राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ।   बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्ज...

धनगढी:   गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा ‘एजेण्डा’ प्रस्तुत हुने बताउनुभएको छ ।   नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलको तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले  बजारमा फैलाइएको हल्लाजस्तो कुनै पनि समस्या नभएको स्पष्ट गर्नुभयो ।    मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा यो सरकार गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सत्ता साझेदार प्रमुख दुई दलबीच अहिले कुनै पनि विषयमा असमझदारी नभएको बताउनुभयो ।   लोकतन्त्र र संविधानका विरुद्धमा हुने कुनै पनि गतिविधि सैह्य नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो,“प्रमुख दुई पार्टीबीच आपसमा कुनै समस्या सिर्जना नहोस् भनेर केन्द्रदेखि जिल्ला तहसम्म दुवैतर्फका प्रतिनिधि सम्मिलित संयुक्त संयन्त्र बनाइएको छ, अराजकता र अस्थिरताको अन्त्यसहित राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा अघि बढको सरकारलाई अब कसैले रोक्न सक्दैन ।”

रुकुम पश्चिम:    रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।   नेपाली कांग्रेस र नेकपा (एमाले)का संयुक्त उम्मेदवार नेकपा एमालेका जीवन रोकाले उम्मेद्वारी फिर्ता लिएपछि माओवादी केन्द्रका घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।  निर्वाचन तालिकाअनुसार आज उम्मेद्वारलाई आफ्नो उम्मेद्वारी फिर्ता लिने समय दिइएको थियो । सोही समय सीमा भित्र  कांग्रेस र  एमालेका संयुक्त उम्मेदवार रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए ।  उनकाअनुसार अन्य कुनै उम्मेदवार नभएपछि माओवादी केन्द्रका घर्तीलाई वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । अब पुथाउत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष पदका लािग उपनिर्वाचन हुनेछ ।  उपाध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्र चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट केशकुमारी तुलाचन र माओवादी केन्द्रबाट नरपुरा बुढाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत हमालले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट उम्मेद्वारी दिएका सुनिता बुढा, स्वतन्त्र उम्मेद्वार  मोहनभक्त बुढा, श्रीदेवी सुनार, भीमकुमारी पुन र कोपिला पुन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।  कांग्रेसबाट उम्मेद्वार बनेकी तुलाचन नेकपा एमालेको जिल्ला कमिटी उपसचिव हुन् । उनले कांग्रेसबाट रुख चिह्न लिएर चुनावी मैदानमा छिन्।  गत भदौ २८ गते काठमाडौँबाट रुकुमपूर्व आउँदै गर्दा बागलुङमा गाउँपालिकाको गाडी दुर्घटनामा परी उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं वडाध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको थियो । 

धनगढीः    जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसका प्रत्यासी टीका चौधरी भुल निर्विरोध निर्वाचित हुनुभएको छ ।         जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेद्वारी दिनुभएका नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले आज उम्मेद्वारी फिर्ता लिनु भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिनुभयो ।        जिसस प्रमुखमा निर्वाचित भुल कैलाली गाउँपालिकाको वडासदस्यमा निर्वाचित हुनुहुन्छ । जिसस प्रमुखका लागि नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले प्रत्यासी उठाएको थिएन । जिसस प्रमुखको निर्वाचनमा कैलाली जिल्लाका १३ स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुखरउपप्रमुख गरी २६ मतदाता रहेका थिए ।        दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित पदमबहादुर कलेलको निधनपछि पद रिक्त थियो ।  सुदूरपश्चिम प्रदेशमा रिक्त रहेको बाजुरा जिल्ला स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष, कञ्चनपुर, भीमदत्त नगरपालिका–६, डोटी पूर्वीचौकी गाउँपालिका–६, दार्चुला दुहुँ गापा–५ र बझाङ सुर्मा गापा–४ को वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । 

कञ्चनपुर:     गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प कुनै व्यवस्था हुन नसक्ने बताउनुभएको छ ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आज आयोजना गरेको घेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प हुनै नसक्ने स्पष्ट पार्नुभयो ।   “लोकतन्त्रमा जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो,” गृहमन्त्री लेखकले भन्नुभयो, “त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्छ ।”  मुलुकमा तीन÷तीन महिनामा संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिइराख्नुपर्ने अवस्था सिर्जना भएकाले संसद्का दुई ठूला दल मिलेर सरकार बनेको उहाँको भनाइ थियो ।  गृहमन्त्रीले भन्नुभयो, “एमाले र कांग्रेस मिलेर सरकार बनेको छ, यो सरकारको उद्देश्य देशमा स्थिरता कायम राख्ने र सुशासन कायम राख्नु हो ।” उहाँले जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको बताउनुभयो । देशमा विधिको शासन कायम गर्न सरकार पूर्णरूपले लागि परेको गृहमन्त्री लेखकको भनाइ थियो । उहाँले पछिल्लो समय अपराधजन्य घटना वृद्धि भइरहेको बताउनुभयो ।  “लागुऔषध अहिले सबैभन्दा ठूलो समस्याका रूपमा देखिएको छ, युवाहरू लागुऔषधका कारण अपराधजन्य क्रियाकलाप भइराखेका छन्”, उहाँले भन्नुभयो, “यी समस्यालाई पनि गहिरो ढङ्गले अध्ययन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ ।”  गृहमन्त्री लेखकले सुशासन कायम राख्न र भ्रष्टाचार न्यूनीकरण गर्न सरकारले अत्यन्तै मेहनतका साथ काम गरिराखेको बताउनुभयो ।  

