प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताउनुभयो । “देशमा विकास भएको छ, राम्रा काम भएका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देश बनाउने काम एकछिनमा हुने कुरो होइन । देश क्रमशः विकासको गतिमा अघि बढेको छ तर, विरोधीले विकास केही भएको छैन भनेर आलोचना मात्रै गरिरहेका छन् । त्यसैले सकारात्मक भएर सबै राष्ट्र निर्माणमा एकजुट हुनुपर्छ ।” प्रधानमन्त्री ओलीले कसैप्रति कुरा राख्दा सत्यतामा आधारित सभ्य तथा मर्यादित भाषामा राखेको खण्डमा नेपालीको सभ्यता र संस्कृति झल्कने बताउनुभयो । उहाँले भन्नुभयो, “निराश भइहाल्नुपर्ने अवस्था छैन । गालीगलौजको असभ्य प्रस्तुति हैन, सभ्य ढङ्गले जानुपर्छ । गल्ती गर्नेलाई गुनासो गर्न पाइन्छ, तर, मेरो आग्रह के मात्रै हो भने एउटा सिष्ट, सभ्य र मर्यादित भाषामा बोल्ने गरौँ, जुन हामी नेपालीको सभ्यता र संस्कृति हो ।” सरकारले देशको राष्ट्रियतालाई डगमगाउन नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो । “सरकारले यो देशको राष्ट्रियता डगमगाउन दिँदैन, राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै जनअपेक्षाअनुरुप कामलाई तीव्रताका साथ अगाडि बढाउछ”, उहाँले भन्नुभयो । पार्टीको केन्द्रीय कार्यालय निर्माणमा व्यवसायी मीनबहादुर गुरुङको सहयोगको सन्दर्भमा प्रधानमन्त्री ओलीले सहयोग गरेको विषयलाई अनावश्यक नउचाल्न पनि आग्रह गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकमा शुभ दीपावलीको हार्दिक शुभकामना पनि व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तिहार पर्व, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्नुभएको हो । सन्देशमा उल्लेख छ – ‘पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ। तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ ।’ शुभकामना सन्देशमा यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ हुने विश्वास लिँदै सभ्य ढंगले देउसी – भैलो खेल्नुका साथै जुवातास जस्ता नकारात्मक पक्षलाई हटाउनुपर्नेमा उहाँले जोडदिनुभएको छ । तिहार पर्वले सबै नेपालीमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्प हाँसिल गर्न सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त पनि उहाँले गर्नुभएको छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले त्यस्तो आत्मसमीक्षा पार्टीको दस्तावेज, नेता र कार्यकर्ताको तहमा हुनुपर्ने बताउनुभयो । “कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैँभित्र र पार्टीभित्र आत्मसमीक्षा गरौँ । अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौँ”, अध्यक्ष दाहालले भन्नुभयो । क्रान्तिकारीहरूले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताउनुभयो । “म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु”– अध्यक्ष दाहालले भन्नुभयो, “म आदर्शका रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ ।” सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिए पनि हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध नलडी अरुलाई परास्त गर्न नसकिने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले, भन्नुभयो, “हिजो व्यापक कम्युनिष्ट एकता गरेर समावादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं । सँगै मिलेर चुनाव पनि लड्यौँ तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो । अब पहिले आफैँभित्रै वैचारिक स्पष्टताका लागि संघर्ष गरौं । त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौँ ।”
काठमाडौं: सत्तारूढ दल नेपाली कांग्रेसले ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति’ गठन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति गठन गरेको जानकारी दिनुभयो । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) बमोजिम पार्टीका महामन्त्री शर्माको संयोजकत्वमा उक्त समिति गठन गर्नुभएको हो । समितिको सदस्यमा पार्टीका सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव र जीवन परियार साथै प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य रहनुभएको छ । यस्तै, उक्त समितिको सदस्य सचिवमा प्रकाश शर्मा रहनुभएको मुख्यसचिव पौडेलले बताउनुभयो ।
