काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २३ लाख ९९ हजार आठ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा(माओवादी केन्द्र)ले १० लाख ६२ हजार सात सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार छ सय ५६, जनता समाजवादी पार्टीले तीन लाख २६ हजार तीन सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ६२ हजार आठ सय २६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ५२ हजार २७ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् । आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार नौ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २७ हजार नौ सय १८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार आठ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार आठ सय ४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार छ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार आठ सय ७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार दुई सय २९ र नेकपा९माले०ले २६ हजार नौ सय ७१ मत प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार छ सय ९४ मत प्राप्त गरेको छ । त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नं १ मा १५ लाख ८४ हजार आठ सय ६९ मतगणना भइसकेको छ । मधेश प्रदेशमा १६ लाख २५ हजार सात सय ५८, वाग्मती प्रदेशमा १५ लाख ९८ हजार चार सय ३४, गण्डकी प्रदेशमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा आठ लाख सात हजार एक सय ३८ मत गणना भइसकेको छ ।
धनुषा: यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले)रघुवीर महासेठले अग्रता लिनुभएको थियो । मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिनुभएको छ । उहाँले २७ हजार दुई सय छ मतप्राप्त गर्नुभएको छ भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिनुभयो ।
काठमाडौं: दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए । त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको श्रोतले बताएको छ । सिवाकोटीले बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्रावि मा पुन मतदानको माग गरेका थिए । आयोगको बोर्ड बैठकले यी सहितका विवादमा परेका अरु केही मतदानस्थलमा फेरि चुनाव गर्ने निर्णय गरेको हो । आयोगले फेरि मतदान गर्न लागेका मतदानस्थलको सूचि भने आइसकेको छैन । दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहितका २१ जना चुनावी मैदानमा छन् ।
सुनसरी: सुनसरी ४ को स्थगित मतगणना अनिश्चित भएको छ । ४ बजे बस्ने भनिएको सर्वदलीय बैठक समेत अनिश्चित हुँदा अन्योलता सिर्जना भएको छ । बिहान ९ बजेदेखि झण्डै ४ घण्टा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएपछि अर्को बैठक बस्न नसकेको हो । बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए । मन्त्री कार्कीले आइतबार बिहानको बैठकमा भएको छलफल र अब के गर्ने भन्ने विषयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन् । उनले यस विषयमा अहिले केही नबोल्ने बताए। सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले समेत कुनै प्रतिक्रिया दिएका छैनन् । पराजय हुनेदेखेपछि सत्ता र शक्तिको आडमा काङ्ग्रेसले बखेडा झिकेको एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले आरोप लगाएका छन् । नेपाली कांग्रेस पुनः मतगणनाको पक्षमा रहेको छ । एमालेले ६ सय मतलाई निष्क्रिय गरी सहमतिका साथ गणनालाई निरन्तरता दिइनुपर्ने धारणा राखेको छ । एमाले पुनः मतगणना गर्ने पक्षमा छैन । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति तथा उम्मेदवार जीवनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरेका छन् । बराहक्षेत्र नगरपालिकाका १० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र ७, कोशी गाउँपालिकाका ५ र ६ गरी ८ वटा वडाको मत गणना गर्न बाँकी छ । बराहक्षेत्रका २ वटा वडा, भोक्राहाको ८ नं वडा, हरिनगराको दुई वटै वडा र कोशीको ५ न वडा काङ्ग्रेसको पकड क्षेत्र हो । भोक्राहा ७ र कोशी ६ का दुई वटा वडा एमालेको पकड क्षेत्र हो ।
