काठमाडौंः समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरुले प्राप्त गरेको समानुपातिक सिट सङ्ख्याको अन्तिम सूची आजसम्म बुझाउन निर्देशन दिएको थियो । केही साना दलले समानुपातिक सूची टुङ्गो लगाइसकेका छन् भने ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुङ्ग्याएका छैनन् । लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभाका लागि समानुपातिक सांसदको सूची तयार गरेर निर्वाचन आयोगलाई बुझाइसकेको छ । लोसपाको केन्द्रीय समितिको बैठकबाट निर्णय भई शुक्रबार आयोगलाई समानुपातिक सांसदको सूची बुझाइसकेको पार्टीको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार लोसपाका तर्फबाट मधेस प्रदेशमा रुपाकुमारी यादव (मधेसी महिला) र रमिता प्रधान (मधेसी अल्पसङ्ख्यक महिला) तथा लुम्बिनी प्रदेशमा मेमा वेल्वासे केसी (खस आर्य महिला) को नाम समानुपातिकका लागि आयोगमा पठाइएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चार सिट जितेको लोसपाले समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । लोसपाले मधेस प्रदेशमा सात र समानुपातिकतर्फ दुई सिट जितेको छ भने लुम्बिनीमा एक सिट गरी प्रदेशमा कूल १० सिट पाएको छ । यस्तै जनमत र नागरिक उन्मुक्ति पार्टीले समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । प्रतिनिधिसभामा एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट जितेको छ । पार्टीले प्राप्त गरेको समानुपातिकतर्फको सूची आयोगलाई बुझाइएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा आठ सिट जितेको छ । जसपाले पनि टुङ्गो लगाउँदै यता समानुपातिक सांसदको टुङ्गो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार चयनका लागि बैठकमा छलफल चलिरहेको सो पार्टीका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । जसपाले प्रतिनिधिसभामा सात र समानुपातिकतर्फ पाँच गरी १२ सिट जितेको छ । त्यसैगरी प्रदेशमा सबैगरी २० सिट जितेको छ ।
काठमाडौं: प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलहरू प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने क्रममा महिलाहरूमाथि हिंसा भएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरूले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरूमाथि हिंसा र विभेद गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूलाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक पार्टीहरूले महिलाहरूमाथि राजनीतिक हिंसा गरेको आरोप लगाएका हुन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले लैंगिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यवद्धता रहेको भन्दै त्यसको पालनाका लागि शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे । ‘लैंगिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यबद्धता छ । र, निर्वाचन व्यवस्थापनको कुनै पनि क्रियाकलापमा लैगिक हिंसामा आयोगको शून्य सहनशीलताको नीति छ । यसलाई प्रभावकारी बनाउनका निम्ति हाम्रो र हाम्रो सरोकारवालाहरु क–कसको भूमिका के हुनुपर्छ रु भन्ने कुरालाई स्थापित गर्नका निम्ति सहयोग गरिदिनुहोस्’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘उम्मेदवारीमा व्यापक रुपमा विभेद भयो भन्ने हामी देख्छौं राजनीतिक दलहरुबाट । स्थानीय तहमा साँच्चै भन्ने हो भने कोटा पुर्याउन मात्रै महिलाहरूलाई स्थानीय तहमा पनि उम्मेदवारी दिइयो ।’ उनले निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा दुईटैमा उम्मेदवारी दिए एउटा अनिवार्य भनेर कानुनमा व्यवस्था गरिएपनि त्यसको समेत वेवास्ता गर्दै अवज्ञा गरिएको बताए । ‘यदि एउटा दिइन्छ भने त्यो महिला नै हुनुपर्दछ भन्ने कुरालाई पनि अवज्ञा गरियो । त्यसकारण कोटा पुर्याउन पनि छलकपट नै गरेर उम्मेदवारी दिइयो । यसरी महिला हिंसा सृजना गरिएको छ । प्रतिनिधिसभामा १० प्रतिशत पनि महिलालाई उम्मेदवारी दिइएन’, प्रमुख थपलियाको गुनासो छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानुन अन्य देशको तुलनामा लैंगिक तथा समावेशी रहेको स्मरण गराउँदै निर्वाचनमा महिला हिंसा भयो भनेर कुनै पनि उजुरी नपरेको बताए । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले महिलाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउन पहल गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले आफू महिला उम्मेदवार भएपनि कुनै पनि विभेद भोग्नु नपरेको अनुभव सुनाइन् । सांसद गौतमले भनिन्, ‘निर्वाचनमा जाँदा आफूले असमानता र विभेदको कुरा भोग्न परेन । महिलाहरूलाई नेतृत्वदायी भूमिकामा पुर्याउन भने प्रयास गर्नुपर्ने देखिन्छ ।’ महिलाहरूलाई मुलुकको नेतृत्वमा पुर्याउन हौसला दिनुपर्ने आवश्यकता रहेको औंल्याइन् ।
काठमाडौं: सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । सर्वोच्च अदालत भित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । सर्वोच्च अदालत अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका तीनवटा ट्रकहरु छन् । सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । आगन्तकुहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटमा भने ताला लगाएर बन्द गरिएको छ । नेपाल बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ छन् । कानुन व्यवसायीहरु नेपाल बारको भवनतर्फबाट सर्वोच्च परिसरमा आइसकेका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न नदिने र आज पनि धर्नामा बस्ने जनाएका छन् । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । त्यसविरुद्ध कानुन व्यवसायीहरुले सोही दिन सर्वोच्च परिसरमा धर्ना दिएका थिए । सर्वोच्चको पूर्ण बैठकले पत्र नै लेखेर कुन संवैधानिक र कानुनी आधारमा महाअभियोग निष्प्रभावी भएको हो भनेर संसदका महासचिवसँग जवाफ मागेको छ । सर्वोच्च अदालतको पत्रको जवाफ शुक्रबार नै संघीय संसदका महासचिव गौतमले दिनुपर्नेछ । जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिव गौतमले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ समेत हुँदैछ ।
