काठमाडौं: जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। मंगलबार उनले राष्ट्रपति कार्यालय पुगेर भण्डारीलाई भेटेका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भेटको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरूबीच शिष्टाचार भेटघाट भएको र देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको जानकारी दिएका छन्। सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित राउतले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्। यही शिलशिलामा उनले मंगलबार राष्ट्रपतिलाई समेत भेटेका हुन्।
पाेखराः आसन्न निर्वाचनमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले क्षेत्र नम्बर १ बाट हारेपछि कांग्रेसभित्र पनि अन्तर्घात भएको ठहर गरिएको छ । गठबन्धनको समर्थनमा चुनावमा उत्रिएपनि सभापति बरालविरुद्ध निवर्तमान सभापति कृष्ण केसीले चलखेल गरेको संकेत कास्की कांग्रेसले गरेको छ । यस विषयमा बरालले नामै तोकेर केसीले आफु विरुद्ध चलखेल गरेको आरोप लगाएका छन् । ‘म विरुद्ध निवर्तमान सभापति केसी खुलेरै लागेको सूचना पाइयो’ बरालले भने ‘अन्तर्घात भएको छ, र यसको मतियार केसी भएको अडियो नै सार्वजनिक भइसकेको छ ।’ केसीले बराललाई हराउन फोनमार्फत निर्देशन दिएको अडियो कांग्रेस मादी गाउँपालिका सभापति यमबहादुर गुरुङले सार्वजनिक गरेका हुन् । उक्त अडियोमा ‘यसलाई त हुँदैन, प्रदेशकोलाई जिताउने हो, बाँकी कुरा हुँदैन’ भनिएको छ । बरालका अनुसार उक्त निर्देशन आफुलाई हराउन दिइएको हो ।’ जिल्लाकै अर्का जिम्मेवार पदाधिकारीले पनि कारवाही गर्नुपर्ने व्यक्ति केसी नै भएको जनाएका छन् । ‘आफै बुझ्नुहोस् न, चुनावी परिणामपछि आम जनता र कार्यकर्ताहरु कसको घरमा नाराबाजी गर्न पुगेका थिए । पहिल्यैदेखि केसीको भूमिका शंकास्पद भएको र अडियो प्राप्त भएपछि शंका सत्यमा परिणत भएको उनले बताए । उनका अनुसार दैनिकरुपमा पार्टीले अन्तर्घात गरेको विषयमा सूचना प्राप्त गरिरहेको छ । कास्कीमा बरालबाहेक अन्य उम्मेदवारको हकमा भने कुनैपनि चलखेल नभएको कास्की कांग्रेसको ठम्याई छ । तर निवर्तमान सभापति केसी भने आफुबाट कसै विरुद्ध अन्तर्घात नभएको दाबी गर्छन् । ‘मैले बोलेको अडियो बाहिरिएको छ । र त्यो मेरै आवाज हो’ केसीले भने ‘कुन तात्पर्यमा को सँग बोलेको भन्ने त्यहाँ छैन, लामो सम्वादको केही भागलाई सार्वजनिक गरेर दुष्प्रचार गरिएको छ ।’ निर्वाचन परिणाम आफु अनुकुल नआएपछि विभिन्न बहाना बनाउनु लाजमर्दाे भएको केसीको भनाई छ । त्यसो त पार्टीले टिकट दिँदा विवेक नपु¥याएछि उम्मेदवारले भोट पाउन नसकेको तथ्य लुकाउन नाटक मञ्चन भएको केसीको प्रतिक्रिया छ । पार्टीले आफु विरुद्ध सूचना संकलन गरेको जानकारी पाएपनि केसीले निर्धक्क भने, ‘आरोप लगाइएला, मलाइ बोलाइएला, त्यहाँ समीक्षा होलान्, म मेरा कुरा राख्छु ।’ यद्यपि, हालसम्म आफुमाथि भएको षडयन्त्रउपर कुनै टिप्पणी गर्न आवश्यक नभएको बताउँदै केसीले भने ‘नेपाली कांग्रेस मेरो पनि पार्टी हो, हरेक आरोपको प्रतिरोध र प्रतिवाद गर्न म तयार छु । यसअघि स्थानीय निर्वाचनमा नेकपा एमालेभित्र पनि घात–अन्तर्घातबारे अडियो सार्वजनिक भएको थियो ।
