पाेखरा: गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन् । मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए। अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका युवा तथा खेलकुदमन्त्री पनि हुन्।
पोखराः सत्ता गठबन्धनमा रहेका राजनीतिकदलहरुले सयुक्त विज्ञप्ती जारी गर्दै निर्वाचनमा असहयोग र असमझदारीको घटना देखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री निवासमा चुनावी समिक्षा बैठक बस्दै निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गरेपनि केही निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीको घटना देखिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनमा दौरानमा देखिएको असहयोग र असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिने उल्लेख गरिएको छ ।
दोलखाः दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित हुनुभएको छ । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाउनु भएको छ । उहाँहरुबीचको मतान्तर ३ सय १८ रहेको छ ।
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेर १५ पुसभित्र विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको छ । आइतबार एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो । यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।
काठमाडौं: जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा बहुमत पुर्याउन आफूहरु निर्णायक हुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा उनले सरकार गठनका लागि आफ्नो पार्टीले पाएको सिट संख्या निर्णायक हुने बताएका हुन् । ‘जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ । सरकार गठनका लागि संसद्मा बहुमत पुर्याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न’ उनले भने । जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सिट जितेको छ भने समानुपातिकतर्फ आइतबार दिउँसोसम्म १ करोड ४ लाख २० हजार मत गन्दा ३ लाख ९४ हजार ५२३ मत पाएको छ । त्यस्तै प्रदेश २ मा प्रत्यक्षमा ६ सिट र समानुपातिकमा कांग्रेस र एमालेपछि तेस्रो स्थानमा छ । २० लाख ८६ हजार मत गणना हुँदा जनमत पार्टीले ३ लाख २९ हजार मत पाएको छ । आफूहरुको समर्थनविना सरकार नबन्ने अवस्थामा डेडलक हुन नदिने राउतले बताए । ‘हामी नजाँदा सरकार नै बन्दैन, त्यो भनेको ‘डेड्लक’को अवस्था हुन्छ । हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छौं । जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छौं’ उनले भने । निर्वाचनबाट कसैको पनि बहुमत नआउँदा पार्टीहरुमा अहंको स्थिति भने नदेखिने र एक अर्कामा सहकार्यको सम्भावना बढाएको राउतले बताए । ‘सबैलाई मिलाएर जानुपर्छ, सानाभन्दा साना दल र आवाजका मुद्दालाई समेटेर जानुपर्छ भन्ने सन्देश दिएको छ’ उनले भने । मतदाताले परिवर्तनका लागि आफूहरुलाई मत दिएको भन्दै अध्यक्ष राउतले त्यसलाई खेर जान नदिने बताए । नागरिकले मतदानमार्फत व्यक्त गरेको परिवर्तनको आवाजलाई अन्य दलले पनि सुन्नुपर्ने उनको भनाइ छ । ‘जनताले निर्वाचनमार्फत अहिले परिवर्तन खोज्न दिएको सन्देश आत्मसात् गर्नुस् । अन्यथा गरिए राजनीतिक दलहरुप्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ । अहिले सच्चिने मौका छ । सबैले जनमतको कदर गरौँ । सेवा प्रवाह र जनताका माग मुद्दालाई केन्द्रित भएर अघि बढौं’, अध्यक्ष राउतले भने । उनले आफूहरुको माग र मुद्दाप्रति सकारात्मक दलसँग मिलेर सरकारमा जाने पनि बताए । ‘हामीले पाएको जनमत एक्लै निर्णायक छैन । कसै न कसैसँग सहकार्य गरेरै सरकार बनाउनुपर्ने हुन्छ । त्यसकारण सहकार्य गर्ने सम्भावना जोसँग पनि हुन्छ । मूल विषय भनेको हाम्रा माग र मुद्दाप्रति सकारात्मक हुनुपर्यो । हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ । जनताका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सक्नुपर्छ’ अध्यक्ष राउतले भने ।
मकवानपुर: राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ। सभापति न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन्। जिल्ला सभापति न्यौपानेले चुनावका बेला पार्टीका समानुपातिक तर्फका उम्मेदवार नुरमान प्रजालाई अन्य पार्टीका उम्मेदवारसँग भेटाएको आरोप छ। न्यौपानेले अरू पार्टीका उम्मेदवारसँग समानुपातिक उम्मेदवार प्रजालाई भेटाएर आफूहरूको भोट नोक्सान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको आरोप थियो। विवाद भएपछि आइतबार रास्वपाको जिल्ला कार्यसमिति बैठक बोलाइएको छ। आज अपरान्ह ४ बजे जिल्ला कार्यसमिति बैठक बस्ने सचिव रामप्रसाद आचार्य सुमनले जानकारी दिए। ‘सानोतिनो विवाद देखा परेको छ। आज बैठक बसेर मिलाउँछौं,’ सचिव आचार्यले भने। मकवानपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा र मकवानपुर २ मा भरत पराजुली प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए।
दोलखा: दोलखाको प्रदेश सभा दुईमा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए । नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि नै हार स्वीकार गदै केसीलाई बधाई दिएका थिए । ’ लामाले कांग्रेसकै कारण आफूले चुनाव हारेको समेत बताए । उनले फेसबुकमा लेखेका छन्, ‘सूर्यमुखी कांग्रेसहरु जसले जित्दा जित्दैको निर्वाचन हराउन सफल हुनु भयो त्यसता नेता तथा कार्यकर्ता र पत्रकार जीहरुलाई समेत बधाई एवं शुभयात्रा भन्न चाहान्छु ।’ लामाको प्रदेश सभामा यो दोस्रो हार हो । यसअघि २०७४ सालको चुनावमा उनी नेकपा माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए । प्रदेश सभामा निर्वाचित भरत केसी भने भिमेश्वर नगरपालिकाका पूर्व मेयर हुन् ।
बाजुरा: बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाको भन्दा पाँच हजार ५४१ मत ल्याएर विजयी हुनु भएको हो । पाण्डेको ३१ हजार ७८९ मत छ , भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार कर्णबहादुर थापाको २६ हजार २४८ मत रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनुभयो ।
पोखराः नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट घोषण भने गर्न बाँकी छ । समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो ।