कैलाली: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यही असोज ८ र ९ गते दुई दिन धनगढीमा बसेको प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले सङ्गठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले आगामी मङ्सिर १० गतेसम्म प्रदेशका नौवटै जिल्लामा पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिनुभयो । त्यस्तै, मङ्सिर ११ गते कैलाली र कञ्चनपुरका सबै वडामा एकसाथ वडा सम्मेलन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । सचिव बुढाका अनुसार बैठकले पहाडी जिल्ला डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा मङ्सिर ११ देखि १७ गतेसम्म वडा सम्मेलन सम्पन्न गरिसक्ने गर्ने गरेको छ । उहाँले भन्नुभयो, “पहिलो चरणमा वडा केन्द्रित कार्यक्रम गर्छौं, दुई महिनाभित्र सदस्यता नवीकरण, वडा सम्मेलन गर्ने काम सम्पन्न गर्छौं, त्यसपछि पालिका सम्मेलनलगायतका काम अगाडि बढ्छन् ।” बैठकमा प्रदेश समिति सदस्यहरुलाई वडामा नेतृत्व गर्नेगरी जिम्मेवारी बाँडफाँट गरिएको पनि उहाँले बताउनुभयो । प्रदेश पदाधिकारी, प्रदेश समिति सदस्य गरी ६३ जनाले पार्टीको योजना केन्द्रित भएर बैठकमा सुझाव पेस गरेको सचिव बुढाले बताउनुभयो । माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा भएको बैठकमा पार्टीका उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिनसम्म सञ्चालन हुने सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् ।सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने अध्यक्ष सिंहले जानकारी दिनुभयो ।
कञ्चनपुर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर कार्य क्षेत्रमा खटाइएको इन्चार्ज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुर टेकेन्द्रप्रसाद भट्ट, कैलाली नेपबहादुर चौधरी, डडेल्धुरा कुन्ती जोशी, डोटीमा त्रिलोचन भट्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी, बैतडीमा नरेन्द्र कुँवर, दार्चुला लक्ष्मणदत्त जोशी, बझाङ मीनबहादुर कुँवर, बाजुरा कर्णबहादुर विश्वकर्मा र अछाम जिल्ला इन्चार्जको जिम्मेवारी शरद्सिंह भण्डारीलाई दिइएको छ । जिम्मेवारी पाएर कार्यक्षेत्रमा खटिएका इन्चार्जले सङ्गठन सुदृढीकरणसँगै विस्तारका लागि कार्य अगाडि बढाउने बताइएको छ । अन्य केन्द्रीय समिति सदस्यलाई प्रदेश, जिल्ला, सदन, विभाग, जनवर्गीय समिति, मोर्चामा जिम्मेवारी दिइने पोखरेलले बताउनुभयो ।
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’मा खटाएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षण गर्नका लागि नेताहरुलाई जिम्मेवारी तोकेको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा उपमहासचिव दीपक कार्की, लुम्बिनी प्रदेशमा उपाध्यक्ष राजकिशोर यादव, गण्डकी प्रदेशमा उपाध्यक्ष शिवलाल थापा मगरलाई खटाइएको छ । यसैगरी बागमती प्रदेशमा सचिव सुनी लामा, मधेस प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्य हरिनारायण यादव तथा कोसी प्रदेशमा सचिव राजकुमार राई र जयराम यादवलाई तोकिएको छ । पार्टीले खटाएका पदाधिकारी तथा कार्यकारिणी सदस्यले आ–आफ्नो प्रदेशमा रहेका केन्द्रीय कार्यकारिणी सदस्यका साथै प्रदेश समितिसँग समन्वय एवं सहकार्य गरी कार्य गर्न भनिएको तथा तोकिएका अभियानकर्मीले अभियानको प्रतिवेदनसमेत तयार पार्नुपर्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो । जसपा नेपालले चार महिने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत आज पाँचथरमा अभियानकर्मी अभिमुखिकरणको आयोजना गर्न लागिएको सो पार्टीले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि जसपा नेपालले काठमाडौँ, जनकपुर, वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा अभियानकर्मीको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको जनाइएको छ ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ । पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो । हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो । महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ । नेताहरुको जिम्मेवारी तथा कार्यविभाजन तोक्न पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने जनाइएको छ । कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने छ । नेताहरूको कार्यविभाजनपछि देशभर सङ्गठन सुदृढीकरणका कार्यक्रम तथा भेला, प्रशिक्षण सञ्चालन गरिने सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
न्युयोर्क: संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज यहाँ भेटवार्ता भएको छ । भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)को प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया सङ्गठन समितिको बैठक श्रव्यदृश्यका माध्यमबाट शुरु भएको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया सङ्गठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट श्रव्यदृश्यका माध्यमबाट जोडिनुभएको छ । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम शृङ्खला हो । योस ँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरु गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य शृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा बृहत् भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ । माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेस प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा युरोप सङ्गठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।
