पोखरा:   गण्डकी प्रदेश सभाको चालु सातौं अधिवेशन अन्त्य भएको छ ।   माघ २१ गते सुरु भएको हिउँदे अधिवेशन ६ वटा विधेयक र प्रदेश सभा नियमावली पारित गर्दै मंगलबार रातिबाट अन्त्य गरिएको हो । ...

स्याङ्जा:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार मिर्मीमा उद्घाटन गर्दै उहाँले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो ।  देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उहाँको दाबी थियो । “यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ ।”  अझै डेढ वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको उहाँले बताउनुभयो । मुलुक बनाउने दृष्टिकोण नभएका पार्टीहरू विभिन्न समयमा आउने र हराउने गरेको बताउँदै उहाँले यस्ता पार्टीसित तर्सनु नपर्ने जिकिर गर्नुभयो ।  “लोकप्रियताका लागि मात्रै भाषण गर्नेहरूसित मुलुक बनाउने भिजन हुँदैन”, उहाँले भन्नुभयो, “यस्ता भिजन नभएका र लोकरिज्याईं गर्नेहरूले नेतृत्व गरेको पार्टीको आयु अल्पायु हुन्छ, धेरै तर्सनुपर्दैन ।” देशमा विभिन्न समयमा आएका सङ्कट मोचनका लागि यिनै दुई ठूला पार्टीहरू एकठाउँमा उभिने गरेको स्मरण गर्दै अहिले पनि देशलाई समृद्धिको दिशामा लैजान एकै ठाउँमा उभिएको उहाँले बताउनुभयो ।  नेपाल  सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आसन्न चीन भ्रमणका क्रममा विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड दिने उहाँले बताउनुभयो । चीन भ्रमणका क्रममा बिआरआइका सन्दर्भमा सरकारले ऋण नलिने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारी, भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख गोविन्दकुमार कर्माचार्यलगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कालीगण्डकी गाउँपालिका–७ स्थित मिर्मी खेलमैदानमा शुक्रबारदेखि सुरू भएको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सव आगामी आइतबारसम्म सञ्चालन हुने भएको हो ।  पुरूष महिला फुटबल, भलिबल, क्रिकेट (एकल÷डबल), टेवल टेनिस (एकल÷डबल) दौड, बुद्धिचालसहितका सात खेलका २२ विधामा सात सयभन्दा बढी खेलाडी सहभागी हुने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । गाउँपालिकाले खेल क्षेत्रको माध्यमबाट पहिचान स्थापित गर्न र खेल पर्यटनको विकास गर्नका लागि प्रत्येक वर्ष खेल महोत्सव गर्दै आइरहेको छ । लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र स्थापित खेलाडीलाई व्यावसायिकतातर्फ उन्मुख गर्नका लागि खेल महोत्सव कोसेढुङ्गा सावित हुने अध्यक्ष थापाको भनाइ थियो । पालिकाका सात वडाबाट ९८ जना खेलाडीका दरले प्रतियोगी सहभागी हुने भएका हुन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अवधिभर २२ स्वर्ण, २२ रजत र २२ काँस्य पदकका लागि प्रतिस्पर्धा हुने भएको हो ।  प्रतियोगिताका विजेता तथा उपविजेता हुनेलाई नगद रू पाँच लाख १० हजार पुरस्कारस्वरूप उपलब्ध गराउने अध्यक्ष थापाले बताउनुभयो ।

पोखराः    नेपाली कांग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित भएका छन् ।  नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहेका सिग्देललाई प्रवतmामा मनोनित गरेका हुन् ।  नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम सिग्देललाई प्रवक्तामा मनोनयन गरेको पत्रमा उल्लेख छ । प्रवक्तामा सिग्देललाई मनोनित गरे सँगै सभापति बरालले काँग्रेसको सार्वभौम अधिकारको रक्षाको निम्ति पार्टीको निती, सिद्वान्त र कार्यक्रमलाई सफलताको बाटोमा अग्रसर तुल्याउन विगतमा झै सदैव क्रियाशील, रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त गर्नुभएको छ । सिग्देल कास्कीको १४औ जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका थिए । १३ औं अधिवेशनबाट सदस्यमा निर्वाचित सिग्देलले अघिल्लो कार्यकाल पनि तीन वर्ष भन्दा बढी समय प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।  विद्यार्थी राजनीति हुँदै पत्रकारितामा पहिचान बनाएका सिग्देल नेपाल विद्यार्थी संघ कास्कीको पूर्व सभापति र नेपाल प्रेस युनियन कास्कीको निवर्तमान अध्यक्ष हुन् ।  देश र जनतालाई शिरमा राखेर निष्ठा, त्याग, आदर्श, सिद्वान्तलाई डगमगाउन नदिने उनको भनाई छ । पद सानो, ठूलो जे होला तर पार्टीको हितमा काम गर्नका लागि ठूलो अवसर ठानेर काम गर्ने प्रतिवद्वता उनले व्यक्त गरेका छन् । 

