काठमाडौं:  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छिटै राजनीतिक दल खोल्ने बताएका छन्  ।  सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले राजनीतिक दलहरूले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन र...

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताउनुभएको छ ।  माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको आज यहाँ दोस्रो अधिवेशनको उद्घाटन गर्दै यहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने धारणा राख्नुभयो ।        अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताउनुभयो ।  विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उहाँले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने जिकिर गर्नुभयो । अब विभिन्न धारामा बाँडिएका शक्तिबीचको एकतालाई जोडेर लैजानुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । यसैगरी उहाँले जनयुद्धको तयारीदेखि पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक तथा भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो ।  अध्यक्ष दाहालले देशभर निराशा छाएको बेला विसं २०७९ मा नौवटा स्थानीय तह र हालै सम्पन्न उपनिर्वाचनमा पहिले पराजित भएका ठाउँमा पनि जितेर नयाँ इतिहास बनाएको बताउनुभयो ।  

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बेरोजगार नागरिकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको बताएका छन् ।   शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको दुई दिवसीय वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले बेरोजगारी समस्यालाई समाधान गर्न र जीवनस्तर सुधार्न उक्त कार्यक्रम सफल भएको उल्लेख गरे ।   मन्त्री थापाले गण्डकी प्रदेशमा पनि सीमान्तकृत समुदाय, महिला र युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उल्लेखिय काम भएको बताए ।   “गण्डकी प्रदेशमा हामीले यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि विभिन्न प्रयासहरू गरिरहेका छौं”, उनले भने, “हामीले रोजगारका अवसरहरू सिर्जना गर्न मात्र होइन स्थानीय स्तरमा सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र खेलकुद गतिविधिहरू मार्फत युवालाई सशक्त बनाउन पनि काम गरिरहेका छौं।”   मन्त्री थापाले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनमा बजेट अभाव र संरचनागत समस्या भएकाले चुनौति थपिएको बताए ।   ग्रामीण क्षेत्रका जनतालाई रोजगारीका अवसर उपलब्ध गराउन समन्वयको खाँचो भएको भनाई उनको छ ।   स्थानीय, प्रदेश र संघ सरकारले समन्वयात्मक तवरले उक्त कार्यक्रमलाई अगाडि बढाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।   “संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच अझ राम्रो समन्वय आवश्यक छ । साथै निजी क्षेत्र र अन्य साझेदारहरूको सहभागिताले उक्त कार्यक्रमलाई अझ सुदृढ बनाउन सकिन्छ ।”, उनले भने ।   गण्डकी प्रदेश सरकार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामाजिक सुरक्षाको प्रत्याभूति दिन, आर्थिक अवसरहरू सिर्जना गर्न र दीर्घकालीन विकासका आधारहरू तयार गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीका प्रमुख सचिव रघुराम विष्टले नेपालको संविधानले नै रोजगारी हकको ग्यारेण्टी गरेकाले यसको आवश्यकता र औचित्यलाई मध्यनजर गर्दै अगाडि बढनुपर्ने बताए ।   जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्न सके मात्र सफलता मिल्ने बताए ।   वैदेशिक रोजगारीका क्रममा देखिएका ठगीका विषयलाई व्यवस्थापन गर्न कार्यगत एकताको खाँचो रहेको भनाई उनको छ ।   पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईले रोजगारसँग जोडिएको विषयमा सरकार संवेदनशील हुन आवश्यक रहेको र महानगर समेत त्यसै अनुरुप लागिरहेको बताए ।   बरेङ गाउँपालिकाका रोजगार संयोजक केशव राज क्षेत्रीले प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो र विपन्न सँग जोड्ने कार्यक्रम भएको अनुभव सुनाए ।   कार्यक्रम निर्देशक प्रदीप कुमार कोइरालाले गण्डकीमा हुने दुई दिने समीक्षा कार्यक्रममा गण्डकीका ११ जिल्लाका ८५ वटै पालिकाका रोजगार संयोजकहरुको उपस्थिति रहेको जानकारी गराए ।   उक्त कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताका विषयमा गहन छलफल हुने भनाई उनको छ । 

काठमाडौं:    नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ ।  पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिनुभयो ।  उहाँका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।  बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।

मोरङ:    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पार्नुभयो ।  उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गर्नुभयो ।      वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो । मुलुकमा राजनीतिक स्थायीत्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उहाँको धारणा थियो ।  सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने बतानुभयो । उहाँ शनिबार विराटनगरमा हुने कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएको हो । 

म्याग्दी:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताउनुभएको छ ।  प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटमा नेता ज्ञवालीले राजनीतिक सहमतिको आधारमा निर्माण भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।       “सिफारिस समितिले आयोगका पदाधिकारीको छनोट गरेर सूची सार्वजनिक गर्ने छ । एक(दुई दिनमा आयोग गठन गर्ने सरकारको तयारी छ”, उहाँले भन्नुभयो, “आयोग गठन भएपछि २० वर्षदेखि थन्किएर रहेका शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउने, पीडितले न्याय पाउँनेछन् ।”      नेता ज्ञवालीले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न शक्तिशाली नियमनकारी निकायको गठन र बचतको सुरक्षाका लागि कर्जा सुरक्षण कोष बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।      “सहकारी संस्थामा विकृति र बेतिथि मौलाएको महसुस गरेर नियमनकारी निकाय बनाउने तयारीसँगै र जोखिममा परेकाको बचतलाई फिर्ता गराउने काममा सरकारले प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो, “सहकारीको बचत अपचलनमा जोडिएका जोसुकै पनि अनुसन्धानको दायरामा आउँछन् ।” कानुन कार्यान्वयन गर्ने निकायलाई स्वतन्त्र ढङ्गले काम गर्ने दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।      सरकारले विश्वका सबै देशसँग सन्तुलितसम्बन्ध स्थापित गराउने प्रयास गरिरहेको नेता ज्ञवालीको धारणा थियो । प्रधानमन्त्रीको चीन भ्रमणले सात वर्षअघि भएको बिआरआई सम्झौता कार्यान्वयनमा अघि बढेको उहाँले बताउनुभयो ।