काभ्रेपलाञ्चोक: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई आज सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभयो । “दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भन्नुभयो । उहाँले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।” उहाँले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताउनसभयो । सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताउनुभयो । “अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ । जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ”, सभापति देउवाले भन्नुभयो । सभापति देउवाले कांग्रेसलाई एक नंवरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताउनुभयो । “नंवर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु”, उहाँले भन्नुभयो । हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उहाँको तर्क थियो । “तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्यो नि १ त्यसको निम्ति हामीले धेरै मेहनत गर्यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ”, उहाँले थप्नुभयो । सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्याउनुभयो । उहाँले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बिपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो ठूलो गौरवको विषय हो ।” कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री एवं बिपीपुत्र डा शसाङ्क कोइरालाले बिपी कोइरालालाई पुजेर मात्रै हैन उहाँको आदर्श र पदचाप बुझेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसीजनले बिपीको आदर्श बुझेर पदचाप पछ्याउनुपर्छ, प्रजातन्त्र प्राप्तिपछि धेरै उपलब्धी भएका छन्, यसको रक्षार्थ पनि लाग्नुपर्छ ।” उहाँले शैक्षिक, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा भएका उपलब्धीलाई विकास एवं प्रवर्द्धन गर्न आग्रह गर्नुभयो । पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइरालाको समाजवादको सिद्धान्तअनुसार अस्पतालमा दश प्रतिशत बेड छुट्याउन लगाई गरीब तथा निमुखा वर्गका लागि निःशुल्क उपचारको व्यवस्था मिलाईएको बताउनुभयो । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले बिपी कोइराला कमकालीन राजनीतमा ‘क्रान्तिकारी’ बहुआयामिक नेता भएको उल्लेख गर्दै उहाँले विचार आदर्श कहिल्यै नमर्ने धारणा राख्नुभयो । पार्टीका अर्का केन्दीय सदस्य मधुप्रसाद आचार्यले महामानव बिपीको विचार आज पनि उत्तिकै महत्त्वपूर्ण रहेकाले लोकतत्न्त्र बलियो बनाउन उहाँको आदर्श पछ्याउनुपर्ने बताउनसभयो । यस्तै पार्टीका केन्द्रीय सदस्य गणेश लामाले महासमितिको निर्णयअनुसार अबका निर्वाचनमा पार्टी एक्लै लड्नुपर्ने बताउनुभयो । सो अवसरमा पार्टीको बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र वादे, काभ्रेपलाञ्चोक जिल्ला सभापति तिर्थ लामालगायतले महामानव बिपी कोइरालाको आदर्श विचार तथा योगदानबारे चर्चा गर्नुभएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो ठूला दलले सरकार गठन गर्न नपाउने प्रावधान राखेर संविधान संशोधन हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिद्वारा बडादशैँ, दीपावली, नेपाल सम्वत, छठ पर्वलगायत उपलक्ष्यमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उहाँले बहुमत नभएको अवस्थामा जसले लोकप्रीय मत बढी ल्याउँछ, उसैले सरकार गठन गर्ने व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । महामन्त्री शर्माले भन्नुभयो, “राजनीतिलाई स्थायित्व प्रदान गर्न स्थीर प्रधानमन्त्रीको खोजी जरुरी छ, आफूले दुई पटकभन्दा बढी प्रम बन्न हुन्न भन्दै आए पनि त्यसमा स्वीकार हुन सकेको छैन । स्थीर प्रधानमन्त्री रहनेगरी संविधान संशोधन गर्न आवश्यक छ ।” पार्टी कार्यकर्तामा आएको निराशा चिर्न आवश्यक रहेको बताउँदै उहाँले नेपालमा केही भएको छैन भन्ने नभई, केही भएको छ, केही अझै गर्न बाँकी भनेर बुझाउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलकाबीचमा एक अर्कालाई दोषारोपण गर्नेभन्दा सहयोगी भावना गर्नेतिर ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासमा देखिने गरीनै नीतिगत नेतृत्व नेपाली कांग्रेसले गर्दै आएकाले भविष्यमा पनि त्यो सम्भव छ । माक्र्सवाद र लेनीनवादको विचारले नेपालको हितमा काम गर्न सक्दैन । अहिले राजनीतिमा सड्यन्त्रका तानावाना बुनिन थालेको छ ।” हामी आफैै आफ्नो माटोमा उभिएर सार्वभौम राष्ट्रलाई आफैले नेतृत्व गर्न सक्छौँ भन्ने साहस देखाउन आवश्यक रहेको उहाँको भनाइ छ । कांग्रेस झापा सभापति देउमान थेवेले पार्टीका गतिविधिअघि बढाउन क्रियाशील सदस्य नवीकरणमा सहयोग गर्न आग्रह गर्नुभयो । वरिष्ठ साहित्यकार कृष्ण धरावासीले पार्टी सङ्गठन सुदृढीकरण गर्न र वैचारिकरूपमा अघि बढाउन संस्थापक नेताहरूका विचारलाई अगाल्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रम सम्पर्क समिति अध्यक्ष नवीन जोशीको अध्यक्षतामा भएको थियो । –––