काठमाडौं:     नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याउनुभएको छ ।  नेपाली कांग्रेसकातर्फबाट स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँ महानगरपालिका–१६ का उम्मेदवारसँगको छलफलका लागि नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रको एकतालाई बलियो बनाएर जनतामाझ जानुपर्नेमा जोड दिनुभयो ।            प्रवक्ता डा महतले पार्टीकोतर्फबाट उम्मेदवारी दिनुभएका देवेन्द्र पाठकलाई भारी मतकासाथ विजयी गराउन सम्पूर्ण पार्टीपङ्क्ति सक्रिय भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।  “निर्वाचन आचारसंहिताको पालना गर्दै सम्पूर्ण रूपमा सक्रिय भएर कांग्रेसको उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।            नेता डा महतले पार्टीलाई एकताबद्ध गर्दै सङ्गठनलाई चुस्तदुरूस्त बनाएर लैजान सकेमा आगामी २०८४ को निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, “सम्पूर्ण शक्ति पार्टीको उम्मेदवारप्रति होमिन जरूरी छ । त्यसो भयो भने आउने ८४ को निर्वाचनमा पनि पार्टीले एक्लै ठूलो पार्टीमात्रै हैन बहुमतको पार्टी पनि बन्न सक्छ । तर, त्यसका लागि हामीले सशक्त रूपमा एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ । जनताबीच जाँदा मतदातामा पुग्दा सकारात्मक ऊर्जा पैदा हुनुपर्छ ।” पार्टीभित्र विपक्षी खोज्ने प्रवृत्ति पार्टीको प्रमुख समस्या भएको उहाँको भनाई थियो ।       “हाम्रो सबैभन्दा ठूलो समस्या भनेको एकअर्काबीचमा कुरा काट्ने र वैमनस्य उत्पन्न गर्न समय खर्चने हो । आफ्नै भित्र विपक्षी खोज्छौँ र विपक्षीसँगको प्रतिस्पर्धालाई बिर्सन्छौँ । अब, एक भएर अघि बढ्नुपर्छ । कांग्रेसको विकल्प कांग्रेस नै हो”, नेता डा महतले भन्नुभयो ।            सङ्घका अध्यक्ष दीपक महतले उम्मेदवार पाठकको प्रचार अभियानमा कुनै पनि कसुर बाँकी नराख्ने भन्दै विगतमा वडामा भएको कामको प्रभावले जीत निश्चित हुने दाबी गर्नुभयो ।  “पर्यटन व्यवसायीकोतर्फबाट  देवेन्द्र पाठकलाई विजयी गराउन प्रतिवद्धताका साथ मत मागिरहेका छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनमा सहयोग पु¥याउनु दायित्व पनि हो । उम्मेदवारलाई आट भरोसा दिन पनि यो कार्यक्रम गरिएको हो । त्यसैले निर्धक्क भएर उच्च मनोवलका साथ निर्वाचनमा लाग्न आग्रह गर्दछु ।”            उम्मेदवार देवेन्द्र पाठकले आफू नेतृत्वमा रहँदा पर्यटन क्षेत्रलाई सहजीकरण गर्न र आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “वडामा कांग्रेसको वर्चस्व कायम रहेको छ, तर एकदमै प्रतिस्पर्धामा छौँ । हालसम्मको प्रयास उत्साहजनक छ, बाँकी दिनमा अझ मेहनत गर्न सकेको खण्डमा अत्याधिक मतसहित विजय हासिल गर्न सक्छौँ ।”

