ललितपुर: नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताउनुभएको छ । एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठक, सूर्य पत्रिका र सङ्गठन डायरी विमोचन कार्यक्रम तथा जरा केन्द्रित अभियान शुभारम्भका अवसरमा उहाँले राजनीतिक अस्थिरताका कारणले आजको चुनौती निम्त्याएको हो भन्दै जनतालाई एमालेले केही गर्दैछ भन्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो । “युवामा छाएको निराश हटाउन, देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ, समाजमा विभेद्, अन्याय र उत्पीडनमा परेकाले एमालेलाई खोज्ने वातावरण तयार गर्नुपर्छ, पीडितहरूले युट्युबर खोज्न भन्दा एमालेमा गए न्याय पाइन्छ भन्ने वातावरण सिर्जना गर्नुपर्छ,” उहाँले भन्नुभयो । महासचिव पोखरेलले पार्टीका योजनालाई व्यवहारमा प्रभावकारी रूपमा सम्पादन गर्न सफलता हासिल गर्न आग्रह गर्दै नेता धेरै हुने तर जनतासँगको सम्बन्ध विग्रिने अवस्था हुनुहुँदैन भन्ने धारणा राख्नुभयो । महासचिव पोखरेलले भन्नुभयो, “वडा केन्द्रीत तीन महिने अभियानमा पार्टी जुटिरहेको छ, सङ्गठन सुदृढ र सवल नहुँदा जिल्लामा बहुमतमा रहेको वामपन्थी जनमतको उपयोग हुन नसकेको अवस्था छ, यसलाई चिर्दै हामीले जनमतमा आधारित कार्यकर्तामा आधारित पार्टी निर्माणमा ध्यान दिनुपर्छ, पार्टी प्रतिष्ठाको विषय हैन, परिवर्तनको अभियान हो ।” महासचिव पोखरेलले २०७४ पछि सङ्गठनात्मक जीवन खल्बलिएको भन्दै त्यसलाई सुधार गर्दै पार्टीलाई बलियो निर्णायक शक्तिका रूपमा स्थापित गर्ने बताउनुभयो । उहाँले पार्टीको नीतिलाई राष्ट्रिय नीति बनाउन पार्टीलाई स्थापित गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “जनताले पत्याएका कार्यकर्ताका माध्यमबाट नै देशमा परिवर्तन ल्याउन सकिन्छ, जनतालाई पार्टीसँग जोड्न नै तीन महिने अभियान सुरू भएको हो, प्रत्येक वडाका कूल मतदाताको तीन प्रतिशत पार्टी सदस्यता कायम गर्नुपर्छ, पार्टी सदस्यतालाई विस्तार गर्ने अभियान अगाडि बढाउनुपर्छ,” उहाँले भन्नुभयो । महासचिव पोखरेलले जनमत कायम राख्न जनसङ्गठनलाई क्रियाशील बनाउँदै विस्तार गरेर जनआधार विस्तार गर्न आग्रह गर्नुभयो । “वामपन्थी जनआधारलाई एक ठाउँमा ल्याउन आवश्यक छ, हामी अब कम्युनिस्ट एकताका नाममा राजनीतिक प्रहसन गर्ने पक्षमा छैनाँैं, राजनीति कार्यकर्ता र समाजमा रहेका वामपन्थी अगुवालाई राजनीतिक ध्रुवीकरण गर्नुपर्छ,” उहाँले भन्नुभयो । महासचिव पोखरेलले निश्चित उद्देश्यका लागि दुईवटा पार्टी मिलेर अहिले सरकार गठन भएको बताउँदै कानुमा सुधार गरेर समस्या समाधान गर्न सकिन्छ भनेर दुईवटा पार्टीका समान धारणामा आधारित भएर अध्यादेश आएको बताउनुभयो । उहाँले वर्तमान सरकार बनेपछि मुलुकमा आर्थिक अवस्था सुधार हुँदै गएको परिस्थिति अनुकूल भइनसकेको कारण लगानीको वातावरण बनिनसकेको दाबी गर्नुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेरास्ववियू (क्रान्तिकारी)को चुनावले विद्यार्थी नहुने तर नेता हुने स्थितिको अन्त्य गरेको बताउनुभएको छ । अनेरास्ववियू क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको सपथ तथा पदभार ग्रहण कार्यक्रममा उहाँले यसबाट माओवादीले नीति र नेतृत्व दुवै लोकतान्त्रिक विधिबाट टुङ्ग्यायो भन्ने शक्तिशाली सन्देश प्रवाहित भएको बताउनुभयो । “उमेर हद र नेतृत्व दुवैमा निर्वाचनबाट नै टुङ्गो लगाउनुपर्छ भनेर दृढतापूर्वक लागेर पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुङ्गो लगाउनु महत्वपूर्ण अभ्यास हो”, अध्यक्ष दाहालले भन्नुभयो, “अहिले आएको परिणामले मिलेर अघि बढ्ने र सङ्गठनलाई एकताबद्ध बनाउने वातावरण बनेको छ ।” आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उहाँले स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन र एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गर्नुभयो । अध्यक्ष दाहालले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि स्ववियू निर्वाचन महत्वपूर्ण चुनौतीको रूपमा आएकोसमेत बताउनुभयो । त्यस अवसरमा निवर्तमान अध्यक्ष पञ्चा सिंहले नवनिर्वाचित अध्यक्ष विजयप्रकाश शर्मा सापकोटालाई कार्यभार हस्तान्तरण गर्नुभयो । यही माघ १२ गते सम्पन्न निर्वाचनबाट केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय, केन्द्रीय सदस्य एवं केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य निर्वाचित भएका थिए ।
गलकोट: नेकपा (माओवादी केन्द्र)का सचिव हितमान शाक्यले प्रतिपक्षको भूमिकालाई माओवादी केन्द्रले अवसरका रुपमा लिएको बताउनुभएको छ । उहाँले माओवादी रुपान्तरणका लागि जनता केन्द्रित कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । सत्तामा हुँदाका कमीकमजोरीलाई आत्मालोचना गर्दै जनतासामु घरदैलो र खबरदारी सभा गरिरहेको उहाँले बताउनुभयो । प्रेस सेन्टर बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेश इञ्चार्जसमेत रहनुभएका नेता शाक्यले जनताका समस्या बुझेर माओवादी केन्द्र आगामी निर्वाचनमा सहभागी हुने बताउनुभयो । संविधान संशोधनको कदमलाई पुनःविचार गर्दै प्रतिगमन हुने ढङ्गले संशोधन गर्न नहुने उहाँले बताउनुभयो । शासकीय र निर्वाचन प्रणाली परिवर्तन गर्न नसके भ्रष्टाचार नरोकिने बताउँदै खर्चिलो निर्वाचनको अन्त्य गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