काठमाडौँः नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पु¥याउनुभएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ । नेपाल भाषाका साहित्यकारकारुपमा निरङ्कुश शासनकाविरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण ल्याउन उहाँले पु¥याएको योगदानको चर्चा गरिएको हो । पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा मङ्गलबार काठमाडौँको शङ्खधर उद्यानमा आयोजित छैठौँ स्मृतिसभामा मानवअधिकार, शान्ति, मातृभाषा तथा साहित्यकारकारुपमा योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरियो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुआयामिक व्यक्तित्वका धनी पद्मरत्न साहित्यकार, प्रहसन, हाँस्य व्यङ्ग्यकार तथा जनप्रिय नेताका रुपमा स्थापित रहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अत्यन्तै आदरणीय मित्र पद्मरत्नजी कला, संस्कृति, साहित्य र राजनीति आन्दोलनका क्षेत्रबाट बोलेर वा लेखेर प्रस्तुत गर्नुभएका राम्रा र सही विचार हामी सबै मिलेर अघि बढाउनुपर्छ ।” आन्दोलन र जेलमा मात्र होइन मन्त्री र विभिन्न मोर्चामा रही सहकार्य गरेको घटना सुनाउँदै प्रधानमन्त्री ओलीले आन्दोलनलाई सफलतामा पु¥याउने र विटमार्ने सम्मको यात्राको सहकार्य गरेको नेपाली राजनीतिज्ञ तथा अग्रज व्यक्तिका रुपमा पद्मरत्न रहनुभएको बताउनुभयो । त्यसअवसरमा तुलाधरकी छोरी सुम्निमा तुलाधरले पद्मरत्न आफना पिता मात्र नभइ नेपाली जनताको मुक्तिका निम्ति अग्रसर नेताकारुपमा रहनुभएको स्मरण गर्नुभयो । पद्मरत्न लुमन्ति गुथिका अध्यक्ष डा केशवमान शाक्यले प्रजातन्त्रको पुनःबहालीको जनआन्दोलनमा प्रजातान्त्रिक र वामपन्थी शक्तिलाई एउटै मोर्चामा रहन उहाँले गर्नुभएको योगदानको स्मरण गर्नुभयो । नेपाल भाषाको साहित्य लेखनमा नाटक र प्रहसन विधामा विशिष्ट योगदान पु¥याउनुभएका तुलाधर नेपाल जनजाती महासङ्घका सभापतिसमेत रहनुभयो । दश वर्ष माओवादी सशस्त्र द्वन्दका बखत माओवादीलाई शान्ति वार्तामा ल्याउन सहजकर्ताका भूमिका खेल्नुभएका तुलाधरको २०७५ कात्तिक १८ गते निधन भएको थियो । पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका उहाँको जन्म १९९७ माघ २९ गते काठमाडौँमा भएको हो । त्यस अवसरमा नेपाली साहित्यका धरोहर साहित्यकार कवी दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
ललितपुरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको सालिकमा माल्यार्पण गरेर उहाँको जन्मशताब्दीका कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । अध्यक्ष दाहालले स्वर्गीय नेता कर्मचार्यको सालिकमा गरेसँगै जन्मशताब्दीका कार्यक्रम आरम्भ भएका नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । “कर्माचार्यको जन्म भएको एक सय वर्ष भयो यो वर्षभरि नै कार्यक्रम गरिँदैछ, आज दिउँसो प्रज्ञा प्रतिष्ठानमा जन्मशताब्दी आरम्भका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ शीर्षकमा विचारगोष्ठी हुँदैछ, देशैभरि कार्यक्रम गर्न पार्टीपङ्क्तिलाई निर्देशन दिइएको छ”, कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो । गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेता मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । विसं १९८१ कात्तिक १४ गते भाइटीकाका दिन ललितपुरको झपाटोलमा बुबा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मनुभएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य हुनुहुन्थ्यो । उहाँ २००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो । पार्टी स्थापनापश्चात् कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष बन्नुभएको थियो भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवबहादुर गुरुङ, नेता रामनारायण बिडारीलगायत नेताहरूको उपस्थिति थियो ।