पोखरा: गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ । मनाङको प्रदेश निर्वाचन क्षेत्र९२० मा राजिव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको थियो । स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेले निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका कारण त्यहाँ मतगणना सुरु हुन सकेको छैन । हालसम्मको नतिजाले प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो देखिएको छ भने समानुपातिकमा नेकपा एमाले पहिलो देखिएको छ । कांग्रेसले गण्डकी प्रदेशसभामा १६ स्थानमा जित हासिल गरेको छ । यसअघि २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नवलपुर क्षेत्र नं १ मा मात्रै विजयी बनेको थियो, भने प्रदेशसभामा जम्मा छ स्थानमा जितेको थियो । उक्त चुनावमा समानुपातिकबाट नौ स्थान गरी कूल १५ सिट हासिल गरेको कांग्रेसले अहिले भने प्रत्यक्षमा नै १६ सिट सुरक्षित गरी पहिलो पार्टी बनेको हो । यस निर्वाचनमा गठबन्धनका कारण कांग्रेसले प्रतिनिधिसभामा १२ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको थियो भने प्रदेशसभामा २२ उम्मेदवार बनाएको थियो । अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० सिट गरी २७ सिट हासिल गरेको नेकपा एमाले यस पटकको निर्वाचनमा उक्त जितलाई सुरक्षित गर्न सकेन । यस पटकको निर्वाचन परिणामअनुसार प्रत्यक्षतर्फ एमाले प्रतिनिधिसभातर्फ पाँच स्थानमा विजयी बनेको छ भने प्रदेशसभातर्फ १२ स्थानमा विजयी बनेको छ । एमालेले प्रतिनिधिसभामा १८ वटै क्षेत्रमा र प्रदेशसभामा ३४ स्थानमा उम्मेदवारी दिएको थियो । समानुपातिकमा भने हालसम्मको जारी मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले पहिलो बनेको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा तीन स्थानमा जित हासिल गरेको नेकपा माओवादी केन्द्र अहिले भने दुई स्थानमा मात्रै विजयी बनेको छ । कांग्रेस सहितको पाँच दलीय गठबन्धनका क्रममा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ चार स्थानमा उम्मेदवारी दिएको थियो । त्यस्तै अघिल्लो निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्षमा नौ स्थान जितेको माओवादी केन्द्र अहिले पाँच ठाउँमा मात्रै विजयी बनेको छ । अघिल्लो निर्वाचनमा समानुपातिक तीन सहित गण्डकी प्रदेशसभामा माओवादीले १२ सिट सुरक्षित गरेको थियो । अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ दुई सिटमा निर्वाचित बनेको राष्ट्रिय जनमोर्चाले समानुपातिकबाट एक गरी तीन सिट कायम गरेको थियो । अहिले भने जनमोर्चाले प्रदेशसभामा उम्मेदवार उठाएन । प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ–१ बाट विजयी बन्नुभएको छ । कांग्रेस सहितको गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले गण्डकीमा जित निकाल्न सकेन । प्रतिनिधिसभातर्फ कास्की–२ र प्रदेशसभातर्फ नवलपुर–१ (२) मा उम्मेदवारी दिए पनि दुवैमा पराजय भोगेको छ । गण्डकी प्रदेशमा समानुपातिकतर्फ एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत प्राप्त गरेको छ ।
बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद ५० वर्ष कम उमेरका छन् । रामेछाप निर्वाचन क्षेत्र नं १ (१)बाट ५० वर्षीय तारानारायण श्रेष्ठ र १ (२) बाट ४४ वर्षीय युवराज चौलागाईं, सिन्धुली १ (१) बाट ४७ वर्षीय मातृकाप्रसाद भट्टराई, सिन्धुली २ (२) बाट ५२ वर्षीय गङ्गानारायण श्रेष्ठ, रसुवा १ (२) बाट ५१ वर्षीय इन्द्रप्रसाद गोतामे, नुवाकोट १ (१)बाट ३९ वर्षीय राधिका तामाङ र नुवाकोट २ (१) बाट ७२ वर्षीय रामप्रसाद ढुङ्गाना निर्वाचित हुनुभएको छ । काभ्रेपलाञ्चोक १ (१) बाट ४१ वर्षीय रत्नप्रसाद ढकाल, सिन्धुपाल्चोक १ (२) बाट ४१ वर्षीय सरल सहयात्री पौडेल, सिन्धुपाल्चोक २ (१) बाट ३९ वर्षीय युवराज दुलाल, मकवानपुर २ (१) बाट ४२ वर्षीय कुमारी मुक्तान, मकवानपुर १ (१) बाट ४९ वर्षीय प्रेमबहादुर पुलामी, चितवन (२) बाट ६७ वर्षीय ठाकुरप्रसाद ढकाल, धादिङ १ (२) बाट ५१ वर्षीय शालिकराम जम्मकट्टेल विजयी हुनुभएको छ । जम्मकट्टेल हाल बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना र ढकाल युवा तथा खेलकूदमन्त्री र तामाङ बागमती प्रदेशको उपसभामुख हुनुहुन्छ । दुलाल यसअघि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । सरल सहयात्री माओवादीको बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ । माओवादीबाट बागमती प्रदेशसभामा उम्मेदवार बनेका चार नेता पराजित भएका छन् । धादिङ क्षेत्र नं १ (१) बाट जगतबहादुर सिङ्खडा, चितवन २ (१) बाट घनश्याम दाहाल, ललितपुर १ (१) बाट हरि दाहाल र लतिलपुर ३ (१) बाट राजकाजी महर्जन पराजित हुनुभएको हो । बागमती प्रदेशसभाको प्रत्यक्षतर्फ माओवादीले १८ उम्मेदवार उठाएको थियो । यस प्रदेशसभाको कुल ६६ निर्वाचन क्षेत्रमध्ये हालसम्म ६४ स्थानको नतिजा आइसके पनि दोलखाका दुई प्रदेशसभा सदस्यको मतगणना हुन सकेको छैन । बागमतीमा कांग्रेसका २४, एमालेका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का पाँच तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका एक÷एक उम्मेदवार निर्वाचित भएका छन् ।
काठमाडौंँ: प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा(एमाले)ले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार सात सय ४६ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले नौ लाख ६९ हजार तीन सय ९६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख २८ हजार एक सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीले दुई लाख ८९ हजार आठ सय ६८, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख २४ हजार एक सय ७१ मत प्राप्त गरेका छन् । आयोगका अनुसार जनमत पार्टीले दुई लाख २३ हजार नौ सय ७९, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९८ हजार ३४, लोकतान्त्रिक समााजवादी पार्टीले एक लाख २० हजार आठ सय ४८, नेपाल मजदूर किसान पार्टीले ७० हजार २२, हाम्रो नेपाली पार्टीले ४७ हजार नौ सय ७१, राष्ट्रिय जनममोर्चाले ४३ हजार एक सय १६ र मङ्गोल नेशनल अर्गनाइजेशनले ४३ हजार ९८ मत प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार तीन सय ७४ मत प्राप्त गरेको छ
सुनसरी: सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपराह्न सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो । लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको र आयोगकै मिलेमतोमा छ सय छ मत एमाले उम्मेदवारका पक्षमा जोडेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीले सो आरोप लगाउँदै सुरुदेखि नै पुनः मतगणना गर्न माग राख्नुभएको छ । उहाँले आयोगकै मिलेमतोमा मत हिनामिना भएको सूचना आफूले पाएको बताउनुभयो । आज बिहान पनि सर्वदलीय बैठक बसेको छ तर कांग्रेसका कार्यकर्ताले पुनःमतगणना गर्नुपर्ने माग दोहोर्याएपछि अहिलेसम्म गणना स्थगित छ । उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत पाउनुभएको छ । कार्की कुसियतभन्दा ९८ मत अगाडि हुनुहुन्छ । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ ।