चितवन:     नेपाली कांग्रेसले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान सुुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार केन्द्रीय प्रतिनिधिसहित टोलसम्म पुग्ने अभियान सुरु गरिएको हो ।   नेपाली कांग्रेस केन्द्रको एक सयदिने विशेष अभियानअन्तर्गत सोमबारदेखि जिल्लाले खटाएका प्रतिनिधि वडावडामा पुगेर गतिविधि सुरु गरेका हुन् । जिल्ला सभापति राजेश्वर खनालका अनुसार सोमबार ६० भन्दा बढी वडामा प्रतिनिधि पुगेसँगै त्यहाँ बैठक बसेर अभियान थालेका छन् ।   जिल्लाका ९८ वडामध्ये बाँकी वडामा यही मङ्सिर १५ गतेसम्म प्रतिनिधि पुगेर काम अघि बढाउनेछन् । यसअघि केन्द्रले खटाएका प्रतिनिधि मधु आचार्यले खटिने प्रतिनिधि र जिल्ला नेतासँग अन्तरक्रिया गरेर प्रतिनिधिले गर्ने कामका बारेमा प्रशिक्षण दिनुभएको थियो ।  खनालले भन्नुभयो, “यो अभियानले टोललाई केन्द्रसँग जोड्नेछ ।”अभियानका क्रममा ५० प्रतिशत पार्टीका साङ्गठनिक कार्यक्रम र ५० प्रतिशत प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यक्रम गरिनेछ ।  अबका दिनमा कसरी पार्टीलाई आम नागरिकका सरोकारसँग जोड्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल गराएर तल्लो तहसम्म सङ्गठन मजबुत बनाउन अभियान सार्थक हुने उहाँको भनाइ छ ।   अभियान आगामी फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । यस क्रममा जनताका गुनासो सुन्ने, सम्भव हुने गुनासाका सम्बोधन गर्ने लगायतका गतिविधिसमेत गरिनेछ । जनताका गुनासासँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने सभापति खनालको भनाइ छ ।  कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । गत असोज ६ गतेदेखि सुरु गर्न लागिएको अभियान बाढीपहिरोका कारण रोकिएपछि अहिले सुरु गरिएको हो ।

काठमाडौं:    स्थानीय तहको उपनिर्वाचन नजिकिएसँगै कीर्तिपुर नगरपालिकामा प्रचार–प्रसार तीव्र रुपमा अघि बढेको छ । राजनीतिक पार्टीसम्बद्ध उम्मेदवारहरू पार्टीको झण्डा र ब्यानरसहित जनताको घरदैलो पुगी आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् ।  यसैगरी, स्वतन्त्र उम्मेदवारहरू पनि राजनीतिक पार्टीहरू असफल भएको भन्दै विकल्पका रूपमा साथ दिन जनतासँग अनुरोध गर्दैै दौडधुप गरिहेका भेटिन्छन् ।  कीर्तिपुर नगरपालिकामा प्रमुख र दुईवटा वडाअध्यक्षका लागि चुनाव हुन लागेकाले अन्य विषयवस्तु ओझेल पर्नेगरी चुनावी सभा र घरदैलो अभियानले यतिबेला कीर्तिपुरको राजनीतिक माहोल तातिएको अवस्था छ ।    यही मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा राजनीतिक दलका ८ र स्वतन्त्र १२ गरी २० जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका कृष्णमान डङ्गोल हाल घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । रासससँग कुरा गर्दै उहाँले कीर्तिपुरको विकास र सम्पदा संरक्षण आफ्नो मुख्य मुद्दा भएको बताउनुभयो ।  “कीर्तिपुरका सम्पदा संरक्षण गर्दै विकास कार्य अघि बढाउँछु, यसो गर्दा कीर्तिपुरलाई सांस्कृतिक सहरमा परिणत गर्न सकिन्छ भन्ने विश्वास छ”, उहाँको भनाइ छ ।  आर्थिक अभावका कारण कोही पनि बालबालिकालाई विद्यालय जानबाट वञ्चित हुन नदिने र विद्यालयमा प्राविधिक शिक्षा अघि बढाउने आफूसँग स्पष्ट योजना रहेको उहाँले बताउनुभयो ।   नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नगरप्रमुखका उम्मेदवार डा सुरेन्द्र मानन्धर आमजनतासँग जोडिएको विकास निर्माणसँग सम्बन्धित प्रक्रिया अघि बढाउँदा स्थानीय जनताको भावना र विषयविज्ञका रायसुझावसहित जनता केन्द्रित कार्यक्रमले प्राथमिकता पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो ।  “कीर्तिपुरलाई कीर्तिपुरकै सांस्कृतिक र प्राकृतिक सम्पदाहरुले पाल्न सक्छन् भन्ने विश्वास मलाई छ । ती सम्पदाको विकास र प्रयोग गर्दै ‘एआई’सँग रमाइरहेका अहिलेको ‘स्मार्ट’पुस्ता सुहाउँदो कीर्तिपुर बनाउने मेरा योजना छ”, उहाँले भन्नुभयो ।  कीर्तिपुरको सबैभन्दा ठूलो समस्या अव्यवस्थित र खाल्डाखुल्डीयुक्त सडक भएको बताउँदै डा मानन्धरले त्यसलाई सडक बोर्ड बनाएर स्थायी समाधान गर्ने अवधारणा आफूसँग रहेको बताउनुभयो ।  नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएका प्राडा शिवशरण महर्जन कीर्तिपुरमा समृद्धि ल्याउनु नै आफ्नो मुख्य ‘एजेन्डा’ रहेको बताउनुहुन्छ ।  उहाँले नगरपालिकाका कामकाजमा सुशासन कायम गर्ने, पुस्तकालय एवं सङ्ग्रहालय स्थापनासहित विकास निर्माणलाई जोड दिने तथा त्रिभुवन विश्वविद्यालयसँग नगरपालिकाको समन्वय गराउने पक्षमा आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका इन्जिनियर ध्रुव महर्जन नगरपालिकामा सुशासन, खानेपानीको उचित व्यवस्थापन र सार्वजनिक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था आफ्नो मुख्य चुनावी एजेण्डा रहेको बताउनुहुन्छ । नेपाल मजदुर किसान पार्टीले श्रीकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छभने राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दिएको छैन ।यसैगरी नगरप्रमुख पदमा उम्मेदवारी दिनुहुने स्वतन्त्र उम्मेदवारहरुले पनि चुनावी प्रचार–प्रसार अघि बढाएका छन् ।  उहाँहरूले विकास निर्माण, सुशासन, सांस्कृतिक सम्पदाको संरक्षण गर्न यसअघि राजनीतिक पार्टीबाट निर्वाचित मेयरहरू असफल भएको भन्दै यसपटको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई साथ दिन कीर्तिपुरवासीसँग आग्रह गर्नुभएको छ ।  यसरी स्वतन्त्र उम्मेवारका पक्षमा मतदान गर्न आग्रह गर्नुहुनेहरूमा कविकुमार महर्जन, नरेश महर्जन, आनन्द महर्जन, राजमान मानव, डा नवरथ बानियाँलगायत हुनुहुन्छ । प्रमुखबाहेक कीर्तिपुर नगरपालिका–१ र ४ मा वडाअध्यक्ष पदका लागि हुन गइरहेको उपनिर्वाचनमा पनि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।  सबैजसो उम्मेदवारहरूले वडास्तरीय विकास र सुशासनलाई चुनावी मुद्दा बनाएको देखिन्छ ।  

