प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।   चितवनको इच्...

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।   ६०औँ बालदिवसका सन्दर्भमा आज नक्सालस्थित बालमन्दिरमा आयोजित बालगीत प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुरुङले राजनीतिमा पछिल्लो समय इमान्दार र सेवा भाव कम हुँदै गएकाले शुद्धीकरण अत्यन्त जरुरी रहेको धारणा राख्नुभयो ।  अस्थिर राजनीतिका कारण जनतामा उदसिनता र युवामा विद्वेष भाव देखापरेकाले स्थायित्वका लागि राजनीतिक शुद्धीकरण जरुरी रहेको बताउनुभयो ।      सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने भन्दै मन्त्री गुरुङले राजनीतिलाई सही दिशामा ल्याउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।      रेडियो नेपाल र बाल सङ्गठनको सहकार्यमा बालगीत प्रतियोगिता–२०८१ आयोजना गरिएको छ । कार्यक्रममा मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गर्ने सार्वजनिक सेवा प्रसारण ऐन पास भएपछि रेडियो नेपाल थप व्यवस्थित र बलियो बन्नुका साथै सेवा विस्तार हुँदै जाने जानकारी दिनुभयो ।      रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनले लामो समयदेखि प्रत्येक वर्ष बालगीत प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।  बालबालिकाको जीवनमा प्रेरणा प्रदान गर्ने र जीवनमा उत्प्रेरित गर्नेगरी अभिभावकले भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले बालअधिकारका लागि भइरहेको लगानी अझै बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।       नायब कार्यकारी निर्देशक खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनको सहकार्यमा भइरहेका यस्ता कार्यक्रमले बालबालिको भविष्य उजागर गर्न थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।       नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बालबालिकासँग गरिने ससाना कुराहरुले पनि ठूलो महत्व राख्ने हुँदा बालबालिकाका भावना बुझेर उनीहरुको जीवन सार्थक बनाउनेगरी गतिविधि गर्नुपर्ने बताउनुभयो । बालगीत प्रतियोगितामा १८ वटा समूहमा बालबालिकाले भाग लिएका छन् ।    

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्नुभएको छ ।      प्रधानमन्त्री निवास बालुुवाटारमा आज बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो ।

काठमाडौं:    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमा परिवर्तनका सम्बाहक भएको बताउनुभएको छ ।      चन्द्रागिरी नगरपालिका–१४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले त्यस्ता बुवाआमालाई सधै समाजले सम्झिरहने बताउनुभयो ।  सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई बामपन्थी रुझानबाट अघि बढाउँदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीतिक, सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले २०४५ सालदेखि बिरामी अवस्थामा रहेका बुवाको सम्मानपूर्वक स्याहारसुसार गर्ने परिवार पनि उत्तिकै उदाहरणीय भएको बताउनुभयो ।      धेरै कठिनाइका बीचबाट पनि दुलालले सामाजिक क्षेत्र, बामपन्थी झुकाव हुँदै कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्दै अध्यक्ष प्रचण्डले यस्ता विशिष्ठ व्यक्तित्वहरु सधै समाजको अग्रस्थानमा रहने बताउनुभयो ।      जुत्ता सिलाउने पेशा अङ्गालेका बुद्धरामले समाज रुपान्तरणमा गरेको योगदानले सचेत श्रमजीवी वर्गको यथार्थ प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उहाँले यसबाट सचेत श्रमजीवी वर्ग नै सामाजिक रुपान्तरणका अगुवा हुन सक्छन् भन्ने थप पुष्टि भएको पनि बताउनुभयो ।      नेपाली समाजको रुपान्तरणका लागि बुद्धरामजस्ता थुप्रै अगुवाले गरेको योगदानका कारण अहिले मुलुकमा समानतायुक्त राजनीतिक व्यवस्था स्थापना भएको चर्चा गर्दै उहाँले प्राप्त उपलब्धिको उपभोग, रक्षा र विकासमा पनि उत्पीडित समुदायले बढी नै ध्यान दिनुपर्ने बताउनुभयो ।      दिवङ्गत बुद्धरामको जीवनीबारे उहाँका जेठा छोरा एवं नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य शङ्कर दुलालले जानकारी दिनुभएको थियो । उहाँले पञ्चायतकालमै बाम अन्दोलनको समर्थनमा लाग्नुभएका बुवाकै प्रेरणाका कारण आफ्नो परिवारले राजनीतिक तथा सामाजिक आन्दोलनमा लाग्ने अवसर प्राप्त भएको बताउनुभयो ।      कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटालगायतका नेता कार्यकर्ताको उपस्थिति थियो । 

