काठमाडौं:  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह ग...

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ ।    सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।           बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन र प्रस्तावित नियमावली र कार्यविधिका सम्बन्धमा छलफल हुनेछ ।   त्यसैगरी आजको बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुतगरी र आवश्यक छलफल गरिनेछ ।    साथै राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अद्यावधिक गराउनुहुनेछ ।       “बैठकमा राष्ट्रिय भेलाको प्रस्तावित कार्यतालिकामा पनि छलफल, हालसम्मको तयारीबारे सबै उपसमितिद्वारा प्रस्तुत विषयमा पनि छलफल हुनेछ”, उहाँले भन्नुभयो ।   बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे समेत छलफल हुनेछ जनाइएको छ । 

काठमाडौं:    नेकपा (एमाले) ले वार्षिक कार्ययोजना पारित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पोलिटब्युरो बैठकले दिएको सुझावका आधारमा कार्ययोजना पारित गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।       उहाँका अनुसार कार्ययोजनामा विभिन्न १८ वटा विषय समेटिएको छ । पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण, नियमित अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने विषय कार्ययोजनामा समेटिएको छ ।  सबै तहको अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गरिसक्ने गरी योजना बनाइएको उहाँले बताउनुभयो ।       पार्टी प्रवेश गरेका र विभिन्न कमिटीबाट बिदा भएकालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कुरा कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनका लागि विधि बनाइएको छ । पार्टी एकता कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरालाई आधार बनाएर कार्ययोजना बनाइएको महासचिव पोखरेलले बताउनुभयो ।      पार्टी स्कुल अभियानको रुपमा सञ्चालन गर्ने र प्रत्येक वर्ष पार्टीका सदस्यले अनिवार्य रुपमा कुनै न कुनै तहको पार्टीको स्कुलमा सहभागि भई प्रशिक्षित हुनुपर्ने विषय कार्ययोजनामा उल्लेख गरिएको छ । कार्ययोजनामा सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र पार्टी कार्यालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने जोड दिइएको छ ।  पार्टी कार्यालय व्यवस्थित बनाइने       पार्टीले केन्द्रदेखि वडासम्म कार्यालयलाई व्यवस्थित गर्ने उल्लेख गरेको छ । कार्ययोजनामा हरेक कमिटीले आफ्नो बजेट तयार गर्नुपर्ने र वार्षिक बजेट बनाएर आम्दानी र खर्चको व्यवस्थापन गर्नुपर्ने रहेको महासचिव पोखरेलले बताउनुभयो ।  पार्टीका नेता तथा कार्यकताको जीवनशैली, आर्थिक अनुशासन र चारित्रिक प्रश्नमा जनताका लागि प्रिय र स्वीकार्य हुने स्थिति बनाउने कुरा कार्ययोजनामा समेटिएको उहाँले बताउनुभयो ।       बैठकले पार्टी स्थापना ७५ वर्ष पूरा गरेको अवसरमा बाँकी रहेका विषयलाई वार्षिक कार्ययोजनामा समेटिएको छ । पार्टीको इतिहास, आन्दोलनका विभिन्न घटनाको अभिलेख लेख्ने र पुस्तक पार्टीको ‘सेल्टर’ प्रकाशन गर्नेजस्ता कुरा कार्ययोजनामा समेटिएका छन् ।  युथ समिट गर्ने       एमालेले ४० वर्षभन्दा मुनिका युवालाई समेट्नका लागि ‘युथ समिट’ आयोजना गर्ने भएको छ । युवाको राष्ट्र निर्माण भूमिका स्थापना गर्ने उद्देश्यले समिट आयोजना गर्ने कुरा कार्ययोजनामा राखिएको महासचिव पोखरेलले बताउनुभयो ।      पार्टीले भारत कम्युनिष्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरीको निधनप्रति दुःख व्यक्त गरेको छ । बैठकले यचुरीको अन्तिम संस्कारमा सामेल हुनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जानुहुने निर्णय गरेको छ ।  महासचिव पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनता जागृत भएको मूल्याङ्कन भएको बताउनुभयो । उहाँले सत्तामा रहेका दलबीचको सहकार्यलाई अझ धनिष्ट बनाउने हिसाबले संसद् र सरकारलाई अझ प्रभावकारी काम गर्ने बताउनुभयो ।

