नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ३ बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षडयन्त्र विरुद्ध आन्दोलनरत छ । पुस १ गतेदेखि सुरु गरेको देशव्यापी विरोधअन्तरगत नेकपा कास्कीले आज पोखराको उत्तरी क्षेत्रमा पर्ने पोखरा–बाग्लुङ राजमार्गमा चक्काजाम गरेको छ । नेकपाले उक्त राजमार्गअन्तरगत याम्दीपुलमा बिहान १० बजेदेखि १ घण्टा चक्काजाम गरेको कास्की सेक्रेटरी काजी गुरुङले जनाए । चक्काजामको निर्धारित समय सकिन लाग्दा नेपाल प्रहरी पुगेपनि कुनै बल प्रयोग र धरपकड नभएको भन्दै उनले शान्तिपूर्णरुपमा कार्यक्रम सफल भएको जानकारी दिए । आन्दोलनअन्तरगत हिजो साँझ अमरसिंह क्षेत्रमा मशाल जलुुस निकालेको थियो भने अघिल्लो दिनमा नगरक्षेत्रमा प्रदर्शन गरेको थियो । आन्दोलनका निर्धारित कार्यक्रम सकिएपछि आगामी दिनमा हुने कार्यक्रमबारे केन्द्रमा छलफल हुने सेक्रेटरी गुरुङ्ले जनाए ।
काठमाडौंः नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन्। देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गरेका छन् भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाएका छन्। संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ। उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ। कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् । थापाको प्रस्तावकमा शेखर कोइरला छन् भने समर्थमकमा धनराज गुरुङ रहेका छन्। थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका छन्। कांग्रेस संसदीय दलको नेताका लागि मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
काठमाडौं: नेपाली कांग्रेसको संस्थानइतर पक्षको बैठकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका छन् । अनामनगरस्थित होटल बसेरामा इतर पक्षको बैठक जारी रहेको छ । शर्मा बैठक हलमा प्रवेश गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । नेता अर्जुननरसिंह केसी बैठक हल बाहिर गएर विश्वप्रकाशको हात समातेर बैठक कक्षमा प्रवेश गराएका थिए । बैठकले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको छ । थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला र प्रस्तावकमा धनराज गुरुङ रहनेछन् । महामन्त्री शर्माले पनि संसदीय दलको नेतामा थापालाई समर्थन गर्दै आइरहेका छन् ।
काठमाडौं: नेपाली कांग्रेसमा प्रधानमन्त्रीको रेशबाट वरिष्ठ नेता रामचन्द्र पौडेल आउट भएका छन् । यसअघि उनी सभापति देउवासँगै पौडेल र महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका थिए । त्यसका लागि उनले पछिल्लो समय राजनीतिक भेटवार्ता र संवादलाई तीव्रता दिएका थिए । नेताहरुबीच भएको पछिल्लो सहमति अनुसार कांग्रेस संसदीय दलको नेताका लागि नै पौडेल प्रतिस्पर्धामा नआउने भएपछि उनी प्रधानमन्त्रीको रेशबाट पनि आउट भएका हुन् । कांग्रेसमा दलको विधान अनुसार दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । दलको नेताका लागि कांग्रेसमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि नेता शेखर कोइरालाले समेत संसदीय दलको नेता बन्ने चाहना राखेका थिए । तर सोमबार र मंगलबार दुई दिन भएको थापा र कोइराला समूहको बैठकले थापालाई दलको नेतामा अघि सार्ने सहमति गरेका छन् । नेता शेखर कोइराला र गगन थापा समूहको बैठकले थापालाई कांग्रेसको देउवा इतर समूहबाट संसदीय दलको नेतामा उम्मेदवार उठाउने सहमति भएसँगै देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । गगन थापाको उम्मेदवारी दर्ताको तयारी गर्न कोइराला र थापा होटेल बसेरामा पुनः बस्ने नेताहरुले बताएका छन् । त्यसअघि आज बिहान साढे ८ बजेदेखि लाजिम्पाटस्थित होटल एम्बास्डरमा कोइराला र थापासहितका नेताहरुले छलफल गरेका थिए । छलफलमा नेता अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी थिए । सोही होटलको एउटा छुट्टै कोठामा थापा, कोइराला, सञ्जय गौतम, रामनाथ अधिकारी लगायतले पनि छलफल गरेका थिए । थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । तर कोइरालाले पनि दलको नेताको आकांक्षा देखाउँदै आफूलाई सघाउन थापालाई आग्रह गरेपछि उनीहरुबीच समझदारी जुट्न सकेको थिएन । संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् । देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।
काठमाडौं: रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक भोलिसम्म चल्ने भएको छ । सोमबार बिहानदेखि बुढानीलकण्ठको होटल पबेरामा राखिएको बैठक बुधबारसम्म चल्ने भएको हो । अध्यक्ष लामिछानेसहित निर्वाचित सांसद र केन्द्रीय सदस्य समेतलाई राखेर बैठक चलिरहेको एक केन्द्रीय सदस्यले बताए । लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसदको भुमिका, संविधान र कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा समेत छलफल हुने भएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा रिजिट भएर बस्न मिल्ने बताएका छन् । संसदीय दलको नेता चयन गर्ने बैठकमा बुढानिलकण्ठमा बोल्दै लामिछानेले परिस्थिति हेरेर सरकारमा जाने विषयमा निर्णय गरिने बताए । ‘हामी सरकारमा जाँदै जाँदैनौं वा जान हुँदैन भनेर रिजिट भएर बस्न हुँदैन । त्यो फेरि सरासर गलत हुन्छ’ लामिछानेको भनाई उदृढ गर्दै एक सांसदले भने,‘अहिलेको व्यवस्था र संसदीय अंकगणितमा हाम्रो पार्टी निर्णाक छ । हाम्रा कारणले सरकार नबन्ने स्थिति भएमा समर्थन गरेर सरकारमा जाने हुन सक्छ ।’ अहिलेको संसदलाई पुरा कार्यकाल चल्नेगरी पार्टीको तर्फबाट सरकारमा जानु परेमा जान सकिने लामिछानेले बताए । सरकारमा जान वा नजाने पुराना दलको निर्णयमा भर पर्ने बताए । यदि हामी सरकारमा गएमा निर्सत नजाने उनले स्पष्ट पारेका थिए ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताए । उनले आफूहरू मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे । अध्यक्ष लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए । उनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरे । अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा शुरु भएको बताए । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गरे । पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए । लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गरे । अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दुतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिए । दुतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे । उनले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिए । उनले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको बताए । पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाई छ । पार्टी सदस्यहरुले पनि कडाइपूर्वक पार्टी अनुशासनको पालना गर्नुपर्ने उनले बताए ।