धनुषा:     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेलनेलसहित यातना पाएका योद्धाहरुका कारण देश परिवर्तन भएको बताउनुभएको छ । आज यहाँको जनकपुरधाम उपमहानगरपालिका–२५, लोहनामा नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभाका पूर्वसदस्य स्व अरविन्द ठाकुरको अर्धकदको प्रतिमा अनावरण गर्दै उहाँले स्व ठाकुरको योगदान स्मरण गर्नुभयो ।  लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि कांग्रेसको सशस्त्र आन्दोलनका क्रममा बम प्रहार गर्न खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताउनुभएका प्रजातान्त्रिक योद्धा स्व ठाकुर जस्ता नेताकै कारण मुलुकमा सङ्घीय लोकतन्त्र प्राप्त भएको उहाँले बताउनुभयो ।       सभापति देउवाले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताउनुभयो । त्यसका लागि सङ्घीय लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद भएकाहरुले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।        नेपाली कांग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले स्व ठाकुरको सपना साकार पार्न सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो ।       नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाको निर्माण गर्नुका साथै जनताको अधिकार प्राप्तिमा योगदान पु¥याएको उल्लेख गर्नुभयो ।       नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधानसभाका सदस्य रश्मी ठाकुर, नेपाली कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, पूर्वमन्त्री रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतले  मन्तव्य राख्नुभएको थियो ।       रु २५ लाख लागतमा स्वर्गीय नेता ठाकुरको प्रतिमाको संरचना निर्माण भएको हो । नेपाली कांग्रेसका सभापति देउवाले स्व ठाकुरका धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभयो ।

काडमाडौं:     निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही  मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।       आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।       आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन समेत भनेको छ ।       उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन समेत बैठकले आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।       मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई पनि आयोगले आह्वान गरेको छ ।       उपनिर्वाचनको लागि मतदाता परिचयपत्रका अलावा अन्य सरकारी कागजातका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।  “आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन”, आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा उल्लेख छ ।       यही मङ्सिर १६ गते आइतबार विहान ७ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मतदान केन्द्रमा गई मतदानमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न आयोगले मतदातालाई आह्वान गरेको छ । 

काठमाडौं:    नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन हुनुभएको छ ।        कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो लगाएको छ । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।   उहाँका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ । कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताहरूको कार्यविभाजन गरिएकाले सङ्गठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।  पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इञ्चार्ज तोकिएको छ भने अन्य नेताहरूको कार्यविभाजन पनि गरिएको जनाइएको छ ।