काठमाडौं:   नेपाली कांग्रेसले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको विषयमा उठेका प्रश्नबारे संसदीय दलको बैठकबाट निर्णय लिने निष्कर्ष निकालेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आज बसेको शीर्ष नेताहरुको बैठकले उपसभामुखको विषयमा सत्तासाझेदार दलहरुसँग छलफल र परामर्श गरी आवश्यक निर्णय लिइने कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राससलाई जानकारी दिनुभयो ।  “पार्टीका शीर्ष नेताहरुको अनौपचारिक बैठकमा मुलुकको समसामयिक राजनीतिबारे छलफल भयो । उपसभामुखको विषयमा संसदीय दलको बैठक राखी निर्णय गर्ने र सरकारमा आवद्ध दलहरुसँग पनि समन्वय गरेर अगाडि बढ्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।  मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरुले राजिनामा गरेर मार्ग प्रसस्त गर्न उपसभामुख रानालाई सुझाव दिनुभएको थियो । सोही विषयबारे पार्टीको धारणा बनाउन कांग्रेसले अनौपचारिक छलफल गरेको हो 

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले पार्टीको ‘एजेण्डा’ र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण बढेको बताउनुभयो । “पहिचानका पक्षमा लड्ने पार्टीका रूपमा माओवादी केन्द्र स्थापित भएको छ, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरि फेरि एकपटक माओवादी केन्द्रप्रति आकर्षणको बढेको छ”, उहाँले भन्नुभयो ।  राजनीतिक हिसाबले अहिले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको र आफ्नो पार्टी सरकारमा जाँदा हरेकपटक नयाँ–नयाँ काम गरेकाले अन्य पार्टीभन्दा माओवादी केन्द्र नै अब्बल रहेको उहाँले बताउनुभयो । “जनयुद्ध र जनआन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माण, संविधानमार्फत सङ्घीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्थालगायत सबै  एजेण्डा माओवादीले नै अघि सारेका हुन्”, अध्यक्ष दाहालले भन्नुभयो, “हामीले जतिपटक सरकारको नेतृत्व गरेका छौँ, नयाँ–नयाँ काम गरेका छौँ ।” जनतासँग जोडिएको पूर्वाधार निर्माणका हिसाबले पनि मध्यपहाडी लोकमार्गको थालनीदेखि लोडसेडिङमुक्त नेपाल, गाउँगाउँमा सूचना तथा सञ्चारको विकास हुँदै पछिल्लो समय सुशासन र सामाजिक न्यायका पक्षमा काम गरेको  उहाँले बताउनुभयो ।  भ्रष्टाचारका फाइल खोलेर कारबाही प्रक्रिया थाल्नेदेखि मधेसलगायत देशैभरिको ठूलो समस्याका रूपमा रहेको मिटरब्याज (अनुचित लेनदेन)को समस्या समाधान र लाखौँ नागरिकताविहीन युवालाई नागरिकताका लागि कानुनी व्यवस्थालगायत काम गरिएको उहाँले बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।  कार्यक्रममा जसपाबाट श्यामबाबु यादव, कांग्रेसका विनयकुमार यादव, मोहित मण्डल, सञ्जीव यादव, जयराम यादव, बालबोध महतो, वीरेन्द्र मण्डल, विजय मण्डल, मनोज मण्डल, नवलकिशोर यादव, रामधविला यादव, लालबाबु यादव, नरेश चौधरी, कारी यादव, जयनारायण यादव, एमालेका श्यामसुन्दर चौधरी, मिथले साह, दीपेन्द्रकुमार चौधरी, वसन्त चौधरी, रामदेव महरा, दीपक सादा, परमजीत सादा, राजेश यादव, घुरण मुखिया, विजय पटेल, विजय शर्मा, उमेश मण्डललगायत माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।   दिवङ्गत यादवको स्मृतिमा आज महोत्तरीमा भएको श्रद्धाञ्जलीसभामा उहाँले यस्तो आग्रह गर्नुभएको हो । वडाध्यक्ष यादवको शव यही भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा फेलापरेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उहाँको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् ।  वडाध्यक्ष यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरु केही दिनअघि राजधानीसम्म आएका थिए ।  अध्यक्ष दाहालले यादवको निधन दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि त्यसका लागि आग्रह गरिने जानकारी दिँदै त्यसमा लापर्वाही नगर्न अनुरोध गर्नुभयो । यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उहाँले स्थानीयले निरन्तर आवाज उठाइरहनुपर्ने बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।  माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडाध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेसको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यादवको स्मृतिमा प्रतिष्ठान गठन गर्न र उहाँका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताउनुभयो । उहाँले श्रीमान्को निधनको सत्यतथ्य पत्ता लागे आफूहरुलाई न्याय हुने उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अध्यक्ष दाहालसँग अनुरोध गर्नुभयो ।  स्वर्गीय यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा माओवादी केन्द्रका अन्य पदाधिकारी, प्रदेशमा कार्यरत केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र स्थानीयको उपस्थिति थियो ।

