काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा छन् । सत्तारुढ गठबन्धन आवद्ध दलहरू औपचारिक तथा अनौपचारिक रुपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् । गत आइतबार राष्ट्रपति भण्डारीले १० पुस साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकी छन् । जसपा र नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् भने बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गरिएको थियो । सरकार गठनका लागि दलहरू घनिभूत छलफलमा छन् । विशेषगरी बहुमत जुटाउनुपर्ने भएकाले सत्तारुढ गठबन्धनबाट सरकार बन्ने देखिन्छ । गठबन्धनले बनाउन नसके आफू पहल गर्नेमा एमालेको तयारी छ । तर, सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति जुटिनसक्दा एमाले नेता गोकुल बाँस्कोटाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने सार्वजनिक रुपमा भनेका छन् । बाँस्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् । बाँस्कोटाको उक्त धारणालाई कतिपयले ओलीकै धारणाको रुपमा हेरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिन बाँस्कोटाले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याखें दाउमै रमाउने देखिँदै छ । विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नुपर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस् । शुभकामना ।’
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् । पार्टीका सांसदहरुको खुमलटारमा भएको भेटघाटमा प्रचण्डले प्याकेजमा सहमति गरेर जाने विषयमा वातावरण बन्दै गएको बताएका हुन् । ‘राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय धेरै छैन । आज बेलुकासम्म सहमति गरी सक्नुपर्ने छ’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘शीर्ष तहमा छलफल सकारात्मक रुपमा अघि बढेको छ । प्याकेजमा सहमति गर्ने प्रयास हुन्छ ।’ प्रधानमन्त्री दिन कांग्रेस लचिलो हुँदै गएको प्रचण्डको भनाई छ । नेपाली कांग्रेसले राष्ट्रपति लिने निश्चित जस्तै भइसकेको छ । अब प्रधानमन्त्री समेत पहिलो चरणमा नछाड्ने अडान लिएको छ । तर, माओवादी सांसदहरुले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिनेगरी समझदारी नगर्न प्रचण्डलाई दबाब दिएका छन् । अरु सत्ता बाहिरै बसेर पार्टी बनाउन लाग्न सांसदहरुले सुझाव दिएका छन् ।
काठमाडौं: कांग्रेसका नवनिर्वाचित सांसद गगनकुमार थापाले प्रतिनिधिसभा बैठकको प्रारम्भकालमा नै नागरिकता विद्येयकमाथि छलफल हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण समारोहमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै थापाले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता विद्येयक हुनुपर्ने बताए । ‘संसद बैठकको प्रारम्भमा नै नागरिकता विद्येयकमाथि छलफल हुनुपर्छ,’ थापाले भने । उनले नागरिकता विद्येयकलाई स्वीकृत नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा पनि संसदमा छलफल हुनुपर्ने थापाले बताए । ‘राष्ट्रपतिलाई मनको आधारमा ठिक बेठीक भन्ने अधिकार छैन, उनले संसद र मन्त्री परिषदले गरेको निर्णयलाई सदर गर्नुपर्छ,’ थापाले भने ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद निरुपण भइनसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रुपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन दर्ता भएको छ । समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले बिहीबार रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदको शपथ नगराउन मागसहित निवेदन दिएका हुन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निवेदक