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा कोही पनि तलमाथि नभएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताए । पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरुलाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा विरोध गरेका छन् । लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने, ‘मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।’ सरकारमा जाने विषयमा पार्टीले परिस्थितिको आकलन गरिरहेको लामिछानेले बताए । नागरिकताको विषयमा सोधिएको प्रश्नमा रास्वपा सभापति लामिछानले राज्यले गर्ने छानबिनमा सघाउने बताए । ‘अनुसन्धानमा बोलाउँदा जाने हो, जानकारी गराउने हो,’ उनले भने, ‘निर्वाचन आयोगले विजयी घोषणा गरिसक्यो, प्रमाणपत्र दिइसक्यो ।’
पोखराः आसन्न निर्वाचनको पुरै परिणाम नआइसकेपनि गण्डकी प्रदेशको नतीजा भने छिनोफानो भइसकेको छ । यसपटकको परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभामा समानुपातिकतर्फ २ सिटकासाथ प्रवेश गर्दैछ । प्रत्यक्षतर्फ कुनैपनि सिट नजिते पनि समानुपातिक मतको आडमा अब राप्रपाका सांसदलाई प्रदेश सभामा देख्न पाइनेछ । प्रदेश सभामा राप्रपा चौथो शक्तिकारुपमा प्रवेश गर्दा यसपटक राष्ट्रिय जनमोर्चा भने ओझेल परेको छ । प्रदेशमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ स्थानमा जीत हात पार्दा समानुपातिकबाट ९ सांसद थप्दैछ । दोस्रो स्थानमा नेकपा एमालेले प्रत्यक्षबाट १२ र समानुपातिकमार्फत १० सिट पाएको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रत्यक्षमा ५ र समानुपातिकतर्फ ३ सहित ८ सिट हात पारेको छ । केही दिनसम्म शून्यको अवस्थामा रहेको नेकपा एसले स्वतन्त्र उम्मेदवारी दिएर जितेका राजीव गुरुङ्लाई पार्टी प्रवेश गराएपछि १ सदस्यकासाथ आफुलाई पाँचौमा पार्न सफल भएको छ । राप्रपाले प्रदेशमा समानुपातिकतर्फ ५९ हजार ४८३ मत प्राप्त गरेको छ । उक्त मत प्रदेशमा ६ प्रतिशत हो ।
गुल्मी: नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए । ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा एक सातासम्म सञ्चालन हुने नेकपा एमाले गुल्मीका जिल्ला कमिटी सदस्य काशी पाण्डेले बताए । चुनावका बेला मत माग्न पुगेका चुनाव क्षेत्रका बिभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम राखिएको पाण्डेले बताए । मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका ज्ञवालीले जित हार स्वाभाविक प्रक्रिया भएको बताए । तर जनताको विश्वासलाई कहिल्यै टुट्न नदिने गरी जिल्लाको विकासका लागि हर बखत लागिरहने उनको भनाइ छ । गुल्मीबाट ०५६ सालदेृखि चुनाव लडदै आएका ज्ञवाली ०५६, ०६४, ०७४ सालमा निर्वाचित भएका थिए ।
काठमाडौं: समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधिपूर्वक गर्नुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्ताले पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुले खबरदारी गरेका हुन् । बिहीबार धर्नामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष लालविक्रम थापाले ‘प्राइमरी इलेक्सन’ बाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्द सूची तय गरेको भन्दै त्यसै अनुसार सांसदहरु चयन हुनुपर्ने बताए । ‘हामीले ‘डिजिटल डेमोक्रेसी’ भनेर जसरी आकाश थर्किने गरी बोलेका थियौं,’ उनले भने, ‘त्यसैले हामीले खाली ध्यानाकर्षण गराएको हो । बिग्रियो भने त बिग्रियो त । तीन करोड नेपालीको पार्टी हो यो । रोग लाग्नुभन्दा अगाडि नै हामीले हरेक चिजको उपचार गर्नुपर्छ ।’ रास्वपाका कतिपय समानुपातिक उम्मेदवारले ‘प्राइमरी इलेक्सन’मा पाएको मत अनुसार निर्धारण गरिएको क्रम मिचिने हो कि भन्नेमा शंका लागेको बताएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ । शनिबार दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगरमा बस्ने बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै नयाँ सरकार गठनबारे छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काठमाडौं: पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ । यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन् । यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले जनाएको छ । यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो । त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको र हिरासतमा राखिएको बीबीसीले जनाएको छ । ६० वर्षीया बोलुआर्तेले राष्ट्रपति पद सम्हालेपछि आफू सन् २०२६ सम्म यो पदमा रहने बताइन् । अघिल्ला राष्ट्रपति पेड्रोको कार्यकाल पनि सोही समयसम्म थियो । शपथ ग्रहण गरेपछि बोलुआर्तेले अहिलेको संकट निवारणका लागि राजनीतिक शान्ति सम्झौता आवश्यक रहेको बताएकी छन् । उनले भनिन्, ‘यो देशलाई बचाउन मलाई थोरै समय चाहिन्छ ।’