कास्की:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदिप गुरुङ निर्वाचित भएका छन् ।  यही भदौ २३ गतेदेखि पोखरामा सुरु भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान सार्वजनिक मतपरिणामअनुसार गुरुङ एक सय ३७ मतसहित विजयी भएका हुन् ।  उनका प्रत्याशी रामकृष्ण भट्टले ७१ मत ल्याए । खुला उपाध्यक्षमा बसन्त भट्टचन (कास्की), सरोजवल्लभ भट्टराई (गोरखा), अशोक मरहठ्ठा (गोरखा) विजयी भए । यसैगरी समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा (बागलुङ) र महिला उपाध्यक्षमा सीता बराल(तनहुँ) निर्विरोध भए ।  प्रमुख सचिवमा सुजन बाँस्तोला (कास्की) तथा सचिवमा खुलातर्फ प्रदीप ढकाल (गोरखा), विशद उपाध्याय(नवलपुर) र सन्दिप महतो(नवलपुर) निर्वाचित भए।  महिला सचिवमा जुना गुरुङ (लमजुङ), समावेशीमा दुर्गा विक (लमजुङ) र कोषाध्यक्षमा अनिल सुनार(बागलुङ) निर्विरोध भएको निर्वाचन समितिका संयोजक अधिवक्ता निर्मला क्रान्तिले जानकारी दिईन् । क्रान्तिकारीको प्रदेश समिति ७५ सदस्सीय रहेको छ ।   सम्मेलनले ६५ सदस्य निर्वाचित गरेको र बाँकी १० जना मनोनित गरिने निर्वतमान अध्यक्ष सुदिन पौडेलले जानकारी दिए । निर्वाचन समिति सदस्यमा विपीन आचार्य र अमरदिप पराजुली रहेका थिए । 

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म जारी रहने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सहभागी हुनुहुन्छ । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले रुपान्तरण सम्भव भएको र त्यसको विकल्प नभएको बताउनुभयो ।  “माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ”– उहाँले भन्नुभयो– “परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।” उहाँले अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताउनुभयो । माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

पोखरा:    गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले अन्तिम समयमा काम सक्ने परिपाटी अन्त्य गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।   गत १७ भदौमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री केसी सोमबार पहिलोपटक आफू मातहतको कार्यालयमा पुगेका थिए ।   पूर्वाधार विकास कार्यालय कास्की प्रमुख सीडीई सोभियत खड्काको ब्रिफिङपछि मन्त्री केसीले गुणस्तरीय र जतिसक्दो छिटो काम गर्न कार्यालय प्रमुख खड्कालाई निर्देशन दिएका हुन् ।   उनले अन्तिम समयमा योजना कार्यान्वयन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्ने र सकेसम्म वैशाखभन्दा पहिल्यै काम सक्न आवश्यक रहेको बताए ।   मन्त्री केसीले यो वर्षको बजेट आफूले नबनाएको र आगामी वर्षको बजेट बनाउँदा कार्यान्वयनमा सजिलो हुने, लगानी गरेकोमा जनतालाई प्रतिफल मिल्ने गरेर बनाउने बताए ।   उनले काम गर्ने क्रममा कुनै समस्या भए आफूलाई सुनाउन कर्मचारीलाई आग्रह गरे ।   ब्रिफिङको क्रममा कार्यालय प्रमुख खड्काले साना रकमका योजना चालु आर्थिक वर्षमा बढी भएकाले कार्यान्वयनमा चुनौती रहेको बताए ।   इन्जिनियरलाई फरकफरक फिल्डमा धेरै दौडधुप गर्नुपर्ने, थोरै बजेट हुँदा चालु आर्थिक वर्षमा काम गर्ने अनि छोड्नुपर्ने र काम सकिसकेपछि मर्मत सम्भारमा बजेट विनियोजन नहुनु समस्या रहेको मन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।   गत वर्ष बहुवर्षीयसहित करिब साढे २ सय योजना कार्यान्वयन गरिएकोमा चालु आर्थिक वर्षमा ३ सय ४७ योजना कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको बताए । योजना संख्या धेरै हुँदा कार्यालयले काम गर्ने ठाउँको निरीक्षण र इस्टिमेटको कामलाई अघि बढाएको प्रमुख खड्काले जानकारी गराए ।   प्रमुख खड्काले गत वर्षका २४ वटा र चालु आर्थिक वर्षमा थप भएका १९ वटा बहुवर्षीय योजना कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको जानकारी गराए ।   प्रमुख खड्काले आफ्नै भवन नहुँदा निर्माणको चरणका परीक्षणमा समस्या रहेको, कृषि मन्त्रालय मातहतको तालिम केन्द्र भएको ठाउँमा कार्यालय राख्न सकिने विकल्प सुनाएका थिए ।