अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रले लय समाउन थालेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् । ” उहाँले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताउनुभयो । अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उहाँले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको हो भन्नुभयो । भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उहाँले त्यसको प्रतिफल आउन ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ ।” ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको उहाँको भनाइ छ । सञ्चारकर्मीको जिज्ञासामा उहाँले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।” आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उहाँले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिनुभयो । फरक प्रसङ्गमा अर्थमन्त्री डा महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिले त्यस्तो केही प्रक्रिया अघि वढेको छैन । हल्लामात्रै हो । यद्यपि हामीले प्रस्तावमा चुरेका भनेका छैनौँ त्यो पनि बुझीराख्नुपर्यो । हाम्रो खनिजजन्य जति पनि उत्पादन हुने सम्भावना छ, यसमा गिट्टी–ढुङ्गा पनि पर्छ ।” यसबाट वातावरणमा नकारात्मक प्रभाव नहुने गरी देशले फाइदा कसरी उठाउन सक्छ भन्ने विषय भएको उहाँले बताउनुभयो । सम्भावनाको अध्ययन गरेर वातावरणलाई क्षति नहुने गरेर यस्तो किसिमको आफ्नो उपभोगका लागि र निर्यात गरेर आम्दानी गर्नका लागि पनि सम्भावना भएको ठाउँमा सम्भावनाको उपभोग गर्नुपर्छ भन्नेमा सरकार रहेको उहाँको भनाइ छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ। सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। न्याय परिषद्को यही मंसिर ५ गते बसेको बैठकमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो। सो बैठकले सदस्यहरुमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाशीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ । प्रवक्ता तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी महाधिवेशनको मिति सार्ने लगायत विषयमा छलफल भइरहेको छ । ‘राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको सन्दर्भमा पार्टीको महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफल हुँदैछ’, उनले भने । एकीकृत समाजवादीको गत ७ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले १४ देखि १८ माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । नयाँ पार्टी गठन भएको दुई वर्षपछि हुन लागेको महाधिवेशन एमालेकै निरन्तरताका रुपमा गर्ने एकीकृत समाजवादीले जनाएको छ । सरकारले राष्ट्रिय सभाको निर्वाचन ११ माघमा गर्ने निर्णय गरेको छ । फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ । एक महिनाअगावै निर्वाचन गर्नुपर्ने व्यवस्थाअन्तर्गत् राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो । त्यसका लागि २३ पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने गरी निर्वाचन आयोगले तालिका जारी गरेको छ ।
महोत्तरीको जलेस्वरमा तीन दिन केन्द्रीय समिति बैठक राखेर राजनीतिक, वैचारिक यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास दौडाहामा निस्किएको छ। सभापति रवि लामिछाने, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहरालगायत प्रवास दौडाहामा छन्। ६ महिनाअघि मलेसियामा मृत्यु भएका जुम्लाका मयलाल परियारले छातीमा आफ्नो अनुहार भएको ट्याटु खोपाएको र त्यो घटनाले आफूलाई पिरोलेको उनले बताएका थिए। त्यही घटनाकै कारण आफूले मलेसियाबाट अभियान थालेको उनको भनाइ थियो। ‘आजभन्दा केही महिनाअघि एक जना श्रमिक, उहाँको पार्थिव शरीर यहीँ कतै भेटियो। उहाँको नाम हो, मयलाल परियो। समाचारबाट थाहा भयो– उहाँको छातिमा मेरो अनुहार भएको ट्याटु खोपिएको रहेछ। मलाई थाहा छैन, उहाँले कुन आशा र अपेक्षाले छातीमा तस्बिरको ट्याटु खोप्नुभयो। त्यो दृश्य देखेपछि मेरो मन, मुटुमा त्यो चित्र खोपिएको छ,’ लामिछानेले भने। उनले आफू टेलिभिजनकर्मी हुँदा पनि वैदेशिक रोजगारीमा दुःख पाएका श्रमिक, मजदुरको समस्या देखाएको र अहिले पनि त्यसैलाई केन्द्रमा राखेर काम गर्ने बताए। सभापति लामिछानेले आफू राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली भएको बताएका छन्। ‘अवसर र रोजगारको लागि विदेश जानुपर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुख–कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नु पर्ने हाम्रो नियति परिवर्तन हुनुको सट्टा बढिरहेको छ। म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् पनि उल्लेख गरेका छन्। िरास्वपा उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले पनि मलेसियाबाट अभियान सुरू भएको र अन्य देशमा पनि विस्तारै कार्यक्रम जोडिँदै जाने बताए। प्रवासी नेपाली सम्पर्क समिति, मलेसियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन दुई दिनअघि त्यहाँ पुगेका सभापति लामिछाने मंगलबार स्वदेश फर्कंदैछन्। उनी बिहीबार कतार जाने कार्यतालिका रहेको अर्यालले बताए। ‘प्रवासमा रहेका नेपालीहरूलाई धन्यवाद दिन जाने कार्यक्रम यसअघि नै तय गरिएको हो। तर सदन, पार्टीको कामले समय मिलिरहेको थिएन। अहिले अनुकूल मिलेर प्रवास समितिहरूलाई वैधानिकता दिने, भेटघाटमा सरिक हुने गरी कार्यक्रम राखिएको हो,’ उनले भने। बिहीबार कतार जान लागेका सभापति लामिछाने त्यहीँबाट बेलायत जाने तयारी रहेको पनि अर्यालले जानकारी दिए। रास्वपाको ३० बढी देशमा प्रवास समिति बनेको पनि उनले बताए। ‘स्वःस्फूर्तरूपमा समिति गठन गर्नुभएको छ। त्यसलाई वैधानिकता पनि दिनुछ,’ अर्यालले भने। केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागको प्रमुख अर्याल आफैं हुन्। केन्द्रमा यसको ११ सदस्यीय समिति छ। प्रवासमा पनि ११ सदस्यीय नै समिति रहने उनले बताए। ‘केन्द्रमा यसको कार्यविधि तयार भएको छ। त्यो पनि पारितको प्रक्रियामै छ। यही कार्यविधिमा टेकेर हामी प्रवासमा संगठन विस्तार गर्छौं,’ उनले भने।