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले आज ध्यानाकर्षणपत्र बुझाइएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले आज प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने आग्रह गरेका हुन् ।  ध्यानाकर्षण पत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्ट रूपमा संयुक्त राष्ट्रसङ्घजस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ । ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपीन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाहरुको जीवन रक्षाका लागि युद्धकालभरी नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ । प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति, मानव अधिकार र न्यायका पक्षमा रहने स्पष्ट पार्नुभयो । उहाँले तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको बताउँदै ध्यानाकर्षणपत्रमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट गर्नुभयो । “हामी विश्वशान्तिका पक्षमा छौँ । कुनै शक्तिविरुद्ध आफैँ लड्न जाँदैनौँ । कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ तर अन्याय सहेर बस्दैनौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानव अधिकारको रक्षामा हुनेछौँ ।”  भेटका अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका नेत्री दुुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी)का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा, प्रगतिशील रुपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताउनुभएको छ ।  नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेका सन्दर्भमा आज वक्तव्य दिँदै अध्यक्ष दाहालले शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको बताउनुभयो । “आजको दिन सबैले स्मरण र सम्मान गर्नुपर्ने दिन हो”, उहाँले भन्नुभयो ।  उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत न्यायपूर्ण सङ्घर्षमा साहदत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।      शान्ति सम्झौताको मूलभूत मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने प्रक्रियामा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारका पालामा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको स्पष्ट पार्नुभयो ।  “अब त्यो निष्कर्षतर्फ जाँदैछ, हामी सबै यसमा खुसी छौँ”, उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएर नेपाललाई शान्तिको नयाँ ‘मोडेल’का रुपमा प्रस्तुत गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढेका छौँ ।”       संविधानसभामार्फत संविधान जारी भइसकेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत विकास र समृद्धिको जुन अपेक्षा गरिएको थियो, त्यो पूर्ण रुपमा हुन नसकेको असन्तुष्टि जनतामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ सङ्कल्पका साथ जानुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यसका लागि संविधानलाई विकसित र परिमार्जित गर्न सकिने उहाँको भनाइ छ ।       अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन अनवरत खटिने राजनीतिक दल, नागरिक समाज र आमजनताप्रति आभार प्रकट गर्नुभयो । उहाँले जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न सबैसँग आग्रह पनि गर्नुभयो ।       विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सात राजनीतिक दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का तर्फबाट अध्यक्ष दाहालले हस्तक्षर गर्नुभएको थियो । 

सरकारले राष्ट्रिय सम्मानका साथ पूर्वसभामुुख दमननाथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।   सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट उनको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।   यस्तै, स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको छ ।

सिन्धुपाल्चोक:    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताउनुभएको छ ।        जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय स्व रोहिणीराज सिग्देल र स्व विकास लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राख्नुभएको हो ।       थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रहसमेत गर्नुभयो । उहाँले हरेक गाउँ टोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताउनुभयो ।       महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भइरहेको बताउँदै कृषि क्षेत्रको विकास नभई देश समृद्ध नबन्ने बताउनुभयो । 

काठमाडौं:    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाइने बताउनुभएको छ ।       माओवादी केन्द्र काभ्रे–काठमाडौँ सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षणको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनःआवश्यक भएकामा जोड दिनुभयो ।      “हामीले संविधान जारी हुँदा जे ‘नोट अफ डिसेन्ट’ लेखेका थियौँ, ती पूरा नहुँदासम्म देशमा राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिले गति नलिने विगतको अनुभवले देखाइसकेको छ,” अध्यक्ष दाहालले भन्नुभयो, “त्यसैले मैले नयाँ प्रतिबद्धताका साथ योपल्ट नयाँ आन्दोलनको सृष्टि गर्ने सङ्कल्प लिएको छु ।” उहाँले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्रसहित नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गर्नुभयो ।      पार्टी छाडेर बाहिर बसेका पूर्वसहकर्मीलाई गोलबन्द गरी समाजवादी अभियान अघि बढाउन सकारात्मक पहल भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “छिट्टै माओवादी धाराहरू एकताबद्ध हुनेछन्  र शक्तिशाली माओवादी आन्दोलन फेरि सृष्टि हुने छ ।”      आफूले नेतृत्वले गरेको पहिलो सरकारले भौतिक पूर्वाधारका रुपमा मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण कोरिडोर निर्माणको थालनी गरेको, गरिब किसानको ऋण मिनाहा गरेको, दोस्रो कार्यकालमा मुलुकलाई लोडसेडिङबाट मुक्त गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा थालनी गरिएका सुशासनको अभियान अब निरन्तर अघि बढ्ने स्पष्ट पार्नुभयो ।      माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालले सबै मित्र राष्ट्रसँग समदूरीको सम्बन्ध राखेर जान सक्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले नेतृत्वको पूर्ववर्ती सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा महत्त्वपूर्ण फड्को मारेको जिकिर गर्नुभयो ।