काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु एक हप्ते कर्णाली यात्राको क्रममा विभिन्न जिल्लामा पुग्नुभएको छ । यही कात्तिक ६ गते सल्यानको सल्ली बजारमा आमसभा गरेर शुभारम्भ भएको राप्रपाको कर्णाली प्रदेशको यात्रा कात्तिक ७ गते सुर्खेतको बाबियाचौर हुँदै आज दैलेख पुगेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली यात्राका क्रममा कात्तिक ९ गते कालिकोटको सदरमुकाम मान्ममा, कात्तिक १० गते जुम्लाको गोठिजिउलामा र कात्तिक ११ गते मुगुको गमगढीमा सभाहरु हुनेछन् । पार्टीको स्थानीय संरचनालाई चलायमान बनाउन, पार्टीको एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न, चौतर्फी अन्यौल, अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा सिर्जना भएको परिस्थितिका बारेमा जनतासँग संवाद गर्न र तुलनात्मक रुपमा राज्यको प्राथमिकता कमजोर रहेको कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियानअन्तर्गत कर्णाली यात्रा गरिरहेको सो पार्टीले जनाएको छ । अध्यक्ष लिङ्देनको साथमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही, सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष दीपबहादुर शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, सहमहामन्त्रीहरु, सहायक महामन्त्रीहरु, पार्टीका दर्जनौँ केन्द्रीय र प्रदेश तहका नेताहरु, संघ र प्रदेशका आधा दर्जन सांसदहरु सहभागी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
काठमाडौं: नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजनीतिक दल, व्यक्ति र संस्थाबाट भइरहेका गतिविधि विधिको शासनविरुद्ध भएको जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गरी सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढिरहँदा रास्वपाका कार्यकर्ताबाट भइरहेका गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो । संसदीय विशेष समितिले बनाएको प्रतिवेदनको आधारमा किटान गरिएका व्यक्तिलाई अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया अघि बढेको र त्यसमा सहयोग गर्नु सबैको साझा कर्तव्य रहेको एमालेले जनाएको छ । छानबिन समितिले सर्वसम्मतरूपमा औँल्याएका विषयमा छानबिन प्रक्रिया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री, सरकारका जिम्मेवार व्यक्ति र निकाय विरुद्ध जिम्मेवार व्यक्तिबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने र गलत आक्षेप लगाउँदै छानविन प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्नु अत्यन्त दुःखद् भएको एमालेको ठहर छ । फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन, प्रतिरक्षालाई स्वतन्त्र, भयरहित र वैज्ञानिक बनाइ फौजदारी न्याय प्रणालीको प्रभावकारिता बनाउनु सबैको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख छ । सबै पक्षको सकारात्मक सहयोगबाट अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई दोषी नउम्कने र निर्दोष कोही नफस्ने कुराको सुनिश्चितता गर्न सकिने एमालेले जनाएको छ । कानुनले अनुसन्धान र अभियोजन गर्ने छुट्टाछुट्टै निकायको व्यवस्था गरेको स्मरण गराउँदै एमालेले रविको पक्राउबारे सरकार र नेतृत्वलाई जोडेर चर्चा गर्नु, अनुसन्धान र अभियोजन प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य न्यायिक दृष्टिकोणबाट अनुपयुक्त भएको ठहर गरेको छ । राष्ट्रसेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको एमालेको ठहर छ । यस्तो कसुरमा सङ्घीय सांसदकै उपस्थिति हुनु गैरकानुनी भएको एमालेले जनाएको छ । ‘यस्तो कसुरमा सङ्घीय संसद्को सदस्य उपस्थिति हुनु र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णतः गैरकानुनी कार्य हो, यस्तो भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ सबै पक्ष सचेत हुनुपर्दछ’, विज्ञप्तिमा उल्लेख छ । एमालेले सरकारका अख्तियारप्राप्त निकायबाट भइरहेको अनुसन्धान र अभियोजन प्रक्रियामा बाधा पु¥याउने कुनै प्रकारका गतिविधि नगर्न समेत आग्रह गरेको छ । यस्ता गतिविधि नियन्त्रण गरेर स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण बनाउन पनि एमालेले सरकारलाई अनुरोध गरेको छ ।