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।   ६०औँ बालदिवसका सन्दर्भमा आज नक्सालस्थित बालमन्दिरमा आयोजित बालगीत प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुरुङले राजनीतिमा पछिल्लो समय इमान्दार र सेवा भाव कम हुँदै गएकाले शुद्धीकरण अत्यन्त जरुरी रहेको धारणा राख्नुभयो ।  अस्थिर राजनीतिका कारण जनतामा उदसिनता र युवामा विद्वेष भाव देखापरेकाले स्थायित्वका लागि राजनीतिक शुद्धीकरण जरुरी रहेको बताउनुभयो ।      सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने भन्दै मन्त्री गुरुङले राजनीतिलाई सही दिशामा ल्याउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।      रेडियो नेपाल र बाल सङ्गठनको सहकार्यमा बालगीत प्रतियोगिता–२०८१ आयोजना गरिएको छ । कार्यक्रममा मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गर्ने सार्वजनिक सेवा प्रसारण ऐन पास भएपछि रेडियो नेपाल थप व्यवस्थित र बलियो बन्नुका साथै सेवा विस्तार हुँदै जाने जानकारी दिनुभयो ।      रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनले लामो समयदेखि प्रत्येक वर्ष बालगीत प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।  बालबालिकाको जीवनमा प्रेरणा प्रदान गर्ने र जीवनमा उत्प्रेरित गर्नेगरी अभिभावकले भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले बालअधिकारका लागि भइरहेको लगानी अझै बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।       नायब कार्यकारी निर्देशक खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनको सहकार्यमा भइरहेका यस्ता कार्यक्रमले बालबालिको भविष्य उजागर गर्न थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।       नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बालबालिकासँग गरिने ससाना कुराहरुले पनि ठूलो महत्व राख्ने हुँदा बालबालिकाका भावना बुझेर उनीहरुको जीवन सार्थक बनाउनेगरी गतिविधि गर्नुपर्ने बताउनुभयो । बालगीत प्रतियोगितामा १८ वटा समूहमा बालबालिकाले भाग लिएका छन् ।    

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्नुभएको छ ।      प्रधानमन्त्री निवास बालुुवाटारमा आज बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो ।

काठमाडौं:    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमा परिवर्तनका सम्बाहक भएको बताउनुभएको छ ।      चन्द्रागिरी नगरपालिका–१४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले त्यस्ता बुवाआमालाई सधै समाजले सम्झिरहने बताउनुभयो ।  सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई बामपन्थी रुझानबाट अघि बढाउँदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीतिक, सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले २०४५ सालदेखि बिरामी अवस्थामा रहेका बुवाको सम्मानपूर्वक स्याहारसुसार गर्ने परिवार पनि उत्तिकै उदाहरणीय भएको बताउनुभयो ।      धेरै कठिनाइका बीचबाट पनि दुलालले सामाजिक क्षेत्र, बामपन्थी झुकाव हुँदै कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्दै अध्यक्ष प्रचण्डले यस्ता विशिष्ठ व्यक्तित्वहरु सधै समाजको अग्रस्थानमा रहने बताउनुभयो ।      जुत्ता सिलाउने पेशा अङ्गालेका बुद्धरामले समाज रुपान्तरणमा गरेको योगदानले सचेत श्रमजीवी वर्गको यथार्थ प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उहाँले यसबाट सचेत श्रमजीवी वर्ग नै सामाजिक रुपान्तरणका अगुवा हुन सक्छन् भन्ने थप पुष्टि भएको पनि बताउनुभयो ।      नेपाली समाजको रुपान्तरणका लागि बुद्धरामजस्ता थुप्रै अगुवाले गरेको योगदानका कारण अहिले मुलुकमा समानतायुक्त राजनीतिक व्यवस्था स्थापना भएको चर्चा गर्दै उहाँले प्राप्त उपलब्धिको उपभोग, रक्षा र विकासमा पनि उत्पीडित समुदायले बढी नै ध्यान दिनुपर्ने बताउनुभयो ।      दिवङ्गत बुद्धरामको जीवनीबारे उहाँका जेठा छोरा एवं नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य शङ्कर दुलालले जानकारी दिनुभएको थियो । उहाँले पञ्चायतकालमै बाम अन्दोलनको समर्थनमा लाग्नुभएका बुवाकै प्रेरणाका कारण आफ्नो परिवारले राजनीतिक तथा सामाजिक आन्दोलनमा लाग्ने अवसर प्राप्त भएको बताउनुभयो ।      कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटालगायतका नेता कार्यकर्ताको उपस्थिति थियो । 

