काठमाडौँ: संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमत भएका छन् । शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए । ‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ’, लेखकले भने, ‘माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुख चयन गर्ने गरी लगभग सहमति जुटेको छ ।’
काठमाडौं: नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको हो । सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि यो बैठक बोलाइएको हो । बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । साथै स्वतन्त्र सांसदहरूलाई पनि बैठकमा बोलाइएको छ । बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा छलफल गर्ने जानकारी संसद् सचिवालयले दिएको छ । त्यस्तै, निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ ।
काठमाडौं: उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत थम्पसन शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका थिए। राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हालेका हुन्। राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७ औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मात्र मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउनसकिने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान दिन जरुरी रहेको जिकिर गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘आजको प्रतिस्पर्धी विश्वमा कतिपय अवसरका ढोकाहरू छोटो समयका लागि मात्रै उपलब्ध हुनसक्छन् भने कतिपय अवसरका लागि उत्पादनको विविधीकरण एवम् उपभोक्ताको रुचीमा निरन्तर ध्यान दिनुपर्छ । नेपाल सरकार र उद्यमीहरूबिचमा पर्याप्त साझेदारी निर्माण भई नेपाली उत्पादनको बजार विस्तार एवम् निर्यात अभिवृद्धिमा ठोस उपलब्धि हासिल गर्नका लागि यो प्रदर्शनी उपयोगी माध्यम हुने मैले विश्वास लिएकी छु । मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक छ । नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । यसका लागि फुटवेयर उद्योगले पनि महत्त्वपूर्ण भूमिका खेल्नसक्छ ।’’ उहाँले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू नेपाल सरकारले अवलम्बन गर्नु अति आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले सरकारले नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेको उल्लेख गर्नुहुँदै उल्लेखित क्षेत्रहरूमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरू अवलम्बन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी सबैको दायित्व भएको बताउनुभयो । ‘‘स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान पुर्याउनुपर्छ । यसका लागि कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, तथा पर्यटन प्रवर्द्धन जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू नेपाल सरकारले अवलम्बन गर्नु अति आवश्यक छ । नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेका छौँ ।,’’ राष्ट्रपति भण्डारीले थप्दै भन्नुभयो, ‘‘ती क्षेत्रहरूमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरू अवलम्बन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी हामी सबैको उत्तिकै दायित्व हो । तसर्थ, निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक भएको छ ।’’ निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक छ । राष्ट्रपति भण्डारीले मुलुकको अर्थ व्यवस्था बलियो बनाए केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुनुकका साथै रोजगारी र उद्यमशीलताको नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायनसमेत रोक्न सकिने उल्लेख गर्नुभयो । उहाँले अर्थ व्यवस्थाको सबलीकरणका लागि राष्ट्रका उद्यमी र किसानको मनोबल सधैँ उच्च राख्न अति आवश्यक रहेको र आफ्नो इतिहासमाथि न्याय गर्नसमेत आफ्नो क्षमताको पहिचान र प्रयोग गर्नु आवश्यक भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले घरेलु उत्पादनको रूपमा रहेका नेपाली फुटवेयर उत्पादनहरूले स्वदेशी जुत्ताचप्पल बजारमा ठूलो स्थान ओगट्न सफल भएको र यसले आधा लाख बढी मानिसलाई रोजगारी प्रदान गरेकोप्रति खुसी प्रकट गर्नुभयो । उहाँले नेपाली उत्पादनलाई गुणस्तरसहित ब्राण्डिङ गर्नसकेको खण्डमा नेपाली फुटवेयर उत्पादनका लागि बजार उपलब्ध हुनसक्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले बजार विस्तारमा प्राप्त हुने अवसरहरूको खोजी गर्दै अवसरको सदुपयोग गर्न उद्यमीहरूलाई आग्रह गर्नुभयो ।
काठमाडौं: नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज (बिहीबार) बङ्गलादेश प्रस्थान गर्नुभएको छ । बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष पोखरेल आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो । उहाँले भोलि (शुक्रबार) महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ । पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुनुहुन्छ । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल दुई दिनपछि नेपाल फर्कनुहुनेछ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत ५ गते हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरेको हो । अब उक्त मिति त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गर्नेछ । शुक्रबार बस्ने त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गरेपछि त्रिविले स्ववियु कार्यतालिका सार्वजनिक गर्ने भएको छ । यसअघि चैत २८ गते गर्ने गरी सहमति जनाइएको थियो । तर, लगातार ३४ दिन विदा भएको ५ गते गर्ने गरी सिफारिस गरेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिए । त्रिवि कार्यकारी परिषद् बैठकले उक्त मिति अनुमोदन गरेपछि कार्यान्वयनमा आउने र सोही आधार चुनावी कार्यतालिका सार्वजनिक गरिने उनको भनाई छ ।
काठमाडौं: राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को बालुवाटार स्थित सरकारी निवास र सिंहदरबार स्थित कार्यालयमा खटिएका प्रहरीका ३५ चालकलाई फिर्ता गर्ने निर्णय गरिएको छ । पुस १९ मा प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेर ३५ जना चालकलाई निरन्तर कामकाज गर्ने गरी अनुरोध गरेको थियो । तर, सो निर्णयबाट प्रधानमन्त्री कार्यालय पछि हटेको हो । गृह मन्त्रालयले पुस १२ मा कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि गृह मन्त्रालयमा कार्यरत चालकहरू पनि फिर्ता भएका छन् । गृह मन्त्रालयमा कार्यरत ३१ जना चालक २४ घण्टाभित्र प्रहरी प्रधान कार्यालय फिर्ता भएका थिए । प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत झविन्द्र प्रसाद पाण्डेले पुस १९ मा लेखेको पत्रमा भनिएको छ–‘आदेशअनुसार अर्को व्यवस्था नभएसम्मको प्रधानमन्त्री निवास र कार्यालयमा खटिएका सवारी चालकलाई यस कार्यालयमा निरन्तर कामकाज गर्ने गरी व्यवस्था हुन आदेशअनुसार अनुरोध छ ।’ तर, पत्राचार गरेको दुई दिनमै सो निर्णयबाट पछि हटेर प्रधानमन्त्री कार्यालयले चालकहरूलाई फिर्ता पठाउने भएको छ ।
धनगढी: नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ। सो पार्टीका प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनुका अनुसार आजको चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। शाह कैलाली क्षेत्र नम्बर २ को ९क० बाट निर्वाचित हुनुभएको हो। दलको नेताका लागि प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मानबहादुर रावल, शिवराज भट्ट, प्रकाशबहादुर देउवा र मेघराज खड्कालगायतले आकांक्षा राख्नुभएको थियो। सुदूरपश्चिममा कांग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्। नेपाली कांग्रेस प्रदेश सभामा ठूलो दल हो।