जनता समाजवादी पार्टी (जसपा) नेपालको सुन्दर हरैचा नगर समिति पुनर्गठन भएको छ । गछियास्थित नगर समितिको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट शंकर देवानको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा बलिराम राई, सचिव भोगेन्द्र याम्फु, कोषाध्यक्ष आरती राई सह कोषाध्यक्ष विक्रम याम्फु चयन हुनुभएको छ । पुनर्गठन कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रीय सदस्य कुन्ता राई रहनुभएको थियो । जसपाको कोशी प्रदेशस्तरीय बैठकबाट पार्टीका केन्द्रीय सदस्यहरुलाई नगर र गाउँ समिति पुनर्गठनको जिम्मेवारीमा खटाएको छ ।
निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । सोका लागि आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली प्रकाशन, आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने गरी निर्वाचन कार्यक्रम ल्याउने तयारी गरेको छ । आयोगको परामर्शमा यही मङ्सिर १३ गते नेपाल सरकारबाट निर्वाचनको मिति तोकिएपछि आफूहरू तयारीमा लागेको र आयोगबाट मङ्सिर १४ गते निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता सालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो । स्वीकृत कार्यतालिकाअनुसार यही मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । राजनीतिक दल दर्ता भएपछि आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइनेछ । नेपालको संविधानको धारा ८६ को उपधारा ९३० बमोजिम राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले ९माघ १५ गते सम्म० निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ । निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ । पार्टीले आगामी माघ महिनामा महाधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सो बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उहाँले बताउनुभयो । पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने जनाइएको छ । बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स यूएई गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै हुनुहुन्छ । जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्रभावको एजेन्डा लिएर नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड गएको १३ गते दुबई जानुभएको थियो । हिजो जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान लगभग शून्यमा भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताउनु भएको थियो । जलवायु परिवर्तनबाट हिमनदी सकिँदै गएको र तल्लोतटीय क्षेत्रका अर्बौँ मानिसको जीविकोपार्जनमा नकारात्मक असर परेको भन्दै उहाँले विश्व समुदायलाई ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले बढ्दो तापक्रमले हिमाललाई यातना दिएको भन्दै बचाउन आह्वान गर्दै जलवायु परिवर्तनबाट हुने हानि र क्षतिका लागि स्थापना गरिएका कोष अल्पविकसित र हिमाली देशका लागि सरलीकृत र पर्याप्त हुनुपर्नेमा जोड दिनु भएको थियो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइ राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । पार्टीको महाकाली—मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अमरसिंह थापाजस्ता योद्धाहरूले लडेर बनाएको देशको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डतालाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले हरेक नागरिकले आफूभन्दा पहिला देश सोच्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अमरसिंह गढी नाम राखिएको यो गढी तत्कालीन प्रधानसेनापति उहाँको ७३–७४ वर्षको उमेरमा किल्ला बनाउनुभएको थियो । यो किल्लाले त्यसबेला महत्त्वपूर्ण भूमिका खेलेको थियो । यो किल्ला राम्रा, सुन्दर र सुरक्षित किल्लामध्येको एउटा हो । अमरसिंह थापा एउटा यस्तो योद्धा हो जसको १८१५ को ब्रिटिस इण्डियासँगको नेपालको आत्मरक्षा र न्यायको लडाइ थियो । अमरसिंह थापा प्रधान सेनापति, भीमसेन थापा उहाँका छोरा त्यसबेला पाल्पाको कमाण्डमा थिए र सबैभन्दा बाहिरी किल्लामा अमर सिंहका माहिला छोराका छोरा बुटवल गढीको रक्षा गर्न तैनाथ रहेका थिए । “अङ्ग्रेज सेनालाई लखेटेर खासमा भन्ने हो भने नेपालको विजयी भयो । अमरसिंह थापा महान् देशभक्त, महान् योद्धा, महान् जनरल र वास्तवमा देशका लागि समर्पित र आफू मात्रै नभई पुस्तौँपुस्ता समर्पित हुनुहुन्थ्यो । आफू पछाडि नभई अघि बढेर कमाण्ड गर्नुहुन्थ्यो । सिपाहीभन्दा अघि बढ्नुहुन्थ्यो” उहाँले थप्नुभयो, “अमरसिंह थापा हामी सबैका निम्ति अत्यन्त आदरणीय हुनुहुन्छ । उहाँजस्ता योद्धाले लडेर बचाएको, बनाएको देश आज यसको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डताका लागि उहाँहरू लड्नुभयो, त्यसलाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नु छ ।” अध्यक्ष ओलीले अमरसिंह थापा सबै नेपालीका निम्ति आदरणीय रहेको र सदैव रहनुहुने चर्चा गर्नुभयो । अमरसिंह थापाको सालिकमा माल्यार्पण र फूल अर्पण गरेपछि उहाँले केहीबेर मिडियाकर्मीसँग कुरा गर्नुभएको थियो ।