काठमाडौं:   नेपाली कांग्रेसले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको विषयमा उठेका प्रश्नबारे संसदीय दलको बैठकबाट निर्णय लिने निष्कर्ष निकालेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आज बसेको शीर्ष नेताहरुको बैठकले उपसभामुखको विषयमा सत्तासाझेदार दलहरुसँग छलफल र परामर्श गरी आवश्यक निर्णय लिइने कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राससलाई जानकारी दिनुभयो ।  “पार्टीका शीर्ष नेताहरुको अनौपचारिक बैठकमा मुलुकको समसामयिक राजनीतिबारे छलफल भयो । उपसभामुखको विषयमा संसदीय दलको बैठक राखी निर्णय गर्ने र सरकारमा आवद्ध दलहरुसँग पनि समन्वय गरेर अगाडि बढ्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।  मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरुले राजिनामा गरेर मार्ग प्रसस्त गर्न उपसभामुख रानालाई सुझाव दिनुभएको थियो । सोही विषयबारे पार्टीको धारणा बनाउन कांग्रेसले अनौपचारिक छलफल गरेको हो 

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले पार्टीको ‘एजेण्डा’ र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण बढेको बताउनुभयो । “पहिचानका पक्षमा लड्ने पार्टीका रूपमा माओवादी केन्द्र स्थापित भएको छ, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरि फेरि एकपटक माओवादी केन्द्रप्रति आकर्षणको बढेको छ”, उहाँले भन्नुभयो ।  राजनीतिक हिसाबले अहिले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको र आफ्नो पार्टी सरकारमा जाँदा हरेकपटक नयाँ–नयाँ काम गरेकाले अन्य पार्टीभन्दा माओवादी केन्द्र नै अब्बल रहेको उहाँले बताउनुभयो । “जनयुद्ध र जनआन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माण, संविधानमार्फत सङ्घीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्थालगायत सबै  एजेण्डा माओवादीले नै अघि सारेका हुन्”, अध्यक्ष दाहालले भन्नुभयो, “हामीले जतिपटक सरकारको नेतृत्व गरेका छौँ, नयाँ–नयाँ काम गरेका छौँ ।” जनतासँग जोडिएको पूर्वाधार निर्माणका हिसाबले पनि मध्यपहाडी लोकमार्गको थालनीदेखि लोडसेडिङमुक्त नेपाल, गाउँगाउँमा सूचना तथा सञ्चारको विकास हुँदै पछिल्लो समय सुशासन र सामाजिक न्यायका पक्षमा काम गरेको  उहाँले बताउनुभयो ।  भ्रष्टाचारका फाइल खोलेर कारबाही प्रक्रिया थाल्नेदेखि मधेसलगायत देशैभरिको ठूलो समस्याका रूपमा रहेको मिटरब्याज (अनुचित लेनदेन)को समस्या समाधान र लाखौँ नागरिकताविहीन युवालाई नागरिकताका लागि कानुनी व्यवस्थालगायत काम गरिएको उहाँले बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।  कार्यक्रममा जसपाबाट श्यामबाबु यादव, कांग्रेसका विनयकुमार यादव, मोहित मण्डल, सञ्जीव यादव, जयराम यादव, बालबोध महतो, वीरेन्द्र मण्डल, विजय मण्डल, मनोज मण्डल, नवलकिशोर यादव, रामधविला यादव, लालबाबु यादव, नरेश चौधरी, कारी यादव, जयनारायण यादव, एमालेका श्यामसुन्दर चौधरी, मिथले साह, दीपेन्द्रकुमार चौधरी, वसन्त चौधरी, रामदेव महरा, दीपक सादा, परमजीत सादा, राजेश यादव, घुरण मुखिया, विजय पटेल, विजय शर्मा, उमेश मण्डललगायत माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।   