काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो। पार्टीको हितविरुद्ध गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उहाँलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो । अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उहाँले जवाफमा सभापति रवि लामिछानेलाई दोषि करार गरिछाड्ने र आफू यस कदमबाट पछि नहट्ने बताउनु भएको थियो । यसअघि पार्टी अनुशासन आयोगले ढकालले पार्टीलाई हानी पुर्याएको निष्कर्ष निकालेको थियो ।
कास्की: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताउनुभएको छ । कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज समापनमा अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । “हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलब्धीको रक्षा अन्यबाट सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनःसङ्घर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ ।” बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले पार्टीलाई एकतावद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिनुभयो । “अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो”, उहाँले भन्नुभयो । सो बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरण लगायत अन्य सुधार गरिनुपर्ने क्षेत्रका सन्दर्भमा ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ एमाले बाग्मती प्रदेशका इन्चार्ज डा राजन भट्टराई, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौँ महानगरपालिकाका उपप्रमुुख सुनिता डङ्गोल, पूूर्वप्रमुुख विद्यासुन्दर शाक्यसहितको प्रतिनिधि मण्डलले मेलम्ची खानेपानी आयोजनाको सहज आपूर्ति नभएको अवस्थामा काठमाडाैं क्षेत्र नं ३ स्थित सुन्दरीजलको नागमती ड्याम परियोजनाको बाँकी कामलाई तत्काल अगाडि बढाउन र उपत्यकाको विभिन्न भागमा पुन:भरणको योजना अगाडि बढाउन माग गरेको छ । यस्तै यहाँका नदीहरूको सौन्दर्यीकरण र फोहरमैलाको दीर्घकालीन समाधान गर्न पनि माग गरिएको छ । प्रतिनिधि मण्डलले काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वाेच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि आग्रह समेत गरेको छ । उक्त उत्प्रेषणको आदेशका आधारमा गत साउन २४ गतेको महानगरपालिकाका प्रमुुखस्तरीय निर्णयबाट नक्सा अनुमति रोक्काको सूूचना प्रकाशन गरिएको जनाइएको छ । सो अवसरमा एमालेका अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले जनजीवनमा समस्या सम्बोधनका लागि सरकारका तर्फबाट गर्नुपर्ने पहल गर्ने जनाउँदै कुनै पनि निकाय र व्यक्तिले व्यावहारिकतालाई ध्यान नदिई निर्णय गर्न नहुने बताउनुुभएको थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ । यसैगरी, सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो । महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्यायोजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ । बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरु, सचिवहरु र कार्यालय सचिव सहभागी रहेका सो पार्टीले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मनोनीत ती सदस्यलाई शपथ गराउनुभएको हो । मङ्गलबारसम्म बस्ने बैठकमा पदाधिकारीको टुङ्गो लगाउन पूर्ण बैठक बसेको हो । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारीलाई पूर्णता दिन लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय सदस्य छन् । पोलिटब्यूरो कमिटी र स्थायी समितिसमेत निर्माण गर्ने बैठकले केही नेताहरुको जिम्मेवारी हेरफेर गर्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गरिने छ । पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ । बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्नेछ । पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।
पोखरा: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आजदेखि पोखरामा सुरु भएको छ । यही भदौ १० गतेसम्म सञ्चालन हुने उक्त बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी रहेका पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, दीननाथ शर्मालगायत पार्टीका पदाधिकारीको उपस्थिति रहेको छ । गत साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बीचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार गण्डकीको बैठक बसेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल हुनेछ ।
पोखरा: नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । शनिबार पोखरामा फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको वार्षिक साधारण सभा एवम् १२ औँ अधिवेशनको उद्घाटन गर्दै उनले व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा भने गर्न नहुनेमा सचेत गराए । ‘व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ, अस्वस्थ प्रतिष्पर्धा गर्नुहुँदैन’ उनले भने । स्वदेशी उत्पादनको उपयोगमा जोड दिएका उनले त्यसको प्रयोग गर्नको लागि ऐन नियमावली मार्फत परेका समस्या फुकाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाए । ‘हाम्रो उत्पादन हामी उपयोग गरौँ र हामीले वन ऐन नियमावली संशोधन गर्नुपर्ने विषयहरूलाई राम्रोसँग तपाइहरूले प्रष्ट पार्नुहोस्’ उनले आग्रह गरे । धराशायी हुँदै गरेको व्यवसायको क्षेत्रमा नयाँ सरकारको गठन पश्चात सुधारका केही सङ्केत देखिन थालेको उनको दावी थियो । नेप्सेमा भएको वृद्धि त्यसको एउटा उदाहरण भएको बताएका उनले निष्कृय पैसालाई सक्रिय बनाउनुपर्ने बताए । फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर बनाउनको लागि उनले व्यवसायीसँग आग्रह गरे ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आआफ्ना विचार व्यक्त गरिरहनुभएको छ । बैठक आज सम्पन्न हुनेछ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मङ्गलबारसम्म बस्ने जनाइएको छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय रहेकामा दुई सय ५१ केन्द्रीय सदस्यको सपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई सपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरुको जिम्मेवारी हेरफेर गरिनेछ । केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिनुभयो । पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ । बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्ने छ । पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।