पोखरा: कास्की प्रहरीको हिरासतमा रहेको राष्ट्रिय स्वतन्त पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थमन पोखरामा जारी प्रर्दशन अब काठमाडौं केन्द्रीत गरिने भएको छ । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेश संयोजक राजन गौतमले अबका आन्दोलन काठमाडौं केन्द्रीत गरिने बताए । उनले कास्की र गण्डकी केन्द्रीत आन्दोलन सफल भएको उल्लेख गरे । ‘कास्की र गण्डकी केन्द्रीत हाम्रो आन्दोलन सफल भएको महसुस गरेका छौं । न्यायालय अर्थात कार्यान्वयन गर्ने निकायलाई झक्झकाएका छौं, उनले भने, ‘न्यायलाई मार्न पाइदैन भनेर आजसम्म हामीले शान्तिपूर्ण आन्दोलन गर्याै । सम्भवत आज पोखरा केन्द्रीत आन्दोलन टुङ्ग्याउदैछौ र अब काठमाडौं केन्द्रीत हुनेछ ।’ उनले सहकारीको विषयलाई मात्रै नभएर देश बनाउने एजेण्डा भएकाले काठमाडौं केन्द्रीत हुने निर्णय भएको बताए । ‘हामी देश नै परिवर्तन गर्ने बेथिती र भ्रष्टाचार अन्त्य गर्ने भनेर लागेका हौं त्यसका लागि काठमाडौं केन्द्री हुनुपर्छ भन्ने सल्लाह भएको छ ।’ उनले भने । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अनुसन्धानका लागि पाएको म्याद गएराती सकिएकाले आज फेरि थप अनुमति लिन कास्की जिल्ला अदालत लगिँदै छ । लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन सहकारीको रकम उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ । यो पनि पढ्नुहोस रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो (तस्बिरहरु) रविविरुद्ध ६ दिन म्याद थप
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकारमा जानेभन्दा सङ्गठन बलियो बनाउने अभियानमा लागेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आमनागरिकको हितमा काम गर्न सरकारलाई सुझाव दिँदै भन्नुभयो, “दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारलाई निरङ्कुश बन्न छुट छैन, संसदीय पद्धति र परम्परालाई पालनागरी सुशासनसहित जनतालाई राहत सुविधा दिनेतर्फ सरकारको ध्यान जान आवश्यक छ ।” उहाँले भ्रष्टाचारमा संलग्न दोषीलाई कुनै हालतमा छाड्न नहुने धारणा व्यक्त गर्दै गत असारमा आएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । एक प्रश्नको जवाफमा वर्तमान सरकारको सय दिनको समीक्षा हामी प्रतिपक्ष राजनीतिक दललेभन्दा आमनागरिकले गर्ने छन् भन्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “विद्यमान अवस्थामा कुनै पनि किसिमका ऐन, कानुन अध्यादेशबाट ल्याउनुभन्दा जनताको सर्वोच्च निकाय संसद्मा छलफल गराई आउनुपर्दछ, संसद्लाई उपेक्षागरी कानुन ल्याउन खोजिए प्रमुख प्रतिपक्ष दलका हैसियतले माओवादी पार्टी संसद् र सडकबाट विरोधमा उत्रन्छ ।” उहाँले हाम्रो ध्यान सरकारभन्दा पनि सङ्गठन विस्तार, सुदृढीकरण, पार्टी एकता एवं एकीकरण अभियानमा लागेको स्पष्ट गर्नुभयो ।
काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले गरिरहेको हूलहुज्जत र सडक प्रदर्शनले अनुसन्धानलाई प्रभावित गर्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले आज विज्ञप्ति जारी गरी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सो पार्टीका सभापति लामिछानेका समर्थकहरुले राज्यका तटस्थ निकायहरुलाई आतङ्कित र त्रसित पारी अनुचित दबाब सिर्जना गरिरहेको उल्लेख गरेको छ । राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणलाई बाधा पु¥याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्तिसुरक्षामा समेत खलल पु¥याउने गतिविधिप्रति कांग्रेसले विरोध जनाएको छ । संसदीय छानबिन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकाले सोही बमोजिम केही सहकारीको रकम अपचलन गरेको अभियोगमा गोर्खा मिडिया कम्पनीका सञ्चालकहरु जिबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेलाई उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । “कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पु(याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनु पर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “तर रास्वपाका नाममा भइरहेको गतिविधिहरुले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ ।” प्रचलित कानुनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरुमाथि समान ढङ्गले अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ भन्ने मान्यताप्रति कांग्रेस प्रतिबद्ध रहेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं: सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिले सर्वसम्मत तयार पारेको प्रतिवेदन कार्यान्वयनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई अदालतको स्वीकृति लिई पक्राउ गरिएको जानकारी गराउनुभयो । फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने गरी भइरहेका विरोध प्रदर्शन उचित नभएको गृहमन्त्री लेखकले बताउनुभयो । यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरुले आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्ष रुपमा अगाडि बढाउन आग्रह गर्ने विषयमा समझदारी भएको उहाँले बताउनुभयो । सरकारको हालसम्मको काम, आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते अर्को बैठक बस्ने तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । साथै साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको उहाँले बताउनुभयो । बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने उहाँले बताउनुभयो । “हामी लोकतन्त्रका लागि लडेका हौँ । हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आजीवन लागेका छौँ । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन । यसमा हामी स्पष्ट छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी हुनुहुन्थ्यो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अर्घाखाँची: नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिनुभएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताउनुभयो । अभियानका लागि अर्घाखाँची कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई छ स्थानीय तहका ६१ वटा वडामा खटाएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । सयदिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाइने कांग्रेसका अर्का जिल्ला सचिव अच्युत गौतमले जानकारी दिनुभयो । भातृ र शुभेच्छुक सङ्गठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले बताउनुभयो । अभियान आउँदो पुस १६ गते बिपी जयन्तीका दिन समापन हुनेछ ।
जुम्ला: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्न यहाँको कनकासुन्दरी गाउँपालिकाको गोरुचौर आइपुग्नुभएका दाहालले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाउनुभयो । प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “मैले उति बेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीन महिना पुग्दैछ । तपाईहरुले सबै देखिरहनुभएको छ ।” उहाँले आफ्नो नेतृत्वको सरकारले राज्यको जमिन जबरजस्ती व्यक्तिका नाममा दर्ता गर्नेलाई गिरफ्तार गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले नै अदालतमा मुद्दा चलिहरको व्यवसायीबाट जग्गा दान लिएर भ्रष्टाचारीको संरक्षण गरेको उहाँको आरोप थियो । उहाँले सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ । आज मात्रै हामी विपक्ष दलहरुका तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् ।” अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रिय रुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसद्को पहिलो र दोस्रो दलले आफूलाई हटाएको बताउनुभयो । उहाँले आफूले सरकारको नेतृत्व गरेको बेला दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएको उल्लेख गर्नुभयो । “संयुक्त राष्ट्रसङ्घको महासभा, विश्व खाद्य सम्मेलन, कोप–२८ सम्ममा लिएको हस्तक्षेप पूर्ण पहलकदमीले विश्वको ध्यान आकर्षित भएको थियो । महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई निम्तो दिएर विभिन्न युद्धको जटिल अवस्थामा महासचिव नेपाल आउनु महत्वपूर्ण उपलब्धि हो”, उहाँले भन्नुभयो, “गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँ र मैले विश्व शान्तिका लागि अपिल गरेका थियौँ । यी सबै पहलकदमीले विश्वको ध्यान नेपालमा तानिएको थियो र नेपालको पक्षमा अन्तर्राष्ट्रिय जनमत राम्रो बनेको थियो ।” अध्यक्ष दाहालले सिंजा सभ्यता र प्रतिष्ठानका लागि चाँडै ऐन बन्ने बताउनुभयो । उहाँले आफू पछिल्लोपटक प्रधानमन्त्री भएको बेलामा सिंजा सभ्यता र प्रतिष्ठानसम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै यसलाई चाँडै मन्त्रिपरिषद्बाट पारित गरी संसद्बाट ऐन बनाउने प्रक्रिया थालनी गर्नुपर्ने बताउनुभयो ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले ६ दिनको म्याद थप गर्ने अनुमति दिएको छ । न्यायधीस नवराज दाहालको इजलासले गत शुक्रबारदेखि लागू हुनेगरी उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न ६ दिनको अनुमति दिएको हो । उनलाई कास्की प्रहरीले आज अदालत पेश गरेको थियो । लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताद्वय पन्त र घिमिरेसहित अधिवक्ताहरु यज्ञमणि न्यौपाने, हेमराज पोखरेल उपाध्याय, अधिवक्ता कमल पोखरेल, डा. नारायणदत्त कँडेल र लेखनाथ सापकोटाले बहस गर्ने बताइएको छ ।