काठमाडौंः नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन छलफल थालेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि निर्णय हुन बाँकी छ । माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ, तर मन्त्रालयको टुङ्गो लागेको छैन । मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गठबन्धनको बैठक पनि आजै बस्दैछ । हिजो प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज बेलुकी ४ बजे शपथ लिने कार्यक्रम पनि छ । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।
विराटनगर: प्रदेश १ प्रदेशसभाका नवनियुक्त प्रदेश सांसदहरुको शपथग्रहण आज हुँदैछ । शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने संसद सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष आजै साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्ने कार्यक्रम छ । उनै मण्डलले प्रदेशसभाका अरु सांसदहरुलाई शपथ खुवाउने छन् । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।
काठमाडौं: नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।
काठमाडौंं: नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको समर्थन रहने भनिएपनि हस्ताक्षर भने रहेको छैन । ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दाबी पेस गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको ब्यहोरा अनुरोध गर्दछौ । हामी हस्ताक्षरकर्ता दलहरूले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सङ्ख्या कुल प्रतिनिधि सभा सदस्य सङ्ख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गरिदिनुहुन अनुरोध छ’, निवेदनमा भनिएको छ । निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यायदव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका हुन् । चुनावमा कुनै पनि दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।
पाेखरा: नेकपा एमालेबाट गण्डकी प्रदेशसभामा खगराज अधिकारी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । आज बसेको बैठकले अधिकारीलाई सर्वसम्मत चयन गरेको एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्रीले जानकारी दिए । ससदीय दलको नेता भएसँगै अधिकारी मुख्यमन्त्री हुने निश्चित भएको एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्रीले बताए । ‘सिनारियो क्लियर छ, उनले भने, ‘बालकोटमा आज भएको सहमति अनुसार गण्डकीमा हाम्रो सिट पुग्छ । कमरेड अधिकारी मुख्यमन्त्री बन्नुहुन्छ ।’ संसदीय दलको नेताले मुख्यमन्त्रीमा दाबी गर्ने प्रावधान रहन्छ । केही क्षण अघिसम्म शक्तिशाली देखिएको सत्ता गठबन्धन एकाएक टुटेपछि नेपाली कांग्रेस कमजोर हुँदा अब अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । गण्डकीमा सरकार गठन गर्न आवश्यक ३१ मध्ये एमाले र नेकपा माओवादी केन्द्रसँग ३० सदस्य छन् भने बालकोट सहमतिअनुसार राप्रपाकाे मत पनि जाेडिनेछ । राप्रपाको गण्डकी प्रदेशमा २ सिट रहेको छ ।
पोखराः राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको अन्तिम घडी सकिनै लाग्दा नेपाली राजनीतिमा ट्विस्ट आएको छ । सत्तापक्ष गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेपछि अब नेपाली कांग्रेस कमजोर बनेको छ । बालकोटबाट निस्केपछि अहिले अध्यक्ष प्रचण्ड र ओली सरकार गठनको हिसाबकिताब लिएर राष्ट्रपति निवास शितल निवास हिँडेका छन् । फुटेर पुनः जोडिने भएपछि ठूलो दल कांग्रेस एक्कासी कमजोर भएको छ । दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएपछि अब देशमा कम्युनिष्ट सरकार बन्ने सम्भावना बढेको छ । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै आफैसँग राख्ने बताएपछि प्रचण्ड बालकोटतर्फ मोडिएका हुन् । एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने निश्चितप्रायः भएको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाउन सफल हुनुहुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिनु भएपछि कांग्रेस नेता समेत रहनुभएका मन्त्री कार्कीले त्यस्तो विश्वास व्यक्त गर्नुभएको हो । गठबन्धन मुलुकको आवश्यकता भएकाले त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको उहाँले बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राख्नुभएपछि सहमति नहुँदा उहाँ बालुवाटार बैठकबाट बाहिरिनुभएको थियो । सञ्चारमन्त्री कार्कीले आजै गठबन्धन दलको बैठक बसी सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, “गठबन्धन अहिले मुलुकको आवश्यकता हो, छलफल जारी छ । केही समय पछि फेरि बैठक बसेर सहमतिको प्रयास हुन्छ ।” गठबन्धनलाई जनताले अनुमोदन गरिसकेकाले गठबन्धन नटुट्ने उहाँले बताउनुभयो । पार्टीको आन्तरिक छलफल थप आवश्यक रहेको र गठबन्धनलाई जोगाई राख्न सबै प्रयास हुने उहाँको भनाइ छ । “प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुग्नुहुनेछ, सहमति बन्छ भन्ने मलाई विश्वास छ” मन्त्री कार्कीले भन्नुभयो, “आफ्नो आफ्नो दलमा छलफल हुन्छ, सबै कुराको टुङ्गो अन्तिम घडीमा हुन्छ ।” नेपाली राजनीतिको परम्परा पनि सबै विषय अन्तिममा टुङ्गिने रहेको उहाँले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहितको दाबी पेस गर्नका लागि आज ५ बजेसम्मको समय तय गर्नुभएको छ ।
काठमाडौं: सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पदको टुंगो लगाउन गठबन्धन बैठक बसेको हो। बैठकमा पाँच दलका नेताहरू सहभागी भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको अडान नछोडेपछि अन्तिम टुंगो लगाउन बैठक बसेको हो। आफ्नै नेतृत्वमा सरकार गठनका लागि कांग्रेस र एमाले दुवै दलले हस्ताक्षर संकलन सुरू गरिसकेका छन्।