दिवङ्गत यादवको स्मृतिमा आज महोत्तरीमा भएको श्रद्धाञ्जलीसभामा उहाँले यस्तो आग्रह गर्नुभएको हो । वडाध्यक्ष यादवको शव यही भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा फेलापरेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उहाँको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् ।  वडाध्यक्ष यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरु केही दिनअघि राजधानीसम्म आएका थिए ।  अध्यक्ष दाहालले यादवको निधन दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि त्यसका लागि आग्रह गरिने जानकारी दिँदै त्यसमा लापर्वाही नगर्न अनुरोध गर्नुभयो । यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उहाँले स्थानीयले निरन्तर आवाज उठाइरहनुपर्ने बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।  माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडाध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेसको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यादवको स्मृतिमा प्रतिष्ठान गठन गर्न र उहाँका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताउनुभयो । उहाँले श्रीमान्को निधनको सत्यतथ्य पत्ता लागे आफूहरुलाई न्याय हुने उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अध्यक्ष दाहालसँग अनुरोध गर्नुभयो ।  स्वर्गीय यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा माओवादी केन्द्रका अन्य पदाधिकारी, प्रदेशमा कार्यरत केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र स्थानीयको उपस्थिति थियो ।

कास्की:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदिप गुरुङ निर्वाचित भएका छन् ।  यही भदौ २३ गतेदेखि पोखरामा सुरु भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान सार्वजनिक मतपरिणामअनुसार गुरुङ एक सय ३७ मतसहित विजयी भएका हुन् ।  उनका प्रत्याशी रामकृष्ण भट्टले ७१ मत ल्याए । खुला उपाध्यक्षमा बसन्त भट्टचन (कास्की), सरोजवल्लभ भट्टराई (गोरखा), अशोक मरहठ्ठा (गोरखा) विजयी भए । यसैगरी समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा (बागलुङ) र महिला उपाध्यक्षमा सीता बराल(तनहुँ) निर्विरोध भए ।  प्रमुख सचिवमा सुजन बाँस्तोला (कास्की) तथा सचिवमा खुलातर्फ प्रदीप ढकाल (गोरखा), विशद उपाध्याय(नवलपुर) र सन्दिप महतो(नवलपुर) निर्वाचित भए।  महिला सचिवमा जुना गुरुङ (लमजुङ), समावेशीमा दुर्गा विक (लमजुङ) र कोषाध्यक्षमा अनिल सुनार(बागलुङ) निर्विरोध भएको निर्वाचन समितिका संयोजक अधिवक्ता निर्मला क्रान्तिले जानकारी दिईन् । क्रान्तिकारीको प्रदेश समिति ७५ सदस्सीय रहेको छ ।   सम्मेलनले ६५ सदस्य निर्वाचित गरेको र बाँकी १० जना मनोनित गरिने निर्वतमान अध्यक्ष सुदिन पौडेलले जानकारी दिए । निर्वाचन समिति सदस्यमा विपीन आचार्य र अमरदिप पराजुली रहेका थिए ।