नेकपा (एमाले) पोखरा ७ वडा कमिटीले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा ७ स्थित झपेन्द्र स्मृति पार्कमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले नेपालका मौलिक चाडपर्वले हाम्रो समाजको स्वरुप सृजना गरेको बताउदै यी चाडपर्व कुनै धर्म जाति विषेश नभई सबै नेपालीको साझा पर्व रहेको बताए । जनताको विकास र सुशासनको चाहना पूरा गर्न देशको दुई ठूला दल एक ठाउँमा उभिएको धारणा राखे । पछिल्लो समय पुराना पार्टीलाई भिडमार्फत विस्तापित गर्न सकिन्छ कि भनेर दुस्प्रयास भएको भन्दै राजतिक दल पुरानो नहुने जनताको विश्वासले अनुमोदित हुने बताए । कार्यक्रममा एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी, महानगर अध्यक्ष जीवन आचार्य, नेपाली कांग्रेस पोखरा ७ का सभापति नविन राज बराल, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, समाजसेवी डण्डराज शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पोखरा ७ भित्रका विभिन्न राजनीतिक पार्टीका नेता , सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी लगायतको उपस्थित थियो । नेकपा एमाले पोखरा ७ का अध्यक्ष किशोर बरालको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिव दिपक कार्कीले गरेका थिए ।
चितवन: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताउनुभयो । सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समिकरण बनेको उहाँको भनाइ थियो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।” फरक प्रसङगमा उहाँले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । नेपाली कांग्रेसको नेतृत्वबाट जारी सङ्घीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कामय गर्दै विकासलाई सँगै लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्रान्तिकारी परिवर्तनदेखि राज्यलाई नयाँ ढङ्गबाट अगाडि बढाउन कांग्रेस सक्षम रहेको बताउनुभयो । यसका लागि सबै सङ्गठित भएर अघि बढ्नुपर्ने उहाँको सुझाव थियो । सो अवसरमा नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, महिला विभाग सदस्य कलावती भट्टराईलगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्र र राष्ट्रियताका पक्षमा प्रश्न उठ्नेगरी कुनै सम्झौता नगरिने स्पष्ट गर्नुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्नुभयो । “अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ । अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाड्ने सङ्कल्पका साथ हामी अघि बढ्का छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्र र राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्नेजस्ता घिनलाग्दा काम हामीबाट हुनसक्दैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसअघि नाकाबन्दीको सामना गर्दा सरकारबाट बाहिर पुग्यौँ होला तर कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सत्तामा आउँछौँ भनेका थियौँ र आयौँ पनि । दुई ठूला राजनीतिक दल एमाले र नेपाली कांग्रेससहितको वर्तमान सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।” हतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार गरेर धम्की नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्नुभयो । आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “भाडामा ल्याइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्, सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय छौँ भन्ने । ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनसम्म कुर्नुपर्ला, त्यसपछि परिणाम थाहाहोला ।” लोकतन्त्र भनेको छाडातन्त्र नभएको स्पष्ट गर्दैै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौँ, चुट्छौँ, मार्छौ, काट्छौँ भन्नु छाडातन्त्र हो, प्रजातान्त्रिक शासन व्यवस्थामा त्यस्ता क्रियाकलाप सैह्य हुँदैनन् ।” उहाँले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा जथाभावि प्रस्तुत हुनेहरुलाई उत्तरदायी बनाउने बाटोमा वर्तमान सरकार रहेको उहाँले स्पष्ट गर्नुभयो । सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई कानुनअनुसार सरकारले कार्यान्वयन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको टिप्पणी गर्नुभयो । उहँले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट अवकाशप्राप्त उच्च अधिकृतहरूले राष्ट्रिय सुरक्षा र पूर्व सुरक्षाकर्मीको भूमिकाबारे विचार प्रस्तुत गर्नुभएको थियो ।