काठमाडौं: नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् । बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । थापाले २५ मत पाएका थिए । निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालाई बधाई दिन बालुवाटार पुगेका हुन् ।
काठमाडौं: राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । राणाले शपथ लिएसँगै उनले प्रतिनिधिसभाका अन्य सदस्यहरुलाई बिहीबार शपथ गराउने कार्यक्रम रहेको छ।
काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नरहेको स्पष्ट पारेका छन् । बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए । उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए । उनले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए । महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए । महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरु अघि बढाउने कुरामा आफू लाग्ने बताए ।
काठमाडौं: नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउन भनेको छ । लिखित निर्देशन नै नभए पनि मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन भनिएको एक सांसदले जानकारी दिए । संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था गरेकोमा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्यजस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट समेत बनेका छन् । ‘आफ्नो भाषा र पोशाकमा सपथ लिन पाउने भनेर संविधानले नै व्यवस्था गरेको छ,’ एक सांसदले अनलाइनखबरसित भने, ‘तर, नेतृत्वले ह्वीप लगाएर जसरी राष्ट्रिय भाषा र पोशाकमै सपथ लिनुपर्छ भनेको छ । हामीले आफ्नो भाषा र भुषा अनुसारको शपथ लिन पनि नपाउनु?’ असन्तुष्ट सांसदले उपाध्यक्ष सुवास नेम्वाङ र महासचिव शंकर पोखरेलसँग यसबारे असन्तुष्टि समेत पोखेका छन् । सांसदको गुनासोपछि नेम्वाङले आफूले बालकोट गएर अध्यक्षसँग कुरा राख्ने बचन दिएका थिए । एमालेका नेता लिलानाथ श्रेष्ठले भने सकभर राष्ट्रिय पोशाक र भाषामा सपथ लिंदा राम्रो हुने भनिएको तर अनिवार्य भने नगरेको बताए । ‘सकभर राष्ट्रिय पोशाक र सबैले बुझ्ने भाषामा सपथ खाँदा राम्रो हो,’ उनले भने, ‘त्यस्तो ‘हार्ड एन्ड फास्ट’ केही छैन ।’ प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउने छन् ।
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो । तर बुधबार बिहान भएको मतदानमा देउवा ६४ मतका साथ दलको नेतामा निर्वाचित हुँदा गगनले २५ मत मात्र पाएका छन् ।
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।
काठमाडौंः कांग्रेसको संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि केहीबेर ढिलो गरी सुरु भएको छ । बिहान १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । संसदीय दलको चुनावमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार हुनुहुन्छ । देउवा दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नु भएको छ । थापा पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ । यस्तै, अहिले यो चुनावले नै भावी सरकार गठनसहित समग्र राष्ट्रिय राजनीतिक जोडिएकाले पनि अन्य राजनीतिक पार्टी र नेताहरुले पनि चासोका साथ हेरेका छन् । कांग्रेसमा दलको नेता निर्वाचित हुनु भावी प्रधानमन्त्रीको सबैभन्दा बलियो दाबेदार हुनु हो । यस्तै, कांग्रेस सभापति देउवाले दलको नेताको चुनावपछि शक्ति बाँडफाँडको विषयमा छलफल गर्ने बताएका कारण सत्तागठबन्धनमा रहेका दलले चासो दिएका छन् । अहिले कांग्रेसको संसदीय दलमा ८९ सांसद रहेकाले बहुमतका लागि ४५ मत चाहिन्छ । विधानमा ५० प्रतिशत मत पाएपछि मात्रै दलको नेता चयन हुने व्यवस्था छ । अंकगणितअनुसार संस्थापन पक्षसँग सुविधाजनक बहुमत देखिन्छ । तर, दुवै पक्ष एक–अर्को समूहमा रहेका सांसदको समर्थन जुटाउने र मत बढाउने रणनीतिमा केन्द्रित छन् । ८९ मतदातामा संस्थापनमा ५४ र इतर समूहमा ३५ सांसद देखिन्छन् । महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलसमेतको समर्थनमा थापा दलको नेताको उम्मेदवार बनेपछि सभापति देउवामाथि चुनौती थपिएको छ । देउवालाई रामचन्द्र पौडेल, प्रकाशमान सिंह र पूर्वमहामन्त्री शशांक कोइरालालगायतका नेताको समर्थन छ । संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारीलाई राजनीतिमा रूपान्तरणको सन्देशका रुपमा पनि लिइएको छ ।
काठमाडौं: नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।
काठमाडौं: राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठ अध्यक्ष लिङ्देन सर्वसम्मत रूपमा पार्टी संसदीय दलको नेता चयन भएको जानकारी दिए। दल नेता चयन गर्न आज राप्रपाले संसदीय दलको बैठक राखेको थियो। राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्।