोत्सवको मुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बरावरको सामान खरिद गर्ने उपभोक्ता मध्ये प्रथम भाग्यशाली उपभोक्ता पोखरा काजीपोखरीका ग्याल बहादुर गुरुङले १ टनको बेटर एसी, प्राप्त गरेका छन । गुरुङले बेटरको स्टलबाट एक लिटरको राइसकुकर किनेका थिए । त्यसैगरी दोस्रो भाग्यशाली उपभोक्ता पोखरा १६ लामाचौरका आयुष गुरुङले १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर प्राप्त गरेका छन । गुरुङले प्लस थ्री डिजिटल किनेका थिए । त्यसैगरी तेश्रो भाग्यशाली उपभोक्ता पोखराका शिशिर आचार्य घोषित भए उनले बेटर ब्रेथ नाइन्टी ग्लासहुड चिम्नी प्राप्त गरे । चौथो भाग्यशाली उपभोक्ता पोखरा काजीपोखरीका शुसन गुरुङ भए । गुरुङले रेडियान्ट भ्याकुम क्लिनर प्राप्त गरे । पाँचौ भाग्यशाली उपभोक्ता पोखरा १३ का भरत पराजुलीले कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गरे । यसअघि पोखरा महोत्सव युनाईटेड क्लबले जिल्ला खेलकुद बिकास समिति कास्कीलाई नगद १ लाख प्रदान गरेको छ । युनाईटेड क्लबले आयोजना गरेको महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले बताए । महोत्सव आयोजना गर्न गठित विभिन्न उपसमिति, सुरक्षा निकाय, स्वयंसेवकहरुले आफ्नो जिम्मेवारी बहन गरेकै कारण १४ औं पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको उनको भनाइ छ । महोत्सवमा विभिन्न ख्यातिप्राप्त राष्ट्रिय स्तरका कलाकारहरुले दैनिक प्रस्तुती र साँझमा समेत ख्याति प्राप्त कलाकारहरुद्धारा लाइभ कन्सर्टबाट दर्शकहरुले भरपुर मनोरन्जन लिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सनारले जानकारी दिए । १३ दिन सम्म सञ्चालित महोत्सवमा दुईलाख पचास हजार भन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेको महोत्सवमा ९ करोड बढी कारोबार भएको व्यवसायीबाट जानकारी आएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषिजन्य सामाग्री लगायतलाई विशेष ठाँउ दिइएकाले पनि दर्शकहरुले महोत्सवलाई मन पराएका थिए ।
पोखरा: रक्तदाता केवल बजार क्षेत्रमा मात्र सिमित नभई ग्रामीण क्षेत्रमा पनि छन् भन्ने माझठानाको सौर्यमा आयोजित रक्तदान कार्यक्रमले उदाहरण दिएको छ । माझठाना पोखरा सम्पर्क समाज र नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा २८ द्धारा संयुक्तरुपमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेर उदाहरणीय भूमिका निर्वाह गरेका हुन् । ग्रिन डेभलोमेन्ट वैकको सामाजिक उत्तरदायित्व अन्तर्गतको आर्थिक सहयोगमा पोखरा २८ सौर्यस्थित उपशाखाका कार्यालय भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पाँच जना नयाँ रक्तदाता थपिनुका साथै नौ जना महिलाको सहभागिता रहेको थियो । माझठाना पोखरा सम्पर्क समाजका अध्यक्ष सारदा लामिछानेले पहिलो रक्तदाता ग्रिन डेभलोपमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीलाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै समाजको स्थापना दिनवको अवसरमा प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति रमा कोइरालले विभिन्न संघसंस्थाद्धारा आयोजना हुने नियमित रक्तदानले आकस्मिक उपचारमा रहेका विरामीको ज्यान जोगउन सफल भएको बताउनुभयो । कार्यक्रममा समाजकोतर्पmबाट डा.