गण्डकी: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रूपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताए। ‘अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन गरेका छौँ, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ’, उनले भने, ‘तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौँ । अझ पार्टीका सबै साथीहरूबीच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौँ ।’ उनले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको धारणा व्यक्त गरे। सभापति देउवाले बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका नेताहरूले सुम्पिएको जिम्मेवारीलाई पूरा गर्न पार्टीमा सुमधुर सम्बन्धसहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताए। सङ्घर्षको जगमा प्राप्त लोकतन्त्र, सङ्घीयता र समावेशितालाई सुदृढ गर्न जरुरी रहेको उल्लेख गर्दै उनले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिए । प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै पार्टी सभापति देउवाले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे। उनले पोखरामा सुरु भएको प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रमले पार्टीको आगामी कार्यदिशा तय गर्नाका साथै विद्यमान समस्याहरूको समाधानका लागि उचित मार्ग निर्देश गर्ने विश्वास व्यक्त गरे । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीकोे प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्वाचन क्षेत्रमार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिए । पार्टीको प्रशिक्षण पुस्तिका निर्माण गर्ने सन्दर्भमा तयार गरिएको ‘ड्राफ्ट’ छलफलका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको जानकारी दिँदै प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्काले माघ मसान्तभित्रमा सुझावहरू संकलन गरी पुस्तिकालाई अन्तिम रूप दिने बताए। नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्यमान्यता र विरासतलाई बिर्सन नहुने धारणा व्यक्त गर्दै सबैलाई समेटेर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिए। कांग्रेसको एकदिने सो प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रममा सातवटै प्रदेशका पार्टी सभापति र प्रदेशका प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी, कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सहभागी रहेका छन् ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले देशव्यापीरूपमा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध र ध्रुविकृत हुन आह्वान गरेका छन् । अध्यक्ष प्रचण्डले आज बिहान आफ्नो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताए । विचार मिल्ने विभिन्न धारसँग एकताका लागि पनि पहल भइरहेको जानकारी दिँदै प्रचण्डले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब पुग्ने बताए । पार्टी प्रवेश गर्नेहरुमा आम जनता पार्टी (आजपा)का केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिक, स्थायी समिति सदस्य एवं पर्सा इञ्चार्ज कदम रसुल, ब्यापार महासंघका पूर्व केन्द्रीय सदस्य वीरबहादुर बिदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघ्न गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजीव गुप्ता, दिलिप गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरू सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतो छन् ।
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने भएको छ । आइतबारको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठकमा जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेण्डा बनाएको छ । त्यस्तै सरकारले ल्याएको अध्याधेश, मधेश केन्द्रित दलहरु बिचको मोर्चा, नो केबलकार आन्दोलनलगायतका वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित रहेको बस्नेतले बताए ।
चितवन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी केन्द्रप्रति जनतामा ठुलो भरोसा बढेको छ ।” अहिले पार्टीका वर्गीय सङ्गठनलाई बलियो बनाउनतर्फ आफू लागेको अध्यक्ष दाहालले बताउनुभयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य घनश्याम दाहाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
महोत्तरी: नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्य मजबुत रहेको बताएका छन् । मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनका विषयमा आपसी सहमति र विश्वासमा अघि बढिएको उनले स्पष्ट पारे । बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरता चिर्न दुई मुख्य दलबीचको सहमति मुलुकको समृद्धि र विकासका लागि भएको उल्लेख गरे । पछिल्लो पटक वर्तमान सरकार बनेयता आम जनतामा स्थिर सरकार बनेको अनुभूति भएको उनको भनाइ छ । उनले यसले आर्थिक सूचकहरूमा क्रमशः सकारात्मक सुधार देखाएको दाबी समेत गरे । महासचिव पोखरेलले मुलुकको समृद्धि र विकासका लागि अब हुने निर्वाचनमा कुनै एक दलको स्पष्ट बहुमतको सरकार बन्नुपर्ने उल्लेख गरे । यसै अभिभाराबाट निर्देशित भएर आफ्नो दल ‘मिसन– २०८४’ अभियानमा लागेको पोखरेलको भनाइ छ । विसं २०८४ को निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ सरकार सञ्चालन गर्ने दृढ सङ्कल्प लिएर अघि बढेको पोखरेलको भनाइ थियो । अहिले मुख्य विपक्षी दलका नेताले वर्तमान सरकार अप्राकृतिक बनेको भन्दै हिँडेको सन्दर्भ जोड्दै पोखरेलले बढी मत पाउने मुख्य दल मिलेर बनेको सरकार अप्राकृतिक भन्नु सत्ताबाट बाहिरिनु परेको छटपटी मात्र भएको टिप्पणी गरे ।
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ । सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।