काठमाडौं: अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो । नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई/दुई, डडेल्धुरा, दार्चुला र अछाममा एक/एक गरी सात सिट प्रतिनिधिसभामा जितिसकेको छ । बाजुरामा विवादका कारण मतगणनाको काम भएको छैन । त्यसैगरी सत्ता गठबन्धनमा बैतडी र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ भाग परेको नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा शून्य हुन पुगेको छ । प्रतिनिधिसभाका दुई सिट पाएको माओवादीबाट बैतडीमा नरेन्द्र कुँवर र कञ्चनपुर–१ मा पूर्वमन्त्री बीना मगर पराजित हुनुभयो । गठबन्धनकै साथमा नेकपा (एकीकृत समाजवादी)ले पनि तीन सिट जितेको छ । यहाँ समाजवादीले अछाम–१, बझाङ र डोटीमा गरी तीन सिट जितेको हो । अछाममा समाजवादीबाट श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र डोटीमा पूर्वमन्त्री प्रेम आले र बझाङमा समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशी निर्वाचित हुनुभयो । पन्ध्र सिटमा उम्मेदवारी दिएको नेकपा (एमाले) सुदूरपश्चिममा दुई सिट जित्न सफल भएको छ । एमालेले डडेल्धुरामा भने नेपाली कांग्रेसका उम्मेदवार कर्ण मल्ललाई समर्थन गरेको थियो । एमालेका लागि बैतडीमा पूर्वराज्यमन्त्री दामोदर भण्डारी र कञ्चनपुर–१ मा प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङले जित दिलाउनुभयो । त्यसैगरी पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका तीन सिट जितेर कैलालीमा आफ्नो बर्चश्व प्रस्तुत गरेको छ । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीले कैलाली निर्वाचन क्षेत्र नं १, २ र ३ मा जितेको हो । यहाँ निर्वाचन क्षेत्र नं १ मा उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, २ मा अरुण चौधरी र ३ मा गङ्गाराम चौधरी निर्वाचित हुनुभयो । यसपटकको निर्वाचनमा सुदूरपश्चिममा सबैभन्दा खराब नतिजा माओवादीले पाएको छ । सत्ता गठबन्धनमा भागबण्डा गर्दा माओवादीले बैतडी, कञ्चनपुर–१ र कैलालीमा निर्वाचन क्षेत्र नं २ र ३ पाएको थियो । प्रतिनिधिसभामा शून्य भएको माओवादी प्रदेशसभामा भने आठ सिट जितेर दोस्रो ठूलो दल बनेको छ । अघिल्लो निर्वाचनमा ११ सिट जितेको एमाले अहिले दुई सिटमा खुम्चिनुमा पार्टी फुट र गठबन्धनको असर रहेको एमाले नेताहरुको भनाइ छ । नेपाली कांग्रेसमा डडेल्धुराबाट प्रधानमन्त्री देउवा, कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद, कञ्चनपुर ३ मा पुर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक निर्वाचित हुनुभएको छ । ग्रेसबाट कैलाली ४ मा पूर्वमन्त्री वीरबहादुर बलायर, कैलाली ५ मा कांग्रेस नेता डिल्लीराज पन्त, अछाम २ मा कांग्रेस नेता पुष्पबहादुर शाह निर्वाचित हुनुभयो । त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेस नेता तथा हालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट निर्वाचित हुनुभयो । हाल मतगणना अनिश्चित रहेको बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र नेकपा (एमाले)बाट पूर्वमन्त्री कर्ण थापाबीच चुनावी प्रतिस्पर्धा छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सहमहामन्त्री चिन्तामणि भट्टले कांग्रेसले सोचेअनुसार नतिजा आएको बताउनुभयो । “समानुपातिकको गणना सकिएपछि बैठक हुन्छ, समीक्षा हुन्छ”, उहाँले भन्नुभयो, “ त्यसपछि प्रदेश सरकार बनाउने गृहकार्य सुरु हुन्छ ।” त्यसैगरी नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका सह–इञ्चार्ज राजेन्द्रसिंह रावलले सत्ता गठबन्धनका बाबजुद पनि एमालेले जनताको स्नेह पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि सुदूरपश्चिममा समानुपातिकतर्फ एमालेले लिड गरिरहेको छ ।”