नरेन्द्र लामिछाने र ग्रिन डेभलोपमेण्ट बैकको जिम्मेवारी समाल्दै आउनु भएका हरिवहादुर वुढाथोकीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । समाजका अध्यक्ष सारदा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार दुर्गादत्त भुर्तेल,रत्नशोभा माध्यमिक विद्यालय भुतपूर्व विद्यार्थी एसोसिएसनका अध्यक्ष शुक्रराज शर्मा लगायतले रक्तदानको महत्व र आवश्यकताबारे चर्चा गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुनप्रसाद ज्ञवाली सहितको प्राविधिक टोलीले रक्तदान कार्यक्रममा सहयोग गरेको थियो । नेपाल रेडक्रस सोसाईटी माझठाना उपशाखाका सभापति राजेन्द्र तिवारीले स्वागत र कार्यक्रम संयोजक विनोद तिवारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम समाजका सचिव विष्णुहरि तिवारीले सञ्चालन गर्नुभएको थियो ।
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्नुभयो । कार्यक्रममा अध्यक्ष नेपालले समाजका माध्यमबाट कास्की जिल्ला मात्र नभै समग्र गण्डकी प्रदेशलाई नेतृत्व गर्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो । समाजको महिमा र गरिमालाई उचो बनाउनका लागि लाग्न आग्रह गर्दै उहाँले सुशासनसँगै सभ्य समाज निर्माणमा यसको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.भरतबहादुर खत्रीले मानव जीवनमा निरन्तरको कृयाशिलता आवश्यक हुनेमा जोड दिनुुभयो । समाजमा नैतिकता हराउँदै गएको बताउँदै उहाँले नैतिक शिक्षा अपरिहार्य भएको बताउनुभयो । समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले निजामति सेवासँगै सरकारका सार्वजनिक संस्थान, समिति आदिको प्रतिनिधित्व भएको अधिकृत समाज आँफैंमा बुहुआयामिक रहेको धारणा राख्नुभयो । अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष लोकनाथ दवाडी गर्नुुभएको थियो भने कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी च्याप्टरका महासचिव असफल गौतम, पूर्व कर्मचारी परिषद् गण्डकी प्रदेशका उपाध्यक्ष सूर्यप्रसाद बराल लगायतले समाजका माध्यमबाट जिल्लाको समृद्धि र विकासमा महत्वपूर्ण योगदान गर्न सकिने धारणा राख्नुभएको थियो । कार्यक्रममा समाजका सल्लाहकार देबेन्द्र केसी, सदस्य बसन्त चालिसेले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा समाजद्वारा प्रकाशित पुस्तक ‘अधिकृत आवाज अङ्क ११’ को लोकर्पण गरिएको थियो । पुस्तकका सम्बन्धमा प्रा.डा. राजेन्द्र चापगाइँ(आहात)ले समालोचना गर्नुभएको थियो । उक्त अवसरमा समाजका संस्थापकद्वय तदर्थ समितिका अध्यक्ष शिवप्रसाद पराजुली र पहिलो कार्यसमितिका अध्यक्ष सिडिई कृष्णकान्त सिग्देललाई सम्मान गरिएको थियो भने कार्यसमितिको उत्कृष्ट पदाधिकारी मध्येबाट महेश पौडेललाई सम्मान गरिएको थियो । अधिवेशनले चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, सचिवमा महेश पौडेल, सहसचिवमा वासुदेव पौडेल र कोषाध्यक्षमा शीला बराल सापकोटा निर्वाचित बन्नुभएको छ । त्यस्तै समितिका सदस्यहरूमा अनिलकुमार शाही, सुमित्रा मल्ल (उदास), मैया पराजुुली, बसन्त चालिसे, चन्द्रवती अधिकारी(वाग्ले), अनिल सुवेदी, सन्ध्या पौडेल र अमृत कंडेल रहनुुभएको छ । अधिवेशनका लागि दुुर्गाबहादुर शाह‘बाबा’को संयोजकत्वमा प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, देवेन्द्र केसी र विश्वनाथ पराजुली रहनुुभएको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक दुुर्गाबहादुर शाह(बाबा)ले पद तथा गोपनीयता सपथ ग्रहण गराउनुुभएको थियो ।