सफलले रवि लामिछाने उम्मेदवार बन्दा नै निजले अमेरिकी नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनर्प्राप्ति नगरी पुरानै नागरिकता पेस गरी उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगमा नवराज पाण्डे लगायतले उजुरी दर्ता गरेकोमा आयोगले सो उपर कुनै छानबिन नगरी निर्वाचन लड्न दिएको जिकिर गरेका छन् । गृह मन्त्रालयमा रवि लामिछानेले पुरानो नागरिकता पुनर्प्राप्ति नगरी प्रयोग गरेको, अमेरिकी नागरिक कायम भएकै बखत झुटो विवरण पेस गरी नेपाली राहदानी लिएको लगायत विषय समेटी उजुरी दर्ता गरी नेपाल प्रहरीले फौजदारी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको अवस्था रहेको पनि उनले निवेदनमा उल्लेख गरेका छन् । ‘निर्वाचन आयोगमा समेत म युवराज सफलले निजको पार्टी सदस्य र पार्टी सभापति पद समेत खारेज गर्न प्रमाण सहित उजुरी दर्ता गरेको छु,’ निवेदनमा उनले भनेका छन्, ‘यस्तै सर्वोच्च अदालतमा मिति २०७९ मंसिर २८ गते निजको सांसद पद, पार्टीको सभापति पद समेत खारेज गर्न माग गरी म युवराज पौडेल सफलले एकल र अधिवक्ताद्वय रविराज बसौला र नानिबाबु खत्रीले संयुक्त रुपमा रिट निवेदन दर्ता गरी मिति २०७९ पौष ०६ गतेका दिन प्रारम्भिक सुनुवाई भई दुवै पक्षलाई छलफलमा झिकाइने आदेश समेत भइसकेकोले निज रवि लामिछानेलाई सपथ नगर्न नगराउन प्रतिनिधिसभा नेपालका ज्येष्ठ सदस्य सम्माननीय पशुपति शमशेर (जवरा) र संसद महासचिव श्रीमान् भरतराज गौतमज्यू समक्ष यो निवेदन पेस गर्दछु ।’
काठमाडौं: नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति नेपाली कांग्रेस पार्टीबाट नै बन्ने दाबी गरेका छन् । शपथग्रहणका लागि संघीय संसद् पुगेका कोइरालाले दुवै पदमा कांग्रेसले पाउने दाबी गरेका हुन् । बुधबार मात्र महामन्त्री गगन थापालाई हराउँदै सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेताको रूपमा निर्वाचित भएका छन् । यता राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा चलेको छ । पौडेल संसदीय दलको नेताको निर्वाचनमा देउवाका प्रस्तावक बनेका थिए । यता सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पनि पहिलो चरणमा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने दाबी गर्दै आएको छ ।
पाेखरा: राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीमा १० दिनदेखि लागेको ताला खुलेको छ । राप्रपा कास्की र गण्डकी प्रदेश समितिको संयुक्त प्रयासमा ताला खुलाइएको हो । जिल्ला र प्रदेश कार्यालय एउटै भवनमा भएकाले तालाबन्दीले जिल्ला कार्यालयसमेत प्रभावित भएको थियो । राप्रपाले गण्डकी प्रदेश सभामा पाएको २ जना समानुपातिक सांसद कास्की भन्दा बाहिरी जिल्लाबाट छनौट गरिएको भन्दै विवाद चर्किएको थियो । विवादका कारण कास्कीका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका थिए । राप्रपाले गण्डकीमा ५९ हजार ४८३ मत पाएका थिए । प्रत्यक्षमा एउटा क्षेत्र पनि नजितेको राप्रपाले समानुपातिकमा पाएको उक्त मतबाट २ जना सांसद पाएको थियो । गण्डकी प्रदेश सभामा राप्रपाले समानुपातिकबाट प्रदेश अध्यक्ष पञ्चराम गुरुङ र केन्द्रिय सदस्य बिन्दु पहाडी छनौट भएका थिए । समानुपातिक सांसद छनौटमा असन्तुष्ट बनेर तालाबन्दी गरेका कार्यकर्तालाई जिल्ला अध्यक्ष नारायण गुरुङले संझाएका थिए । राप्रपा गण्डकीका अध्यक्ष गुरुङ र जिल्ला अध्यक्ष नारायण गुरुङले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेपछि ताला खुलेको हो । पार्टीभित्र देखिएका समस्या छलफलबाट समाधान निकाल्ने, आगामी दिनमा त्रुटी सच्याउने र पार्टी कार्यालयलाई चुस्त राख्ने सहमति भएपछि कार्यालय खुलेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । ‘लामो समय पार्टी कार्यालय बन्द रहँदा समस्या झनै बढ्छ,’ गिरीले भने, ‘नेता– कार्यकर्ताबीच सहमति भएपछि बुधबारदेखि पार्टी कार्यालय खोलेर सुचारु गरिएको छ ।’ समानुपातिक सांसद छनौटमा असन्तुष्ट बनेर तालाबन्दी गरेका कार्यकर्तासंग जिल्ला अध्यक्ष नारायण गुरुङ, भातृ सङगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकीका अध्यक्ष सचिन जंग थापा, युवा संगठन कास्कीका अध्यक्ष निरज शर्मा लगाएतको टोलिले छलफल गरेरपछि सहमति जुटेको थियो ।
काठमाडौं: राष्ट्रिय आदिवासी जनजाति महिला महासंघबाट विद्रोह गरेर तदर्थ समिति गठन भएको छ । संघको आठौँ महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो । नवगठित समितिले उक्त महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाको अपेक्षाबमोजिम वैधानिक तवरले नभएको टिप्पणी गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले महासङ्घ आफैँ स्वायत्त जातीय संस्थाको साझा सङ्गठन भएको उल्लेख गरिन् । कुनै पनि सङ्गठनलाई बहिष्कृत गरी आयोजना हुने महाधिवेशन आफैँमा लोकतान्त्रिक र वैधानिक हुन नसक्ने उनको जिकिर छ । उनले भनिन्, ‘हामी केही जातीय सङ्गठन प्रशासनिकरूपले नवीकरण हुँदाहुँदै पनि कागजात नवीकरण नभएको भन्दै महाधिवशेन प्रक्रियाबाट वञ्चित गराउन खोज्नु न्याय र आदिवासीको मौलिक अभ्यासविपरीतको कार्य हो।’ ‘महाधिवेशनको बन्दसत्रमा महासङ्घमा आबद्ध जम्मा ४८ जातीय महिला सदस्य सङ्गठनमध्ये संस्था नवीकरण नभएको कारण बनाएर २७ सदस्य सङ्गठनलाई बन्दसत्रको हलमा प्रवेश गर्न दिइएन, जुन महासङ्घकै विधानविपरीत कार्य हो’, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासङ्घकै सदस्य सङ्गठनले बन्दसत्रमा भाग लिन पाउने, समुदायको प्रतिनिधित्व गर्ने र निर्वाचनमा चुन्न र चुनिन पाउने न्यूनतम नैसर्गिक अधिकारलाई समेत वञ्चित गरिनु अलोकतान्त्रिक, गैरकानूनी र अवैधानिक कार्य हो।’ महासंघको आधिकारिक महासचिवले बन्दसत्रमा प्रस्तुत गर्नुपर्ने साङ्गठानिक प्रतिवेदनसमेत प्रस्तुत गर्न नदिनु अर्को विधान, प्रचलित विधि, पद्धति र अभ्यासविपरीत कार्य रहेको समितिको ठहर छ । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा पुष्पा बुढाथोकी, उपाध्यक्षहरू बीना पहरी नगरकोटी ९पहाड०, रीना थकाली ९हिमाल०, माया चौधरी ९तराई० र महासचिवमा विनिता आलेमगरलाई चयन गरिएको छ ।
काठमाण्डौ: चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ लिने बाटो खुलेको छ । नागरिकता विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई भोलि बिहीवार हुने शपथ समारोहमा सहभागी हुने बाटो खुलेको हो । संवैधानिक इजलासले अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत हुनुहुन्थ्यो । लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उहाँको शपथमा रोक लगाउन माग गरेर सर्वोच्चमा रिट परेको थियो । अमेरिकाको नागरिकता प्राप्त गरेपछि लामिछानेको नेपाली नागरिकता स्वतः निष्क्रिय भएको र पछि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्तिका लागि पुनः प्रक्रियामा जानुपर्नेमा खारेज भएकै नागरिकता प्रयोग गरेर दल गठन तथा सांसदका लागि उम्मेदवार बनेको आरोप रहेको छ ।
काठमाडौं: स्वास्थ्य उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै अस्पताल पुगेका छन्। रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाल स्वास्थ्य लाभ गरिरहेका छन्। उनीहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। देउवा आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित भएका हुन्।