सर्लाही: मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् । उनले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरिन् । लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् । स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।
काठमाडौँ: काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राख्नुभएको छ ।आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा केहीबेर अगाडि ३१ हजार २४ मतगणना हुँदा उहाँले ११ हजार छ सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो । यस्तै दोस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले छ हजार नौ सय ६५ मत प्राप्त गर्नुभएको छ भने तेस्रोमा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले छ हजार सात सय ३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खनालले बताउनुभयो । उक्त क्षेत्रमा २४ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १३ विभिन्न राजनीतिक दलका र ११ जना स्वतन्त्र उम्मेदवार रहेको उक्त कार्यालयले जनाएको छ । काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको उक्त क्षेत्रको ७५ मतदान केन्द्रमा मतदान भएको थियो । बैसठ्ठी हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो ।
हुम्ला: हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना सुरु हुन नसकेको हो । जिल्लाका दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा ल्याइपुर्याएको छ । तर त्यहाँबाट हेलिकप्टरमा ढुवानी गर्नका लागि निर्वाचन आयोगसँग कुरा भइरहेका कारण मतपेटिका रोकिएका हुन् । सर्केगार्डबाट सदरमुकाम सिमकोट पुग्न डेढ दिन पैदल हिँड्नुपर्छ । सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने देखिएपछि निर्वाचन आयोगसँग हेलिकप्टरमा ढुवानीका लागि कुरा भइरहेको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताउनुभयो । उहाँ अनुसार आज दिउँसोसम्म मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिनेछ । सर्केगार्डमा ताँजाकोटका सात, अदानचुलीका आठ, चङ्खेलीका आठ र सर्केगार्डका ११ वटा मतदान केन्द्रका मतपेटिका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा निर्वाचनमा खटिएका कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र कर्मचारी गरेर ४९ जना बाटोमै रोकिएका छन् । न्यालु लेकमा हिउँ जमेकाले पैदल हिँडेर आउन समस्या हुने देखिएपछि उनीहरु पनि हेलिकप्टरको पर्खाइमा छन् ।
पोखरा: कास्की क्षेत्र नं ३ (१) प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ निर्वाचित भएका छन् । उनका निकटतम गठबन्धनका तर्फबाट माओवादीका दुर्गादत्त भण्डारीलाई ४४०९ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका गुरुङले १२६७४ मत प्राप्त गर्दा माओवादीका दुर्गादत्त भण्डारीले ८२६५ मत प्राप्त गरेका थिए । त्यस्तै हाम्रो नेपाली पार्टी लौरो चिह्नबाट खिम प्रसाद तिमिल्सिनाले २४१३ मत प्राप्त गरे । कास्की क्षेत्र नम्बर ३ (१) मा जम्मा मतदाता संख्या ५२८६२ रहेका छन् भने कुल २८८४३ मत खसेको थियो । यसमध्ये कुल सदर मत २७७५८ रहेको थियो भने १०८५ बदर भएको थियो ।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसी विजयी हुनुभएको छ । चालिसे २ हजार ६७२ मतान्तरले विजयी हुनुभएको छ । केसी १४ हजार ४५८ मत ल्याएर सहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७८६ मत ल्याउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्ट थापाले ८ हजार ७३६ मत ल्याउनुभएको छ । उक्त क्षेत्रमा कुल ५३ हजार ३३६ मत खसको थियो ।
काठमाडौं: प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही कलाकार पनि चुनावी मैदानमा छन् । कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । मतगणना भइरहेको उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बनाइरहेका छन् । हिमेश सुरुवातदेखि नै तेस्रो स्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार उनी पाण्डेभन्दा ९ हजार भन्दा बढी मतले पछाडि छन् । मत परिणाममा पछि परेपछि पन्तले दूरदराजका मतदाताको चेतनास्तरमाथि नै टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजमार्ग क्षेत्र र नगरपालिका क्षेत्रका मतदाता बुझ्ने भएपनि गाउँ र लेकका मानिसको चेतनास्तरमा सुधार नआएकाले आफूले कम पाएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘हामी प्रचारप्रसारमा हिंड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै सुन्न पाइयो । कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्’ सम्म भन्न भ्याए । धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन ।’ देशका प्रमुख सहरी क्षेत्रमा रास्वपाले अग्रता लिइरहेका बेला आफू पछि परेपछि आक्रोश पोख्दै पन्तले विना संगठन आफूले सम्मानित मत पाएको बताएका छन् । उम्मेदवार पन्तको फेसबुक स्टाटस