पोखराः मनाङबाट स्वतन्त्ररुपमा प्रदेश सांसदमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङले नेकपा एकीकृत समाजवादी प्रवेश गरेपछि आज पत्रकारसँग कुराकानी गरेका छन् । राजधानीमामा पत्रकार सम्मेलन गरी उनले नेकपा एसलाई मुलुकको शक्तिकारुपमा व्याख्या गर्न भ्याए । चुनावी परणामपछि सत्ता गठबन्धनकै सरकार बन्ने निश्चित भएपछि उनी समाजवादीमा प्रवेश गरेका हुन् । समाजवादीमा प्रवेश गर्नुकोकारण मन्त्री बन्नलाइ नै हो ? भन्ने प्रश्नमा उनले भने, ‘मन्त्री हुन सजिलो छैन, धेरै दुख गर्नुपर्छ ।’ गुरुङले मन्त्री बन्न दुख गरेको मान्छेले मात्रै थाहा पाउने भएको भन्दै आफुुले पनि त्यस्तै दुख गरेर मन्त्री भएको उल्लेख गरे । तर हाल नेकपा एसमा मन्त्री बन्न नभई पार्टी र विचारधारा मन परेर प्रवेश गरेको बताए । ‘म मन्त्री हुन चाहेर हुने कुरा हैन’ उनले भने ‘पार्टीले दिएको जिम्मेवारी पुरा गर्नेछुु ।’
पोखराः मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) को तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर २ का नबनिर्बाचीत सांसद बिद्या भट्टराईले सो पदका प्रतिस्पर्धी हरू उम्मेदवारहरू सङ्ग भेटघाट तथा सुझाव ग्रहण गर्नु भएको छ। प्रतिष्पर्धी मध्ये बाम लोकतान्त्रिक गठबन्धनका श्रीनाथ बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका माधब प्रसाद कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुबर्ण राज पन्त सहित नेकपा एमाले कास्की क्षेत्र नम्बर २ निर्बाचन परिचालन कमिटी का संयोजक तथा जिल्ला कमिटी कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारी र राप्रपाका नेता हरि बराल सङ्ग आज अनौपचारिक छलफल सम्पन्न गर्नु भएको उहाँको निजि सचिबालयले जनाएको छ। सो अबशरमा प्रतिष्पर्धी उम्मेदवारहरूले बिकासको प्रभावकारी अनुगमन, सरकारी अस्पतालहरुको स्तरोन्नति, कम्तिमा बर्षको एकपटक सबै नागरिकको स्वास्थ्य परीक्षण (Whole Body checkup) सम विकासको अबधारणा मार्फत शिक्षा क्षेत्रको सुधार, पोखरालाइ पर्यटकिय राजधानी घोषणा गरेर पोखराको समृद्धि मा जोड दिने र प्रभावकारी नीति निर्माणमा संसदमा सकृय रहनका लागि सुझाव दिनुभएको छ। भेटका अबसरमा सबैका सुझाब सहित समृद्धिको साझा लक्ष्य प्राप्त गर्न आगामी दिनमा जनप्रतिनिधिका हिसाबले प्रभावकारी रुपमा कास्की क्षेत्र नं २ र समग्र कास्कीको विकासका लागि यस प्रकारका छलफलहरु महत्त्वपूर्ण हुने र यी भेटघाट नियमित गरि सुझाव निरन्तर ग्रहण गर्ने भट्टराईले उल्लेख गर्नुभएको छ। साथै सो अबसरमा भट्टराईलेव सबै प्रती हार्दिक आभार समेत प्रकट गर्नुभएको छ।
पाेखरा: गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन् । मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए। अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका युवा तथा खेलकुदमन्त्री पनि हुन्।
पोखराः सत्ता गठबन्धनमा रहेका राजनीतिकदलहरुले सयुक्त विज्ञप्ती जारी गर्दै निर्वाचनमा असहयोग र असमझदारीको घटना देखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री निवासमा चुनावी समिक्षा बैठक बस्दै निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गरेपनि केही निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीको घटना देखिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनमा दौरानमा देखिएको असहयोग र असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिने उल्लेख गरिएको छ ।
