काठमाडौं:  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह ग...

पोखरा:    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखराका अरुण गिरीलाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ ।   राप्रपा कार्ययोजनाअनुसार ४० वर्ष मुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।   यस अघि गिरी जिल्ला प्रवत्ताको जिम्मेवारीमा थिए ।   पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरेर २० युवालाई पार्टीको केन्द्रीय सदस्यमा छनोट गरिएको हो ।   जसमा १० जना पुरुष र १० जना महिला छन् ।    

नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेश समितिको परामर्श बैठक आजदेखि सुरु भएको छ ।   केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच श्रव्यदृश्यका माध्यमबाट बैठक सुरु भएको हो ।   दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै प्रवास प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको छ ।   बैठक सुरुआत गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले रुपान्तरण सम्भव भएको र यसको विकल्प नभएको बताउनुभयो ।   “माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन्, संविधानमाथि हमला हुन्छ,” उहाँले भन्नुभयो, “परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।”   अध्यक्ष दाहालले अब सम्पूर्णरूपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताउनुभयो ।   बैठकमा सहभागीका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ ।   पार्टी केन्द्रीय समिति बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।   माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।   अब केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ ।   केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ ।

कैलाली:     उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसद्का दुई ठूला दलको गठबन्धन बनेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यसअघि बनेका सरकार पटकपटक परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलेर सरकार बनाउनुपरेको धारणा राख्नुभयो ।  “पटकपटक सरकार परिवर्तन हुँदा विकास निर्माण, शान्ति सुरक्षादेखि आर्थिक गतिविधिमा समेत समस्या देखियो, जसले जनतामा निराशा थप्न भूमिका खेल्यो ।  त्यसैकारण हामीले सात बुँदे समझदारीसहित वर्तमान सरकार बनेका हौँ । सोहीअनुसार सरकारले काम गरिरहेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।  उहाँले वर्तमान सरकारले भूकम्प, कोरोना महामारीलगायत कारणले शिथिल बनेको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ काम अगाडि बढाएको धारणा राख्नुभयो ।  सङ्घीयताको मर्म र जनचाहनाअनुसार राष्ट्रिय हित, संविधानको प्रभावकारी कार्यान्वयन, विकासका काममा गतिदिने गरी काम गर्न आफूहरू प्रतिबद्ध भएर लागेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।   सहकारी बचत रकम दुरुपयोगका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सहरी विकासमन्त्री सिंहले संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले काम अगाडि बढाउने स्पष्ट पार्नुभयो ।  “हिजो मात्रै समितिले प्रतिवेदन बुझाएको छ । सरकारले गर्नुपर्ने कामका विषयमा सिफारिस र सुझाव आएका छन्, त्यसको अध्ययन गरेर थप कारबाही अगाडि बढाउन सरकार प्रतिबद्ध छ । आमबचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउँछौँ”, उहाँले भन्नुभयो । 

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ ।      बुधवारसम्म भल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गर्नुभयो । पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामिछानेले दुईतिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान गर्नुभयो ।  उहाँले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्नुहुँदै पार्टी नेता कार्यकर्तालाई पनि  जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गर्नुभयो । “हामी र हाम्रो पार्टीमाथि निरन्तर प्रहार भइरहने छ ।   यस्ता आक्रमण तथा प्रहार सामना गर्न तयार रहौँ । रास्वपा जित्न र हार्नका लागि नभइ परिवर्तन र प्रेरणाका लागि राजनीतिमा होमिएको हो । हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो अरुले लडाउन सक्ने छैन”, सभापति लामिछानेको भनाइ थियो ।       उहाँले इलाममा सङ्गठन र रणनीति बनाउन नसक्दा आफूहरू हारेको स्वीकार्दै आगामी २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।   सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका सम्बन्धमा सभापति लामिछानेले आफूलाई लाञ्छाम लाउनेहरूले प्रमाण दिन नसकेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो मात्रै प्रतिवेदन संसदमा पेश भएको छ । थाहा भयो प्रमाण भनेको कस्तो हुन्छ भन्ने कुरा, अब सहकारीको कुरा त सकियो । विषय सहकारीबाट गोखा मिडियातिर जान्छ ।”       उहाँले सरकारमा जान हुँदैन थियो भन्ने कुरा आफूले अहिले आएर महसुस गरेको सुनाउनुभयो ।       राष्ट्रिय भेलाको पहिलो दिन आज कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस तथा छलफल र भोलि सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुनेछ । भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ ।       भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन् । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिने जनाइएको छ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।       भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुने छ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ ।       भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो । 

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को राष्ट्रिय भेला सुरु हुँदैछ । आज र भोलि काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् ।       राष्ट्रिय भेलाको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ । उद्घाटन अघि प्रज्ञाभवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ ।  आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ ।  आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।        भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छभने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।  सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ ।       भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ ।  राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पङ्क्तिलाई आग्रह गरेको छ । पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरुले विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको छ ।      स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको  बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।      उक्त भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गर्नुभयो ।      सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

झापा:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनुभएको छ ।  माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताउनुभयो । “नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन”, अध्यक्ष दाहालले भन्नुभयो ।  उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राख्नुभयो ।  कार्यक्रममा पुराना कम्युनिष्ट नेता झापा बिर्तामोडका लोकबन्धु कन्दङवासहित विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका जनाइएको छ । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुनुहुन्छ ।  कार्यक्रममा पार्टी अध्यक्ष दाहालसहित उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो । 

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढेको दाबी गर्नुभएको छ ।       पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले माओवादी जनताको बीचमा थप स्थापित हुँदै गएको र आकर्षण बढेको बताउनुभयो ।       माओवादी केन्द्रको विषयमा चिन्ता नगर्न र सङ्ख्या नतोक्न आग्रह गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता पुनले आगामी दिनमा आफूहरु थप सबल र सक्षम बन्ने विश्वस व्यक्त गर्नुभयो । नेपाली जनतालाई मूर्ख नठान्न र नहेप्न सबैप्रति उहाँले सचेत गराउनुभयो ।       आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लोकतन्त्रको सर्भिसिङ र रि–ब्राण्डिङ गर्न सुरु गरेको, सुशासनका पक्षमा प्रभावकारी कदम चालेको नेता पुनको कथन थियो ।       भ्रष्टाचार, राज्य दोहनविरुद्ध पूर्ववर्ती सरकारले प्रभावकारी कदम चालेको र त्यसलाई नेपाली जनताले आत्मसात् गरेको नेता पुनको भनाइ छ । कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

काठमाडौं:   प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभएको छ ।  नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा भएको ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयको राष्ट्रिय कार्यशालाको आज यहाँ उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा केही तत्व  लागेका टिप्पणी गर्नुभयो । “अहिले परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी छ । परिवर्तनका विरोधी शक्ति संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधियानकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरु उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन ।”, प्रधानमन्त्रीले भन्नुभयो, “जानी नजानी एक खालका मानिसबाट नकारात्मक माहौल खडा गर्ने कोसिस भइरहेको छ । सत्यतथ्यको बाटो नभइ झुठ, भ्रम, षड्यन्त्रको सहारा लिएका छन् । उनीहरुलाई काम र मेहनत गर्नुपर्दैन । भएको राम्रो कामको उल्टो प्रचार गरे पुग्छ ।” आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आग्रह गर्दै उहाँले नेकपा ९माओवादी केन्द्र० को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गर्नुभयो । अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनालाई गतिशील बनाउँदै समस्याको खोजी र निदान हुने बताउनुभयो । त्यस अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीका उपमहासचिव विष्णु रिमाल, जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाललगायत नेता सहभागी हुनुहुुन्छ ।