पोखराः कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले अग्रता कायमै राखेका छन् । एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले १० हजार ९ सय ११ मत प्राप्त गरेका छन् । उनलाई सत्ता गठबन्धनबाट तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी प्रसाद बराल जीवनले ८ हजार १ सय ८८ मत प्राप्त गर्दै पछ्याइरहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले ६ हजार ६ सय ७२ मत पाएका छन् । भने अन्य उम्मेदवार उनीहरको तुलनामा कम मत प्राप्त गरेका छन् । कास्की क्षेत्र नम्बर ३ मा ६८ हजार ६सय ३२ मत खसेको थियो ।
ढोरपाटनः बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गर्नुभएको छ । थापाले १३ हजार आठ सय ८४ मत ल्याउनुभएको छ भने केसीले १२ हजार चार सय पाँच मत ल्याउनुभएको छ । बागलुङ–१(२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी हुनुभएको छ । सुवेदीले एमालेका नवराज पौडेललाई छ हजार ७५ मतान्तरले पराजित गर्नुभएको छ । सुवेदीले १३ हजार तीन सय २७ ल्याउँदा पौडेलले सात हजार दुई सय ५२ मत ल्याउनुभएको छ । पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँ कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत हुनुहुन्थ्यो । बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी हुनुभएको छ । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गर्नुभएको हो । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभयो । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बन्नुभएको थियो । बागलुङ–२(२) मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी हुनुभएको छ । कुँवरले एमालेका लक्ष्मण पुनलाई तीन हजार सात सय ३७ मतान्तरले पराजित गर्नुभएको हो । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ सय ७१ मत ल्याउनुभएको छ ।
तनहुँः नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी विजयी हुनुभएको हो । आज बिहान सम्पन्न मतगणनाअनुसार भण्डारी प्रतिस्पर्धी नेकपा (एमाले)का किरण गुरुङसँग पाँच हजार चार सय ७४ को मतान्तरले विजयी हुनुभयो । गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गर्नुभएको क्षेत्र नं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताउनुभयो । निर्वाचनमा ६८ हजार एक सय ७३ मत खसेको थियो । विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल भानु नगरपालिका–८ मा जन्मिनुभएका भण्डारी ठूलो दाई छत्रराज भण्डारीको प्रेरणाबाट विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभएको थियो । विसं २०३६ को विद्यार्थी आन्दोलनमा सक्रियरूपमा सहभागी हुनुभएका भण्डारीले विसं २०४० मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी जानुभएको थियो । विद्यार्थी राजनीतिमा सक्रियरूपमा सहभागी हुने क्रममा भण्डारी लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी हुनुभएको थियो । पार्टीको काममा सक्रिय रहेको अवस्थामा नै विसं २०४६ मा भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहनुभएको थियो । नेविसङ्घको राजनीतिमा सक्रिय हुने क्रममा विसं २०४८ मा त्रिचन्द्र क्याम्पसमा नेविसङ्घको क्याम्पस एकाइ सभापति र २०४९ मा स्ववियु सभापति बन्न सफल भण्डारी विसं २०५३ देखि भने पार्टी राजनीतिमा सक्रिय हुनुभएको थियो । भण्डारी विसं २०५३ मा महाधिवेशन प्रतिनिधि बन्न सफल हुनुभयो । साथै भण्डारीले बालकृष्ण खाणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभयो । युवाहरूमाझ लोकप्रिय भण्डारी चितवनमा भएको तरुण दलको महाधिवशेनमा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रनु भए पनि झिनो मतले पराजित हुनुभयो । पार्टीको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हाल्नुभयो । विसं २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । पार्टीको १३औँ र १४औँ महाधिवेशनबाट पनि भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । भण्डारीले आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हामीसँग विशाल फाँटहरू छन्, त्यहाँ बाह्रैमास सिँचाइ सुविधा पु¥याएर कृषिमा कम्तीमा आत्मनिर्भर बन्ने, उपयोगमा नआई खाली रहेका जमिनमा फलफूल, तरकारी, जडीबुटीलगायत कृषि उत्पादन वृद्धि गरी निर्यातसमेत गर्न पहल गरिनेछ”, भण्डारीले भन्नुभयो । आवश्यक विकासका पूर्वाधारहरू पहिचान गर्दै समन्वय र सहकार्यबाट विकास गरी यस क्षेत्रलाई नमूना बनाउन पहल गरिने भण्डारीले बताउनुभयो । “यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराईसँग जोड्ने दु्रतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्न मेरो पहल रहनेछ”, उहाँले भन्नुभयो । वर्षौँदेखि ओझेलमा परेका यहाँका विकासका मुद्दालाई स्थापित गराउने बताउँदै भण्डारीले आउने नेतृत्वलाई सहज हुने गरी आवश्यक सबै पूर्वाधार यही कार्यकालमा पूरा गर्ने बताउनुभयो ।