दोलखाः दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित हुनुभएको छ । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाउनु भएको छ । उहाँहरुबीचको मतान्तर ३ सय १८ रहेको छ ।
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेर १५ पुसभित्र विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको छ । आइतबार एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो । यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।
काठमाडौं: जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा बहुमत पुर्याउन आफूहरु निर्णायक हुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा उनले सरकार गठनका लागि आफ्नो पार्टीले पाएको सिट संख्या निर्णायक हुने बताएका हुन् । ‘जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ । सरकार गठनका लागि संसद्मा बहुमत पुर्याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न’ उनले भने । जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सिट जितेको छ भने समानुपातिकतर्फ आइतबार दिउँसोसम्म १ करोड ४ लाख २० हजार मत गन्दा ३ लाख ९४ हजार ५२३ मत पाएको छ । त्यस्तै प्रदेश २ मा प्रत्यक्षमा ६ सिट र समानुपातिकमा कांग्रेस र एमालेपछि तेस्रो स्थानमा छ । २० लाख ८६ हजार मत गणना हुँदा जनमत पार्टीले ३ लाख २९ हजार मत पाएको छ । आफूहरुको समर्थनविना सरकार नबन्ने अवस्थामा डेडलक हुन नदिने राउतले बताए । ‘हामी नजाँदा सरकार नै बन्दैन, त्यो भनेको ‘डेड्लक’को अवस्था हुन्छ । हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छौं । जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छौं’ उनले भने । निर्वाचनबाट कसैको पनि बहुमत नआउँदा पार्टीहरुमा अहंको स्थिति भने नदेखिने र एक अर्कामा सहकार्यको सम्भावना बढाएको राउतले बताए । ‘सबैलाई मिलाएर जानुपर्छ, सानाभन्दा साना दल र आवाजका मुद्दालाई समेटेर जानुपर्छ भन्ने सन्देश दिएको छ’ उनले भने । मतदाताले परिवर्तनका लागि आफूहरुलाई मत दिएको भन्दै अध्यक्ष राउतले त्यसलाई खेर जान नदिने बताए । नागरिकले मतदानमार्फत व्यक्त गरेको परिवर्तनको आवाजलाई अन्य दलले पनि सुन्नुपर्ने उनको भनाइ छ । ‘जनताले निर्वाचनमार्फत अहिले परिवर्तन खोज्न दिएको सन्देश आत्मसात् गर्नुस् । अन्यथा गरिए राजनीतिक दलहरुप्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ । अहिले सच्चिने मौका छ । सबैले जनमतको कदर गरौँ । सेवा प्रवाह र जनताका माग मुद्दालाई केन्द्रित भएर अघि बढौं’, अध्यक्ष राउतले भने । उनले आफूहरुको माग र मुद्दाप्रति सकारात्मक दलसँग मिलेर सरकारमा जाने पनि बताए । ‘हामीले पाएको जनमत एक्लै निर्णायक छैन । कसै न कसैसँग सहकार्य गरेरै सरकार बनाउनुपर्ने हुन्छ । त्यसकारण सहकार्य गर्ने सम्भावना जोसँग पनि हुन्छ । मूल विषय भनेको हाम्रा माग र मुद्दाप्रति सकारात्मक हुनुपर्यो । हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ । जनताका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सक्नुपर्छ’ अध्यक्ष राउतले भने ।