ललितपुर:     नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते बस्ने भएको छ ।  पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको छ ।       बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेसले सूचना जारी गरेको छ ।

काठमाडौं:    भारतको औपचारिक भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबीच बुधबार साँझ नयाँदिल्लीमा भेटवार्ता भएको छ ।  नयाँदिल्लीस्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड(बीआइएस)प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु गहुँ, धान र चिनी आयातमा सहजीकरण गर्ने विषयमा छलफल गर्नुभएको थियो । मन्त्री भण्डारीले सो क्रममा भारतबाट नेपाल भित्रिने अत्यावश्यक वस्तुको आयातमा सहजता प्रदान गर्न मन्त्री जोशीको ध्यानाकर्षण गराउँदै सहजिकरणका विषयमा सकारात्मक छलफल भएको भ्रमण टोलीमा सहभागी उद्योग मन्त्रालयका उपसचिव तर्कराज भट्टले राससलाई जानकारी दिनुभयो ।  यस्तै मन्त्री भण्डारीले नेपाली उत्पादित वस्तुको भारत निकासीमा सहजीकरण तथा बजारीकरणका सम्बन्धमा पनि समकक्षी जोशीको ध्यानाकर्षण गराउनुभएको थियो । सो क्रममा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड र नेपाल गुणस्तर तथा नापतौल विभागबीच आवश्यक सहकार्यका विषयमा पनि छलफल भएको जनाइएको छ ।

बेइजिङ:   प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् ।   चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए ।   चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ आउने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।   त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।   भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् ।   दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।   यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुन:निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ ।   यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।   यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् ।   सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।   यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तिो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ ।   प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए  ।   नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उनले नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका जनाएका थिए ।   प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकनसमेत गरेका थिए ।   प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।   गणतन्त्र सेनानी कोषले आज यहाँ आयोजना गरेको ‘गणतन्त्र सेनानी सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारका विरुद्ध, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि अभियान थालिने बताउनुभयो ।   संविधानसभामार्फत संविधान निर्माणका क्रममा आफ्नो पार्टीले फरक मतका रुपमा छाडेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि बढाइने घोषणा गर्दै अध्यक्ष दाहालले गणतन्त्रलाई जनताको व्यवस्था बनाउन निरन्तर लागिपर्ने बताउनुभयो ।   नयाँ क्रान्तिका लागि विभाजित माओवादी धारलाई एकताबद्ध गर्दै आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै उहाँले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुआत गरिसकिएको स्पष्ट पार्नुभयो । “माओवादीले कसैको वैशाखी टेक्दैन, जनताको बलमा आफ्नो एजेण्डा र अभियान अघि बढाउँछ”, उहाँले भन्नुभयो ।   पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले लामो सङ्घर्ष र बलिदानपछि गणतन्त्र स्थापना भएको उल्लेख गर्दै गणतन्त्रका उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।   “विगतमा विभिन्न भूमिकामा लड्यौँ, अब गणतन्त्रको रक्षा गर्दै समाजवाद निर्माणमा एकताबद्ध भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षाका लागि जस्तोसुकै भूमिका लिन तयार छु ।”   माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले क्रान्तिको एक चरण पूरा भएको उल्लेख गर्दै अबको सङ्घर्षको स्वरुप सुशासन र भ्रष्टाचारविरुद्ध केन्द्रित भएको बताउनुभयो ।   विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले पार्टीलाई पुनर्गठित गरेर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।   माओवादी केन्द्रका नेता चक्रपाणि खनालले शोषित पीडित जनताका पक्षमा भएको माओवादी आन्दोलनको नेतृत्व अध्यक्ष दाहालले गर्नुभएको बताउनुभयो ।   अध्यक्ष दाहालसहित नेताहरु सम्मानित गणतन्त्र सेनानी कोषले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ ।   गणतन्त्र स्थापनाको पक्षमा नेतृत्वदायि भूमिका निर्वाह गरेको भनी अध्यक्ष दाहालसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन तथा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनाललाई आज यहाँ एक कार्यक्रमबीच सम्मान गरिएको हो ।   देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना, संविधानसभाको निर्वाचन, गणतान्त्रिक संविधान निर्माणलगायत कार्य गरेकामा उहाँहरुलाई सम्मान गरिएको कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिनुभयो ।   कार्यक्रममा अध्यक्ष दाहालले गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्नुहुने गोपाल पाण्डे, सुरेन्द्र भुजेल, भक्तबहादुर थापा, वासु लामिछाने, ललित श्रेष्ठ, देवीप्रसाद ढकाल, माइला लामा, सुशीला थापा, सपना राना, मीना वाइवा पाख्रिन, सुनील पुलामी, जगबहादुर न्यासुर, बिमला बराइली, रेणुका चौलागाईलगायतलाई ‘गणतन्त्र सेनानी सम्मान’ प्रदान गर्नुभएको थियो ।