बेइजिङ: प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा आज बेइजिङ आइपुग्नुभएको छ । उहाँलाई यहाँस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज बेइजिङ आइपुग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने छ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ । त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत हुनुुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।
सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष र नेकपा (एमाले) एक गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ । कांग्रेस वडाध्यक्षबाहेक कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचनाकुमारी भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाउनुभयो । तेस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी) की जवा शाहीले पाँच सय ५३ मत पाउनुभयो । दुई वर्षअघि भएको निर्वाचनमा यो गापाको उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित हुनुभएको थियो । उहाँको निधनपछि उपनिर्वाचन भएको हो । विसं २०७४ मा भने सो गापामा एमाले नै विजयी भएको थियो । दुई वर्षअघिको निर्वाचनमा पराजय बेहोरेको कांग्रेस उपनिर्वाचनमा बझाङ जिल्ला, सुर्मा गापा–४ र दार्चुला जिल्ला, दुहु गापा–५ को वडाध्यक्ष पदमा निर्वाचित भएको छ । सुर्मा–४ मा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा उहाँको निकटतम प्रतिस्पर्धामा एमालेका लखिचन्द्र बोहराले चार सय ८७ मत पाउनुभयो । यसअघिको निर्वाचनमा एमालेका प्रत्यासी यो वडाको वडाध्यक्षमा विजयी हुनुभएको थियो । यसअघिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) विजयी भएको दार्चुला दुहु–५ को वडाध्यक्षमा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धि एमालेका मानसिंह बडालले तीन सय ५८ मत पाउनुभयो । कांग्रेसले डोटीको पूर्वीचौकी गापा–६ र कञ्चनपुर भीमदत्तनगर नगरपालिका–६ को वडाध्यक्षमा पुनः विजय प्राप्तगरी बिरासत जोगाएको छ । पूर्वीचौकीमा कांग्रेसका मोहन थापा चार सय ६८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापा तीनसय एक मत पाउनुभयो । भीमदत्त नगरनगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मत प्राप्त गरी विजयी हुँदा एमालेका बहादुर चन्द चार सय ८७ मतमा सीमित हुनुभयो । उपनिर्वाचनअन्तर्गत नै कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीका चौधरीभूल निर्विरोध निर्वाचित भइसक्नुभएको छ । उपनिर्वाचनमा संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का साथै नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको नतिजा शून्य भएको छ । आइतबार भएको उपनिर्वाचनमा मतदान गर्न योग्य कूल मतदातामध्ये स्वामीकार्तिक खापर गाउँपालिकामा ५२, सुर्मा गापामा ७६, पूर्वीचौकी गापामा ५३, दुहुँ गापामा ६९ र भीमदत्तनगर नगरपालिकामा ५५ प्रतिशत मत खसेको थियो ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन भएपछि विमानस्थलमा उपस्थिति हुने पदाधिकारीको सङ्ख्या घटेको छ । मन्त्रिपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका क्रममा कार्यान्वयनमा आएको गृह मन्त्रालयले स्पष्ट गरेको छ । कार्यविधि संशोधनसँगै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा/आउँदा बिदाइ र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको सङ्ख्या कटौती भएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो । “भिभिआइपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्थासम्बन्धी प्रस्ताव चार दिनअघि मात्र संशोधनसहित मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ,” सूचना अधिकारी तामाङले भन्नुभयो, “भिभिआइपीको स्वागत र बिदाइ व्यवस्थित र प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको हो, सम्माननीय प्रधानमन्त्रीज्यू आज मित्रराष्ट्र चीनतर्पm प्रस्थान गर्नुहुँदा उपस्थिति छरितो देखिएको छ ।” कार्यविधि संशोधनपछि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा आउँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधीकारी विमानस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किंदा उपराष्ट्रपतिसहित २३ जना पदाधिकारी विमानस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था थियो । “अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किंदा गरिने स्वागत र बिदाइलाई प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको छ ।” उहाँले भन्नुभयो, “सुरक्षा व्यवस्थापन कार्यविधि–२०८०, पहिलो संशोधन भई आजदेखि कार्यान्वयनमा आएको छ ।” त्यसैगरी, राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्या पनि घटाइएको छ । मिनी कारकेडसम्म यसअघि उपराष्ट्रपतिसहित १३ जना पदाधिकारी उपस्थित हुने व्यवस्थालाई कटौती गरेर नौजना पदाधिकारीमा सीमित गरिएको छ । नयाँ कार्यविधिअनुसार अब उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किंदा प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था संशोधन भई प्रधानमन्त्रीसहित सातजना उपस्थित हुनुपर्ने व्यवस्था कायम भएको छ । त्यस्तै, विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारी सातबाट घटाएर चार पु¥याइएको छ । अब प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उपराष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मात्र उपराष्ट्रपतिको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा उपस्थित हुनुपर्नेछ त्यसैगरी, संशोधित कार्यविधिअनुसार प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनुपर्नेछ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी २१ जना पदाधिकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था थियो । त्यस्तै, प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म कार्यवाहक प्रधानमन्त्रीसहित छजना पदाधिकारी उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि उक्त स्थानसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ११ जना उपस्थित हुने व्यवस्था थियो ।संशोधित नयाँ कार्यविधिअनुसार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष विमानस्थल जानुपर्ने छैन । राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा सभामुख र राष्ट्रियसभा अध्यक्ष विमानस्थल पुग्नुपर्ने व्यवस्था संशोधनपछि हटेको छ ।
झापा: झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । आज भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गर्नुभयो । यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित हुनुभएको थियो । कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिनुभयो ।
काठमाडौं: काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरेकी हुन् । कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए । एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन् । ०७९ को निर्वाचनमा काठमाडौं १६ मा कांग्रेका मुकुन्द रिजाल निर्वाचित भएका थिए ।
गोरखा: गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिनुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गर्नुभयो । कूल दुई हजार दुई सय २५ मतदाता रहेको उक्त वडामा एक हजार तीन सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको मुख्य निर्वाचित अधिकृत रानभाट जानकारीले दिनुभयो । उपनिर्वाचनमा विभिन्न नौ राजनीतिक दलका नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुभएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
दार्चुला: दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी हुनुभएको छ । वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभयो । उक्त उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । निर्वाचनमा १५ मत बदर भएको थियो । उपनिर्वाचनमा कूल एक हजार दुई सय ७२ मतदातामध्ये आठ सय ७७ (६९.९४ प्रतिशत) मत खसेको थियो । दुहुँ–५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २२३ पुरुषले मतदान गर्नुभएको थियो भने (ख) केन्द्रमा २६२ महिला र १७८ पुरुष मतदानमा सहभागी भएका निर्वाचन कार्यालयले जनाएको छ । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।
कालीकोट: कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्कराज शाही विजयी हुनुभएको छ । वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो । उक्त उपनिर्वाचनमा नेकपा (एमाले) का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले पाँच मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पन्तले बताउनुभयो । कूल ६ सय नौ मतदातामध्ये निर्वाचनमा चार सय ११ (६७.४८ प्रतिशत) मत खसेको थियो । दुई सय १७ महिला र एक सय ९४ पुरुषले मतदान गरेका थिए । चार मत बदर भएको थियो । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो ।
काठमाडौँ: स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी हुनुहुन्छ ।